ढाकामोहन बराल

१. धरमर

“अघि बाट यता उता गरिरहनु भएको छ माननीयज्यू ,के समस्या पर्न गयो होला ?” मर्यादापालकले सोधे।

“बस्ने ठाउँ खोज्दै छु । ” माननीयज्यूले भन्नुभयो ।

“सत्ता पक्षमा र विपक्षमा बस्नको लागि व्यवस्था गरिएको छ सोही बमोजिम आफ्नो आसन ग्रहण गर्नुहोला माननीय ज्यू ।” मर्यादापालकले भने ।

“त्यो त हो तर आज हामी कता पट्टी बस्ने थाहा भएन र समस्या भयो । ठिक छ सचेतक आउने बेलासम्म बाहिरै गएर बस्छु ।” भन्दै माननीयज्यू सदनबाट बाहिर निस्कनुभयो ।

२. सिलसिला

“माननीयज्यू नमस्कार ।” उसले अभिवादन गर्यो ।

माननीज्यूले एक हात उठाएर फर्काउनु भयो र प्रवेशद्वारबाट भित्र पस्नुभयो ।

“असाध्यै टाठो केटो, निडर भएर देखेको कुरा बोल्न सक्ने, माथि समेत सबैलाई चिनेको, भर्खरको जाँगरिलो छ । यसैलाई जिताए सुख पाइन्छ।” भन्दै सबैलाई भोट राख्न आग्रह गरेको थियो उसले ।

प्रवेशद्वारको सुरक्षा गार्डलाई सोध्यो, “यो कसको घर हो बाबु ?”

“बा यो त होटल हो । किन, कसलाई खोज्नुभयो ?” सुरक्षागार्डले भन्यो ।

“अघि भर्खरै हाम्रो माननीयज्यू पस्नु भएको थियो त्यसैले सोधेको बाबु ।” उसले भन्यो ।

“आज बैठक होला त्यसैले आउनु भएको होला । अफिसमा बस्न नमिल्ने बैठकहरु यहाँ बस्छ्न् बा । …अलिकति हट्नुहोस् त बा उहाँहरु पनि बैठकमा आउनु भएको छ ।” भन्दै सुरक्षागार्डले लगातार गएका तीनवटा कारलाई सलाम गर्यो ।

उसले हेर्यो पहिलोमा उर्लापुर खोलाको पुल अलपत्र पार्ने ठेकदार थियो । दोस्रो अनिकालमा चामल लुकाउने व्यापारी थियो भने अर्को को थियो उसले पनि थाहा पाउन सकेन ।

“बाबु बैठक कति बेला सम्म हुन्छ ?” माननीयलाई फर्कँदा भेटेर कुरा गर्न मन लागेर उसले सोध्यो ।

“रात पर्दछ बा अब । यस्तै हो पहिलाको माननीय पनि यसैगरी आउनुहुन्थ्यो ।” सुरक्षागार्डले भन्यो ।

“अब नयाँ माननीयको पनि सुनिने भए ।” उसले मनमनै भन्यो ।

३. दोस्रो वृत्ति

“…जीको फाईल तपाईंकोमा पुगेको छ रे त्यसलाई एक पटक हेरेर अगाडि बढाउनु पर्यो ।” फोनमा कले भन्यो ।

“एक पटक त हेर्या हो अलिकता मिल्या छैन कसो गर्ने हो ?” खले भन्यो ।

“त्यसलाई त जसरी पनि मिलाउनु पर्नेछ । माथि हाइकमाण्डको पनि त्यस्तै मनसाय छ ।” कले पुनः जोड दिँदै भन्यो । “अप्ठ्यारो छ कसरी गर्ने होला ? हाइकमाण्डको मनसाय भएपछि गर्नु नै पर्ने होला । आफू पनि अवकाश पछि आउने त्यही क्षेत्र हो । बरु हाइकमाण्डलाई असाध्यै अप्ठ्यारो परिस्थितीमा काम गरेको कुरा अवगत गराइदिनु होला ।” आफू पनि राजनीतिमा आउन इच्छुक भएको जनाउ दियो ।

क चाहिँ नेताजी र ख कर्मचारी थिए ।