१. पहिलो लघुकथा

(कमलमणि दीक्षितको विमोचित पहिलो लघुकथा कृतिबाट)

 

नौ महिने डाउनलोड

कमलमणि दीक्षित

इङ्लिस बोडिङ भनिने कुनै स्कुलमा पढ्छन् निर्माण र इलिसा । दस-एघार वर्षका छन् दुबै । बोडिङ भनिए तापनि आवसीय होइन त्यो स्कुल । स्कुलको बसमा आउने जाने गरॐछन उनीहरू ।

स्कुलमा कम्प्युटर क्लास पनि छ । तर त्यहाँ कम्प्युटर देखाउने दाँत मात्र हो, मुस्किलले १०/१५ मिनेट मात्र खेल्न पाउँछन् उनीहरू त्यसमा । तर अचेलकी सम्भ्रान्त बाबुआमा भएका उनीहरूको घरमा पनि कम्प्युटर छन् । इमेल, इन्टरनेट कनेक्सन पनि छ । दुबै जना इन्टरनेट चलाउन पोख्त छन् ।होमवर्क पनि इमेलमा च्याट गरेरै मिलाउँछन् ।

दुईजना वेबसाइट डाउनलोड गर्न पनि खप्पिस छन् । सानै छन्, त्यसैले सेक्स या यौनका कुरा गर्न उनीहरूले अझ सिकेका छैनन् तर कस्ता कस्ता कुरासम्म गर्छन् उनीहरू ।

एकदिन स्कुलबाट बसमा जाँदा निर्माणलाई इलिसाले भनी – “बुझौं निर्माण, म त बिहे पनि गर्दिन, छोराछोरी पनि पाउन्नँ । मलाई त मनै परेन ।” निर्माणले कुरा बुझेर र सोध्यो – “किन छोराछोरी नपाउने ? छोराछोरी किन मन परेन तिमीलाई ?”

इलिसाले कम्प्युटर भाषामा जवाफ दिई – ” थाहा छ तिमीलाई ? यो छोराछोरी पाउने, बच्चा जन्माउने भनेको त झ्याउ रे’छ, डाउनलोड गर्नै नौ महिना लाग्ने रे । को गर्छ त्यस्तो बोरिङ काम ।”

####
(यो लघुकथा स्वर्गीय कमलमणि दीक्षितको दोस्रो लघुकथा कृति “लघु कथा” बाट लिइएको हो । दीक्षितका दुई लघुकथाकृति प्रकाशनमा आए पनि पछिल्लो लघुकथा कृति पहिला विमोचन भयो ।
स्वर्गीय कमलमणि दीक्षित नेपाली साहित्यको एक जनक मानिनु हुन्छ । उहाँले नेपाली साहित्यमा अतुलनीय योगदान गर्नु भएको छ । तर उहाँले नेपाली लघुकथा लेखनमा भने ठूलो गडबड गर्नु भएको छ । उहाँको अधिकाम्स लघुकथाहरू लघुकथाको परिभाषित मान्यताभन्दा बाहिर बतासिएको कुरो यहाँ निर्धक्क भन्नै पर्छ ।
प्रस्तुत लघुकथामा उहाँले बाल मनोबिज्ञानलाई आधुनिक ग्याजेटहरूले कसरी भाँडभैलो मच्चाएको छ भन्ने कुरोलाई दर्साउनु भएको छ ।)

 

२. स्वर्णकालीन लघुकथा

जीवन सन्त्रास

यादव खरेल

घोडा हिनहिनाएको आवाजले ऊ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ । कालो कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लिएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ । मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तिका लागि, ज्यान बचाउनका लागि । लखेट्ने र लखेटिने क्रम चलिरहन्छ ।

मरुभूमिको बालुवा उडाउँदै हुरीको लहर चल्न थाल्दछ सुईयँ…….। उसको स्वाँ स्वाँ र हुरीको ध्वनि सँगै मिसिन्छन् । हुरीले उँडाएको बालुवाले सम्पूर्ण वातावरणलाई ढाकिदिन्छ र चारैतिर अन्धकार फैलिन्छ त्यही अँध्यारोमा लखेट्ने र लखेटिने दुवै विलुप्त हुन्छन, दृश्य स्थिर हुन्छ ।

लखेटिनेको नाम कर्मवीर शर्मा हो । उमेर यस्तै ५५ वर्ष । कर्मवीर विगत ५० वर्षदेखि हरेक रात एउटै सपना देखिरहेको छ, आफू भागिरहेको र अजङ्गको मानिसले लखेटिरहेको ।
“जीवन त वर्तमान हो” को आवाज चारैतिरबाट प्रतिध्वनित भइरहन्छ, “जीवन त वर्तमान हो”……तर यस लखेटाइले उसलाई कहिले भूततर्फ र कहिले भविष्यतर्फ दौडाइरहेको हुन्छ; दपेटिरहेको हुन्छ । वर्तमानमा अड्नै दिँदैन, टिक्नै दिँदैन, बाँच्नै दिँदैन । ऊ जीवनदेखि थाकिसकेको छ ।
आज राति फेरि उसलाई ऐँठन भएको हुन्छ । ढुङ्गामाथि बज्रिएको समयको टापको आवाज चर्को हुँदै जान्छ । ऊ पहाडको उकालोमा दैडिरहेको छ । घोडसवारले उसलाई लखेटिरहेको छ । भाग्दाभाग्दा ऊ पहाडको चुचुरोमा आइपुग्छ । अब उसका लागि भाग्ने कुनै ठाउँ छैन । उसले पछाडि फर्केर हेर्छ । उसलाई सधैँ लखेटिरहने घोडसवार उसको नजिकै आइसकेको हुन्छ । पहाड नै थर्काउने गरी हावाको झोक्का आउँछ र सवारले अनुहार छोपिरहेको कालो कपडा उडाएर लैजान्छ । कर्मवीरले सवारलाई विस्फारित र विस्मयकारी आँखाले हेरिरहन्छ । उसको मुख आश्चर्यमा खुलेको खुल्यै हुन्छ । उसले घोडसवारलाई चिन्दछ । उसलाई जीवनभरि लखेटिरहने घोडसवार अरू कोही नभएर स्वयम् कर्मवीर शर्मा पो रहेछ ।
****
(लघुकथाकार यादव खरेकोको परिचयको आकाश पराकिलो छ । उहाँ बिबिसी नेपाली सेवाको पहिलो पङ्तिको नेपाली प्रस्तोता हुनुहुन्छ । अग्रज गीतकार, मुक्तककार र बरिष्ठ चलचित्र निर्देशक हुनुहुन्छ ।
नेपाली लघुकथाको स्वर्णकाल २०३० को दशकलाई मानिन्छ । यही समयमा यादव खरेलले केही लघुकथाहरू लेखी नेपाली साहित्यको लघुकथा क्षेत्रलाई प्रज्वलीत गर्ने काम पनि गर्नु भएको थियो ।
प्रस्तुत लघुकथामा सरल तरिकाले बढो गम्भीर बिषयको उढान गरिएको छ । घोडाको हिनहिनाहटमा हरेक मान्छेको सम्पूर्ण जीवनको वस्तुनिष्ठ चित्रण कथाको चुरो हो ।)

३. मलाई मन परेको लघुकथा

 

घुंगुरुको गुनासो

आचार्य प्रभा

आचार्य प्रभा

-“अँ हं अब म सबैको खुट्टामा फेरिंदै बाँधिन सक्दिन । अब म पनि कम्जोर भएँ । मलाई थाम्ने मेरो डोरीले पनि मलाई बाँध्न नसक्ने भयो । अब म जोड्ले बज्न पनि सक्दिनँ।”

घुंगुरुको बिलौना सुनेर गोडाहरु आश्चर्यचकित बन्दै एकार्कालाई प्रश्नसुचक नजरले हेर्दै सोधे -“आज अनायास के भो ? यत्तिका दिन हामी सबैका गोडामा बाँधिएर तिम्रो मिठो झंकारको धुनले सबैलाई लट्ठ बनाएकी थियौ। हामीले पनि तिमीलाई खुट्टामा बाँधेर तिम्रो झंकारकोसाथमा आफ्नो जीविकोपार्जन गरि रहेका थियौं। अब तिमीले साथ नदिएपछी हामीले हाम्रो गुजारा कसरी गर्ने ?”

-“हो तिमीहरुले सधैं आफ्नै मात्र स्वार्थ सोंच्यौ र मलाई खुट्टामा बाँधिने एउटा तुच्छ बस्तु मात्र ठान्यौ। मद्वारा तिमीहरुले गरेको फाईदाको हिसाब राखेनौ। म पनि कम्जोर हुन्छु, टुट्छु र चुंडिन्छु भन्ने कहिल्यै सोंचेनौ। मेरो पनि त मन छ म पनि दुख्छु र रुन्छु भन्ने कहिल्यै सम्झेनौ । त्यसैले मैले अबदेखि तिमीहरुको खुट्टामा फेरिंदै नबज्ने निर्णय गरें।” घुंगुरुले आफ्नो गुनासो पोखी।

घुघरुको गुनासोले ती खुट्टाहरुको चेत खुल्यो र सोंचे। -“हो त, हामीले सधैं आफ्नै मात्र स्वार्थ सोंच्यौं। घुंघरुको महत्व कैहिल्यै बुझेनौं । उस्ले आफ्नो समय,जीवन र स्वतन्त्रता सब त्यागेर आफु बाँधिएर पनि हामीलाई साथ दिएको सम्झेनौं। ”

उनीहरु चेतको पर्दा खोलेर सोंच्दै थिए। घुंगुरु चुंडिएर असरल्ल छरिंदै छर्लंग आएको आवाजले झस्किए। ती घुंगुरुका दानाहरु छरपष्ट भएर कता कता गुड्किएर हराउँदै गए । त्यतिन्जेल तिनीहरुलाई समेट्न ढिला भई सकेको थियो |

####
(आचार्य प्रभा आचार्य लामो समयदेखि विदेशमा रही साहित्यमा ड्यापोरिक पीडा र अनुभूतिहरू पोखिरहनु भएकी एक चेली हुनुहुन्छ । उहाँ साहित्यको अनेक विधामा झै लघुकथामा पनि सकृय हुनुहुन्छ ।
प्रस्तुत लघुकथामा लघुकथाकारले स्वैरकल्पनाको माध्यमबाट जीवनको कटु यथार्थलाई सटिक चित्रण गर्नु भएको छ ।)