नेटफ्लिक्समा गत साता रिलिज भएको मोनिका ओ माई डार्लिङको चर्चा निकै चुलिएको छ ।

मूलतः जापानी ग्राफिक उपन्यासबाट कथा लिइएको यो थ्रिलर फिल्मको रोचक पक्ष चाहिँ यसको कथामा आउने उतारचढाव त छँदैछ, सँगैमा यसलाई पूर्ण रूपमा भारतीय बनाउन गरिएका अनेकन् प्रयासका कारण पनि यो फिल्म थप रोचक बन्न पुगेको छ ।

यसअघि मर्दको दर्द नहीँ होता फिल्म निर्देशनन गरेका वसन बालाको यो फिल्म पनि उत्तिकै रोचक छ । फिल्ममा राजकुमार राव, हुमा कुरेसी र राधिका अप्टेजस्ता कलाकारको अभिनय यसमा रहेको छ ।

सामाजिक सञ्जालमा यो फिल्मले इंगित गरेका अनेकन् पक्षका बारेमा चर्चा हुन थालेका छन् । तीमध्ये केहीका बारे यहाँ पनि सामाजिक सञ्जालबाट उडाइएका सामग्री राखिएका छन् ।

१. जोनी गद्दार
सन् २००७ मा श्रीराम राघवनले निर्देशन गरेको जोनी गद्दार थ्रिलरहरूमा निकै राम्रो फिल्म मानिन्छ । यो मोनिका ओ माई डार्लिङ पनि थ्रिलर फिल्म भएकाले यसले जोनी गद्दारलाई एउटा ट्रिब्युट दिएको छ । फिल्मको मुख्य पात्र जयन्त अर्खेडकर (राजकुमार राव)लाई छोटकरीमा जोनी भनी राखिएको छ । बेलाबेलामा उसलाई पुराना साथीहरूले जोनी भनेर बोलाउँछन् पनि । जो पछि साथीभाइका लागि एक किसिमले गद्दारजस्तो भएर निस्कन्छ । अझ अर्को रोचक दृश्य त, पहिलो पटक जब राजकुमारको घरमा विषालु सर्प देखिन्छ र सर्पसँग आँखा जुधाउँछ, उता टिभीमा जोनी गद्दार फिल्मको दृश्य आइरहेको हुन्छ, जहाँ धर्मेन्द्रले नील नितिन मुकेशसँग तिमी अँध्यारो बाटोमा गइसक्यौ मेरो छोरा भनिरहेका हुन्छन् ।

२. साइको
फिल्ममा जब हुमा कुरेसीको हत्या गर्न मुम्बई बोलाइन्छ, हुमा जुन पब अगाडि उभिएकी हुन्छे, त्यसको नाम बेट्स मोटेल देखिन्छ । यो मोटेलको नाम त्यही हो, जुन हिचककको १९६० मा रिलिज भएको साइको फिल्ममा मूल चरित्र नर्मन बेट्सको मोटेल हुन्छ, उसको सो होटलको बेट्स मोटेलबाट नै यसको नाम राखिएको हो ।

३. कयौं फिर्मकर्मीप्रति सम्मान
जब राजकुमारलाई उनकी बहिनीले फोन गर्छिन्, त्यहाँ एउटा बोर्ड देखिन्छ । बोर्डमा कयौँ फिल्मकर्मीहरूको नाम प्रस्ट देखिन्छ । विगतका कयौं महानतम् फिल्मकर्मीहरू र हालका चर्चित नामहरूको सूची त्यहाँ देख्न सकिन्छ । जस्तो कि, सिंगितम श्रीनिवास राव, अनुराग कश्यप, पंकज अडवानी, अब्बास मस्तान, पल थोमस एन्डरसन, अनुराग कश्यप, विजय आनन्द, गुरू दत्त, क्वान्टिन टोरेन्टिनो आदि ।

त्यहाँ सारिका वर्तकको नाम पनि त्यहाँ देख्न सकिन्छ । तिनलाई तपाईंले चिन्न सक्नु भएन होला, चिन्नु पनि कसरी ? उनी त श्रीराम राघवनको पहिलो फिल्म एक हसिना थी फिल्मकी हिरोइन उर्मिला मातोन्डकरले खेलेको चरित्रको नाम पो त !

४. बदलापुर
वसन बाला त श्रीराम राघवनको ज्यादै प्रशंसक देखिन्छन् । कतिसम्म भने, फिल्ममा प्रहरी अधिकारी राधिका अप्टे एउटा एटिएममा छिर्छिन् र त्यो एटिएम बदलापुर बैंकको हुन्छ । बदलापुर त तपाईंले हेर्नु भएकै होला, वरूण धवन र नवाजुद्दिन सिद्दिकीको सो फिल्ममा हुमा कुरेसी र राधिका अप्टेले पनि अभिनय गरेका छन् । त्यो फिल्म तपाईंले हेर्दा राम्रै होला ।

५. ब्याक टु द फ्युचर
राजकुमार राव कारको यात्रामा रहँदा उनकी प्रेमिकाले फोन गर्छिन् । कुरा गर्दै जाँदा त्यहाँ उनले ब्याक टु द फ्युचर फिल्मको नाम लिन्छन् । यो एउटा गज्जब साइफाइ थ्रिलर हो ।

६. नासिर हुसेनको सम्झना
यो फिल्ममा नासिर हुसेनका दुई फिल्म यादों की बारात र क्याराभानको प्रसंग झिकिएको छ ।

७. माई कजन भिन्नी
जब राजकुमार र उनकी प्रेमिका कुरा गरिरहेका हुन्छन्, त्यही बेला भिन्नीको फोन आउँछ । राजकुमारले सोध्छन्, कसको फोन ? प्रेमिकाले भन्छे, माई कजन भिन्नी । माई कजन भिन्नी एउटा सुन्दर अदालती थ्रिलर फिल्म हो । यो फिल्मलाई पनि निर्देशकले सम्मान व्यक्त गर्न चुकेका छैनन् ।

८. गोल्डीको पिज्जा
भारतका प्रख्यात फिल्म निर्देशक विजय आनन्दलाई पनि यो फिल्मले सम्झिएको छ । विजय आनन्द देव आनन्दका कान्छा भाइ थिए, जसले प्रख्यात फिल्महरू बनाएका थिए । उनलाई घरका र नजिकका साथीभाइले गोल्डी भनी सम्बोधन गर्ने गर्थे । यो फिल्ममा गोल्डीको पिज्जा ल्याएको देखिन्छ र त्यो पिज्जा चाहिँ ज्वेल थिभ्सजस्ता प्रख्यात फिल्महरूको निर्देशन गर्ने विजय आनन्दलाई समर्पित गरेको हो ।