सिँढी चढ्दै गर्दा शेखरले प्रमिलाको हात च्याप्प समात्यो । टावर ब्रिजको तल्लो तलाको कर्मचारीले दिएको व्याख्यानलाई आधाआधीमै छाडेर अब उनीहरु माथि उक्लिन लागेका थिए । शेखरभन्दा अघि लागेकी प्रमिलाले आफूसँगै शेखर नउभिन्जेल उसलाई पर्खी ।
शेखरका हात ताता थिए, अघिपछिका जस्तै । उसका भने निकै चिसा । खै, किन हो प्रमिलाका हात सितिमिति तात्दैनन् । गर्मीमा पनि अरुका भन्दा चिसै रहने उसका हातलाई इंगित गर्दै शेखर सधैँ जिस्क्याउने गर्छ, ‘भित्र माया हुनेका हातमात्रै सधैँ न्याना हुन्छन् ।’
यतिखेर न्याना हातको त्यो मान्छेले प्रमिलाको हात समाउनु माया जाँच्न थिएन, त्यो त भर खोज्नलाई थियो । कारण– शेखरलाई उचाइदेखि डर लाग्छ ! रेलिङ नभएको सिँढी उक्लिँदा, छतमा चढ्दा अथवा झ्यालबाट बाहिर हेर्दा ऊ रिङटिन्छ ।
६४ सक्नै लागेकी प्रमिला र भर्खरै ६४ वर्षमा टेक्दै गरेको शेखर । दम त थिएन तर बुढ्यौलीका कारण यति माथि सिँढी उक्लिनु सजिलो पनि थिएन । उनीहरु पूरै बाटो ढाकेरै उक्लिरहेका थिए ।
माथि टावरमा पुग्दा त्यहाँ झन्डै १५/१६ जना अनेक उमेर र रङका मान्छेहरु त्यहाँ आ–आफ्नो रुचि अनुसारको मनोरन्जनमा व्यस्त देखिए । कोही एक्लै, कोही युगल त कोही समूहमा ।
शेखर भित्तामा आड लिन पुग्यो । उसका गोडा कामेका त थिएनन् तर ती अघिपछिजस्तो सामान्य अवस्थामा पनि थिएनन् । प्रमिलालाई चाहिँ उचाइ मन पर्छ । ऊ यति उत्साहित भई कि उसको मुखबाट ‘बाफरे’ निस्कियो र ऊ एकैपटक सबै दृश्य हेरिभ्याउँछु झैँ हतारिँदै यता र उता हेर्न थाली । तर एकैछिनमा उसलाई के लाग्यो कुन्नी शेखरतिर फर्किई । विचरा शेखर ऊ झैँ उत्साही थिएन । ऊ आँखा नझुकाई त्यसको समदूरीतिर एकोहोरो ताकिरहेको थियो । ऊ यसरी उभिएको थियो, मानौँ उसले केही देखेको वा महसुस गरिरहेको छैन ।
हात अघि नै छुटिसकेको थियो ।
‘ओहो, आफ्नो खुशी पाएपछि मान्छेले सहयात्रीको हात कति सजिलै छाड्दोरहेछ,’ प्रमिला आफ्नो गल्तीप्रति भावुक भई र गएर शेखरलाई च्याप्प समाती ।
‘कति रमाइलो हगि !’ उसले शेखरको कानमा गएर फुसफुसाई ।
शेखरले टाउको हल्लाउन खोजेजस्तो मात्रै देखियो ।
‘रिंगटा लाग्दैछ ?’
‘हो । कस्तो कस्तो लाग्दैछ । भुइँचालो आएर हाम्रो धरहराजस्तै यो पनि गर्ल्यामगुर्लुम्म ढल्यो भने ..! त्यस्तो मात्रै आइरहेछ कल्पनामा,’ शेखरको स्वर पनि भासिएको जस्तो सुनियो ।
प्रमिलाले मायालाग्दो नजरले लोग्नेलाई हेरी तर यो उसको सधैँको समस्या थियो । प्रमिलाले शेखरको पाखुरालाई आफ्ना हातले बेरी अनि हप्काएझैँ गरी, ‘धत्…त्यस्तो कल्पना किन गर्छौ तिमी ? मरिएछ भने झन् गजब, सँगै त हुन्छौँ !’
शेखर केही बोलेन ।
‘जिन्दगीभर उचाइदेखि भाग्यौ, अब यो उमेरमा किन डराउँछौँ ? यो उचाइ तिम्रो राजनीति, पद, मास्टरी वा लेखनको जस्तो हो र, जहाँबाट गिर्ने डर भइरहन्छ! डरायौ भने तिमीले यसको आनन्द पाउने छैनौ । त्यसलाई जित्यौ भने अरुको जस्तै तिम्रो मन पनि चंगा हुनेछ ।’
प्रमिला अघिपछिको भन्दा बिल्कुलै फरक बोलिरहेकी थिई । शेखर जिल्लियो र आफ्नो पुरानो समस्याबाट उम्किन खोजेझैँ गर्यो ।
‘आँखा चिम्ल । लामो सास तान । अनि एउटा उडानको कल्पना गर र एकछिनपछि आँखा खोलेर हेर ।’
प्रमिलाले भनेजस्तै गर्यो शेखरले । सँगसँगै आफूलाई पनि दरिलो बनायो । वरिपरि सबैको अनुहारमा आनन्दको उज्यालो थियो । शेखरले आफ्नो पुरानो बानीलाई जित्यो । एउटा आवेगले उसले प्रमिलालाई झ्याप्प अँगालो हाल्यो ।
झन्डै ३७ वर्ष लामो सम्बन्धमा यो उनीहरुको पहिलो सार्वजनिक अँगालो थियो !
एकछिन उनीहरु त्यसैगरी बाँधिए, बिना धक बिना अप्ठ्यारो । यस्तो महसुस भइरहेको थियो मानौँ पहिलोपटक प्रेमीयुगल आलिंगन गरिरहेका छन् । एकैछिनमा प्रमिलाले आलिंगन मुक्त गरी आफूलाई तर शेखरको स्पर्शबाट टाढा नभागिकनै ऊ अघिल्तिर हेर्न थाली ।
‘मास्टर साहेब, तिमी त साहित्यको मान्छे । धरती छाडेर यति माथिको हावामा तिमीले अलग्गै स्पर्श भेटेनौ ? रिभर थेम्सको फराकिलो पानी बगिरहेको छैन, स्थिर छ जस्तो लागेन तिम्लाई ? उताबाट आइरहेको पानीजहाजले नचाएका स–साना छालहरु, भर्खर हाम्रो आँखैअघिल्तिर उडेका सिगलहरु देखेर पनि तिमीलाई केही महसुस भएन ?’
शेखर दङ्ग पर्यो । यति लामो सहयात्रामा प्रमिलाको काव्यात्मक भाषा उसले पहिलो पटक सुनेको थियो । ऊ अर्थशास्त्रकी विद्यार्थी आफू अङ्ग्रेजी साहित्यको ! पढाइ सकेर दुवै कलेजको मास्टरीमा लागे र सँगसँगै रिटायर्ड पनि भए । कुनै समय ती दुई राजनीतिमा पनि सक्रिय थिए । तर दुईको विषयगत भिन्नतापछि व्यवहारिक जीवनमा पनि कायम नै रहिरह्यो । यद्यपि शेखरको साहित्य कल्पनाको उडान पटक्कै थिएन, त्यो सामाजिक र राजनीतिक दायित्वबोधले प्रेरित थियो । प्रमिला फाट्टफुट्ट साहित्य त पढ्थी तर खै किन हो कविता पढ्ने जाँगर भने उसले कहिल्यै चलाइन ।
त्यही प्रमिला यतिखेर जिस्केकी हो कि भनेर शेखरले पुलुक्क ऊतिर हेर्यो तर ऊ अघिपछिभन्दा फरक देखिन्थी ।
लन्डन आएको झन्डै डेढ महिनामा उसलाई आजको दिन सबैभन्दा उज्यालो लाग्यो । प्रमिलाको भावुकताले उसलाई पनि बिस्तारै छुँदै गयो । उसको चिउँडाले प्रमिलाको तिलचामले टाउकोलाई टेको लगाउन पुग्यो । प्रमिलाले पनि आफ्नो भावनासित तत्काल शेखरको चेतना गाँसिएको अनुभूत गरी । अनि लठ्ठिएका आँखा आफ्नो दृष्टिबिन्दुबाट नहटाई सुस्तरी भनी, ‘ए मास्टर, एउटा मीठो कविता भन न मेरो लागि !’
प्रमिलाको प्रस्तावमा शेखर एकाएक उत्तेजित भयो । उसले कविताका गेडा उन्ने प्रयास गर्यो, तर सफल हुन सकेन । फेरि यो वातावरण सुहाउँदो हुने किसिमको कुनै पंक्ति सम्झिने प्रयत्न गर्यो । तर दिमागमा केही आइरहेको थिएन । एकाएक उसको अवस्था यस्तो भयो जस्तो कि आफूले पटक्कै नजानेको र नबुझेको विषयमा बोल्नुपर्दा हुने गर्दछ ।
कविता पढ्नु, पढाउनु र लेख्नु उसको पेशा थियो । तर यहीबेलामा चाहिँ उसलाई त्यो लामो अनुभवले साथ दिइरहेको थिएन । एकाएक शेखर उदास भयो ।
‘मास्टर मेरा लागि एउटा प्रेममय गीत गाइदेऊ न ।’
प्रमिला कविता छाडेर गीततिर लागी । ऊ उस्तै गरी लठ्ठिरहेकी थिई ।
शेखरले बडा जिम्मेवारीबोध गरेर गीत सम्झिने प्रयास गर्यो । उसले यतिबेला आफू खासै गीत नगुन्गुनाउने मान्छे हुँ भन्ने कुरा बिर्सियो एकछिन । तर उसको ओठसम्म आउने गरेर कुनै गीत नै गुन्जिएन दिमागमा ।
‘अहो, यति लामो जिन्दगीमा एउटै पनि गीत जानिएनछ !’ शेखरको उदासी बढ्यो ।
‘मास्टर ऊ त्यो काले केटाले आफ्नी मायालुलाई माया गरेझैँ मलाई पनि माया गर न प्लिज !’ प्रमिला अब शेखरतिर फर्किई । ऊ शेखरभन्दा होची थिई उसको घाँटीसम्म मात्रै आइपुग्थी । ऊ उसको छातीमा यसरी टाँसिई मानौँ ऊ शेखरको छाती उघारेर त्यहाँभित्र घुस्रिन चाहन्छे ।
शेखरले आफूभित्र अनौठो उत्तेजना पैदा भएको महसुस गर्यो । त्यो उसको नशा नशामा, रोम रोमपर्यन्त थथर्कियो । उसका प्रेमका इन्द्रियहरु जागृत भए । उसले प्रमिलले औँल्याएकी युगल जोडीतिर आँखा लगाएन । तर प्रमिलालाई कसिलोसित बाँध्यो र उसको निधारमा चुम्बन गर्यो ।
निधारमै सही ओछ्यानबाहिरको यो पहिलो चुम्बन थियो । शेखरको अँगालो कसिलो थियो । प्रमिला अलिकति पनि सक्रिय थिइन, ऊ हात गोडा छाडेझैँ शेखरको छातीकै भर गरिरहेकी थिई ।
उसलाई जिन्दगीको सबैभन्दा मीठो लाग्यो यो माया ! आनन्दले गह भरिएर आयो । उसका चाउरी परिसकेका गालाका खोल्सीमा आँसुका गेडा आफ्नो सुविधा अनुसार बगे ।
‘म धन्य भएँ शेखर सर । प्रेम यति मीठो हुँदोरहेछ मैले यो उमेरमा आएर चाल पाएँ,’ प्रमिलाले आँसु पुछ्दै शेखरतिर हेरेर भनी ।
शेखरको अघिको उदासी सकिएकै थिएन ।
[bs-quote quote=”‘म धन्य भएँ शेखर सर । प्रेम यति मीठो हुँदोरहेछ मैले यो उमेरमा आएर चाल पाएँ,’ प्रमिलाले आँसु पुछ्दै शेखरतिर हेरेर भनी । शेखरको अघिको उदासी सकिएकै थिएन ।” style=”style-2″ align=”left” color=”#ddb577″][/bs-quote]
शेखरलाई यो हाँसो मोहक लाग्यो । प्रमिलाको अनुहारमा पोखिएको उज्यालोले उसको अनुहारसम्म आएर उदासीलाई हटाइदियो । उसले आफ्नो खल्तीबाट पुरानो आइफोन झिक्यो–छोराले दिएको ! नातीले सेल्फी खिच्न सिकाएको थियो । प्रमिलालाई अँगालोमा बेर्यो र फोन उचालेर सेल्फी खिच्न लागेको तर हात कामेर हुँदै भएन । अनि नजिकैकी केटीलाई फोटो खिच्न लगाए उनीहरुले ।
‘शेखर सर ! मेरो स्टाइल स्टाइलको फोटो खिचिदेऊ न । मलाई आज आफ्नो धेरै उमेर घटाउन मन लागेको छ ।’
प्रमिला उत्ताउलिइरहेकी थिई । शेखरले हाँसेर उसको उत्साहलाई स्वागत गर्यो । उसले जानी नजानी अनेक पोज बनाई । शेखरले हाँस्दै हाँस्दै खिचिदियो । कुनै कुराको धक मान्नुपर्ने अवस्था थिएन ।
बारीदेखि पारि पुग्ने पुलमा बीचमा सिसा राखिएको थियो । त्यहाँबाट तल झुकेर हेर्दा रिभर थेम्समाथिको तल पुलमाथि गुडिरहेका मोटर गाडी देखिन्थे । सुरुमा त त्यहाँबाट आफू रिंगटिँदै झर्ने पो हो कि भनेजस्तो डरको रोमान्चक अनुभूति पनि दिन्थ्यो त्यसले । प्रमिला त्यो सिसामाथि गएर थचक्क बसी, शेखरले छेउ छेउबाट हिँडेर त्यसलाई पार गर्यो । शेखरले जानेसम्मको प्रतिभा प्रयोग गरेर फोटो लिइदियो । पछि हेर्दा ती यति हाँसउठ्दा थिए कि शेखरले त थाम्नै सकेन । प्रमिलाले पनि पहिले मुख बिगारी, खिस्स हाँसी र भनी –‘कस्तो नसुहाएको है ! ठ्याक्कै बुढी भैँसी जस्तै !’
शेखरलेचाहिँ उसको आँखामा आँसु डब्डबाएको देख्यो । उसलाई आफूतिर तानेर उसले पुराना हिन्दी फिल्मको स्टाइलमा फेरि निधारमा चुम्बन गर्यो ।
‘नेपाल गएपछि पनि मलाई यही स्टाइलको माया गर है मास्टर ?’
के सम्झेर हो शेखरले खिस्स हाँस्यो मात्रै ।
झन्डै आधी घन्टाभन्दा बढी बिताएपछि तल झर्ने सल्लाह भयो ।
अब उनीहरु चूपचाप सिँढी झरे र सडकको भीडमा मिसिए । शेखरले पुलको पारि थेम्स किनारतिर इशारा गर्दै भन्यो ‘हिँड एकैछिन त्यता गएर बसूँ, पुल पूरै देखिँदो पनि रहेछ ।’
अनि उनीहरु सडकबाट त्यतातिर झरे । घाम तापिरहेकाहरु, टावर ब्रिजलाई आफूसहित र आफूबाहेक क्यामेरामा कैद गरिरहेकाहरु, खाइरहेकाहरु, किताब पढिरहेकाहरु, बच्चाहरुसित रमाइरहेकाहरु, कुराकानी र प्रेमालापमा मग्नहरु अनि त्यही बाटो भएर आरपार गरिरहेकाहरु । चिनियाँ–जापानी मूलका एउटा जोडीको फोटोसेसन त्यहाँ चलिरहेको थियो । भुइँमा लत्रिने सेतो लामो ड्रेस लगाएकी गुडियाजस्तै केटी र हातमा फूल लिएको केटो आफ्नो फोटोग्राफरले भनेअनुसारका अनेक पोज दिइरहेका थिए । उनीहरु पनि एक छेउमा हरियो घाँसमाथि बसे । भोक लाग्ला जस्तो भइरहेको थियो । शेखरले पर गएर बदाम किनेर ल्यायो । खान लाग्दा त पूरै चिनी नै किरकिरी लाग्ने, उनीहरुले पहिलो फाँकोभन्दा दोस्रो मुखमा लान सकेनन् ।
‘तिमी किन केही काम गर्नु अगाडि कुनै विचार नै गर्दैनौ शेखर सर ? कहिले ठूलो हुन्छौ तिमी !’ प्रमिलाले जिस्क्याउँदै भनी ।
शेखर मुसुक्क हाँस्यो र भन्यो,‘के थाहा पाऊँ त त्यो बदाम गुलियो छ भनेर! मैले त हाम्रातिरको जस्तो भन्ठानेँ नि ।’
‘सोध्नु त पर्छ नि एकपटक के कस्तो हो भनेर ।’
‘आ..छाड्देऊ न । दुई पाउन्डको बदाम नै त हो! कहिलेकाहीँ त अर्थशास्त्रलाई घरमै छाडेर हिँड्ने गर । बाइ द वे अव्यवहारिकता मेरो परिचय हो ।’
‘मैले त्यसकै सजाय त भोगिरहेकी छु नि!’
‘साँच्चै भनेको ? घरमा त भन्थ्यौ, तर यहाँ आएर पनि..?’ शेखर मलिन देखियो ।
प्रमिलाले शेखरको ओठको कुनामा झुन्डिएको बदामको धूलो झारिदिँदै भनी–‘चिन्ता नगर, मेरो माया त्यहीँ छ ।’
शेखर केही बोलेन ।
प्रमिलाले थपी–‘तर यसपालि एउटा कुराचाहिँ अनौठो लाग्यो । यस्तो बेपर्वाह मान्छेले यतिका पाउन्ड कताबाट ल्यायौ ?’
नेपालबाट आउँदा शेखरले दुई सय पाउन्ड साटेर ल्याएको रहेछ । तर त्यसको सुइँको उसले प्रमिलालाई दिएको थिएन । यता आएर पनि त्यो पैसा उसले निकालेको थिएन ।
अगस्टको दोस्रो साता उनीहरु लन्डन उत्रेका । दुईदिन छोराले लन्डन घुमाइदियो, अत्यन्तै कर गरेपछि एकदिन शेक्सपियरको जन्मघर स्टार्डफोर्ड पुर्याइदियो । बाँकी समय घर कुर्नु, नातीलाई स्कुल लैजाने, ल्याउने गर्नु, बेलाबेलामा उसलाई पार्क लिएर जानुमा नै उनीहरुको समय व्यतीत भइरहेको थियो । कहिलेकाहीँ कुनै नेपालीको घरमा बर्थडे, एनिवर्सरीको निम्ता मान्ने अवसर पनि मिल्दथ्यो । उनीहरु घरदेखि झन्डै एक घन्टा परको लन्डनतिर आफैँ घुम्न जान चाहन्थे, तर छोरा बुहारी धरालो पाएको बेलामा बढीभन्दा बढी समय काम गर्ने अवसरलाई गुमाउन चाहँदैनथे । नाती साथ लगाएर बुढाबुढीलाई सेन्ट्रल लन्डनतिर घुम्न पठाउनु छोराबुहारीको नजरमा भरपर्दो र सुरक्षित दुवै थिएन ।
मन त धेरैतिर घुम्ने थियो । शेखरलाई यहाँका ग्यालरीहरुतिर, मौका मिले थिएटरतिर जाने मन थियो । बर्डसवर्थ र किट्स अनि डिकेन्सका म्युजियमतिर जाने मन पनि थियो । प्रमिलालाई लण्डन स्कुल अफ इकोनमिक्स, बैँक अफ इंग्ल्याण्ड म्युजियम पुग्ने धोको थियो । नेपालबाट आउने बेलामा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय पनि घुम्न पाइएला भन्ने आशा थियो । अनि दुवैलाई मन थियो जिन्दगीभर आफूले गुरु मानेका कार्ल मार्क्सको चिहानमा फूल चढाउन पुग्ने !
तर मनका यी कुनै इच्छा पनि पूरा भएका थिएनन् । छोराबुहारीको व्यस्ततालाई बाध्यताका रुपमा लिएर गुनासो पनि गरेका थिएनन् । तर यो बसाइमा सन्तुष्टि भन्दा असन्तुष्टि धेरै थियो ।
यस्तोमा आज बुहारी घरमा भएको मौका पारेर दुवैजना निस्केका थिए । तर कहाँ गइँदैछ, प्रमिलालाई पत्तो थिएन । एकैपटक शेखरले ट्रेन चढाउन लगेपछि पो प्रमिला जिल्लिएकी थिई । अन्तिममा ट्रेन स्टेसनको कर्मचारीले बताएको निर्देशनलाई नक्शामा चिनू लगाएर सोध्दै खोज्दै दुवैजना यहाँसम्म आइपुगेका थिए । यहीँ आएपछि उनीहरुले थाहा पाए कि पुलको टावरमा टिकट काटेर माथि जान मिल्छ । जहिल्यै अग्लो ठाउँमा जान डराउने शेखरले कर गरेरै टिकट काटेको थियो ।
‘मास्टर, तिमीजस्तो यति राम्रो मान्छेले मजस्ती छन्द न बन्दकी नेवार्नी केटीलाई किन मन पराएको ?’
‘कोठाभाडा बचाएको नि,’ शेखरले आफ्नो नियमित ठट्टा दोहोर्यायो ।
‘साँच्चै भनेको, तिमी युनिभर्सिटीका हिरो थियौ । मन्चमा तिमी उक्लिँदा केटीहरु सास थामेर तिम्रो उज्यालो अनुहार हेरिरहन्थे । तिनमा कति धनीका छोरीहरु पनि हुन्थे, कति सुन्दरी पनि हुन्थे…,’ प्रमिलाले शेखरतिर नहेरिकनै भनी, ‘साँच्चै, मसित बिहे गरिसकेपछि पनि तिमीलाई कुनै दिन सर्लक्क परेका राम्री आइमाईले आकर्षित गरेनन् ?’
शेखरलाई प्रमिलाको यो बर्बरले टाउको दुख्लाझैँ भयो । तर यो प्रमिलाको चित्त दुखाईको भाषा थियो । कारण, बुहारीसितको उसको चित्त दुखाई । बुहारी थिई पक्का धार्मिक । जति व्यस्त भए पनि उसको बिहानको सुरुवात नै पूजा पाठबाट हुन्थ्यो । हरेक मंगलबार उपवास हुन्थ्यो । उसले शायद आफ्नी सासूबाट यही भूमिकाको अपेक्षा गरेकी थिई । तर शेखर र प्रमिलाको जीवनशैलीमा ईश्वरको अस्तित्व कहिल्यै घुसेको थिएन । त्यसैले बुहारी सुरुदेखि नै असन्तुष्ट देखिई ।
अर्को कारण थियो, भाषा । बुहारी चल्तीको भाषामा निकै ‘सभ्य’ भाषा बोल्थी– ‘स्यो’ र ‘हजुर’ जोडिएको, उन्नतस्तरको । प्रमिला र शेखरको बीचमा चाहिँ स्योको कुरै छाडूँ तपाईँसम्म पनि कहिल्यै आएन । झन् ऊतिबेलै पारिजातको ‘पर्खाल भित्र र बाहिर’ पढेपछि त ऊ शेखरलाई मास्टर भन्न थालेकी थिई । अरुका अगाडि भने शेखर सर भन्ने गर्थी । त्यसकै सिको गरेर शेखर उसलाई ‘बाटुली’ भन्ने गर्थ्यो। बुहारीको विचारमा यो रुखो व्यवहार थियो, अपमान थियो । उसले भनेअनुसार नेपाली जमघटमा सासूको यस्तै किसिमको भाषाका कारण उसले धेरै ‘इम्ब्यारेस फिल’ गर्नुपरेको थियो । एकमात्रै छोरो, जसले पहिले आमाकै जस्तो सभ्य भाषा बोल्ने गर्थ्यो, आजकाल उनीहरुको संगतले बिग्रिएर तल्लोस्तरमा झरेको थियो । बुहारीको नजरमा यो उनीहरुकै प्रभाव थियो ।
शेखर त यस्ता कुराको वास्तै गर्दैनथ्यो तर प्रमिलाचाहिँ क्षुब्ध भइरहेकी थिई, विशेषगरी छोरासित । ‘सिंगो उमेर जुन संस्कृतिको विरुद्धमा लागियो, आज त्यही संस्कृति नअपनाएको भन्दै यति ठूलो अपमान ?’ एकदिन त ऊ छोरासित जंगिई पनि ।
छोरो आफैँ यता आउनुअगाडि आफूलाई मार्क्सवादीको हैसियतमा राख्थ्यो । आन्दोलन र गोष्ठीहरुमा धाउँथ्यो । पत्रिकामा लेखसमेत लेख्थ्यो तर उसले यतिबेला आमालाई सम्झाउने हिसाबले भन्यो, ‘आमा हामीले समाजमा बाँच्नुपर्छ । समाजअनुसार चल्न सकेन, परिवर्तन हुन सकेन भने गाह्रो हुन्छ । तपाईंको सिद्धान्त नेपालमा गफ लडाउनका लागि मात्रै काम लाग्ला, यहाँ लाग्दैन ।’
प्रमिला यति रिसाएकी थिई कि उसले छोरालाई थप्पडै लगाइदिने सुर कसिसकेकी थिई, तर ऊ हिँडिसकेको थियो । अनि सरासरी शेखरमाथि यो रिस पोखेकी थिई । शेखरले उसलाई सम्झाउँदै भनेको थियो, ‘हुन्देऊ, उनीहरुलाई आफ्नो हिसाबको जीवन बाँच्न देऊ । हामी बस्ने अब एकै महिना त रह्यो, बेक्कारमा ‘वर्गसंघर्ष’ नचलाऊ ।’
त्यो दिनदेखि प्रमिलाको छोराबुहारीसित दोहोरो कुराकानी शायद नै भयो । बुहारीको नजरमा यति धेरै पढेलेखे पनि, काठमाडौँमै जन्मे हुर्के पनि प्रमिला ‘पाखे’ र ‘असभ्य’ नै थिई । प्रमिलाको नजरमा बुहारी आफ्नो समयभन्दा धेरै पिछडिएको सोच राख्ने परम्परागत आइमाई थिई ।
एकअर्काप्रतिको यो असन्तुष्टि ती दुवै आ–आफ्ना लोग्नेलाई सुनाइरहन्थे । घटस्थापनाको अघिल्लो साँझ बुहारीले घुर्की लगाएकी थिई, ‘अरु काम नगरे पनि बुहारीको हातले उमारेको जमारा त नलगाउने होला नि !’
शेखर र प्रमिलालाई दशैँप्रति कुनै अनुराग र आपत्ति केही थिएन । छोरो सानो हुँदा उसका लागि भनेर जमारासम्म उमार्थे । छोरालाई टीका लगाइदिएपछि दुवैले एकअर्कालाई लगाइदिन्थे । त्यसबाहेक पूजापाठ वा ढोगभेट उनीहरुकहाँ चल्दैनथ्यो । तैपनि शेखरले बुहारीको चित्त दुखाउन चाहेन । जमरा राख्ने, त्यसमा धूपबत्ती बाल्ने सबै काम गरिदियो ।
तर दशैँको टीकाको दिन भने सासूबुहारीको लामो शीत युद्ध मैदानमा उत्रियो ।
छोरा बुहारी दुवैले छुट्टी लिएका थिए । नाति पनि स्कुल नगई बसेको थियो । बिहानैदेखि उठेर बुहारीले अनेक किसिमका परिकार तयार गरेकी थिई । प्रमिलाले घर सफा गरेकी थिई । टीका लगाइदिँदा शेखर र प्रमिलाको टीका लगाई देखेर बुहारी ठुस्किएकी थिई र टिप्पणी गरेकी थिई, ‘माइतमा त बुबाहजुरले कस्तो मज्जाले मन्त्र पढेर आशीर्वाद दिइसिन्थ्यो !’
खिस्स हाँस्दै शेखरले भनेको थियो, ‘लौ बुहारी हाम्रो माया, शुभेच्छा सबै मौनतामै छ भनेर सम्झनू है । यस्तो त मलाई केही आउँदैन । मन नदुखाए ।’
छोराले बाबुआमालाई ढोगेन, बुहारीले प्रमिलालाई ढोग्न निहुरिँदा प्रमिला स्वाट्ट किचेनतिर लागी । उनीहरुले नातिलाई हजुरबाहजुरआमालाई ढोग्नुपर्छ भनेर बुहारीले दबाब दिँदा पनि त्यसैगरी टारे । तर बुहारीलाई ढोगाएको प्रमिलालाई सही नसक्नुभएछ क्यारे, छोरालाई झपार्दै भनी, ‘तँलाई स्वास्नीलाई गोडा ढोगाउन अलिकति पनि लाज लागेन ? त्यो पनि हाम्रा अगाडि ?’
छोराचाहिँले अनुहार रातो बनायो । शेखरले भने यो देखेको नदेखेई गरेर फोटो खिच्न व्यस्त भएझैँ गरिरहेको थियो तर बुहारी चित्त दुखाउँदै रोई, ‘हजुरहरुसितको यो पहिलो दशैँ पनि किन यसरी ‘रुइन’ गरिदिसिन्छ मुमा हजुर ? पतिलाई श्रद्धा गर्नुपर्छ भन्ने संस्कार मैले सिकेको संस्कार हो । हजुरलाई आफ्नो लोग्नेलाई इज्जत दिन मन लाग्दैन भन्दैमा अरुलाई अपमान गर्न सिकाउने हक पनि छैन ।’
प्रमिलाले परिस्थितिलाई काबुमा ल्याउन खोज्दै भनी, ‘त्यसो भनेको होइन नानी । तर यो जमानामा लोग्नेको खुट्टा ढोग्नु त पक्कै पनि राम्रो कुरा होइन । लोग्नेस्वास्नीको सम्बन्ध बराबरीमा हुन्छ पो भन्न खोजेको ।’
बुहारीले रुँदै यो प्रसङ्गलाई आफू उनीहरुबाट नरुचाइएकीले हरेक कुरामा नकारात्मक आरोप लगाएको समेत भन्न भ्याई । उसले यतिसम्म भनी,‘अब आफूहरुजस्तै चेतनशील कुनै केटी खोजेर हजुरका छोराको बिहे गराइदिस्यो ।’
भड्किएको परिस्थितिलाई सम्हाल्नतिर नलागेर छोराले झन् आगो झोसिदियो, ‘यतिका वर्षपछि सपरिवार रमाइलो गरुँ भनेको… ..। हैन, तपाईँको ‘प्रोब्लम’ के हो आमा ? तपाईंलाई हामी प्यारो कि तपाईंको सिद्धान्त ?’
छोराबुहारी सबै चिजबिज यथास्थानमा छाडेर आफ्नो कोठा थुनेर बसे । प्रमिला पनि अर्को कोठातिर लागी ।
एकघन्टा जति पछि नाति लिएर छोराबुहारी बाहिर गए । शेखरको पूरै दिन ‘तिमी गलत छैनौ’ भनेर प्रमिलालाई विश्वस्त तुल्याउनैमा बित्यो । दिन ढल्ने बेलामा उनीहरुले चिया पाउरोटी खाए । टेबुलमा सजाएर राखिएका अनेकथरी परिकार जो बुहारीको फेसबुकवालमा प्रदर्शनीमा आइसकेका थिए, ती त्यतिका त्यतिकै भए । शेखरले तिनलाई फ्रिजमा थन्क्याइदियो ।
३७ वर्षको लामो वैवाहिक जीवनमा पहिलोपटक शेखरले प्रमिलालाई पराजित अनुभूति गर्यो ।
‘तिमीलाई कुनै दिन पनि मैले स्वास्नीको माया गर्नै जानिनँ मास्टर ! तिमीलाई इज्जत दिन पनि जानिनँ । यतिका वर्षसम्म तिमीले कसरी मलाई झेल्यौ हँ ?’ प्रमिलाले शेखरको हात ओल्टाइपल्टाई गर्दै भनी ।
शेखरलाई प्रमिलाको गनगन पटक्कै मन परिरहेको थिएन । तर प्रमिलाको यी कुराको प्रतिक्रिया कसरी दिने भन्ने उसलाई तत्काल आएन । त्यसैले त्यसलाई टार्ने हिसाबले उसले भन्यो, ‘बाटुली, अब हामी अर्कोपटक यो ठाउँमा आउने सम्भावना छैन । त्यसैले यति रमाइलो दिनलाई नरमाइलो बनाउने मुर्ख्याइँ नगर न ।’
‘कसरी माया गर्नुपर्छ, मलाई सिकाइदेऊ न है प्लिज,’ ऊ पारितिर हेरेर बर्बराइरही, यसो गर्दा उसका आँखा चिसा देखिन्थे, ‘अब कति नै बाँचिएला र, तर जति बाँचिन्छ तिम्री असल स्वास्नी भएर बाँच्न चाहन्छु ।’
यो सुनेर शेखर हैरान भयो । उसले अलिक ठूलो स्वरमा भन्यो, ‘आखिर तिमीलाई चाहिएको चाहिँ के बाटुली ? त्यत्रो संसारै बदल्छु भनेर हिँडेका मान्छेहरु त गन्दा नालीमा पौडी खेलिरहेछन् भने सामान्य चेतना भएको मानिस बदलिँदैमा यत्रो महाभारत सिर्जना गर्नुपर्छ ? बाटो अलग भयो भनेर त्यसलाई सहजरुपमा किन लिन सक्दैनौ तिमी ?’
प्रमिला अलिकति सम्हालिई ।
[bs-quote quote=”‘अब छोरालाई उसकै बाटोमा हिँड्न देऊ, तिम्रो चेतनाले मोड्न बलपूर्वक मोड्ने प्रयास नगर । यसले दुवै पक्षलाई दुःख हुन्छ,’ शेखरको शान्त स्वरमा भन्यो।” style=”style-2″ align=”center” color=”#ddb577″][/bs-quote]
‘अब छोरालाई उसकै बाटोमा हिँड्न देऊ, तिम्रो चेतनाले मोड्न बलपूर्वक मोड्ने प्रयास नगर । यसले दुवै पक्षलाई दुःख हुन्छ,’ शेखरको शान्त स्वरमा भन्यो, ‘मलाई चाहिँ हामीले बाँचेको जीवनप्रति गर्व लाग्छ । कम्तिमा आफूले बोकेको आदर्श हाम्रो जीवनव्यवहारमा पनि छ, यो भन्दा ठूलो गौरव के हुन सक्छ ? अझ हामीलाई माया गर्ने, आदर गर्ने हाम्रा विद्यार्थीहरु, असल शुभचिन्तकहरु सम्झिँदैमा पनि म उत्साहित हुन्छु । मलाई यसरी रुन्चे बन्न पटक्कै मन छैन बाटुली ।’
शेखरले प्रमिलाका आँखा पुछिदियो । ‘तिमी नचाहिने बोझ लिएर हिँडिरहेकी रहिछौ, मचाहिँ अर्कै किसिमको गुनासो गरिहिँड्दोरहेछु,’ शेखरले भन्यो ।
‘कस्तो गुनासो ?’
‘अघि तिमीले पुलमा कविता र गीतको कुरा उठाउँदा ममा अनौठो छट्पटी जन्मियो,’ उसले घाँटी सफा गर्दै भन्यो, ‘जीवनमा एकदुईटा कविता आफ्ना लागि लेखेको भए, एकदुई गीत आफ्ना लागि गुन्गुनाएको भए केही बिग्रन्थ्यो र ? समाजको गतिमा कुनै परिवर्तन या रुकावट आउँथ्यो होला त ?’
शेखरको यो कुरा प्रमिलाको मनमा गढ्यो । ‘हो त, यति लामो जिन्दगीमा नितान्त आफ्नै लागि अलिकति समय छुट्याएको भए के बिग्रन्थ्यो ?’
‘हुन्देऊ, चिन्ता नलेऊ । माया गर्नलाई हामीसित अझै केही वर्षहरु छन्,’ प्रमिलाले शेखरको हात बलियोसित समाएर भनी ।
शेखर केही नबोली थेम्सतिरै हेरिरहेको थियो । थेम्समा हावाको झोँक्काले उठाइरहेका स–साना लहरहरु सबैतिर माया उर्लिएको काव्यिक अनुभूति उसलाई भइरहेको थियो । त्यसमा प्रमिला पनि गएर मिसिई । यतिबेला शेखरलाई पहिलो पटक प्रेममा परेको युवकले जसरी मीठो प्रेम कविता लेख्न मन लागिरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।