अघिल्लो अङ्कको बाँकी अंशः
अन्नाको अनुहार अब रातोपीरो भएर आयो । आठ बजिसक्दा पनि दोस्तोयव्स्कीको आउने छाँट देखिएन । उनी निराश भइन् । सारा तयारी, सारा उत्सुकता र आफ्नो सबैभन्दा मनपर्ने लेखक, पहिलो पटक घर आउने कुराले उनको मुटुको ढुकढुकी जुन स्तरले बढेको थियो, त्यो अब सारा खेर जान थाल्यो ।
साढे आठ बजे ढोकामा घण्टी बज्यो । घण्टी थिएन त्यो, बरू उनको सुस्त हुँदै गरेको ढुकढुकीको आवाज थियो । उनी दौडेर ढोकातिर लागिन् । सम्भवतः दौडिँदा निकै ठूलो आवाज आएको हुनुपर्छ तर अन्नाले त्यसमा ध्यान दिइनन् । ढोकामा को थियो, उनलाई थाहा थियो ।
ढोका खोल्दाखोल्दै उनले भनिन्, ‘आखिरीमा तपाईं आउनु नै भयो !’
दोस्तोयव्स्की मुस्कुराए मात्र ।

फ्योदोर दोस्तोयव्स्कीका दुई सन्तानकी आमा अन्ना
त्यसपछि कुराकानीको लामो शिलशिला शुरू भयो । त्यही बेला उनले कसरी दोस्तोयव्स्कीले प्रहरीलाई १ नोभेम्बरमा आफ्नो पाण्डुलिपि बुझाए, कसरी प्रकाशक फन्किएर निस्किए र पाण्डुलिपि लिन अस्वीकार गरे आदिआदि ।
कुरा गर्दागर्दै कतिखेर ११ को घण्टी ठोक्कियो, त्यो पनि थाहा हुन सकेन । दोस्तोयव्स्की भने अब निस्कने तयारी गर्दै थिए । त्यही बेला उनले भने, ‘म क्राइम एन्ड पनीशमेन्टको अन्तिम भाग लेख्ने सोचिरहेको छु । तिमीले सघाउँछ्यौ ?’
अन्नालाई भने ओल्खिनको डर थियो, उनले भनिन्, ‘ओल्खिनले अरूलाई नै यो कामका लागि छाने भने नि ?’
‘मलाई त तिम्रो काम मन पर्छ,’ दोस्तोयव्स्कीले भने, ‘मलाई खासमा भन्ने हो भने तिम्रो बानी पर्यो । म नयाँ कुनै व्यक्तिसँग कसरी काम गरूँला ? ऊसँग तारतम्य मिल्नै गाह्रो हुन्छ होला !’
अन्ना केहीबेर चूप रहिन् । त्यो देखेर दोस्तोयव्स्कीले भने, ‘अब तिमी नै मसँग काम गर्न चाहन्नौ भने कुरा अर्कै होला !’
दोस्तोयव्स्कीको आवाजमा हल्का निराशा सुनिन्थ्यो । यस्तो आवाज सुन्नेबित्तिकै अन्नाको चित्त कुँडियो । उनले भनिन्, ‘म काम गर्न नचाहने भन्ने कुरा होइन । म बरू ओल्खिनसँग कुरा गर्छु । मैले तपाईंलाई सघाउने कुरामा उनले शायद विमति नजनाउलान् ।’
यो सुनेपछि दोस्तोयव्स्कीको अनुहार उज्यालियो, हिँड्दाहिँड्दै भने, ‘अँ, कुरा गर है त ! जे भए पनि मलाई खबर गर ।’
०००
८ नोभेम्बर १८६६ अन्नाका लागि महत्त्वपूर्ण दिन साबित भयो । प्रेममा चुर्लुम्म डुबेका फ्योदोर दोस्तोयव्स्कीले अन्नालाई व्यग्रताका साथ आफ्नो प्रेमका बारेमा बताएका थिए र बिहेको प्रस्ताव राखेका थिए ।
त्यो दिन भएको के थियो भने, उनीकहाँ अन्ना आउने सूचना पुगिसकेको थियो । अन्ना ढिलागरी दोस्तोयव्स्कीकहाँ पुगेकी थिइन् । निकै ढिला भएकाले दोस्तोयव्स्की निकै व्यग्र भएका थिए । उनी घरभित्र छिर्नेबित्तिकै दोस्तोयव्स्कीले भने, ‘अहो, तिमी साँच्चिकै आयौ !’
यसपछि अन्नाको कोट उतार्न सघाए र भने, ‘मलाई त तिमीले आउने कुरा नै बिर्सयौ कि भन्ने लागेको थियो ।’
‘तपाईंलाई किन त्यस्तो लागेको नि ? म वचनकी पक्का छु भन्ने तपाईंलाई लाग्दैन ? अहिलेसम्म कुनै कुरामा चूक गरेकी छु र ?’ दोस्तोयव्स्कीलाई सताउने हिसाबले अन्नाले लामो कुरा गरिन् ।
‘हतारोमा के के कुरा निस्कियो तर तिमी आएकामा म ज्यादै खुशी भएँ,’ उनले उत्साहित हुँदै अन्नाको हात समाते ।
अन्नाले आफ्नो समातिएको हात हेर्दै भनिन्, ‘मलाई पनि यहाँ आउँदा खुशी लागेको छ तर तपाईंको उत्साह चाहिँ आश्चर्यजनक तरिकाले अलि बढी नै छ ।’
दोस्तोयव्स्कीले हाँस्दै भने, ‘अँ, आज राति मैले एउटा अनौठो सपना देखेँ ।’
‘सपना देख्नुमा खास के हुन्छ र ?’ अन्नाले हाँस्दै भनिन् ।
‘तिमी नहाँस प्लीज, किनभने सपाना मेरालागि अमूल्य छन् । मेरो सपनाको कुनै न कुनै अर्थ अवश्य हुन्छ ।’
‘उसो भए के देख्नु भयो त, सपनामा ?’
दोस्तोयव्स्कीले अगाडिको टेबुलमा राखिएको रोजवुड बक्सतिर ईशारा गर्दै भने, ‘यो बाकस देख्यौ ? यो मलाई साइबेरियामा छँदा एउटा साथीले दिएको थियो । अरूका लागि जाबो यो एउटा काठे बाकस होला तर यसको एउटा भावुक बनाउने मूल्य छ । म आफ्ना सारा पाण्डुलिपि यसैमा राख्छु । मैले हिजो राति यो बाकस खोतल्दै थिएँ । मलाई एउटा कागज खोज्नु थियो । कागज त फेला पारिनँ तर हातमा एउटा सानो चिज हात पर्यो । निकालेर हेरेँ, यो त हिरोको औँठी पो रहेछ… !’
‘अनि ?’
‘त्यसपछि के भयो, मलाई सपना याद छैन ।’
अन्नाका लागि यो सपनाको के अर्थ होला त ? केही पनि थिएन । तर दोस्तोयव्स्कीका लागि खास अर्थ थियो । अन्नाले नियालेर दोस्तोयव्स्कीलाई हेरिन्, उनी एउटा गहन सोचमा डुबेका थिए । केही बेरको मौनतापछि लामो सास तान्दै उनले भने, ‘मैले एउटा उपन्यासको योजना बनाएको छु ।’
अन्नाको अनुहार उज्यालियो, भनिन्, ‘साँच्ची ? यो पो त कुरा !’
‘तर मैले उपन्यासको अन्त्य पत्ता लगाइसकेको छैन । यसका लागि मलाई कुनै जवान युवतीको प्रतिक्रिया चाहिएको छ । मस्कोमा भएको भए त मेरी भान्जीसँग सहयोग लिन्थेँ । सोनियाले मलाई निकै सहयोग गरेकी छे । तर अब ऊ छैन भने तिमी त छ्यौ नि ! हैन ? तिमीलाई सघाउँछ्यौ ?’
‘तपाईंजस्तो लेखकलाई मैले सघाउन पाउँदा त खुशी नै हुन्छु नि, खुशी के गर्व नै लाग्छ नि !’ अन्नाले गम्भीर हुँदै भनिन् र केहीबेरपछि सोधिन्, ‘यसको नायक को हो ?’
‘नायक एउटा कलाकार हो, ऊ मेरै मेरको छ…’
‘म यसको पूरै विषयवस्तु जान्न चाहन्छु, विस्तारमा बताउनोस् न,’ अन्नाले नयाँ उपन्यासको विषयवस्तुप्रति विशेष इच्छुक हुँदै भनिन् ।

अन्ना र फ्योदोर
यसपछि लामा लामा कुरा सुनाए दोस्तोयव्स्कीले । यस्तो लाग्थ्यो, यो उनकै जिन्दगीको कथा हो । त्यहाँ पात्रको नाम र अवस्था मात्र परिवर्तन भएको छ । नायकको जिन्दगी पूरै यातनाले भरिएको छ, जुन दोस्तोयव्स्कीले भोगिसकेका थिए । उपन्यासको नायकको हातमा कलम मात्र थिएन, उसको हातमा बुरूस थियो । नायकका दुःख सुनेर अन्नाका आँखामा आँशु छचल्किन्थे ।
अन्नाले भनिन्, ‘तपाईं आफ्नो नायकका प्रति यति धेरै कडा र बेरहम किन बन्नु हुन्छ ?’
‘तिमीलाई नायक मन परेन ?’ दोस्तोयव्स्कीले सोधे ।
‘हैन, हैन । मलाई नायक मन पर्यो तर यति धेरै पीडा झेलेर पनि त्यसबाट निस्कने उसको गुणबाट म प्रभावित भएँ तर किन यति धेरै पीडा दिएको भनेर चित्त कुँडिएको !’
दोस्तोयव्स्कीले यसपछि कथा अघि बढाए, ‘एक दिन नायकको जीवनमा एउटी जवान युवती आइपुगी । उसको नाम थियो, अन्ना ।’
अन्नालाई लाग्यो, यो पक्कै पनि मेराबारेमा होइन । यो त त्यो अन्नाको बारेमा हो, जुन कुनै समय दोस्तोयव्स्कीको प्रेम थिई । उनको नाम थियो, अन्ना कर्विन क्रुकोव्स्काया । त्यो बेला त अन्नाले स्वयं आफ्नो नाम पनि अन्ना हो भन्ने बिर्सिसकेकी थिइन् ।
दोस्तोयव्स्कीले भने, ‘अन्ना ज्यादै नै सरल, दयालु, हँसिली छे । नायक उसलाई चित्रकलाको कक्षामा देख्ने गर्छ । देख्दादेख्दै ऊ उसलाई मायाँ गर्न थाल्छ । उसलाई जुन खुशीको खोजी छ, त्यही केटीले दिन सक्छे भन्नेमा पक्का छ । तर नायक दिक्क छ । दिक्क यसकारणले छ कि उसको उमेर निकै घर्किसकेको छ । त्यसमाथि ऊ रोगी पनि छ । उसमा हीनता यति भरिएको छ कि अन्नालाई आफ्नो प्रेम अभिव्यक्त गर्न पनि सकिरहेको छैन ।’
टहलिँदै कथा बताइरहेका दोस्तोयव्स्की टक्क अडिए । त्यसपछि विस्तारै अन्ना छेउमा आइपुगे र आँखामा आँखा जुधाउँदै भने, ‘यस्तो नायकलाई त्यो कलिली अन्नाले मन पराउन सक्छे ? के उसले मायाँ गर्न सक्छे ? म यसैका बारेमा तिम्रो धारणा बुझ्न चाहन्थेँ ।’
अन्ना कथामा यति भिजिन् कि उनलाई कथाबाहेक केही सुझिरहेको थिएन । उनलाई दायाँबायाँ केही याद भएन । उनले भनिन्, ‘तपाईंकी अन्ना दयालु, सरल छे भने अनि त्यसमाथि कलाकारको नजिक पनि छे भने अवश्य पनि मायाँ गर्छे नि ! मायाँ-प्रेममा धनी-गरीव वा उमेरजस्ता कुराले खासै अर्थ राख्दैन । अन्नाले त्यो कलाकारलाई साँच्चिकै मायाँ गर्छे भने त ऊ जीवनभर खुशी नै रहन्छे । उसलाई कुनै किसिमको पछुतो पनि हुने छैन ।’
यी सबै कुरा एउटा नशामा लठ्ठिएकी युवतीझैँ अन्नाले जवाफ दिइन् ।
छक्क परेर दोस्तोयव्स्कीले अन्नालाई हेरे, भने, ‘तिमीलाई साँच्चिकै यस्तो लाग्छ कि मेरो मन राख्न यस्तो भनेकी हौ ? किनभने, कुनै भर्खरकी युवतीले त्यो बूढो कलाकारलाई कसरी गहिराईमा पुगेर प्रेम गर्न सक्छे ? कसरी जीवनभर उसलाई मायाँ गरिरहन सक्छे र ?’
यसपछि उनी केहीबेर टहलिए र अन्नातिर हेर्दै भने, ‘एक पटक तिमी आफूलाई त्यस ठाउँमा राख र कल्पना गर, तिम्रो अघिल्तिर त्यो कलाकार छ । मलाई त्यही कलाकार ठान, एकछिनलाई । त्यसपछि मलाई हेर्दै जवाफ देऊ ।’
दोस्तोयव्स्कीको अनुहारमा व्यग्रता थियो । उनी निकै गम्भीर पनि थिए ।
यसपछि अन्ना दोस्तोयव्स्कीछेउ गइन् र उनको आँखामा आँखा जुधाउँदै गम्भीरतापूर्वक भनिन्, ‘सारा उमेरलाई छाडिदिनुस्, उसको रोगलाई छाडिदिनुस् । यदि म अन्नाको ठाउँमा भएकी भए, त्यो कलाकारलाई भन्ने थिएँ, म तपाईंलाई मायाँ गर्छु र जीवनभर गरिरहने छु । मलाई केही कुराको मतलब छैन ।’
अवाक् भएर दोस्तोयव्स्कीले अन्नालाई हेरे । केहीबेर दुवैतिर मानौँ श्वास मात्र सुनिन्थ्यो ।
मुस्कुराउँदै दोस्तोयव्स्कीले भने, ‘अन्ना ग्रिगोरिभ्ना, सपनाको त्यो सानो चम्चमाउँदो हिराको रहस्य मैले पत्ता लगाएँ ।’
छक्क पर्दै र उत्सुकतापूर्वक अन्नाले सोधिन्, ‘तपाईंले सपनाको अन्त्य सम्झनु भएकै हो त ?’
‘होइन, सपनाको अन्त्य त याद छैन तर मैले त्यो हिरा मैले फेला पारेँ । अब म त्यो हिरालाई कहिल्यै पनि आफूबाट टाढिने छैन ।’
अन्नालाई थाहा भइसकेको थियो, हिरा भनेर दोस्तोयव्स्कीले कसलाई भनिरहेका थिए । जिस्क्याउँदै अन्नाले जिस्क्याउँदै भनिन्, ‘फ्योदोर मिखाइलोविच, तपाईंले जसलाई हिरा भनिरहनु भएको छ, त्यो एउटा सामान्य पत्थर हो, ढुंगो हो ।’
जिस्क्याईमा रमाउँदै दोस्तोयव्स्कीले भने, ‘यस पटक मैले हिरा चिन्न भूल गरेको छैन । मैले असली हिरा नै फेला पारेँ भन्नेमा म विश्वस्त छु ।’
नभन्दै अन्ना दोस्तोयव्स्कीको जीवनको हिरा नै थिइन् । दोस्तोयव्स्कीको जीवनमा यसपछि पनि अनेक महिलाहरू देखा परे । दोस्तोयव्स्कीले अरू कसैलाई रूचाएनन् । उनी त एउटी समर्पित पत्नी चाहन्थे । सधैँ आफू वरिपरि रहोस्, जीवनभर सेवा गरोस्, आफूबाहेक अरू कसैका बारेमा नसोचोस् भन्ने ठान्थे ।
अन्ना पनि त्यस्तै थिइन् । उनले आफ्नो सपनाकी पत्नी फेला पारेका थिए । यसका बारेमा उनको उपन्यास इडियटमा आग्लायामा देख्न सकिन्छ । त्यस्तै योङमा आखमाकोभा र ब्रदर्स कारामाजोभमा क्याटरिना इभानोभ्नामा प्रस्ट अनुभूत गर्न सकिन्छ ।
एक पटक उनकै कुनै आफन्तले सोफियासँग बिहेका लागि जोडी बाँधिदिन खोजेका थिए तर सोफिया चाहिँ रोगी लोग्नेको हेरचाह गरेर बस्ने खालकी थिइनन् भन्ने एउटा आत्मकथामा लेखेकी छन् । उनको ‘बालापनको सम्झना’ स्मरणमा कसरी आफूजस्ती मस्तीखोरसँग कुनै बेला दोस्तोयव्स्कीले झन्नै बिहे गरेर बिग्रिए भन्नेबारे लेखेकी छन् ।
बिहेअघि अन्ना दोस्तोयव्स्कीकहाँ डिक्टेशनका लागि गएकी थिइन् । उनी त्यो घरको टेबुलमा सधैँ एउटा सुन्दर चिनियाँ फूलदानी देख्ने गर्थिन् ।
उनले एक दिन त्यो फूलदानीलाई सुम्सुम्याएको देखेर दोस्तोयव्स्कीले भनेका थिए, ‘यो फूलदानी मलाई ज्यादै मन पर्छ । मलाई साइबेरियामा छँदा एउटा साथीले दिएको थियो ।’
भोलिपल्ट जाँदा त्यो फूलदानी गायब थियो ।
त्यहाँ नदेख्दा अन्नाले सोधिन्, ‘खै त, त्यो फूलदानी ?’
‘ठट्टा गरूँ ?’ भन्दै दोस्तोयव्स्कीले भनेका थिए, ‘एउटै घरमा दुई सुन्दर चिज सुहाउँदैनन् । त्यसैले एउटालाई किनारा लगाइदिएँ ।’
यो ठट्टा अन्नालाई मन परेन । उनले वास्तविक रूपमा नै कहाँ गयो भनेर उनी जान्न चाहन्थिन्, ‘साँच्ची भन्नु न !’
गम्भीर हुँदै दोस्तोयव्स्कीले भने, ‘मलाई २५ रूबल चाहिएको थियो । त्यसैले मैले यसलाई बेचिदिएँ ।’
उनले अर्को एक दिन पनि अर्को त्यस्तै फूलदानी गायब भएको देखिन् ।
एक दिन डाइनिङ रूममा जाँदै गर्दा उनको टेबुलमा अन्नाले काठको चम्चा देखिन् । यसअघि उनले त्यहाँ चाँदीको चम्चा देख्ने गरेकी थिइन् । त्यो गायब भएर यो आएको देखेर फेरि सोधिन्, ‘तपाईं हिजोआज काठको चम्चाले खाना खान थाल्नु भयो ? चाँदीको चम्चा के भयो ?’
‘काठको चम्चाले खानु बाध्यता भयो, मैले त्यसलाई पसलेकहाँ बाँकी राखेको छु ।
दोस्तोयव्स्कीले आफ्नो आर्थिक तनावलाई सधैँ हल्का ढंगले प्रस्तुत गर्ने गर्थे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










