
मलाई कलेजमा सबैको सामु उसले “ईलोमी” भनेर बोलाउँथी । अर्थात् सेमा नागा भाषामा “मेरो प्रिय” भनेको अरे । साँच्चै म उसको कति प्रिय थिएँ, म प्रतिको उसको हावभाव व्यहार र हेराईबाट नै अनुमान लगाउन सक्थेँ ।
त्यस समय म कलेजमा प्रथम वर्षको छात्र थिएँ । विरानो मुलुकमा आफ्नो भन्ने कोही पनि थिएन । कलेज परिसरबाट बाहिर निस्किनु पनि डरसरी त्यस समय नागाहरू र भारतीय सेनाहरूमाझ द्रोह चलिनैरहेको थियो । एक दिनको कुरा हो, म कलेजको प्राङ्गणबाट होस्टेलतिर जाँदैथिएँ । कसैले पछाडिबाट मृदु स्वरमा बोलायो । यो एकजना युवतीको आवाज थियो । फनक्क पछि फर्केर हेरेँ, एउटी युवती खडा रहिछ । यौवनको वसन्तले ल्याएको लालिमासँगै मृदु मुस्कान छर्दै मलाई एकोहोरो हेरेर भन्न लागी, ‘मेरो नाम हिकानी हो । म पनि प्रथम वर्षमा नै अध्ययनरत छु । शायद श्रेणीभित्र तिमीले मेरो ख्याल गरेनौ होला र थाहा भएन । यति परिचय दिएपछि ऊ चुप लागी तर उसका आँखाहरूले अझै केही भन्न खोजिरहेको थियो । विरानो परिवेशमा अपरिचित युवतीसँग बात गर्दा मनमा कताकता चिसो पस्यो । तरै पनि आँट गरेर धन्यवाद भन्दै थपेँ, ‘परिचयको निम्ति मेरो परिचय त पाइहाल्नु भएछ । म सिक्किमबाट आएको हुँ ।’
सिक्किम भन्नेबित्तिकै उसको अनुहार उज्यालो भयो र भन्नलागी, ‘सिक्किमको बारेमा मैले सुनेको छु । त्यहाँ एकदमै शान्त, हरियाली, पुष्प, पहाड, नद-नदी, विभिन्न चराचुरुंगी र दुर्लभ वन्यप्राणीले भरिएको छ अरे । जाने एकदमै ठूलो इच्छा छ । तिमीसँगै जान्छु एकदिन, मलाई लान्छौ ?’
‘तिमी जान्छ्यौ भने लान्छु नि !’ छोटो उत्तर दिएँ ।
अलिक परतिर एउटा सानो क्यान्टिन थियो त्यता देखाएर उसले भनी, ‘जाउँ, त्यहाँ एकक्षण बसेर गफ गरौँ ।’ म मनमनै छक्कै पर्छु । आजै मात्र हाम्रो बोलचाल हुँदैछ, कस्तो वर्षौं अघिदेखि एकसाथ भेटेझैँ सोझै निर्धक्क कुरा गर्छे ! कति ठूलो भिन्नता छ, उसको र हाम्रातिरका युवतीहरूबीच । त्यहाँ बसेर चिया पिउँदै फेरि ऊ नै बोल्न थाली, ‘हेर न, हामी नागाहरू त भर्खरै सभ्य हुँदै गरेको मात्र हौँ, यहाँ एउटा पनि वन्यप्राणी, चराचुरुंगी पाइँदैन । सबै हाम्रै जातिहरूले मारिसके । शान्ति छैन, दिनहुँ रगतको खोला बग्छ । यहाँ निर्दोष र अबलाहरूको ज्यान व्यर्थै जान्छ । यहाँ जीवनको कुनै टुंगो छैन । भोलि यसरी हामीसँगै नहुन पनि सक्छौँ ।’
‘तिमी पनि होसियारीका साथ रहनु ल !’
अहिले उसको अनुहारमा म विषादका रेखाहरू स्पष्ट देख्छु अनि केही अघिका त्यो चञ्चल आँखामा भेल उर्लिएको पनि थाहा गर्छु । म चुपचाप उसलाई नियालिरहेको छु । ऊ नै फेरि भन्न थाल्छे, एउटा मभित्र घटिरहेको घटना तिमीलाई भनूँ भनेको, सुनेर अनर्थ नसम्झी दिनू ल मलाई ! गल्ती भए माफी पाऊँ ।’
म हाँस्दै ‘के हो त्यस्तो कुरा ?’ भनेर सोध्छु । उसले अलिकति पनि नहिच्किचाइकन भन्छे, ‘तिमीलाई देखेको प्रथम दिनदेखि नै मेरो हृदयको धड्कन बेग्लै प्रकारले धड्किरहेको छ । वास्तवमा म तिमीलाई प्रेम गर्न थालिसकेछु… तर यो त मेरो पक्ष मात्र हो तर तिमी के भन्छौ, त्यो तिम्रो निर्णयमाथि भरपर्छ ।’
म ठूलो असमञ्जस र दोधारमा परेँ । सोझै इन्कार गरिदिउँ भने यस्तो विरानो मुलुकमा कसैबाट पाउन लागेको स्वच्छ प्रेम र साथ, स्वीकार गरौँ भने न त ऊसँग मेरो भाषा वेश-भूषा, संस्कृति र संस्कार नै मिल्छ । म दोसाँधमा उभिएर उसलाई नियालिरहेँ । उसले पनि मलाई एकोहोरो हेरिरहेकी थिई । उसको हेराईमा एउटा आग्रह र निःस्वार्थ प्रेमको तरंगहरू छचल्किरहेको म देखिरहेको थिएँ । त्यो मौनतालाई भङ्ग गर्दै मैले हुन्छ भनिदिएँ । त्यस क्षण ऊ सारै खुसी भई, दुई तीनपल्ट मेरो हातलाई समातेर धन्यवाद भनी अनि मलाई त्यहीँ छोडी राखेर हस्टेलतिर गई ।
पछि चाल पाएँ त्यस कलेजमा सबैको एक-एक जना साथी हुँदारहेछन् । हामीलाई अरुहरूले आदर्श जोडी भन्थे, कारण हामी यति सारो मिल्थ्यौं कि अरुहरूले आरिस गर्थे, डाहले जल्थे । यसरी नै हाम्रा दिनहरू बित्दै गए । हामीसँगै विभिन्न राज्य र इलाकाहरूमा शोध गर्नको निम्ति जान्थ्यौँ । एक दिन जुनहिबोटो शहरमा पुगेको थियौँ । यो नागाल्याण्ड राज्यको एउटा जिल्लाको मुख्य शहर हो । भोक-तिर्खा मेटाउन एउटा सुसज्जित होटलमा प्रवेश गर्यौं । अरु साथीहरूले के-के खाए कुन्नी थाहा भएन । उसले मलाइ “हमुक” खाऊँ ल कस्तो मिठो हुन्छ, हामी नागाहरूको स्पेशल हो भनी । मैले हुन्छ भनेँ । वेटरले ल्याएर टेबलमा राखिदियो । यसो हेरेको त चिप्ले कीराको प्रजाति रहेछ । गन्धैले झन्डै ज्वालामुखी फुट्यो मुखबाट, बलैले रोकेँ । उसले त मज्जाले खाई । मलाई पनि अझै खाऊ न भन्दै थिई ।
‘हाम्रो पहाडमा त यस्तो खाँदैनौँ ?’ मैले आफ्नो कुरा राखेँ ।
उसले हाँस्दै भनी, ‘हाम्रो विवाहपछि नागाको ज्वाईं भएर नखाई कहाँ धर पाउँछौ र यहीँ बसेपछि ?’
‘म कहाँ यहाँ बस्छु र ? विवाह पछि त तिमी पो मेरो घरमा जानुपर्छ । हाम्रो जातिको चलन हो,’ गर्वसाथ मैले भनेँ ।
‘पछि हेर न, मेरै जित हुन्छ, तिमी यहीँ बस्नुपर्छ । म उता जान चाहेर पनि सक्दिनँ,’ उसले हाँस्दै भनी । त्यस दिन म प्याजसँग मात्र खाना खाएर हिँडेँ, एउटा मिठो सम्झना ।
समयको रफ्तार कति छिटो चल्दोरहेछ ! हिज-अस्ति आएजस्तो लाग्थ्यो, तीन वर्ष बितेछ । हाम्रो पढाई पनि सिद्दियो ।
एकदिन उसले भनी, ‘ईलोमी, हाम्रो पढाई पनि सकियो । गत तीन वर्ष हामीले खुसीहरू बाँट्दै सुख-दुःख विद्यार्थीजीवनका दिनहरू बितायौँ । अब हामी विवाह गरौँ अनि यहीँ बसौँ । तिम्रो आपा-आमालाई पनि यतै लिएर आऊ । मेरो त आपा-आमा पनि हुनुहुन्न । उसको कुरा काट्दै मैले सोधेँ, ‘हिकानी, साँच्ची तिमीले तिम्रो आपा-आमाको बारेमा त कहिले पनि मलाई बताइनौ त ? सोध्दा पनि सानो छँदै बित्नु भो मात्र भन्थ्यौ ।’
मेरो प्रश्न सुनेर उसको अनुहारमा क्रोध र घृणाको धर्साहरू कोरिए । उसले भनी, ‘आज भन्दा दस वर्षअघि हाम्रो गाउँमा भूमिगत नागाहरूलाई शरण किन दियौ भनेर भारतीय सेनाले गोली चलाउँदा अरु निर्दोष गाउँलेहरू सँगै मेरो आपा-आमा गोलीको शिकार भए । म एउटा दैलोको चेपमा लुकेर यो सब दृश्य हेरिरहेकी थिएँ । त्यसर्थ त्यस दिन नै मैले त्यस घटनाको प्रतिशोध लिने कसम खाएकी छु । त्यसर्थ तिमीलाई बारम्बार भन्दै आएकी छु नि, तिमी मेरो सर्वस्व हौ, मुटुको मेरो धुकधुकी हौ तर अपशोच तिम्रो साथ लागेर म सिक्किम जान सक्दिनँ । मलाई माफ गरिदेऊ । म यहाँ नै बस्नुपर्छ, हाम्रो माटो र जातिमाथि भै रहेको दमन, अत्याचार र शोषणको विरुद्ध लडेर प्रतिशोध लिनुछ ।’
उसको क्रोधलाई शान्त गर्दै मैले भनेँ, ‘हेर तिमीजस्ती शिक्षित नारी भएर यो मुर्ख कुरा गर्न सुहाउँदैन । ठिकै छ, तिमी मसँग सिक्किम नजाऊ । म तिमीले दिएको पवित्र प्रेम र साथ लिएर जानेछु । म पनि गोर्खालीको छोरा हुँ । वर्षौंअघिदेखि हामीले तिमीहरूजस्तै आफ्नो स्वजनहरू गुमाउँदै आएका छौँ । अत्याचार, दमन, शोषण त हामीले पनि सहेका छौँ, सहिरहेका छौँ | तिम्रैजस्ता हजारौँ आमा-बाउको बलिदान हाम्रो जाति र माटोको निम्ति भएको हामीले पनि देखेका छौँ । प्रतिशोधको आगोमा होम्मिएर बन्दुकको बदला बन्दुक, खुनको बदला खुन लिन उठ्यौँ तर खोइ के पायौँ र ? आजसम्म हामी हाम्रै दुःखमा संघर्ष गरिरहेका छौँ । शायद धेरै प्रतिशोध हामीले लियौँ होला तर खोई त के लाभ भयो र ? हजारौँ स्वजनलाई गुमायौँ, हाम्रो जाति सभ्यातालाई पछि धकेली पठायौँ अनि आज विश्वको आँखामा पछौटे जाति भयौँ, प्रवासीको कलंक पायौँ । त्यस समय हामीले बन्दुकको सट्टामा कलम चलाएको भए खुनको बदला मानवताको नारा लगाएको भए हाम्रो जाति सभ्यताको शिखर चढिसकेको हुन्थ्यो । तिमी पनि एक्काइसौँ शताब्दीमा बन्दुक उठाएर प्रतिशोध लिनु भन्दा कलम चलाएर मानवताको पाठ तिनीहरूलाई सिकाएर बदला लिने कदम उठाऊ । तिम्रो अभियान सफल हुनेछ । तिमीसँग मेरो केही मनदुख छैन । यदि तिम्रो हृदयमा आफ्नो माटो, जाति र संस्कृतिको निम्ति हाम्रो नाता तोड्न सक्छौ भने म त हाम्रो प्रेम सफल भएको ठान्छु । म जहाँ गए पनि तिम्रो पवित्र प्रेमलाई हृदयमा सजाएर राख्नेछु । खाली तिम्रो नश्वर शरीरको साथ नपाउने भएँ, ठिकै छ । मेरो केही गुनासो छैन ।’
मैले यति बोलिसक्दा ऊ मूर्तिवत् भै सुनिरहेकी थिई । उसको अनुहारमा अहिले अर्कै रौनकता थियो । ऊ चुपचाप आँशु पुछ्दै आई र मलाई अँगालो हालेर फेरि धेरैबेर रोई अनि आँशु पुछ्दै भन्न लागी, ‘ईलोमी, मेरो रोजाई गलत थिएन रहेछ । तिमीलाई मैले नै प्रेमको प्रस्ताव राखेँ, तिमीले स्वीकार गर्यौ । मेरो कमजोरीको फाइदा उठाएर आफ्नो स्वार्थ कहिले पूरा गरेनौ । अरु भएको भए मलाई बर्बाद गर्थे होलान्… तर तिमीले मेरो जीवनको लक्ष्यलाई नै ठूलो मोड दियौ । गोर्खालीहरूको त्याग, निःस्वार्थ सेवा, बलिदान र बहादुरीको कथा सुनेको थिएँ । साँच्चै, आज तिमीले प्रमाणित गरिदियौ । यत्तिका वर्षसम्म एउटा प्रेमिका भएर तिमीलाई अलमल्याएँ अनि अन्तिम क्षणमा नाता टुक्राइदिएँ । अरुले भा मलाई यहाँ नै गोली ठोक्थे होलान् कि त बद्नाम गरिसक्थे होलान् तर तिमीले त मलाई उल्टा धन्यवाद पो दिँदैछौ साथ दिएकोमा । म पनि तिम्रो पवित्र प्रेम र आदर्श जीवनलाई कहिले भुल्दिनँ । यो हृदयमा उनेर सजाउँनेछु आजीवन ।’
यसरी हामी सपनाहरू सजाएर हिँडेको गोरेटोहरूबाट एकअर्का छुटियौँ । म आफ्नो ठाउँमा फर्की आएँ र कामधन्दामा व्यस्त भएँ । उसले पनि कहिले पत्रचार गरिन, मैले पनि गरिनँ । छुट्टिएपछि स्मृतिका पन्नाहरू विस्तारै अर्को घटनाले छोप्दै लाँदोरहेछ । बिस्तारै मैले उसलाई भुलिदिएँ ।
धेरै वर्षपछि नागाल्याण्डमा गृहयुद्ध विरामको घोषणा भयो । कतिपय काम लिएर साथै स्मृतिका पन्नाहरूमा हराएको घटनाहरू ताजा बनाउने उद्देश्यले म नागाल्याण्ड पुगेँ | डिमापुर शहरको “सारामति होटेल”को झ्यालबाट एकदिन बाहिर हेरिरहेको थिएँ । एउटा सेतो कार आएर होटेलकै अघि टक्क रोकियो । त्यो कारबाट एउटा नागा वेश-भूषामा सजिएकी एउटी युवती उत्रिएर होटेलभित्र पसी । कता-कता देखेजस्तो लाग्यो । कालो चस्मा लगाएकी थिई, ठम्याउनै सकिनँ । एकछिनपछि वेटर आएर तपाईंलाई मेडमले बोलाउनु हुँदैछ भन्यो । को होला भनेर तल होटेलको सिटिङ रुममा झरेँ । मलाई देख्नेबित्तिकै हात हल्लाई । राम्रो नियाली हेरेँ, हिकानी पो रहिछ !
निकैबेरसम्म एक-अर्कालाई हेरी रह्यौं, वाक्यै फुटेन । मौनता भङ्ग गर्दै सोधेँ, कसरी चाल पायौ म यहाँ छु भनेर ?
‘अहिले भर्खरै रेबेमोले तिमीलाई देख्यो रे, यहाँ भन्ने कुरा गर्यो र सिधै आको नि कुनै सूचना बिनै ! तिमी कहिले आयौ ?’ उसले सोधी ।
‘एक हफ्ता भयो, आज एक बजेको फ्लाइटमा फर्किने,’ छोटो उत्तर दिएँ ।
‘तिमी के गर्दैछौ अहिले ?’ मैले सोधेँ ।
‘तिमीले बन्दुक उठाउनु दिएनौ, अहिले म नागाल्याण्ड नारी उत्थान संघको अध्यक्षको रुपमा राज्यको सेवा गर्दैछु,’ उसले भनी, ‘यहाँको गृहयुद्ध विराम गराउन कम्मर कसेर अघि बढेँ म पनि । सफलता पनि पायौँ । अहिले मेरो गाउँमा प्रतिशोध र खुनको खोला होइन, विकास र उन्नतिको नदि बग्दैछ ।’ उसले हाँस्दै भनी । शायद ऊ खुसी थिई ।
‘तिमी चैँ के गर्दैछौ ?’ उसले मलाई सोधी ।
‘त्यही हो, तिमीजस्तै जाति, समाज र राष्ट्रको उत्थानमा सेवा गर्दैछु ।’
यति बात गरेपछि हामी एकक्षण मौन भयौँ । हाम्रो मौनता भङ्ग गर्दै उसले सोधी, ‘तिमीले विवाह गर्यौ ?’
हाँस्दै मैले भनेँ, ‘मलाई हेरेर अनुमान लगाऊ त !’
‘साँच्चै सोधेकी पो त !’ उसले भनी ।
मैले हाँस्दै भनेँ, ‘खोई, यो संसारमा तिमीजस्तै अर्को कसैलाई लागेन । अहिलेसम्म अविवाहित नै छु ।’
मेरो वाक्य सुन्नेबित्तिकै उसका आँखा रसाए तर लुकाउनु खोज्दै कृत्रिम हाँसो हाँस्दै भनी, ‘मैले पनि त गरेकै छुइन । शायद तिम्रो पाप लाग्यो कि क्या हो…!’
हामी दुवै ग..ल..ल..ल हाँस्यौँ । एक बज्न लागेछ । यतिबेला होटेलको चालकले भन्यो, ‘सर जाने समय भयो ।’
मेरा सरसमानहरू अघि नै गाडीमा चढाई सकिएको थियो । होटेलको बिल बुझाएर म गाडीमा पसेँ । ऊ पनि मलाई पुर्याउन हवाई अड्डासम्म जाने भई । त्यहाँ पुगेर म गाडीबाट उत्रेँ, उ पनि उत्री । म फ्लायटतिर बढ्न लागेको थिएँ, मेरो हात च्याप समातेर भनी, ‘ईलोमी, तिमीलाई मैले साँच्चै भुल्न सकेकी छुइनँ । उसका आँखाहरूमा भल उर्लिन्दै थियो । यसरी धेरै वर्षपछि कर्णप्रिय शब्दमा ईलोमी भनेको सुन्दा हृदयमा कता-कता दुख्यो मेरो पनि । तर आज मैले उसलाई सिक्किम जाने त भनेर सोध्न सकिनँ । शायद उसले पनि फेरि आउँछौ भनेर सोध्न सकिन होला । बिदाको अन्तिम हात मिलाएर म फ्लायटमा चढेँ । पछाडिबाट उसले हात हल्लाई रहेकी थिई… फ्लाइट आँखाबाट ओझेल नभएसम्म उसले हेरिरहेकी थिई भन्ने मलाई लागिरह्यो ।
हि गाउँ, पश्चिम सिक्किम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

