
उनको भव्य बैठक कोठामा सानो जमघट थियो । बैठक कक्षका टेवुलहरू खानाका परिकारले खचाखच थिए । आकर्षक सिसाका गिलासहरू महङ्गा अल्कोहलका बोत्तलहरूबाट भरिँदै थिए । र, चियर्स गर्दै सोफामा विराजमान व्यक्तित्वहरूका ओठ पवित्र पारिरहेका थिए ।
उनकी श्रीमती पनि प्रशन्न मुद्रामा घरेलु सेवकहरूलाई आदेश दिइरहेकी थिइन्, ता कि अतिथिहरूको सेवामा कुनै कमी नहोस् ।

मित्र ‘उराठी’ गौतम
‘अघिल्लो हाकिम त खत्तम थियो । कुनै कुरै नखाने, काम गर्न बडो मुस्किल हुन्थ्यो । खाली कानुनले यो भन्छ, ऊ भन्छ मात्र भन्थ्यो । पटक्कै व्यवहारिक थिएन । हजुरलाई ल्याउन कम्ती पापड बेल्नु पर्यो ? माथिसम्मै धेरै भनसुन र चाँजोपाँजो मिलाउनु पर्यो नि ।’, एक जनाले मुख खोले ।
‘अबचाहिँ हाम्रो काम सजिलो हुने भयो । नत्र त हामी डुब्ने थियौँ । ल हेर्नुस् ! हाम्रो फाइल यही हो । यो फाइल हजुरले सदर गरेपछि सबै मालामाल ।’, अर्कोले फाइलसँगै सुटकेस पनि खोलेर देखायो ।
उनले सुटकेसभित्रका गड्डीहरूमा र्याल चुहाउँलाझैँ गर्दै एकटकले हेरे, र बिस्तारै सुम्सुमाए ।
‘गर्दिस्योस् हजुर फाइल सदर । आखिर राष्ट्रनिर्माणकै लागि हो क्यारे । विकास निर्माणको काम रोक्ने कुरा पनि त भएन । सबैको भलो हुने कुरामा किन अटेरी गरिसिन्छ ।’, श्रीमतीले नम्रता पूर्वक आग्रह गरिन् ।
उनले फाइल सदर गर्नै आँटेका थिए, सानो छोरो स्कुलबाट आइपुग्यो । छोराले बैठक कक्षको दृष्य नियाल्यो र देख्यो बाबाको अगाडि नोटले भरिएको सुटकेस पनि ।
‘बाबा ! मलाई साथीहरूले भ्रष्टाचारीको छोरो भने भने कसरी मुख देखाउनू ?’, जिज्ञासु भावमा छोराले प्रश्न तेर्सायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








