मित्र ‘उराठी’ गौतम

विपद् जोखिम न्यूनीकरण सम्बन्धी तालिममा विज्ञ प्रशिक्षकको रुपमा आएका श्रीधरले भुकम्पको सन्दर्भमा भने भुकम्पिय जोखिमको
दृष्टिले काठमाण्डौ विश्वका जोखिमयुक्त शहर मध्ये सबैभन्दा जोखिमयुक्त शहरमा पर्छ त्यसैले काठमाण्डौमा बस्नु भनेको प्वाल परेको
जहाजमा बसेर समुन्द्रि यात्रा गर्नु जस्तै हो जो कुनै पनि बेला डुब्ने निश्चित छ ।
त्यस्तै काठमाण्डौ प्रदुषणको हिसाबले पनि विश्वका प्रदुषित शहरहरुको सूचीमा अग्र पङ्तीमै पर्छ ।धुलो, धुवाँ, कोलाहल, भिडभाड
त्यस्तै छ, निकै नै अव्यवस्थित बसोबास छ अझ त्यस माथि पानीको उस्तै हाहाकार ।साँच्चै भनौं भने काठमाण्डौ बस्न लायक ठाउँ हुँदै
हैन भन्दै बडो मन्त्रमुग्ध बनाए सहभागीहरुलाई ।उनको बोल्ने कला, प्रस्तुती शैलि र हाउभाउले उनी प्रशिक्षण कलामा निपूर्ण रहेको
पुष्टि गरिरहेको थियो ।
तीन दिने तालिमको पहिलो दिनको समापन पछि साँझ उनी सँगै हामी केहि साथीहरु पार्क तिर घुम्न निस्कियौं ।घुम्न निस्कने क्रममा
अनौपचारिक गफगाफ र हाँसो ठट्टा हुनु स्वाभाविक नै थियो ।यसै सन्दर्भमा मुकेशले श्रीधरलाई सोध्यो- ‘सरको पनि घर त
काठमाण्डौ नै होला ?’
श्रीधर बोले- ‘बसाई त काठमाण्डौ नै छ तर डेरामा हो गाउँको जग्गा बेचेर एउटा टुक्रो घडेरी बल्ल तल्ल किनिएको छ अब घर
बनाउने त कहिले हो कहिले ?’
‘अनि काठमाण्डौ त बस्ने ठाउँ नै हैन भन्नुहुन्थ्यो त सर ’ – रमण प्वाक्क बोल्यो
जवाफमा श्रीधरले भने- ‘अब देशका विद्धान भनाउँदा दिग्गज दिग्गज मान्छे काठमाण्डौमा छन् । सबै मन्त्री, नेताहरुका घर
काठमाण्डौ मै छन् ,धनाढ्य उद्योगपतिहरुका आलिशान महल काठमाण्डौ मै छन् अनि म किन नबसौं काठमाण्डौ ? के तिनीहरुलाई
जानकारी छैन र काठमाण्डौ कति जोखिमपूर्ण छ ?’
सिद्धान्तका कुराले व्यवहार कसरी चल्छ र ? दारु, चुरोट खाने डाक्टरले धुम्रपान, मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्दै
घण्टौं प्रवचन गर्छ, व्यभिचारी गुरु आफ्ना शिष्यहरुलाई नैतिकता र अनुशासनका पाठ पढाउँछन् ,भ्रष्ट नेता र प्रशासकहरु सुशासन र
सदाचारका पुराण सुनाएर थाक्दैनन् त्यसैले यो त सब भन्ने कुरा न हो ।
गफ सँगै साँझ ढल्कि सकेकोले हामी निवास फर्किसकेका थियौं ।
—अस्तु—

इस्मा – ६ अमरपुर , गुल्मी