“हैन, अझै तयार भएको छैन ? ढिला भैसक्यो त ! ” उसको अवस्था देखेर मैले प्रश्न गरेँ ।

“अरे यार ! कति हतारिएको ? म त भर्खर मर्निङवाक गरेर आउँदै छु । एकैछिन बस्दै गर, म फ्रेस भैहाल्छु ।” बैठक कोठामा बस्न आग्रह गर्दै ऊ बाथरुम छिर्यो ।

बिहान आठ बजेको कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा थियो । त्यसैले पौने आठ बजे म उसको घरमा पुगेको थिएँ ।

उसको तयारीको प्रतीक्षा सहित म बैठक कोठामा बसिरहेँ । तबसम्म उसकी मेडमले मेरा लागि चिया पनि ल्याइदिनुभएको थियो ।

कार्यक्रम शुरु भएपछि लुसुक्क कार्यक्रम स्थलमा छिर्न मलाई बडो असहज महसुस हुन्छ ।

“आज भने साथीका कारण लाज पचाएर छिर्नुपर्ने भयो । बरु एक्लै गएको भए हुने रहेछ । सँगै जाऊँ भन्दा बेकारमा फसियो ।” यस्तै कुराहरू मनमा खेलिरहेका थिए । साथी तयार भएर निस्कियो ।

हामी उसको घरबाट निस्कँदा साढे आठ भैसकेको थियो ।

“आज त बेइज्जत गर्ने भइस् नि साथी ।  बडो ढिलो गरिस् ।” मैले भनेँ ।

“अरे यार ! के को टेन्सन लिइरहेको ? केही ढिलो भएको छैन । यहाँ यस्तै हो, चलिरहन्छ ।” उसले अलि ठट्यौलो पारामा निर्धक्क भएर भन्यो । 

कार्यक्रम स्थल पुग्दा पौने नौ भैसकेको थियो । हल सुनसान देखिन्थ्यो । आयोजकले कुर्सी, टेबुल र प्रोजेक्टर मिलाउँदै थिए ।

ऊ मलाई हेरेर मुस्कुराउँदै भन्यो, “जाऊँ, चिया पिएर आउँला ।”