ज्याला मजदुरी गर्ने उनीहरुको छोरो प्रवीणलाई उनीहरुले विद्यालय भर्ना गरिदिए । अरु कतिपय बालबालिका विद्यालय जान नमानेर रोइकराइ गर्थे तर प्रवीण भने खुरुखुरु विद्यालय जान थाल्यो । बरु विदाको दिन पनि विद्यालय जान खोज्थ्यो किनकी विद्यालयले दिवाखाजा कार्यक्रम सञ्चालन गरेको थियो।

कहिलेकाहीँ घरमा खाना खाने व्यवस्था नमिल्दा ऊ भोकै विद्यालय जानु पर्ने बाध्यता हुन्थ्यो । विद्यालय पुगेपछि उसलाई कतिबेला खाजा पाक्छ भन्ने प्रतीक्षा रहन्थ्यो । जब खाजा पाउँथ्यो ऊ फरुङ्ग हुन्थ्यो।

मित्र ‘उराठी’ गौतम

विद्यालयले अचानक दिवाखाजा व्यवस्था गर्न नसक्ने निर्णय गर्यो । दिवाखाजाको लागि सम्पूर्ण अभिभावकले बालबालिकालाई टिफिन बक्स किनिदिनु पर्ने र नियमित खाजा पठाउनु पर्ने।खाजा पठाए वापत दैनिक रु पन्ध्रको दरले मासिक रुपमा भुक्तानी दिने निर्णय पनि भयो ।

कक्षा शिक्षकले विद्यार्थीको टिफिन बक्स हेरी दैनिक हाजिर लिन्थे । टिफिन बक्समा खाजा भए नभएको यकिन गरी अभिलेख राख्थे । सधैँ सबैको बक्स खोलेर हेर्नु जरुरी थिएन । टिफिन बक्स उचालेर त्यसको तौलको आधारमा खाजा ल्याए नल्याएको थाहा पाइहाल्थे कक्षा शिक्षकले ।

टिफिन बक्समा मकै, भटमास, रोटी, भुजा,च्यूरा, भात आदि लिएर आउँथे विद्यार्थीहरु । प्रवीणले पनि यस्तै केही न केही लिएर आउँथ्यो।

बिहानै बाआमा मजदुरीमा निस्केकाले आज केही खाजा राख्न सकेन प्रवीणले । खाजा विनाको टिफिन बक्स भएमा त्यो दिनको पैसा मिल्दैनथ्यो । एक त दिउसो खाजा खान नपाउनु अर्कोतिर खाजा वापतको पैसा पनि गुम्ने । सङ्कटमा पर्यो प्रवीण।

नियमितजस्तै कक्षा शिक्षकले सबैको टिफिन बक्स उचाल्दै खाजाको यकिन गरी अभिलेख जनाउँदै गर्न थाले । जब प्रवीणको पालो आयो उसको टिफिन बक्स उचाल्दा शिक्षकलाई शङ्का लाग्यो टिफिन बक्स अरुको तुलनामा अस्वभाविक गह्रौँ थियो।

शिक्षकले टिफिन बक्स खोलेर हेरे।खोलेर हेर्दा शिक्षक चकित भए किनकी त्यसमा ढुङ्गा माटो भरिएको थियो।