“नाइँ नाइँ बुढा ! नजाऊँ के ।”

“हुन्न हुन्न, गइहालौँ । अहिले फेरि कति बेर कुर्नु पर्ने हो ? अर्को पनि खालि आउँछ भन्ने के छ र ? ढिलो गरे पुग्नै गाह्रो पर्छ ।” पत्नी रञ्जितालाई सम्झाउँदै भन्यो बद्रीले ।

जसोतसो दुवै बसभित्र छिरे । बस्ने सिट भने कुनै खाली थिएनन् ।

“लौ अलि पछाडि पछाडि सर्नुस्, पछाडि पछाडि…. ।” खलासीले यात्रीहरू मिलाउने प्रयत्न गर्दै बोल्यो ।

बीचबीचमा यात्रीहरू चढाउँदै, ओराल्दै गाडी अघि बढिरहेको थियो । उभिएर यात्रा गर्नु पर्दा ज्यादै असहज महसूस गरिरहेकी थिइन् रञ्जिताले ।

धक्कमधक्का, पेलापेल भै नै रहेको थियो । बस भित्रको उकुसमुकुसले कतिपयले वान्ता गरिरहेका थिए । कोही भोला, पराग चपाउँदै पिच्चपिच्च थुकिरहेका थिए । झ्याल बन्द गर्दा गुम्म भएर असिनपसिन, खोल्दा बुङ्ग धुलो उडेर सासै फेर्न मुश्किल । सबैका अनुहार फुस्रैधुस्रै भएर नचिनिने भै सकेका थिए । त्यसै माथि क्यासेट प्लेयरको कानै टट्टाउने आवाजले खपिनसक्नु पीडा दिन्थ्यो ।

गाडी फेरि रोकियो । झर्ने कम, चढ्ने बढी भए ।

जानु पर्ने सबैलाई थियो । यस्तैमा चढ्नुको विकल्प थिएन ।

“लौ लौ पछाडि पछाडि सरौँ, मिलीजुली यात्रा गरौँ ।” भन्दै थियो खलासीले ।

“हैन, लोभको भाँडो कति नभरिएको हो ? पैसा देखेपछि जति पनि कोच्ने ? कोच्नुको पनि सीमा हुन्छ नि यार ।” बद्री रन्कियो ।

“मैले कोचेको कि आफै कोचिएको ?” खलासी पनि के कम, पड्कियो उस्तै ।