
अरू पिएर तृप्ति लिने मनसाय राख्यो उसले र स्वास्नीको हात पन्छाउँदै, गिलाँस मुखतिर लग्यो । छिन्लाझैँ देखिने घाँटी ठाडो लायो । घाँटी ठाडो पार्दा, नसा तन्किन्थे । हरिया नसा गन्न सकिन्थ्यो । ऊ बोतल र गिलासको सिध्याउन पाउँदा आनन्द मान्छ र त प्युँछ । ऊ पिइरहन्छ । बोतल र गिलाँसको मात्र प्युँदैनथ्यो उसले, त्यहीँ घोलेर बाबुले खाई नखाई जोडिदिएको जेथो, प्युँदै थियो । सिध्याउँदै थियो । प्रमुख कुरा त उसले आफ्नै अमूल्य जिन्दगी पिउँदै थियो पत्तो नपाई ।
“साह्रै भएन, अलिकति यसो मुख रसाउने गरी मात्रै हो क्या” याचना बिछ्यायो निरीह भावमा, स्वास्नीको अनुहारतिर टिठलाग्दो आँखाले पुलुक्क हेर्दै । हुँदाजस्तो त नहुँदा के हुन्थ्यो, ऊ हुँदा मन बेरङ्गी भए पनि, कमसल र चिथरा नै किन नहोस् शरीरमा खोल रङ्गिन हाल्न सक्छु, रातो टीका निधारमा, एक चुट्की सिन्दूर सिउँदोमा टल्काएर हिँड्न सक्छु निर्धक्क । यो गर्न समाजले छुट दिइरहेको छ दिइरहन्छ पनि जबसम्म यस धर्तीमा ऊ रहन्छ, उसको शरीर ढलेपछि त त्यो जम्मै यो समाजले निर्धक्क खोसेर लानेछ । यति शक्तिशाली छ समाजको कानुन, मनभरि यही तरङ्ग दौडिरहन्छ उसको, यदि म पहिला जानु हो भने उसका कुनै कुरा खोस्ला त ?बरु अझ रङ्गिन संसार बसाइदिन्छ उसको, किनभने उसलाई सुहाउँदैन विनारङ्गमा ज्युन यस धर्तीमा । ऊ बेरङगी बनेर बसेको मन पराउँदैन समाज, मसँग भने खोसेर लिन्छ सब कुरा । मसँग खोस्ने धेरै कुराहरू छन् समाजसँग तर उसँग छैनन् र त होला ।

विष्णु भण्डारी आचार्य
तरङ्ग कुनै ठाउँमा गएर रोकिन खोज्छ ,आ… मरोस् कि जेसुकै गरोस्…,उसले बाँच्दा पो कुन चैँ सुख दिएको छ र जुन बेला मायाँको खाँचो थियो, अँगालोको रहर थियो, होसमा मन फुकाएर जोईपोइ एकअर्कामा मुखामुख, प्रेमप्रीतिका गफ गर्दै सखीहरू ईर्ष्याले जल्ने गरी घुमफिर गर्ने मन थियो, त्यो रहरमा सीमित रह्यो ।
……दुई-चार दिन सोकसुर्ता होला, त्यति न हो, वाक्क दिक्क भएर यस्तै कुरा लिन थालेकी पनि हो तर एकाएक यही कुराले मनको कुनामा गएर स्पर्श गर्न पुग्छ ।
सकेसम्म बचाउने तिर मोड्न थालेकी छे, आफ्नो सोचलाई नथुनीले अन्तिम उपाय लाग्छ कि सोची, “यो के लेखेको रहेछ नि त…..,” पुर्पुरामा हात राखी, निकै बेर बरबराई । जिन्दगीको के भर, केही जेल त मेरो असली लोग्ने बनिदेऊ, सज्जनकी होसीकी स्वास्नी बन्न देऊ, कति अर्धबेहोसीमा माया गर्छु मात्र भन्छौ, मेरी स्वास्नी भन्छौ, होसमा एकचोटि मायाँ गरिदेऊ, मर्नेबेलामा भए पनि शान्तिको सास फेर्न पाऊँ, जीवनको सुन्दर अनुभव गर्न पाऊँ, जिन्दगीभरि त रुवायौ रुवायौ ।” आँखाभरि आँसु टप्काई फेरि ।
बोतलको स्वाट्ट अनि नाकलाई उँभोतिर तान्दै मुख कुचुक्क पाऱ्यो ।
-“लु भो, आजलाई, भोभो भो, यहाँभन्दा त दिए पो ?” खोसी उसले बोतल र गिलाँस ।
बलजफ्ती गऱ्यो सकेन, आँखा पिर्लिक्क पल्टाउँदै बेखुसीका नजर स्वास्नीतिर फाल्यो आखीभौँ खुम्च्यायो, घोप्टे नजरले भुईँतिर नियाल्न थाल्यो ।
पहिले-पहिलेजस्तो भए त लुसुक्क स्वास्नीले चाल नपाउने गरी भट्टी छिर्थ्यो होला, कामको बहानामा बाहिर निस्केर आफ्नो धोको पुरा गर्थ्यो, गोलभेँडाजस्ता आँखा थरथराएका खुट्टा, डुङडुङती गन्ध बोकेर घरभित्र छिर्थ्यो, स्वास्नीको प्रतिकारले डराउनेवाला लरतरो कहाँ हो र ऊ, अति रिस उठे कहिले निहुँ झिकेर झगडा गर्न तम्सिन्थ्यो स्वास्नीसँग, कहिले तेरो भातसात खान्न भन्दै ओछ्यानमा गएर गुडुल्किदिन्थ्यो तर आजको अवस्था फरक थियो । बिरामी भएर अस्पताल लगी नथुनीले, डाक्टरले के-के भनेर चेतावनी दियो, लिएर आएपछि उसको खान्कीमा स्वास्नीले निगरानी राख्न थालेकी छे, छेकबार लाउँछे खानेकुरामा, के खाने, कति खाने, त्यही बटन दाबेर खटन गर्न थालेकी छे ।
००० ०००
मेहरमान धनाढ्य बाबुको एक्लो छोरो, भौतिक सम्पत्ति कति जोडिदिए उसका बाबुले, सुविधैसुविधाको बिच फूलको थुँगाजस्तै हत्केलामा राखे, हुर्काए । एक्लो छोरो पढाए लेखाए, आफ्नो जिन्दगी बाचुन्जेलसम्म कमाउन र सम्पत्ति जोडिदनमा नै जीवन खर्चिएका हुन्, खुट्टा हल्लाएर खाँदा पनि तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडदिएकाले कुनै घिडघिडो बाँकी राखेका थिएनन् ।
आफू हुँदै एउटी रूपवती र शीलस्वभावले भरिपुर्ण भएकी बुहारी पनि भित्र्याइदिएरै बाआमाले संसार छोडेका हुन् ।
सुनकला मध्यमवर्गीय परिवारकी एक्ली छोरी, छोरी माग्न आउँदा हार्ने कुरा भएन, आँखैअघि प्रस्ट थियो, सम्धीसम्धिनीको सामाजिक इज्जत, कोसौँ टाढासम्म फैलिएको नाम सुवास ।
पढालेखा ज्वाइँ, खोट लाउने केमा छ ? यस्तो घरमा छोरी नदिए कस्तालाई दिने ? खुसीसाथ माइतीले अन्माएर पठाएका हुन् ।
मेहरमानकी स्वास्नी बनेर भित्रिएकी हो सुनकला ।
सुहागरातकै समयमा मेहरमानको श्वास ठुस्स गनाएको थियो । त्यो गन्ध सुनकलाको मनले अस्वीकार गर्दागर्दै उसको नाकमा स्वाट्ट पसेको थियो, नमिठो गन्धले नाकथुनूँ कि झैँ भयो सुनकलालाई, अघि जग्गेमा बसुन्जेल नआएको गन्ध एक्कासि कताबाट कसरी आयो, यताउता पल्याकपुलुक हेरी, जुरुक्क उठी, एटैँचीबाट परफ्यूँ निकालेर कोठाभरि छर्किई । अझै गन्धलाई परफ्यूँले जितेन, केही कम भएको महसुस मात्र भयो ।
लाग्यो उसलाई स्वास्नी मान्छेको भाग्य पनि कस्तो, मनैबाट अस्वीकृत कुरा पनि जबरजस्त स्विकानुपर्ने ।
बिहेको कर्मकाण्ड नसकी, दुलहा साथीहरूसँग कोठामा पसेको पुलुकपुलुक हेरिरहेकी थिई, भन्ने कुरा केही भएन, त्यसमा पनि बिहेको दिनकी नवदुलही न परी ।
यति सुन्दर घर, आफ्नो शरीर नियाली, शरीर आफ्नो छपक्कै गहनाले पुरिएको छ, उच्चस्तरको सजिसजाउ बिहेघर, आगन्तुकहरूको खानदान पनि उच्च देखाएको थियो लवाइखवाइले । बेहुलाको पहिरन पनि झन्डै कुनै राजामहाराजको झल्को दिने किसिमको लाग्थ्यो ।
गन्ध नमिठो भए पनि सुहागरातको वातावरणलाई धमिल्याउन चाहिन उसले । मनमनै गुनासो गर्नुबाहेक केही सकिन ।
बेहुलीको मानसपटलमा अस्वीकृत गन्ध, बेहुलाको अर्धबेहोसी अवस्थाबिचमै सुहागरात मनाए उनीहरूले ।
त्यसपछिका दिनमा पनि, परिस्थिति कहाँ बदलियो र न बाआमाको अर्तिउपदेशले छेकबार लाउन सक्यो, न स्वास्नीको प्रेम र घुर्क्याइले, न कसैको सल्लाहले ।
कतिन्जेल त सुध्रेला कि आशले माइत गएर नबसेकी हैन सुनकला, कतिन्जेल घुर्क्याउनु, घर सम्हाल्न आउनैपर्ने सुझाए धेरैले; फर्केर आई ।
-तेरी स्वास्नीलाई सुत्केरी बेथा लागेको छ, घर जा मेहरे, अरूले भनेको भरमा ऊ घर जान्थ्यो ।
-तेरो छोरो विरामी छ सिकिस्त, अरूको मुखबाट सुनेको भरमा खुट्टा लडखडाउँदै घर पुग्थ्यो ऊ ।
००० ०००
कति चैँ किचकिच गर्न सकेकी हो यो आइमाईले ? फेरि हात बढायो बोतल र गिलाँस आफूतिर तान्न, बलजफ्ती गऱ्यो ।
“आज चैँ म दिँदै दिन्नँ पिउन, लौ त के गर्नुहुँदो रहेछ ?”
घुट्क्याउन लागेको बोतल च्याप्प समातेर रोक्ने कोसिस गरी । मेहरले सानो बालखझैँ रुन्चे अनुहार पारेर हात पसाऱ्यो, “हेर नथुनी तँलाई पाप लाग्छ, मलाई रुवाएको ।” सानो बच्चाको भाका निकाल्यो उसले ।
“कहाँ लाग्छ मलाई पाप, तिमीले गरेको कर्म र धर्मले म सिधै स्वर्ग जान्छु ।”
पापिनीको दर्जा पाई उसले आज त, त्यही पनि आफ्नै लोग्नेबाट, थाहा छैन उसलाई धर्मका कुन-कुन नियम उलङ्घन गरी र पापिनी भई ।
“दे न अब एकगिलाँस मात्रै, त्यसपछि त धरोधर, तेरो कसम, कहिल्यै छुदिनँ म ।” रुन्चे बिलौनाले नथुनीको मनै पग्ल्यो निचोरिई, दुई-तीनथोपा आँसु गुड्काई भुईँतिर ।
साँच्चै यस्तो हत्ते गर्दागर्दै मैले दिइन भने, के थाहा, यमराजले दूत पठाइसकेका छन् कि । नजिकै आइसकेका छन् कि उसलाई लिन, दिऊँ कि क्या हो, दिऊँ कि क्याहो हँ ? दे-दे तँलाई पापिनी पनि भनिसक्यो । मन एकापसमा दोहोरी खेल्न थाले ।
एउटा मनको पालो सकिएर तत्कालै अर्काको पालो आइगयो, तत्कालै प्रतिकार गर्न थाल्यो, हे…भन्दै गर्छ नि, उसले मागेजति खान दिनुभनेको छिट्टै मर भन्नु हो, यो कुन अर्धाङ्गिनीले भन्न सक्ला, दिन्न बरु केही उपाय लाग्छ कि, मायाँको समुद्रै बगाउँछु, अन्तिम उपायमा अडिग रही ऊ, दिनदिनै मात्रा घटाउँदै गएर पूरै निर्मुल पार्नेछु, त्यसपछि तागतिला खुराक खुवाउँदै गर्न थालेँ भने ज्यान फेरिन के बेर लाग्छ र । छिमेकी देवकीको श्रीमान्झैँ सात्त्विक बने अझ कस्तो हुँदो हो, मादमदिराको नामै लिँदैनन् आजकल, घर कति शान्त, परिवारमा एकापसमा प्रेम छ, सम्मान छ, कसैले कसैप्रतिको बोली खस्रो गरेको सुन्न पाइँदैन, छोराछोरी आआफ्नो लाइनमा हिँडेका छन् ।
हरप्रयास जारी राखेर भए नि, त्यो खुसी आफ्नो घर भित्र्याउन कसो नसकुँला, दृढ अठोटमा पाइला अघि बढाई । कल्पननाको सागरमा डुबुल्की मार्न थाली ।
खड्डुनी नामले चिनिने भएकी छे ऊ, आजकल । दुनियाँले मेरो नाम मेटाएर खड्डुनी भनेर न्वारान गर्दिइसकेको छ, गन्ध नाकछेउमा पर्दासमेत नमिठो मान्ने सुनकलालाई, खड्डुनी रे, छोरालाई खड्डुको छोरो, यो दुनियाँलाई के दरकार होला कसैको नामकरण गर्ने, निर्दोषीलाई दोषीको दाग दल्दिने ! दुनियाँसँग अचाक्ली रिस उठ्यो उसलाई ।
लोग्नेको अनुहार हेरी, साँच्चै टिठलाग्दो देखियो, अनुहार र हातखुट्टाका छालामा बेसार दले रङ्ग देखिन्थ्यो ।
“उठनोस् सरणको बुबा मैले दुध तताइदिएकी छु तातो दुध पिउनु, तपाईँ नितागत हुनुहुन्छ, तागत दिन्छ अनि भरेका लागि खसीको खुट्टाको सुप बनाइदिन्छु है ! कुनै प्रतिक्रिया जनाएन उसले, भित्तामा अडेस लाएर बसेको ऊ, दुई घुँडामा हात राखेर मुन्टो उँधो फर्काई आँखा भुईँतिर जोतिरहयो ।
जवाफको प्रतीक्षा गरिरही, केही पाइन उसले, टाउकातिर हात लगी, जिङ्ग्रिङ्ग परेको कपाल मिलाउन हात चलाएकी मात्र के थिई, “उता जा पापिनी, नखरा नपार यहाँ” निधार घोप्ट्याई-घोप्ट्याईकनै, आँखा कोप्राएर विरक्तिको भावमा पुलक्क आँखा स्वास्नीतिर फर्कायो । स्वास्नीको हात झड्कारेर पर ठेल्यो ।
दिक्दारीको भावमा हेरिरही लोग्नेलाई ।
नथुनीले तताएको दुध यो चोटी पनि सेलायो, कति दिन भयो जे खान दिए नि नपच्ने भएको, कर गरेर ख्वायो त्यसै वाक्क र ब्याक्क गरिदिएपछि दिनेको के लागोस्, मदौरुले माड पिए न प्याउने हो नपिए के गर्ने, त्यसै-त्यसै भित्रैदेखि विरक्त लाग्यो, हैरानीको श्वास काडी उख्ख्ख्ख्इइइ…….।
००० ०००
मेहरलाई विरामले अझै च्याप्यो एकदिन ।
छोरो पनि बाबुसँग बाझेर घर छोडेको दुई-तीन वर्ष भइसक्यो, मरेपछि किरिया गर्न आउँछु त्यसअघि आउदिनँ भनेर गएको छोरालाई बोलाउने कुरै भएन, छरछिमेकी गुहारुँ, अचानक भएको विराम भए पो, खड्डुको छेउमा आउनै घिनाउँछन् दुनियाँ, “भाइ आइज है, भिनाजुलाई साह्रै पाऱ्यो लैजाऊँ फेरि, फोन गरी नथुनीले भाइलाई ।
ढिलो नगरी टुप्लुक्क आइपुगो भाइ, “अब के गर्नु त दिदी, सास छउन्जेल आश भन्छन्, लैजाऊँ न त ।” झटपट गऱ्यो उसको भाइले ।
अस्पतालले हप्ता दिन जति राखेर निकै खर्च गरायो । हप्तादिनपछि जम्मै रिपोर्ट आयो ।
“बार्नू भनेको कुरा सक्नुभएन क्यार, हाम्रो के लाग्छ त, कलेजो र लिभरले काम गर्न छोडिसक्यो, अब लानू घरमै आराम गराउनू ।”
डाक्टरको मुखबाट यो सुनेपछि आशाको डोरी छिन्यो । बेसहारा भयो मन, सुक्खा बगरजस्तै आफ्नो सिउँदो र उस्तै पहिरनको कल्पना गर्दै, नथुनी सुँक्क-सुँक्क गर्न थाली ।
लामो सास तान्यो नथुनीको भाइले- “लैजाऊँ दिदी अब घर, मन दहे पार, अब के गर्नु त, भिरबाट लड्ने गोरुलाई राम-राम भन्न सकिन्छ, काँधै हाल्न सकिँदैन ।
दिदीलाई थुमथुम्यायो र उता शरणलाई पनि फोन लायो भाइले, टिङ्ग्रिङरिङ…, एक कलमै फोन उठ्यो “हेल्लो, किन गर्नुभएको मामा ?”
“कहाँ छौ तिमी ?”
“किन मामा ?” शरणले सहजताको बोली निकाल्यो ।
“घर आऊ छिट्टै” मामाले आँत्तिएको बोली निकाले ।
“किन र के भो ?”
“यहाँ भिनाजुको अन्तिम हुन लागो डाक्टरले बिदा दिइसक्यो, छिट्टै आऊ दिदीमात्रै एक्लै के गर्नुहुन्छ ?”
बाबु जीवित छउन्जेल घर नआउने भन्दै निक्लेको शरणले यो खबर सुनेर पनि विनाआपत्तिमै भन्यो, “ए अहिले मिल्दैन होला मामा, म एक-दुई दिनमा मिलाएर आउँछु है !”
निकै छटपट-छटपट गरेको देखी, अझ छेउमा गई, मन अत्तालियो, “शरणको बुबा !शरणको बुबा !”
शरणको बुबाका दुई आँखाले दलिन गन्न थाले, एक-दुई-तीन-चार । आँखा चम्किला भए, निभ्नलाग्या टुकीझैँ, छिनमै टुकी निभ्यो, झ्याप्प अन्धकार ।
००० ०००
जति भने पनि बाबुको प्राण उडेपछि मात्र घर आयो शरण, अन्तर्हृदयको भक्कानो, गाँठो पारी नथुनीले । अनुहारको कान्ति उड्यो उसको फुङ्गङ, फुटे हातका चुरा, चुटियो, गलाको पोते, मेटियो सिन्दूर । खोसियो वस्त्रको रङ्ग ।
सुक्खा मरुभूमिमा परिणत भयो जिन्दगी ।
पाँचै ज्ञानेन्द्रिय निष्क्रिय प्रायः भए, रङ्गीबिरङ्गी भएर फूलबारीमा फूलहरू फुलून् कि, आकाशमा टहटह जून लागोस्, कोइलीले मिठो भाका हालोस् कि, रेडियोमा मधुर धुन घन्कियोस्, पत्तो पाउन छोड्यो, बेचैनी छटपटी, उदासीनता बोकेको समय आफ्नो साथ लाग्न थाल्यो नछोडी उसलाई, उसको जीवनले दैनिकीको सहज तना समाउन छोड्यो ।
००० ०००
कसैको सहयोग र सल्लाहमा उसलाई सद्गुरुको शरणमा पुऱ्याइयो । शान्त, सङ्गीतमय वातावरण, मधुर र प्रेममय आवाज, सद्गुरुको ईश्वरको सृष्टि कसरी चलेको छ, मानिसको जीवन र मरण के हो? मानिस जन्मेपछि मर्छ किन? हरेकका मौन जिज्ञासाहरू मेट्दै जानुहुन्थ्यो गुरुले ।
सुनेर नअघाइने, हृदयस्पर्शी सद्वाणीहरूले उसको जीवनमा सकारात्मक ऊर्जा भरिन् थाल्यो बिस्तारै, पिरचिन्ताबाट मुक्ति पाउने कसरी, दुःखको भुमरीबाट कसरी बाहिर आउने, जीवनको लक्ष्य कस्तो लिने, प्रकृतिप्रेम केहो ? समग्रमा जीवनलाई कसरी सार्थक बनाउने, गुरुले छर्लङ्ग आँखा खोलिदिनुभयो ।
समय र परिस्थितिले बनाएको घाउ सद्गुरुको महावाणीले निको पार्दै लग्यो ।
ओइलिएका पातहरूमा हरियाली फिर्न थाल्यो । न्याना घामको स्पर्शको आभास हुन थाल्यो, शीतलता बोकेर जून उसको अगाडि पनि पोखिन थाल्यो, खुसीका पर्दा बिस्तारै खुल्दै-खुल्दै गए । उसको जीवनले सहजताको लय समाउन थाल्यो ।
उदायो सुनौलो बिहानी । समाजका लागि केही गरौँ भन्ने उत्साह बोकेर ।
हरेक वर्ष आफ्नो पतिदेवको सम्झनामा हुने गर्छ यो पवित्र उदाहरणीय कार्य । नशाको दलदलबाट बाहिर आउने सफल व्यक्तिलाई उनैको हातबाट पुरस्कार वितरण हुन्छ आजकल । यसैलाई जीवनको लक्ष ठानेकी छ नथुनीले । समाजले एक समाजसेवीको सूचीमा उसको नमा दर्ता गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









