मोरङ । मोरङका दुई जना स्रष्टाका दुई कृतिमाथि विराटनगरमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा कथाकार विष्णु भण्डारी आचार्यको लघुकथासङ्ग्रह ‘बकसपत्र’ र कवि रोहिणी रसिकको कवितासङ्ग्रह ‘छन्द आराधना’ को विमर्श गरिएको हो।

खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएकाे थियाे। प्रमुख अतिथिले संस्थाले एक रुपैयाँबाट सुरु गरी एक करोड रुपैयाँ पुर्‍याउने उद्देश्यसहित सञ्चालनमा ल्याएको अक्षयकोष निर्माण अभियानअन्तर्गत दान पेटिकामा रकम अर्पण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे ।

कार्यक्रममा ‘बकसपत्र’ माथि निरज कोइराला र केशु विरही तथा ‘छन्द आराधना’ माथि डा. दीपकप्रसाद न्यौपाने र बाबुराम पोखरेलले समीक्षात्मक विमर्श प्रस्तुत गर्नुभएकाे थियाे । विमर्शक केशु विरहीले जीवनी, व्यक्तित्व र कृतित्वबीचको अन्तरसम्बन्धमाथि प्रकाश पार्दै कथाकार भण्डारी साहित्यसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय रहेको उल्लेख गर्नुभयाे । विमर्शक निरज कोइरालाले लघुकथाको सिद्धान्तको चर्चा गर्दै ‘बकसपत्र’ भित्रका रचनाहरूको सूक्ष्म विश्लेषण गर्नुभएकाे थियाे । केही कथामा परिवेशगत कमजोरी देखिए पनि समग्रमा कृति सशक्त रहेको उहाँको धारणा थियो।

त्यस्तै, विमर्शक बाबुराम पोखरेलले कवि रसिकको जीवनी, व्यक्तित्व र कृतित्वमाथि बोल्दै उहाँको साहित्यिक चेतना रगतैदेखि बोकेको विरासत भएको बताउनुभयाे । विमर्शक डा. दीपकप्रसाद न्यौपानेले ‘छन्द आराधना’ को विहङ्गम समीक्षा प्रस्तुत गर्दै छन्द साधनाका क्रममा छन्द मिलाउने नाममा नेपाली भाषाको मानक व्याकरण भङ्ग गर्न नहुने धारणा व्यक्त गर्नुभयाे । महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभाग प्रमुखसमेत रहेका न्यौपानेले छन्द र भाषिक शुद्धताको सन्तुलन अपरिहार्य रहेको बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पोखरेलले कोसी साहित्य–कला परिषद् नेपालले अघि सारेको अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयाे । दुवै स्रष्टालाई बधाई तथा शुभकामना दिँदै यस्ता विमर्श कार्यक्रमले लेखकलाई थप परिष्कृत र खारिन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयाे।

सभाध्यक्षीय मन्तव्य व्यक्त गर्दै छन्द वाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेलले विभिन्न स्थानमा पुगेर साहित्यिक कार्यक्रम सञ्चालन गर्ने अभियान आफैँमा सुन्दर र अर्थपूर्ण रहेको बताउनुभयाे । सहआयोजनामा सहभागी हुन पाएकोमा खुसीसमेत व्यक्त गर्नुभयाे । लेखकद्वय विष्णु भण्डारी आचार्य र रोहिणी रसिकले पनि आआफ्ना धारणा राख्दै विमर्शप्रति आभार व्यक्त गर्नुभएकाे थियाे ।

मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा श्रीप्रसाद पोखरेल, मञ्जुश्री गिरी, शारदा भट्टराई र निर्मला नेपालले विमर्श गरिएका कृतिभित्रका दुई–दुई रचना वाचन गर्नुभएकाे थियाे ।

कोसी साहित्य–कला परिषद् नेपालका साहित्य विभाग सहसंयोजक शारदा दाहाल भण्डारीले सहभागी सबैलाई संस्थाको तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ र कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले संयुक्त रूपमा गर्नुभएकाे थियाे ।