प्रदेश स्थापना दिवस धुमधामसँग मनाउने निर्णय  लाल प्रदेशले गर्यो । झकिझकाउ समारोहको आयोजना । भड्किलो त्यसको बिज्ञापन । प्रदेशका मुख्यमन्त्रीको तामझाम पूर्ण कार्यक्रमको सामुद्घाटन । पत्रकारहरुको ताँती,  टेलिभिजनको लर्को ।

“सफा र स्वस्थ प्रदेश”को नाराले कार्यक्रम गुञ्जायमान भयो । मुख्यमन्त्रीले  क्रान्तिकारी तरिकाले कार्यक्रमको नौलो उद्घाटन गरे नालीभित्रै पसे कुचो समाएर । सबैले तेसै गरे ।

सफा अभियान धुमधामसँग सकिएको उपलक्ष्यमा ठूलो पार्टी भयो बेलुका । फेसबुक, टुइटर रङ्गिए सफा अभियानका अभियान्ताहरुको वालभरि ।

यसरी अपूर्व रुपमा समापन गरिएको उक्त फोहोर प्रदेशको मुख्य नदीको किनारमा लगेर डम्पिङ्ग गरिएको व्योहोरा भोलिपल्ट पत्रिकाहरुले उजागर गरे राष्ट्रिय दैनिकहरुमा । नदीले मान्छेको चरित्र सदियौंदेखि भोग्दै र सहँदै आएकोले केही बोलेन । मौन सहिरह्यो त्यो नीच चरित्र आफूलाई सम्भ्रान्त ठान्नेहरुको हुलसँग ।

भोलिपल्ट सानो झड्का दियो धर्तीले  बिहानै, र सम्झायो गतवर्षको महाभुकम्प । नदीले सम्झाउने छ गतवर्षको बाढी, नाङ्गा पहाडहरुले सम्झाउने छन् गतवर्षको पहिरो । सम्मृद्धिको क्रान्तिकारी छलाङ्ग मार्न हिँडेकाहरुको चरित्र कैले बद्लिएला ?  प्रकृतिले कानेखुसी गरे एकापसमा । नदी, पहाड र धर्तीले  तुरुक्क आँसु चुहाए ।