डा रामहरि पौड्याल

मदर्स डे‘ अमेरिकी र नेपाली तीन  दिनको  फरकमा  पऱ्यो यसपालि । सामाजिक  सञ्जालहरू  आमामय भए ।  सबैका  आमाहरूको दर्शन पाइयो । कविता सुनियो आमाका ।  लघुकथा पढियो आमाका । दुनियाँले आफ्नी आमालाई सम्झिरहेका  बेला पराक्रमकी आमा बिरामी  हुनुभयो । देश  लकडाउनमा भएकाले हस्पिटल पुऱ्याउन दौड  धुप  गऱ्यो । एम्बुलेन्सलाई फोन गऱ्यो। साथीभाइ  इष्टमित्रलाई  गुहाऱ्यो। कसैले  उस्लाई  साथ दिएनन् । सामाजिक सञ्जालमा राखिएका फ्रि सर्भिस मात्र  एउटा  फनडा भएको उसले बल्ल चाल पायो ।

उता  आमाको  स्थिति  असह्य बन्दै गयो। सास  फेर्न  गाह्रो   हुँदै  गयो । कुनै उपाए  नपाएपछि विवश भएर एउटा  नजिकैको  ठेला  गाडामा हालेर आमालाई सहरको  हस्पिटलतिर दौडायो । ग्रान्डी  हस्पिटलले

  उस्लाई  गेटैबाट  लखेट्यो दिनको  पचास  हजार लाग्छ भन्दै । नर्भिकले खेद्यो धरौटी रकम लाख जम्मा गर् भन्दै । बयोधाले लल्काऱ्यो । रुँदै सारा सहर  चहारेर लखतरान ऊ अन्त्यमा टिचिङ्ग हस्पिटल पुग्यो ।  सरकारी  हस्पिटल   जहाँ डाक्टर नर्सहरू सिट र अक्सिजनको अभाव भए पनि भुईँभरि पीडितहरूलाई सुताइरहेका थिए बचाइरहेका थिए ।

आमालाई भुईँमै राखेर  भए पनि अक्सिजन दिन पाएकोमा उसले खुइय  सास छोड्यो ।  थकित  गलित  उसको  अन्तर्मन यतिखेर हिजो क्रान्तिकारी भएर पार्टीको  हनुमान् हुँदै  स्वास्थ शिक्षा  क्षेत्रको अराजक व्यथितिका  विरुद्ध सत्रौँपटक  अनसन  बस्ने आफ्नो घर आफ्नो परिवार केही  नभएका ऋषितुल्य भगवान् डा. गोबिन्द  केसीलाई पागल  भन्दै अपमान  गरेको सम्झियो । यो सबै हाम्रै  लागि  रहेछ  भन्ने बुजेर ग्लानि र भ्रमबाट मुक्त भयो । नजिकैको  आकाशमा बेमौसमको चुनावमा मनोनयन गर्न  नेताहरू हेलिकप्टर चढेर उडेको दृश्यले उस्लाई चिमोटिरह्यो।