
नयाँ कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न, सफलता प्राप्त गर्न, अझ भनौँ गहिरो छाप छोड्न त्यति सजिलो छैन । यतिमात्र होइन, त्यस क्षेत्रमा आकर्षक पारिश्रमिक, सेवा सुविधा, पदोन्नति र सन्तुष्टि सुनिश्चित गराउन हामीमा कार्यगत विशेषज्ञता हुनु अत्यावश्यक छ। अन्यथा यथास्थितिमा बस्नुको विकल्प रहँदैन । नयाँ क्षेत्रमा प्रवेश गरेलगत्तै विशेषज्ञता विकास हुँदैन । यसको लागि समय लाग्छ । त्यो पनि ५ देखि १० वर्षसम्म । यस्तो अवस्थामा चाँडोभन्दा चाँडो विशेषज्ञता कसरी विकास गर्ने ? विशेषज्ञका रूपमा कसरी स्थापित हुने ?
हार्वर्ड बिजनेस स्कुलका प्रोफेसर डोरोथी लियोनर्डअनुसार कुनै पनि नयाँ क्षेत्रमा विशेषज्ञता विकास गर्न अथवा विशेषज्ञ बन्नका लागि निम्न चरणहरु अनुसरण गर्नुपर्ने हुन्छ:
आदर्श व्यक्तिको पहिचान
हरेक क्षेत्रमा विशेषज्ञहरुको समूह हुन्छ नै। यस्तोमा तपाईं कसलाई आदर्श व्यक्तिको रुपमा सम्मान गर्नुहुन्छ? कुन विशेषज्ञको स्थान उच्च छ? तपाईंले गर्न खोजेको कार्यमा को बढी निपूर्ण छ? वास्तवमा तपाईं कसको अनुकरण गर्न चाहनुहुन्छ? यस कुरामा प्रष्ट हुनुहोस् र आफ्नो विशेषज्ञता बढाउन सोही प्रकृतिको विशेषज्ञ छनोट गर्नोस्।
आफू र विशेषज्ञ बीचको दूरी मूल्यांकन गर्ने
नयाँ क्षेत्रमा विशेषज्ञता विकास गर्न आफू र विशेषज्ञ बीच के-कति दूरी/अन्तर छन्, त्यसको सही मूल्यांकन हुनु जरुरी छ। यसको लागि सर्वप्रथम क्रूर इमान्दारी साथ आत्म-मूल्यांकन गर्न सक्नुपर्छ। आत्म-पूर्वाग्रह कत्ति पनि हुनु हुँदैन। अनिमात्र आफू र विशेषज्ञ बीचको दूरी सही तरिकाले मूल्यांकन गर्न सकिन्छ। यदि तपाईं र विशेषज्ञ बीच कार्य सम्पादन क्षमताको अन्तर सानो छ भने आत्मविश्वास बढेर जान्छ । सानो प्रयासमै त्यो अन्तर हटेर जान्छ । यद्यपि त्यो अन्तर ठूलो छ भने आत्मविश्वास खस्किँदै जान सक्छ। यस्तोमा अत्तालिनु ठीक होइन। जसकारण विशेषज्ञता विकास अभियान सुरुवात हुनै सक्दैन । त्यसैले लामो र गहिरो श्वास फेर्नुहोस् । आफूलाई परिवर्तन गर्नका लागि तयार हुनोस् । परिवर्तन ल्याउन के-कस्ता कार्यमा संलग्न हुनुपर्छ त्यसको लागि हिम्मत गर्नोस् ।
स्वः अध्ययन गर्ने
स्वः अध्ययन एक शसक्त एवं सकारात्मक बानी हो। यो बानीले विशेषज्ञता विकास कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्छ। आफ्नो र विशेषज्ञ बीचको दूरीबारे स्पष्ट भइसकेपछि निष्क्रिय बस्नु बुद्धिमानी होइन। स्वः अध्ययनको चरणमा गम्भीरतापूर्वक प्रवेश गर्नुपर्छ। मानौँ तपाईं नयाँ क्षेत्रमा आवद्ध हुनु भयो। मानौँ तपाईं र विशेषज्ञ बीच ज्ञानको अन्तर ठूलो छ। यस्तो परिस्थितिमा ज्ञानको अन्तर कसरी घटाउन सकिन्छ भन्नेमा सोचमग्न हुनोस्। स्वः अध्ययनलाई तीव्र रूपमा अगाडि बढाउनुहोस्। बौद्धिक सहकर्मीसँग संवाद गर्नोस्। त्यसैगरी सम्भव भएसम्म अनलाइन पाठ्यक्रमहरु समेत अध्ययन गर्नोस्।
विशेषज्ञहरुलाई आफ्नो अनुभव साट्न आग्रह गर्ने
अधिकांश विशेषज्ञहरु सफलताको रहस्योद्घाटन गर्न, मार्गनिर्देशन गर्न र अनुभव साट्न मन पराउँछन्। तर उनीहरु केही सर्तमा मात्र राजी हुन्छन्। जस्तैः तपाईंले आवश्यक गृहकार्य सम्पन्न गरेको हुनुपर्छ। प्रतिबद्धता व्यक्त गर्नुका साथै आधारभूत शिक्षा पनि लिइसकेको हुनुपर्छ। यी सर्तहरू पूरा नभएको खण्डमा तपाईंलाई शून्यदेखि मार्गनिर्देशन गर्न, सफलताको सूत्र बताउन लगायत अनुभव साट्नका लागि उनीहरु प्रेरित हुन सक्दैनन्। सिधा भन्नुपर्दा चाहँदैनन्। त्यसो गर्नु भनेको एक त झन्झटिलो काम हो र अर्को तपाईंतर्फ ध्यान केन्द्रित गर्नु समयको बर्बादी ।
केही विशेषज्ञहरु भने प्रतिरोध गर्छन्। उनीहरुले यस्तो प्रतिक्रिया दिनुका पछाडि केही कारणहरू हुन सक्छन्: समयको अभाव, कठोर प्रतिस्पर्धा, जागिर गुम्ने डर, असुरक्षित महसुस हुनु आदि। यस्तोमा केही रणनीति प्रयोग गर्न सकिन्छ। तपाईंलाई समय दिँदा वा सहयोग गर्दा उनीहरुलाई नै धेरै फाइदा हुने स्पष्ट पार्नुहोस्। त्यसैगरी उनीहरुका कष्टकर काम गर्नोस् जुन तपाईंका लागि नयाँ छ। यसो गर्नाले तपाईंलाई विशेषज्ञहरुसँग समय बिताउने अवसर प्राप्त हुन्छ। त्यस क्षण आफ्ना सम्पूर्ण जिज्ञासाहरु राख्नोस्। जसले गर्दा तपाईंको विशेषज्ञता विकास कार्यमा अमूल्य मद्दत मिल्छ।
ज्ञान प्राप्त गर्न सिक्ने
विशेषज्ञहरुबाट महत्वपूर्ण ज्ञान बुँदागत रूपमा प्राप्त हुने अपेक्षा नराख्नोस्। त्यस्तो अपेक्षा पूरा हुने सम्भावना न्यून छ। वास्तवमा असम्भव नै छ। उनीहरुको ज्ञान छुट्टै परिस्थितिमा आधारित हुन्छ। अब तपाईं आफ्नो बेग्लै परिस्थितिमा त्यो ज्ञान प्रयोग गर्नुहुन्छ भने अनपेक्षित परिणामको सामना गर्नुपर्ने हुन्छ। त्यसैगरी त्यस्तो अपेक्षा राख्नु अपमानजनक छ। ज्ञान त्यति सजिलै मिल्ने भए त्यो त्यति महत्वपूर्ण हुँदैन थियो। त्यसैगरी त्यस्तो अपेक्षा राख्नु दुवैका लागि निराशाजनक पनि छ। कुनै पनि कार्य कसरी गर्ने भनेर दिइएको व्याख्यान, भाषणले साँचो सिकाइको ग्यारेन्टी गर्दैन । यस्तोमा ज्ञान प्राप्तिका लागि सिक्ने अवसरहरू खोज्नुहोस्। यस अतिरिक्त विशेषज्ञहरुबाट ज्ञान लिन उनीहरुलाई दुईवटा शसक्त प्रश्नहरू गर्नोस्:
किन ?
कृपया केही उदाहरण दिन सक्नुहुन्छ ?
विशेषज्ञहरुको कार्यशैली अवलोकन गर्ने
विशेषज्ञहरुको अन्तरवार्ता लिनुभन्दा उनीहरु कार्यमा मस्त हुँदाको पल एकाग्र भएर अवलोकन गर्नु बढी प्रभावकारी हुन्छ। कारण? उनीहरु कसरी सोच्ने गर्छन्? कसरी कार्य गर्छन्? त्यसबारे जान्ने, बुझ्ने र ज्ञान लिने अवसर प्राप्त हुनु हो। यसका लागि उनीहरुसँगै अत्यन्तै महत्वपूर्ण बैठक, सभा र सम्मेलनमा सहभागी हुनोस्। उनीहरुले जटिल समस्याको समाधान गर्दाको क्षण साथमा रहनोस्। अनि आफूलाई निरन्तर यस्ता प्रश्नहरू गर्नोस्:
उहाँले किन त्यसो गर्नु भयो ?
के-कस्ता परिणामहरु थिए ?
के मैले फरक कार्यपद्धति अवलम्बन गर्ने सक्थेँ ?
त्यसपछि उपयुक्त समयमा उनीहरुलाई संक्षिप्त व्याख्या गरिदिनका लागि विशेष अनुरोध गर्नोस् ।
उनीहरु त्यस किसिमको अनुरोधलाई सहर्ष स्वीकृति जनाउँछन् ।
स-साना अनुभवहरुको खोजी गर्ने
विशेषज्ञता विकास कार्यमा स-साना अनुभवहरूले समेत ठूलो महत्व राख्छ। कुनै पनि संस्थाका लागि विशेषज्ञहरु कसरी मूल्यवान् हुन पुगे ? उनीहरुले कस्तो वातावरणमा काम गरेका थिए ? कस्तो परिस्थितिको सामना गरेका थिए ? र, कस्तो जिम्मेवारी लिएका थिए ? यी सम्पूर्ण कुराहरूको अनुभूति दिलाउने अवसरहरू खोजी, पहिचान गर्नोस् । अनुभवहरू सीमित भए पनि केही छैन । मुख्य कुरा ती स-साना अनुभवहरूबाट विशेषज्ञहरुको समग्र बुझाइ अर्थात् गहन बुझाइको अनुभूति लिनु हो । उनीहरुबाट अन्तरदृष्टि हासिल गर्नु न हो । यसलाई वास्तविकतामा बदल्न केही कार्य गर्न सकिन्छ। मानौँ तपाईंले पत्रकारिता क्षेत्रमा विशेषज्ञ बन्ने लक्ष्य लिनु भएको छ। यस्तोमा आफ्नो आदर्श पत्रकारलाई भेट्नुस्। ऊसँगै केही दिन कार्यलयमा समय व्यतित गर्नोस्। ऊ कता जान्छ, कसलाई भेट्छ, कसरी संवाद गर्छ, कसरी लेख्छ ती यावत् कुराहरु अवलोकन गर्नोस्। यसले तपाईंलाई पत्रकारिता क्षेत्रमा विशेषज्ञ बन्नको लागि सहज बाटो खोलिदिन्छ। त्यसैगरी शिक्षा, विज्ञान र स्वस्थ्यजस्ता क्षेत्रमा विशेषज्ञ बन्नका लागि यही प्रकृतिको प्रक्रिया लागू गर्न सकिन्छ।
विशेषज्ञलाई काममा सघाउने
विशेषज्ञहरु कामको प्रमाण खोज्छन्। तपाईंको प्रयास र उपलब्धी हेर्न चाहन्छन्। अनिमात्र तपाईंलाई साथ दिने नदिने निर्णय गर्छन्। तपाईं जुन संस्थामा कार्यरत हुनुहुन्छ, त्यस संस्थामा आवद्ध सक्रिय विशेषज्ञको निकट रहेर कार्य गर्नोस्। कहिलेकाहीँ विशेषज्ञको केही भाग कामको जिम्मेवारी लिनुहोस् । यदि उनले कुनै कार्य गर्न चाहेनन् वा त्याग्न जाँदै छन् भने तपाईं त्यो काम पनि सम्पन्न गरिदिनुस् ।
उदाहरणको लागि सभा सम्मेलनमा सहभागी हुने, आन्तरिक प्रशिक्षण संचालन गर्ने, रिपोर्ट (विवरण) तयार पार्ने आदि । परिणामस्वरूप तपाईंको विशेषज्ञता वृद्धि हुँदै जान्छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 








