कोही मानिस वा व्यक्तिको लागि एक्लो रहनु व्यक्तिगत रोजाइको विषय रहन्छ। कोही भने परिस्थितिका कारण एकल जीवन बाँच्न वा सिंगल रहन बाध्य हुन्छन्। कुनै पनि मानिस एकल रहनुमा बाहिरी परिस्थिति भन्दा पनि आन्तरिक परिस्थिति अर्थात् मनोविज्ञानले मुख्य भूमिका खेलेको हुन्छ। क्लिनिकल मनोवैज्ञानिक लिशा फायरस्टोन अनुसार कुनै पनि व्यक्ति एकल रहनुका निम्न कारणहरू हुन सक्छन्:

रक्षात्मकता

पारस्परिक सम्बन्ध सधैँ सुमधुर हुँदैन। कहिलेकाहीँ पीडा महसुस गर्नुपर्ने हुन्छ। यही पीडाको कारण हामी रक्षात्मक हुँदै जान्छौँ। सुरक्षाको पर्खाल वा सुरक्षा कवच निर्माण गर्न थाल्छौँ। यो खाले सिलसिला डेटिंगको चरण पूर्व अथवा बाल्यकालमा नै सुरुवात हुन्छ। मानौँ तपाईंले बाल्यकालमा अभिभावकबाट प्रेम पाउनु भएन। परिवारमा सबैले बेवास्ता गरे। यस्तो अवस्थामा तपाईंले माया र स्नेहप्रति अविश्वासको भावना विकास गर्नुहुन्छ। यसको प्रभाव वयस्क हुँदासम्म देखिन्छ। यदि तपाईंलाई कुनै नयाँ व्यक्तिले सामाजिक

सञ्जालमा जोडिने प्रयास गर्यो, रुचिपूर्वक संवाद गर्यो र स्नेहपूर्ण भाव व्यक्त गर्यो भने? अब तपाईं शशंकित हुनुहुन्छ। ती नयाँ व्यक्तिको मनसाय असल भएतापनि तपाईं सामाजिक सञ्जालमा बेवास्ता गर्नुहुन्छ। कतिपय अवस्थामा ब्लक गरिदिनु हुन्छ। यस्तै व्यवहार अरु व्यक्तिसँग पनि गर्नुहुन्छ। जसकारण तपाईंलाई एकल हुनुभन्दा अर्को विकल्प प्राप्त हुँदैन।

अस्वस्थ आकर्षण

सम्बन्धमा सफल हुन व्यक्तित्व मिलान हुनु आवश्यक छ। त्यसैगरी एकअर्काप्रति विश्वास, बुझाइ र इमान्दारिता हुनु आवश्यक छ। यद्यपि रक्षात्मक व्यवहार कारण आदर्श प्रेमी वा प्रेमिका छनोट गर्न सक्दैनौँ। गलत व्यक्तिप्रति नै बढी आकर्षित हुन पुग्छौँ। हाम्रो व्यक्तित्व एक प्रकारको हुन्छ तर हामीले रोजेको प्रेमी वा प्रेमिकाको व्यक्तित्व अर्कै हुन्छ। केही समय रोमान्टिक सम्बन्ध यथावत् रहेपनि त्यो दीर्घकालीन जाँदैन। भनाइको तात्पर्य, पुनः एकल हुने अवस्था सामना गर्नुपर्छ।

अस्वभाविक अपेक्षा

प्रकाश जंग थापा

अधिक मूल्यांकन गर्नु, अस्वभाविक अपेक्षा राख्नु वा धेरै छनोट गर्नु सम्बन्ध निर्माणको लागि हानिकारक छन्। यो कुरा विगतमा कस्तो सम्बन्ध रह्यो भन्ने कुराले निर्क्योल गर्छ। मानौँ तपाईंले विगतमा केही व्यक्तिबाट अस्वीकृत हुनु पर्यो। गहिरो सम्बन्धमा रहेको व्यक्तिबाट धोका पाउनु भयो। यस्तो अवस्थामा तपाईं महिला हो भने यस्ता सोच उत्पन्न हुने गर्छन्:

‘कोही पुरुषहरु असल छैनन्। सबै धोकेबाज हुन्छन्। सम्पूर्ण असल पुरुषहरु अरु कसैको भइसके।’

त्यसैगरी तपाईं पुरुष हो भने यस्ता सोच उत्पन्न हुने गर्छन्:

‘महिलाहरुलाई विश्वास गर्न सकिँदैन। उनीहरु पुरुषलाई सुगर ड्याडीको रुपमा प्रयोग गर्छन्। व्यक्तिगत फाइदा उठाउन मात्र उद्धत रहन्छन्।’

यस किसिमको विश्वास प्रणाली विकास भइसकेपछि तपाईं सजिलै नयाँ सम्बन्ध सुरुवात गर्न सक्नुहुन्न। सम्बन्ध जोड्ने अवसर प्राप्त हुँदा पनि अधिक मूल्यांकन गर्नुहुन्छ। यो भएन त्यो भएन भनेर बढी कचकच गर्नुहुन्छ। आफ्नो

अपेक्षा पूरा भएमात्रै सम्बन्धमा रहने ढिपी कस्नु हुन्छ। परिणामस्वरूप तपाईं लामो समयसम्म एकल रहन पुग्नुहुन्छ।

कम आत्मबल

सबै व्यक्तिमा आत्मबल हुन्छ भन्ने छैन। जुन व्यक्तिमा आत्मबल कम हुन्छ उसले बाटोमा कुनै आकर्षक महिला वा पुरुष देखे पनि आँखा सम्पर्क गर्न सक्दैन। चिनापर्ची गर्न वा सम्बन्धका लागि प्रस्ताव राख्न हिम्मत नै गर्न सक्दैन। उसको मनमा यस्ता विचारहरु खेल्न थाल्छन्:

अरुले के भन्लान्?

सिधा अस्वीकृत पो हुने हो कि!

सार्वजनिक ठाउँमा बेइज्जत हुनुपर्ने हो कि !

म त्यति आकर्षित छैन आदि।

यही कारण उसले आवश्यक प्रक्रिया चाल्न सक्दैन। अन्ततः उसलाई सम्बन्धमा रहने होइन कि एकल हुने विकल्प उपलब्ध हुन्छ।

प्रतिस्पर्धाको डर

कम आत्मबल हुने व्यक्तिमा प्रतिस्पर्धाको डर हुन्छ नै। एउटा परिदृश्य कल्पना गरौँ। मानौँ तपाईं एक ३० वर्ष माथि उमेरको वयस्क हुनुहुन्छ। तपाईंमा आत्मबल निकै कम छ। मानौँ तपाईं एउटी २२ वर्ष उमेर महिलाप्रति आकर्षित हुनु भयो। महिलाबारे आवश्यक जानकारी संकलन गर्ने क्रममा अर्को २५ वर्ष उमेरको युवा पनि तीनै महिलाप्रति आकर्षित भएको पाउनु भयो। यति मात्र होइन, उनीहरुबीच निरन्तर संवाद हुने पनि थाहा पाउनु भयो। यस्तो अवस्थामा तपाईं प्रतिस्पर्धामा सहभागी हुन चाहनुहुन्न। तपाईंको मस्तिष्कमा यस्ता सीमित सोचहरु उत्पन्न हुने गर्छन्:

प्रेम गर्ने उमेर सकियो।

प्रतिस्पर्धामा सफल भएँ भने अर्को पुरुषलाई दु:खी बनाउनु पर्छ ।

अनावश्यक जटिलताहरू उत्पन्न हुन सक्छन्।

केटीको निहुँमा झगडा हुन सक्छ आदि।

प्रेम सम्बन्धमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो। यस प्रतिस्पर्धामा सफल हुन आत्मबल चाहिन्छ। यही कुरा तपाईं बुझ्न सक्नुहुन्न। तपाईं मस्तिष्कमा उत्पन्न हुने सीमित सोचहरु विश्वास गर्नुहुन्छ। प्रतिस्पर्धाको डरले तपाईं ती महिलाबाट अलग हुनुहुन्छ। यसकारण तपाईं एकल रहनुहुन्छ।

गुप्तवास

मानिसहरु फरकफरक स्वभाव र व्यक्तित्वका हुन्छन्। कोही अन्तरमुखी हुन्छन् भने कोही बहिर्मुखी। बहिर्मुखी स्वभाव र व्यक्तित्वका घरबाहिर जान, नयाँ ठाउँमा घुम्न, नयाँ नयाँ व्यक्तिलाई भेट्न र चिनजान बढाउन रुचाउँछन्। यस्ता मानिसहरु चाँडै सम्बन्धमा रहन सक्छन्। यसको ठीक विपरीत अन्तरमुखी स्वभाव र व्यक्तित्वका मानिसहरु आइसोलेसनमा (गुप्तवास) बस्न अथवा घरभित्रै बस्न रुचाउँछन्। अत्याधिक समय घरमै बस्नु भनेको आदर्श पार्टनर बन्न सक्ने व्यक्तिसँगको सम्पर्क ब्रेक गर्नु हो। अझ यसो भनौँ, सम्बन्धमा रहने सम्भाव्यता घटाउनु हो। आइसोलेसनमा बसेर कोरोना महामारीबाट जोगिन सकिएला तर प्रेम सम्बन्ध जोड्न वा विकास गर्न सकिँदैन। जोगाउन पनि सकिँदैन। तपाईं अन्तरमुखी हुनुहुन्छ भने सम्बन्धबारे यी कुराहरु बुझ्न सक्नुहुन्न। फलस्वरुप एकल रहनुहुन्छ।

कठोर दिनचर्या

कुनै पनि व्यक्ति सम्बन्धमा रहने वा एकल रहने भन्ने कुरा दिनचर्यामा भर पर्छ। उसको दिनचर्या लचिलो छ या कठोर? लचिलो छ भने उसको लागि सम्बन्ध बढाउने विकल्पहरु प्रशस्त रहन्छन्। अन्यथा सम्बन्ध बढाउने विकल्पका हरेक ढोकाहरू बन्द नै हुन्छन्। मानौँ तपाईंको दिनचर्या यस किसिमका छन्। तपाईं हरेक दिन उही सहकर्मी साथीहरुलाई भेट गर्नुहुन्छ। प्रायः एकै प्रकारको दैनिक गतिविधिमा संलग्न हुनुहुन्छ। अफिसकै काममा अति व्यस्त हुनुहुन्छ। कार्यकारी प्रमुखले अतिरिक्त समय काम गर्न आग्रह गर्दा ‘नो’ भन्न सक्नुहुन्न। त्यसैगरी मानौँ तपाईं बिदाको दिन नियमित भेट हुने साथीहरुसँग रमाइलो गर्नुहुन्छ। सधैँ जाने गरेको जिमखाना, क्याफे वा ठाउँमा जानुहुन्छ। कुनै नयाँ कार्य गर्नमा इच्छुक हुनुहुन्न। सुरक्षाको घेराभित्र रहनु नै उचित रणनीति सम्झनु हुन्छ। यस्तो अवस्थामा तपाईंलाई नयाँ व्यक्ति भेट्ने र सम्बन्ध विस्तार गर्ने उपयुक्त वातावरण सिर्जना हुँदैन। जसकारण तपाईं एकल रहनुपर्ने बाध्यता रहन्छ।

विगत

सम्बन्धमा ब्रेकअप हुनु सामान्य कुरा हो। तर यसलाई अधिकांशले सहज रुपमा ग्रहण गर्न सक्दैनन्। विगतलाई नै सम्झेर चिन्तित रहन्छन्। मन र मस्तिष्कबाट भुतपूर्व प्रेमी वा प्रेमिकालाई हटाउन सक्दैनन्। भुतपूर्व प्रेमी वा प्रेमिका फर्कने झिनो आशा पनि राखेका हुन्छन्। पीडाको गहिराइ यति ठूलो हुन्छ कि कहिल्यै प्रेम सम्बन्धमा नबस्ने कसम खान पुग्छन्। यदि उनीहरुले विगतलाई भुलेर नयाँ सम्बन्ध जोड्न प्रयासरत भएपनि सफल भने हुन सक्दैनन्। यसलाई एउटा परिदृश्यबाट बुझ्ने कोसिस गरौँ। मानौँ तपाईं एउटी महिला हुनुहुन्छ। तपाईंको लामो प्रेम सम्बन्धमा पूर्णविराम लाग्यो, ब्रेकअप भयो। तपाईंले विगत भुल्न नसके पनि नयाँ सम्बन्ध सुरुवात गर्ने निर्णय गर्नुभयो। नयाँ पुरुष साथी बनाउनु भयो। केही चरणका डेटिंग जानु भयो। यसै क्रममा ती पुरुषले तपाईंको भावभङ्गिमा, गतिविधि र व्यवहार नियालेको हुन्छ। तपाईंले विगत भुल्न नसकेको कुरा थाहा पाउन उसलाई कत्तिपनि समय लाग्दैन र तपाईंबाट टाढा रहनुमा बुद्धिमानी ठान्छ। परिणामस्वरूप तपाईं र ती पुरुषबीच सम्बन्ध अगाडि बढ्न सक्दैन। यसरी विगतलाई पूर्ण रूपमा भुल्न नसक्नु तपाईंको एकलताको कारण बन्न पुग्छ।

मानसिक पदानुक्रम

कुनै पनि नयाँ पुरुष वा महिला सम्भावित प्रेमी वा प्रेमिका बन्न सक्छन्। यद्यपि उनीहरुसँगको भेटमा मानसिक पदानुक्रम बढी सक्रिय हुने गर्छ। भनाइको मतलब, भेटमा आफूलाई उनीहरुसँग तुलना गरेर हेरिन्छ। आफूले तय गरेको मापदण्ड पूरा हुने वा नहुने त्यो पक्ष मूल्यांकन गरिन्छ। अनि सोहीअनुरुप ती पुरुष वा महिला सम्बन्धको लागि उपयुक्त हुन सक्ने वा नसक्ने त्यसमाथि निर्णय गरिन्छ। मानौँ तपाईं एउटा जवान पुरुष हुनुहुन्छ। बिहेको लागि कुनै एउटी महिलासँग भेट गर्नु भयो। अब तपाईं आफ्नो मानसिक पदानुक्रम प्रयोग गर्नुहुन्छ। तपाईं ती महिलाको उचाइ, उमेर, वजन, शैक्षिक योग्यता तथा प्रतिष्ठा जस्ता मेट्रिक बारे जानकारी संकलन गर्नुहुन्छ। मानौँ तपाईंले ती सम्पूर्ण मेट्रिक बारे केही मापदण्ड निर्धारण गर्नु भएको छ। जस्तैः महिला पाँच फिट तीन इन्च बढी उचाइको हुनुपर्ने, उमेर २० देखि २५ वर्षको हुनुपर्ने, स्लिम फिट शारीरिक बनावट हुनुपर्ने, उच्च शैक्षिक योग्यता हुनुपर्ने आदि। मानौँ ती महिलाको उचाइ, उमेर र शारीरिक बनावट तपाईंले निर्धारण गरेको मापदण्डअनुसार नै छन्। तर शैक्षिक योग्यता र प्रतिष्ठा बारे मापदण्ड भने पूरा भएनन्। यस्तो अवस्थामा तपाईं सम्बन्धको लागि कुनै प्रयत्नबिना ती महिलालाई अस्वीकृत गर्नुहुन्छ। जसकारण तपाईंले सम्बन्ध जोड्ने अवसर सदुपयोग गर्न सक्नुहुन्न। र, थप केही समय एकल जीवन बाँच्न बाध्य हुनुहुन्छ।

अव्यवहारिक नियमावली

समयक्रमसँगै डेटिंग र सम्बन्धमा विविध परिणाम प्राप्त हुँदै जान्छन्। परिणामको प्रकृतिअनुसार डेटिङ र सम्बन्धबारे नियमावली तयार हुँदै जान्छन्। अनि सोहीअनुरुप भविष्यमा डेटिङ र सम्बन्धमा रहँदा के-कस्ता व्यवहार देखाउने भन्ने कुराको तय गरिन्छन्। केही उदाहरणमार्फत प्रस्ट हुन सकिन्छ। उदाहरण एक, मानौँ तपाईंले अनलाइन डेटिङ एप प्रयोग गर्न थाल्नुभयो। केही महिलासँग अनलाइन डेटिङमा रमाउनु भयो। भौतिक रुपमा भेट्नुभयो। निकै धेरै समय, ऊर्जा र पैसा लगानी गर्नुभयो। तर कुनै पनि महिलासँग तपाईंको सम्बन्ध स्थापित हुन सकेन। उनीहरु सबैले रमाइलोका लागि प्रयोग गरेको अनुभूत गर्नु भयो। त्यसपछि तपाईंले अनलाइन डेटिङलाई गम्भीरतापूर्वक नलिने नियम बनाउनु हुन्छ। उदाहरण दुई, मानौँ तपाईं विदेश रहने महिला वा पुरुषसँग प्रेममा पर्नु भयो। एकदुई वर्षको सम्बन्धपछि तपाईंलाई ती महिला वा पुरुषले धोका दिएर अरुसँग पनि सम्बन्ध राखेको जानकारी पाउनु भयो। त्यसपछि तपाईंले विदेश बस्ने महिला वा पुरुषलाई कहिल्यै विश्वास नगर्ने र प्रेममा नपर्ने नियम बनाउनु हुन्छ। यी नियम भनेको सीमित अनुभवका आधारमा निर्धारण गरिएका हुन्। सबै अनलाइन डेटिंग असफल हुँदैनन्। विदेशमा रहने सबै महिला वा पुरुष गलत हुँदैनन्। तपाईं यही कुरा बुझ्न सक्नुहुन्न र एकल रहन पुग्नुहुन्छ।