प्रेम-सम्बन्ध स्थिर होइन, परिवर्तनशील छ। भनाइको तात्पर्य, प्रेम-सम्बन्धमा रहँदा एकरुपता सुनिश्चित गराउन सकिँदैन। विविध उतारचढावहरु तथा परिस्थितिहरुको सामना गर्नुपर्ने हुन्छ। अहिले प्रेममा हुनुहुन्छ? ज्यादै खुसी नहुनुस्। निकट भविष्यमा ब्रेकअप हुने सम्भावना उत्तिकै रहन्छ। त्यसैगरी अहिले ब्रेकअपको अवस्थामा हुनुहुन्छ? अनावश्यक रुपमा चिन्तित हुने, दुःखी हुने नगर्नोस्। निकट भविष्यमै प्याचअप (पुनर्मिलन) हुने, नयाँ प्रेम-सम्बन्ध सुरुवात हुने सम्भावना उत्तिकै रहन्छ। अहिलेका युवाहरुको जीवनमा प्रेम र ब्रेकअप (मिलन र बिछोड) को सिलसिला चलिरहनु सामान्य कुरा हो। यद्यपि प्रायःजसो युवाहरु ब्रेकअपलाई सहजै स्विकार्न सक्दैनन्। त्यस अवस्थामा संयमित हुन सक्दैनन्। पश्चातापपूर्ण जीवन बाँच्न बाध्य हुन्छन्। अन्ततः पूर्ण रुपमा टुट्न, विघटनको बाटोमा जान, विक्षिप्त हुन पुग्छन्। यति मात्र होइन, उनीहरु पहिलेको प्रेम कसरी फिर्ता ल्याउन सकिन्छ भन्नेमा सोचमग्न रहन्छन्। भुतपूर्व प्रेमी वा प्रेमिकासँग पुनः नजिक हुने उचित अवसरहरू पर्खिरहेका हुन्छन्। यसै क्रममा कतिपयले पुरानो प्रेमलाई जीवित बनाउन नसक्दा, ब्रेकअपको पीडा सहन नसक्दा आफ्नो जीवनलाई नै बर्बादीको मार्गमा चलाउन पुग्छन्।
ब्रेकअपमा किन बढी भावनात्मक पीडा हुन्छ?
मानवीय शरीर मेमोरीको भोलुम (मात्रा) हो। अझ स्पष्ट रुपमा भन्नुपर्दा, यादहरुको संग्रह हो। मेमोरी सेट वा विकास गर्नमा पाँच ज्ञानेन्द्रियको विशेष भूमिका रहन्छ। दृष्टि, श्रवण, गन्ध, स्वाद र स्पर्शका लागि क्रमशः आँखा, नाक, कान, जिब्रो र छालाले सक्रिय रुपमा काम गरिरहेका हुन्छन्। यीमध्ये मेमोरी सेट गर्नमा मुख्यतः दृष्टि र स्पर्शको धेरै ठूलो भूमिका रहन्छ। कुनै एक व्यक्ति विशेषसँग सम्बन्धमा रहँदा भावनात्मक एवं शारीरिक घनिष्ठता बढाउने उचित वातावरण या भनौँ अवसरहरू पर्याप्त उपलब्ध हुन्छन्। एकअर्कालाई देखभेट गर्ने, छुने, अङगालो हाल्ने, चुम्बन गर्ने, र यौन क्रियाकलापमा संलग्न रहेर यादगार समय बिताउने क्रम जारी रहन्छ। यसको मतलब हो, दृष्टि र स्पर्शको सक्रियता अत्याधिक हुनु। जसकारण मेमोरी विकास हुन जान्छ। हरेक व्यक्तिको शरीर मेमोरीको रुपमा व्याख्या गर्न सकिने हुँदा दुई व्यक्तिबीच विकास भएको निकटताले दुई मेमोरीको समिश्रणलाई इङ्गित गर्छ भन्ने बुझ्न सकिन्छ। यस्तोमा दुई व्यक्तिबीच हुने ब्रेकअपलाई यसरी लिन/बुझ्न सकिन्छ। प्रेमी र प्रेमिका प्रेममा रहन नसक्नु, भौतिक रुपमा अलग हुने निर्णय गर्नु भनेको मेमोरी मेटाउन खोज्नु हो। उनीहरुबीच विकसित यादहरु मेटाउन खोज्नु हो, जुन त्यति सजिलै सम्भव हुन सक्दैन। कारण? ब्रेकअपका लागि मनोवैज्ञानिक रुपमा तयार हुन सकेतापनि शरीर भने तयार भइसकेको हुँदैन। शरीरलाई मेमोरी मेटाउन पर्याप्त समय लाग्छ नै। भावनात्मक रुपमा जोडिएकाहरु सँग सम्बन्ध टुट्दा आफ्नै यादहरुको संग्रहले सताइरहेको, जीवन अन्त्य हुन लागेको र अस्तित्व मेटिन लागेको अनुभूत हुन जान्छ। स्वभाविक रुपमा, यसले असह्य भावनात्मक पीडाबोध गराउँछ।
ब्रेकअप पश्चात् के गर्ने?
बिना कारण ब्रेकअप हुँदै हुँदैन। त्यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन्। जस्तैः रिस, आशक्ति, महिला र पुरुष मनोविज्ञान बारे अनभिज्ञ हुनु, असमझदारी, आवश्यकता एवं अपेक्षाहरू परिपूर्ति हुन नसक्नु, व्यक्तिगत स्तरमा बेमेल हुनु, नकारात्मक बानी आदि प्रमुख कारणहरू हुन सक्छन्। ब्रेकअपले हामीमा केही कमीकमजोरीहरु छन् भन्ने सङ्केत गर्छ। त्यसैले प्रेम-सम्बन्धमा कुनैपनि किसिमको समस्या आइपरे वा ब्रेकअप भए ब्लेम गेम खेल्ने (आरोप प्रत्यारोपमा उत्रने) र बदलाको भाव राख्ने होइन, पहिले आफूलाई बदल्ने अभियानमा लाग्नु, असफल सम्बन्धबाट शिक्षा लिएर आफ्ना कमीकमजोरीहरू हटाउने कार्यमा प्रतिबद्ध रहनु बुद्धिमानी रहन्छ। अधिकांश त्यसो गर्न सक्दैनन्। उनीहरु तत्काल नयाँ सम्बन्ध स्थापित गर्नुलाई नै प्रत्येक ब्रेकअपको विकल्प अथवा वैकल्पिक उपचार मान्ने गर्छन्। जुन सरासर गलत/सीमित बुझाइ हो। एउटा सम्बन्धमा असफल हुनेबित्तिकै अर्को सम्बन्ध खोजी गर्दैमा समस्याको समाधान हुन सक्दैन। सम्बन्धहरु फेरिँदै जान्छन्, तर हामीमा कुनै परिवर्तन आउँदैन। उसो भए यस्तो परिस्थितिबाट बाहिर आउन के गर्ने? विक्षिप्त, विघटित नभइकन ब्रेकअपलाई एक जीवन बदल्ने अवसरको रुपमा कसरी सदुपयोग गर्ने? यसका लागि निम्नानुसारको कार्ययोजना गम्भीरतापूर्वक अगाडि बढाउन सकिन्छ।
आकर्षणबारे अध्ययन गर्ने
आकर्षण सम्बन्ध निर्माणको सुरुवाती विन्दु हो। यो बिना सम्बन्ध सुरु हुनै सक्दैन। सुरु भएपनि त्यो दिगो जाँदैन। त्यसकारण आकर्षणबारे गहन अध्ययन आवश्यक छ। के कुराहरुप्रति महिलाहरु आकर्षित हुन्छन्? के कुराहरुप्रति पुरुषहरु आकर्षित हुन्छन्? त्यसबारे ज्ञान लिनुपर्ने अपरीहार्य हुन आउँछ। जुन कुराहरुले महिलाहरु आकर्षित हुन सक्ने अनुमान गरेका हुन्छौँ, त्यसको ठीक विपरीत कुराहरुप्रति उनीहरु आकर्षित भएका हुन सक्छन्। त्यसैगरी जुन कुराहरुप्रति पुरुषहरु आकर्षित हुने अनुमान गरेका हुन्छौँ, त्यसको ठीक विपरीत कुराहरुप्रति उनीहरु आकर्षित भएका हुन सक्छन्। यस अतिरिक्त, महिलाहरु जुन कुराहरुप्रति आकर्षित हुन्छन्, सोही कुराहरुप्रति पुरुषहरु आकर्षित हुन सक्छन् भन्ने सोच्नु मुर्खता हो।
मानौँ, तपाईंले महिलाहरुको अत्याधिक केयर (ख्याल) राख्नुभयो। उनीहरुको उपस्थितिमा धन सम्पत्तिको अधिक प्रदर्शन गर्नुभयो। उनीहरुले चाहेका हर भौतिक सुविधाहरु पनि उपलब्ध गराउनुभयो। यस्तोमा उनीहरु तपाईंको सोचअनुरुप तपाईंप्रति आकर्षित हुन्छन् भन्ने छैन। वास्तविकता ठीक उल्टो हुनसक्छ। उनीहरु अत्याधिक ख्याल राख्ने बानी या धनप्रति नभएर तपाईंको ठट्टा/रमाइलो गर्ने बानी, आत्मविश्वास, परिपक्वता आदि गुणहरूप्रति बढी आकर्षित भएका हुन सक्छन्।
त्यसैगरी मानौँ, तपाईंले पुरुषहरुसँग खुला विचारधारा राख्नुभयो। उनीहरु सामु सेक्सी, कामुक देखिन अंग प्रदर्शनको सहारा लिनुभयो। रात्रिकालीन जीवन जिउन समेत तयार हुनुभयो। यस्तोमा उनीहरु तपाईंको सोचअनुरुप तपाईंप्रति आकर्षित नहुन सक्छन्। यथार्थता अर्कै हुनसक्छ। उनीहरु तपाईंको शारीरिक सुन्दरता, खुला विचारधाराप्रति नभएर तपाईंको लजाउने बानी, सरलता, विश्वसनीयता आदि गुणहरूप्रति बढी आकर्षित भएका हुन सक्छन्। यदि तपाईं यी कुराहरुबारे स्पष्ट हुन सक्नुभयो, आफूमा थप आकर्षण बढाउन सक्नुभयो भने प्रेम-सम्बन्धमा ब्रेकअपको सम्भाव्यता घटाउन सक्नुहुन्छ। केहीजानी ब्रेकअप भएपनि उचित व्यक्तिसँग नयाँ सम्बन्ध जोड्न सक्नुहुन्छ।
सामाजिक सर्कल बृहत् बनाउने
सीमित घेराभित्र बसेर सम्बन्ध स्थापित गर्न खोज्नु काल्पनिक विषय हो। सामाजिक सर्कल बढाउँदै जानुको विकल्प छैन। सामाजिक सर्कल त्यसै बढ्दैन। अरुको साथ र सहयोगमा झन् सम्भव हुने कुरै होइन। यस मामिलामा आफैले सक्रियता बढाउन सक्नुपर्छ। सशक्त सम्बन्ध कौशल विकास गर्न सक्नुपर्छ। सामाजिक सर्कल बढाउँदै जानु भनेको चिनजान, प्रसिद्धि र प्रतिष्ठा बढाउँदै जानु हो। अर्को शब्दमा भन्नुपर्दा, नयाँ सम्बन्ध जोड्ने विकल्पहरू बढाउँदै जानु हो।
मानौँ, तपाईं आफ्नो सामाजिक सर्कल बृहत् बनाउन सफल हुनुभयो। यस्तोमा तपाईंको प्रतिष्ठाको स्तर बढेर जान्छ। तपाईं अरु मानिसहरुको आकर्षणको केन्द्र बन्दै जानुहुन्छ। हर कोही तपाईंप्रति आकर्षित हुन्छन् र सम्बन्ध जोड्न चाहन्छन्। तपाईं सम्बन्ध निर्माणका लागि एउटै व्यक्तिमा निर्भर रहनु पर्दैन। धेरै विकल्पहरू उपलब्ध हुन्छन्। अर्को महत्वपूर्ण कुरा, कहिल्यैपनि एउटै व्यक्ति मात्र सोलमेट (जीवनसाथी) बन्न योग्य हुन्छ भन्ने हुँदैन। अरु उच्चस्तरीय व्यक्तिहरु पनि उपलब्ध हुन सक्छन्। यसर्थ सम्बन्धमा ब्रेकअप भए पनि तपाईंलाई उच्च गुणस्तरको सम्बन्ध स्थापित गर्नका निम्ति धेरै विकल्प खुला रहन्छन्।
त्यसैगरी सामाजिक सर्कल बृहत् हुनुको, अनगिन्ती विकल्पहरू उपलब्ध हुनुको अर्को एउटा फाइदा बारे चर्चा गरौँ। मानौँ, तपाईं एक प्रतिष्ठित व्यक्ति हुनुहुन्छ र एउटी साधारण महिलासँग प्रेममा बस्नुभयो। यस्तोमा ती महिलाले प्रेम-सम्बन्धमा चर्को प्रतिस्पर्धा, असुरक्षित महसुस गर्छिन्। अरु कुनैपनि महिलाले आफ्नो स्थान लिन सक्ने, प्रेम खोस्न सक्ने डर पनि अनुभूत गर्छिन्। अनि ती महिला तपाईं सँगको सम्बन्ध थप कसिलो, विश्वास योग्य बनाउन सक्रिय रहन्छिन्। तपाईंलाई खुसी बनाउने, प्रेमभाव व्यक्त गर्ने अवसरहरुको सतप्रतिशत सदुपयोग गर्छिन्। परिणामस्वरूप तपाईंहरुबीच गाँसिएको सम्बन्धमा ब्रेकअप हुने सम्भावना न्यून रहन्छ।
सुनिश्चित भविष्य निर्माण गर्ने
जीवनप्रति गम्भीर नहुने, अल्छी र उद्देश्यविहीन व्यक्तिहरुको कुनै भविष्य हुँदैन। उनीहरु आर्थिक हैसियतमा निकै कमजोर हुन पुग्छन्। मानिसहरु यस्ता व्यक्तिहरुप्रति कत्तिपनि आकर्षित हुनै सक्दैनन्। जीवनभरि एक हुने सपना देख्नु त झन् टाढाको कुरा हो। केवल प्रेमको नाममा जिन्दगी चलाउन सकिँदैन। एकअर्काको अनुहार हेरेरै जीवनभरि सँगै रमाउन पनि सकिँदैन। जीवन धान्न या भरिपूर्ण बनाउन, सम्बन्ध जोगाउन आर्थिक अवस्थाको छुट्टै महत्व हुन्छ। चरम गरिवी र अभावमा हुनुहुन्छ? तपाईंको जीवन कष्टकर हुनुको साथै सम्बन्धको आयु घट्दै जान्छ। प्रेममा जतिसुकै गहिराइ होस्, त्यो गहिराइमा धन भर्न सकिएन भने सम्बन्ध दीर्घकालीन रुपमा जान सक्दैन। त्यसैगरी सुनौलो भविष्यको सुनिश्चितता गर्न सकिएन भने कुनैपनि क्षण साथ छुट्न सक्छ, सम्बन्धमा फाटो आउन सक्छ। अरुहरुले तपाईंसँग भविष्य देख्न, परिकल्पना गर्न नसक्ने हुँदा तपाईंको नयाँ प्रेम-सम्बन्ध सुरुवात हुन पनि सक्दैन। तर यदि तपाईं आर्थिक हैसियतमा बलियो हुनुहुन्छ भने? सबैले तपाईं सँग सजिलै भविष्य देख्न सक्छन्। यस्तोमा ब्रेकअप हुने कुनै सम्भावना बाँकी रहँदैन। कथमकदाचित भइहाल्यो भनेपनि नयाँ, उपयुक्त सम्बन्ध जोड्न समय लाग्दैन। त्यसैले ब्रेकअप भएको अवस्थामा आफ्नो भविष्य निर्माण कार्यप्रति बढी ध्यान केन्द्रित गर्नोस्। उच्चस्तरीय जीवन यापनको सुनिश्चितता गर्नोस्। यसो गर्दा तपाईं कहिल्यै नटुट्ने सम्बन्ध स्थापित गर्नमा सफल हुनुहुन्छ। ब्रेकअप गर्नुपर्ने कारणहरू कहीँ कतै भेटिँदैनन्।
भुतपूर्व प्रेमको आगमन अस्वीकार गर्ने
ब्रेकअप वा सम्बन्ध विच्छेदको चरणमा जानु भनेको सम्बन्धमा पूर्ण विराम लाग्नु होइन। यो त नयाँ जीवन सुरुवात गर्ने सुनौलो अवसर हो। सीमित व्यक्तिहरु मात्र यस प्रकारको धारणा राख्ने गर्छन्। र, तिनीहरु नै सम्बन्ध विच्छेद हुँदाको अवस्थालाई सही अर्थमा व्यवस्थापन गर्न सक्छन्। यसो भन्नुको आशय, सोही अवस्थालाई जीवन बदल्ने अवसरको रुपमा प्रयोग गर्न सक्छन् भन्ने हो। आम मानिसहरु भने सम्बन्ध विच्छेद हुँदा प्राप्त हुने पीडा सहनै सक्दैनन्। पीडित अवस्थाबाट मुक्त हुनै सक्दैनन्। त्यस्तो अवस्था सिर्जना हुनुलाई जीवनको अन्त्य ठान्छन्। भावनात्मक सहायताको लागि पूर्व प्रेमी/प्रेमिका आफ्नो जीवनमा फर्किए हुन्थ्यो, पुनर्मिलन होस् भन्ने चाहन्छन्। अफसोच उनीहरुको जीवन स्तर भने यथावत् नै रहन्छ। जो व्यक्ति सम्बन्ध विच्छेदभन्दा माथि उढ्न सक्छ, उसलाई जीवनमा परिवर्तन ल्याउन गाह्रो हुँदैन। सफलता हासिल गर्दै जाने क्रममा, चेतनाको स्तर बढ्दै जाने क्रममा पूर्व प्रेमी वा प्रेमिका पुनः आकर्षित हुने सम्भावना नकार्न सकिँदैन। जसकारण भुतपूर्व प्रेम पुनः जीवित हुने सम्भावना बढ्दै जान्छ। अब पहिलेको प्रेम फिर्ता आयो भन्दैमा त्यसलाई सहर्ष स्विकार्नु बुद्धिमत्ताको सही प्रयोग मान्न सकिँदैन।
मानौँ, एउटी महिलासँग तपाईंको सम्बन्ध विच्छेद भयो! यस्तोमा आफ्ना गल्तीहरु आत्मसात गर्दै भविष्य निर्माण कार्यमा दत्तचित्त हुनुभयो। दुईतीन वर्षपछि तिनै महिला तपाईंको अकल्पनीय उपलब्धि देखेर तपाईंप्रति आकर्षित भइन् र फिर्ता आउन चाहिन् भने? तपाईंमा प्रेमभाव जागृत हुन सक्छ। पहिलेका कुराहरु भुलेर तिनै महिलासँग जीवन बाँच्ने निर्णय गर्न सक्नुहुन्छ। तपाईंलाई भविष्य र प्रेमिका दुवै सुनिश्चित गर्न सक्षम भएकोमा गर्वानुभूति हुनसक्छ। खुसीले उत्सव मनाउन पनि सक्नुहुन्छ। पूर्व प्रेमिकासँग पुनर्मिलन हुने परिस्थिति बनेको खण्डमा अनावश्यक रुपमा खुसी हुने नगर्नोस्। ब्रेकअपपश्चात् तपाईंमा मनोवैज्ञानिक विकास भएको हुन्छ। तर तपाईंलाई एक्लो बनाएर जाने ती महिलामा भने कुनै किसिमको विकास भएको हुँदैन। तपाईं र तपाईंकी पूर्व प्रेमिकाको चेतनाको स्तर तुलना गर्नै सकिँदैन। यस्तोमा उनी सँगै अघि बढ्ने निर्णय तपाईंका लागि समस्याकारक बन्न जान्छ। तपाईं पूर्व प्रेमिकाको स्तरमा झर्नुपर्ने अवस्था आइलाग्न सक्छ। अन्यथा तपाईंहरुबीच समझदारी कायम हुन सक्दैन। सङ्गत गर्ने भनेको स्तर मिल्नेसँग हो। तपाईं पूर्व प्रेमिका तर्फ लाग्नु भनेको सम्बन्ध निर्माणको सजिलो बाटो रोज्नु हो। तपाईंमा दृढ इच्छा शक्तिको कमी हुनु हो। यसबाट तपाईंको व्यक्तिगत विकास हुन सक्दैन। त्यसैले भूपू मायालुको पछि नलाग्नुहोस्। भुतपूर्व प्रेमको आगमनलाई पूर्ण रुपमा अस्वीकार गरिदिनुहोस्। आफ्नो भिजन स्पष्ट बनाउँदै करिअर निर्माण कार्यमा ध्यान दिनुहोस्। तपाईंको भविष्यको निर्माणकर्ता अरुहरु होइनन्, तपाईं आफैँ हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 







