प्रकाश जंग थापा

हामी सधैँ उत्प्रेरित हुन सक्दैनौं। कहिलेकाहीँ हतोत्साहित हुन, प्रेरणाहीनको अवस्थामा पुग्छौँ नै। हामीमा आत्म-प्रेरणा वा उत्प्रेरणाको कमी हुनु तथा सोही कुराको स्तरमा उतारचढाव आउनु एक सामान्य प्रक्रिया हो। यो प्रक्रिया जीवनको कुनैपनि चरणमा अनुभूत गर्न सकिन्छ। एक, संघर्षको चरणमा। स्वभाविक रुपमा संघर्षरत हुँदा सोचे अनुसारको परिणाम प्राप्त हुँदैन। आफू जीवनमा जहाँको त्यहीँ वा निकै पछाडि रहेको र अरुहरु भने निकै अगाडि बढेको देख्छौँ। के गर्नुपर्छ भन्ने स्पष्ट थाहा हुँदाहुँदै पनि केही गर्न नसक्ने हैसियतमा रहन्छौँ। कुनै एउटा उचित बाटो/माध्यम पहिल्याउन सक्दैनौं। यसो भनौँ, केही पनि गर्न सक्दैनौं वा केही गर्ने मेसोमेलो पाउँदैनौं। यही कारण हामी कुनैपनि कार्य गर्नका लागि स्वप्रेरित हुन सक्दैनौं। दुई, भरिपूर्ण अवस्थामा। जीवन भरिपूर्ण हुँदा, सबै कुराको बन्दोबस्त हुँदा हामीमा नवीन कार्य गर्ने सोच पलाउँदैन। एक हिसाबले हामी उद्देश्यविहीन हुन्छौँ। आफू हरेक कुरामा पोख्त भएको र आफूलाई प्रमाणित गर्नुपर्ने कुनै कुरा वा क्षेत्र नै बाँकी नभएजस्तो व्यवहार गर्छौँ। जसकारण कुनैपनि कार्य सरु गर्न, त्यसमा आवद्ध रहन, त्यस कार्यलाई सशक्त रुपमा निरन्तरता एवं पूर्णता दिन स्वप्रेरित हुन सक्दैनौं।
कुनैपनि व्यक्ति कत्तिको सफल हुन सक्छ, उसको जीवनस्तर कस्तो हुन्छ भन्ने कुरा ती व्यक्ति भित्रैबाट प्रेरित छ (स्वयं प्रेरित) वा बाहिरबाट प्रेरित छ भन्ने कुराले निर्धारण गर्छ। भनाइको तात्पर्य, ती व्यक्ति स्वप्रेरित हो वा अरु कसैमार्फत प्रेरित हो भन्ने कुराले उसको सफलता वा असफलता, जीवनस्तर निर्क्योल गर्छ। अरु व्यक्तिबाट होइन, आत्म-प्रेरित हुनु बढी प्रभावकारी रहन्छ। यस्तोमा कसरी स्व-प्रेरित रहने? यसको लागि केही विधिहरू अवलम्बन गर्न सकिन्छ।

पूर्ण स्वीकार गर्ने
पूर्ण स्वीकृति हरेक समस्याको समाधान हो। पूर्ण स्वीकृतिको अर्थ हो, निसंदेह पूर्ण रुपमा स्वीकार गर्ने र त्यसैमा खुसी रहने। त्यसैले जीवनमा कुनैपनि कुरा, परिस्थिति वा घटनाक्रम पूर्ण रुपमा स्वीकार गर्नुहोस्। अनि ती कुराहरुको प्रभाव तपाईंप्रति शून्य हुन्छ। तनावग्रस्त हुनुहुन्छ? यसलाई पूर्ण स्वीकार गर्नुहोस्। अहो! तनाव अनुभूत गर्ने वा बुझ्ने अवसर पाएँ भनेर उत्साहित हुनुहोस्। अति निराश हुनुहुन्छ? यो निराशालाई पूर्ण रुपमा स्वीकार गर्नुहोस्। यसलाई सहज रुपमा लिएर यसैमा खुसी हुने कोसिस गर्नोस्। जागिर वा पद गुम्यो? यसलाई सामान्य घटनाक्रमको रुपमा लिनुहोस्। अहो! जागिर गयो है! अब झन् केही नयाँ कार्य गर्ने समय पाएँ भनेर आफ्नो स्वीकृति जनाउनुहोस्। त्यसैगरी बुढ्यौली लाग्यो? यसलाई पनि पूर्ण रुपमा स्वीकार गर्नुहोस्। भनाइको मतलब, अब त बुढो भएँ भनेर होइन, जीवनको नयाँ चरणमा प्रवेश गर्दै छु, नयाँ अनुभव लिन जाँदै छु भनेर खुसी व्यक्त गर्नुहोस्। यही नै पूर्ण स्वीकृतिको उत्कृष्ट अभ्यास हो। जब तपाईं यस किसिमको अभ्यास गम्भीरतापूर्वक गर्नुहुन्छ, तपाईंमा उर्जा र प्रेरणाको स्तर सधैँ उच्च विन्दुमा रहन्छ। तपाईं जस्तोसुकै अनुकूल समय र परिस्थितिमा पनि स्वप्रेरित हुन सक्नुहुन्छ।

दृष्टिकोण बदल्ने
कुनैपनि कुरा, वस्तुलाई कसरी हेरिन्छ, कसरी लिइन्छ, त्यसले ती कुरा, वस्तुबारे हाम्रो धारणा कस्तो रहन्छ भन्ने निर्धारण गर्छ। जस्तो कि कुनैपनि कुरा, वस्तु अति नजिक वा अतिनै टाढा राखेर हेरियो भने त्यो न प्रष्ट देखिन्छ न आकर्षक। अनि हामी ती कुरा, वस्तु उति प्रष्ट र आकर्षक नभएको धारण राख्छौँ। तर तिनै कुरा, वस्तुलाई उपयुक्त दूरी र कोणबाट हेरियो भने ती कुरा, वस्तु प्रष्ट देखिनुका साथसाथै आकर्षक पनि देखिन्छ। अनि हामी ती कुरा, वस्तु निकै प्रष्ट र आकर्षक रहेको भनेर धारणा राख्छौँ। त्यसैले कुनैपनि कुरा, वस्तुलाई निश्चित दूरी, कोणबाट हेर्न सक्नुपर्छ। त्यसैगरी अर्को महत्वपूर्ण कुरा बुझौँ। कुनैपनि कुरालाई अति नजिकबाट नियाल्नु, त्यसमा अति सङ्लग्न हुनु भनेको आशक्त रहनु अथवा अति लिन, लिप्त हुनु हो। यसले हामीभित्र उत्प्रेरणाको स्तर बढाउन सक्दैन। झन् उल्टै घटाइदिन्छ। सहजै स्वप्रेरित हुन सकिँदैन। त्यसैले कुनैपनि कुरा, वस्तुप्रति नयाँ दृष्टिकोण विकास गर्ने कोसिस गर्नोस्। पूर्ण रुपमा आशक्ति हटाउने प्रयत्न गर्नोस्। यही किसिमको एप्रोज हामीले सामना गर्नुपर्ने अनेकन समस्याहरु (जसकारण हामी स्वप्रेरित हुन सक्दैनौं) मा पनि लागू गर्न सकिन्छ। यदि तपाईंलाई कुनै एउटा जटिल समस्या आइपर्यो भने त्यसलाई धेरै नजिकबाट होइन, निश्चित दूरीमा राखेर केलाउने गर्नोस्। यतिमात्र होइन, त्यो समस्यालाई विभिन्न कोणबाट नियाल्नोस्। कहिले माथिबाट त कहिले तलबाट, कहिले दायाँबाट त कहिले वायाँबाट समस्यालाई अवलोकन गर्नोस्। यसो गर्नाले तपाईंमा नयाँ धारणा, दृष्टिकोणको विकास हुन जान्छ। परिणामस्वरूप तपाईं थप उर्जाशील, स्वप्रेरित बन्दै जान सक्नुहुन्छ।

इच्छालाई इच्छाशक्तिमा ढाल्ने
स्वभावतः हामी महत्वाकांक्षी छौँ। जीवनमा धेरै कुराहरु गर्न, हासिल गर्न सकियोस् भन्ने इच्छा, अपेक्षाहरू राखेका हुन्छौँ। तर ती इच्छा, अपेक्षाहरु कत्तिको व्यवहारिक या अव्यवहारिक छन् भन्नेमा त्यति धेरै ध्यान दिन, गम्भीर हुन भने सक्दैनौं। अन्ततः ती इच्छा, अपेक्षाहरू पूरा नहुँदा निकै निराश हुन पुग्छौँ। अनि अरु नयाँ इच्छा, अपेक्षाहरू पूरा गर्ने कार्यप्रति आकर्षित हुन, त्यस कार्यमा संलग्न हुनका लागि त्यति स्वप्रेरित हुन सक्दैनौं। त्यसैगरी लक्ष्य निर्धारण गर्ने क्रममा हामी व्यवहारिक हुन सक्दैनौं। हामीले आफ्नो क्षमता, समय र परिस्थितिको सही मूल्यांकन गरेका हुँदैनौं। जतिपनि लक्ष्यहरु तय गरेका हुन्छौँ, ती सबै वास्तविक लक्ष्य, प्यासन नभएर केवल हाम्रा इच्छाहरु, अधुरा चाहनाहरू हुन्छन्। यस्ता इच्छाहरु, अधुरा चाहनाहरू पूरा गर्ने प्रक्रियामा आवश्यक एकाग्रता कायम गर्न सक्दैनौं। कारण? इच्छाहरु कुनैपनि बेला परिवर्तन हुने हुँदा हाम्रो ध्यान पनि कुनैपनि क्षण मोडिन सक्छ। अन्ततः हामी लक्ष्य प्राप्तिमा असफल हुन पुग्छौँ। अनि अरु नयाँ लक्ष्य तय गर्ने मामिलामा स्वप्रेरित हुन सक्दैनौं। यस्तोमा के गर्ने? तपाईं आफ्नो अपेक्षाहरू व्यवस्थापन गर्नोस्। सकेसम्म व्यवहारिक अपेक्षा मात्र राख्ने गर्नोस्। त्यसैगरी जुन कार्य आफ्नो प्यासन होइन, जुन कार्य जीवनको एकमात्र उद्देश्य होइन त्यस कार्यमा कहिल्यै दीर्घकालीन रुपमा स्वप्रेरित हुन सकिँदैन भन्ने मस्तिष्कमा राख्नोस्। आफ्नो प्यासनमा केन्द्रित हुनोस्। अर्को शब्दमा भन्नुपर्दा, तपाईंलाई के गर्न मन लाग्छ त्यो होइन, तपाईंलाई के गर्दा बढी आत्मसन्तुष्टि प्राप्त हुन्छ त्यही गर्नोस्। यस माथि, आफ्नो इच्छालाई इच्छाशक्तिमा बदल्ने कोसिस गर्नोस्। अनिमात्र तपाईंमा उत्प्रेरणाको ग्राफ सधैँ उच्च विन्दुमा रहन्छ। फलस्वरुप कुनैपनि कार्यमा आवद्ध हुन र त्यस कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्न स्वप्रेरित हुन सक्नुहुन्छ।

इगो (अहं) त्याग्ने
हरेक व्यक्तिमा इगो हुन्छ। फरक यत्ति हो कि कसैमा इगोको आकार ठूलो हुन्छ त कसैमा सानो। हामीले आफूलाई कसरी हेर्छौँ, कसरी व्याख्या गर्छौ र आफूलाई अरुभन्दा कत्तिको महत्व दिन्छौँ, त्यही नै इगो हो। इगो/अहंकारले कसैलाई पनि राम्रो गर्दैन। विशेषतः यसले कुनैपनि व्यक्तिको अस्तित्वलाई अपवित्र बनाइदिन्छ। व्यक्ति व्यक्तिबीच उर्जा संचारको माध्यमनै बन्द गराइदिन्छ। जसकारण एकअर्काको उपस्थितिका कारण स्वप्रेरित हुने वातावरण निर्माण हुन सक्दैन। त्यसैगरी हामीले जतिनै ठूलो सफलता पाएपनि हामी अहंकारी छौँ भने अरु कुनै कार्य गर्न स्वप्रेरित हुन सक्दैनौं। नसोचेको सफलता प्राप्ति हुँदा पनि प्रायः दुखी रहन्छौँ। तर यसको ठीक विपरीत यदि हामी अहंकारी छैनौं भने सानो या ठूलो सफलता पाएपनि हरदम खुसी हुनुका साथै थप सफलता प्राप्तिका लागि स्वप्रेरित रहन सक्छौँ। त्यसैले ‘म’ भाव त्यागेर ‘हामी’ भाव बढाउने कोसिस गर्नोस्। बिर्सेर पनि म यस्तो, म उस्तो भन्ने तर्क गर्ने तर्फ नलाग्नोस्। आफूलाई सर्वश्रेष्ठ ठान्ने र अरुलाई तल्लो स्थानमा राख्ने दुष्प्रयास नगर्नोस्। सबैलाई समान व्यवहार गर्नोस्। यस प्रकृतिको रणनीतिअनुसार अगाडि बढ्न सक्नुभयो भने तपाईंको अस्तित्व पवित्र हुन्छ। र, तपाईं नयाँ कार्य गर्न उर्जाशील, स्वप्रेरित रहन सक्नुहुन्छ।

साथीभाइसँग उत्सव मनाउने
जीवनमा साथीभाइको भूमिका विशेष रहन्छ। जीवनमा जत्रसुकै उपलब्धि, सफलता हासिल गरेतापनि खुसी साट्नका लागि साथीभाइहरु उपस्थित छैनन् भने ती प्राप्त उपलब्धि, सफलताको कुनै अर्थ वा महत्व रहँदैन। अनपेक्षित/अपेक्षित सफलता प्राप्तिका बाबजुद पनि हामीमा निराशा, उदासीनता छाउँछ नै। आत्मसन्तुष्टिको भाव कत्तिपनि रहँदैन। त्यसैगरी जीवनमा दुःख, समस्या पर्दा सुनिदिने, बुझिदिने र उचित सुझाव दिने साथीभाइहरु छैनन् भनेपनि बाटो बिराउन सकिन्छ। झन् धेरै निराशा, उदासीनताले सताउन सक्छ। पूर्ण रुपमा खुसी हुन, कुनैपनि नयाँ कार्य वा योजनामा समर्पित रहनका निम्ति स्वप्रेरित हुन सकिँदैन। त्यसैले जीवनमा कुनैपनि स्तरको सफलता प्राप्त हुँदा साथीभाइहरूसँग रहनुहोस्। उत्सव मनाउनुहोस्। उत्सव तडकभडक र खर्चिलो हुनुपर्छ भन्ने छैन। गुणवत्ता समय व्यतीत गर्ने वातावरण सिर्जना भए पर्याप्त हुन्छ। त्यस माहोलमा खुसी साटासाट गर्नोस्। उनीहरुसँग आवश्यक प्रतिक्रिया र सुझावहरु आदनप्रदान गर्नोस्। प्रतिस्पर्धात्मक भाव होइन, समानुभूतिको भाव राख्नोस्। त्यसैगरी जीवनमा दुःख, चुनौती आइपर्दा, मन भारी हुँदा साथीभाइहरू सँग समय विताउने गर्नोस्। आफ्ना कुराहरु खुलस्त रुपमा पोख्ने गर्नोस्। सम्भव भएसम्म उनीहरुसँग रमझममा रमाउने प्रयत्न गर्नोस्। यस क्रममा ध्यान दिनुपर्ने एउटा अत्यन्तै महत्वपूर्ण कुरा- तपाईंका साथीभाइहरु गुणवत्ता, सच्चा र विश्वासिलो हुनु अत्यावश्यक छ। जोसुकै साथीको संगत, तपाईंको भलो नचिताउने, उल्टै तपाईंलाई दिग्भ्रमित बनाउने साथीहरुबाट टाढा रहनोस्। अनिमात्र तपाईं आत्म-प्रेरणाको स्तर बढाउन सक्नुहुन्छ।

वैकल्पिक योजना बुन्ने
हामी चढ्ने अधिकांश गाडीहरुमा जगेडा टायर राखिन्छ। यसको प्रायोजनबारे हामी स्पष्ट छौँ। त्यसैगरी अधिकांश व्यवसायिक हवाइजहाजहरुमा चारवटा इन्जिन जडान गरिएको हुन्छ। कथमकदाचित एउटा इन्जिनले काम नगरे अर्को इन्जिन स्वचालीत हुन्छ। यसैकारण हवाइ यात्रालाई सबैभन्दा बढी सुरक्षित मानिन्छ। यसबाट के सिक्ने? यी कुराहरु उल्लेख गर्नुको एउटै उद्देश्य हो, हामीसँग पनि विकल्पहरु, वैकल्पिक योजना हुनुपर्छ। कमसेकम दुईवटा करिअर वा पेशामा काम गर्न सक्नुपर्छ, आफूले गर्दै आएको कामबाट बाहिर आउने योजना हुनुपर्छ भन्ने नै हो। जीवनभरि एउटा मात्र पेशामा आवद्ध रहेर खुसी, सन्तुष्ट र स्वप्रेरित हुन सकिँदैन। यो विषयलाई वैज्ञानिक कोणबाट बुझ्ने कोसिस गरौँ। फिजियोलोजिस्ट (जीवशास्त्री) अनुसार हरेक सात वर्षमा मानवीय शरीर र मस्तिष्क पूर्ण रुपमा परिवर्तन हुन्छ। प्रत्येक सात वर्षको अवधिमा शरीरका सम्पूर्ण कोशिकाहरु पूर्ण रुपमा परिवर्तन हुन्छन्। यसको अर्थ हो, शरीरको सम्पूर्ण कोशिकाहरुको नवीकरण पूरा हुनु। प्रत्येक सात वर्षमा हामी नयाँ व्यक्ति बनिसकेका हुन्छौँ तर हामी उही पुरानो काम गरिरहेका हुन्छौँ। यसर्थ हामीमा उत्साह, उर्जा र आत्म-प्रेरणाको कमी हुँदै जानु स्वभाविक हो। त्यसैले यदि तपाईं अहिले संलग्न भएको कामबाट खुसी हुनुहुन्न, त्यो कामलाई निरन्तरता दिन स्वप्रेरित हुन सकिरहनु भएको छैन भने नयाँ विकल्पको खोजी गर्नोस्। आफूलाई उपयुक्त हुने, आफ्नो व्यक्तित्वसँग मिलान हुने विकल्पहरू केलाउनुहोस्। आफूले खोजेको जस्तो विकल्प वा पेशा भेटेपछि वर्तमान अवस्था वा पेशाबाट बाहिर आउने गुरुयोजना बुन्ने कार्यमा सक्रिय रहनोस्। तपाईंले एकैपटक, हठात् रुपमा आफूले गर्दै आएको काम छोड्नु पर्दैन। चरणबद्ध रुपमा अगाडि बढ्ने रणनीति अवलम्बन गर्नोस्। जुन दिन तपाईं तयार हुनुहुन्छ, जुन दिन पुरानो पेशा छोड्ने हैसियतमा पुग्नुहुन्छ, त्यस दिन आफ्नो सुरक्षाको घेरा तोडेर नयाँ पेशामा हात हाल्नुहोस्। जब तपाईं आफूले खोजेको, आफूलाई उपयुक्त नयाँ पेशामा संलग्न हुनुहुन्छ, तपाईंमा आत्म-प्रेरणाको स्तर उच्च विन्दुमा रहन्छ। अर्थात्, तपाईं आफ्नो जिम्मेवारी पूरा गर्ने विषयमा सतप्रतिशत प्रतिबद्ध र स्व-प्रेरित हुन सक्नुहुन्छ।