अस्पताल नजिकैको सानो चिया पसल । डाक्टर जँचाउन आएका बिरामीहरूको चिया पिउने केन्द्र । एक जना साधारण लुगा लगाएको मान्छे चिया पसलमै खोज्न आउँछन र सोध्छन्– फलानो नाम गरेको को हुनुहुन्छ ?
“म हजुर ! लौ तपाईंको पालो आयो ।” ती फलाना त्यहीँ चिया लिएर बसेका छन् ।
चिया पसलमा आएका अरु ग्राहकहरू अचम्म मान्छन् । कस्तो अस्पताल हो यो । अस्पताल परिसर बाहिरको चिया पसलमा आएर नै बिरामी डाक्न आउने चलन रहेछ ।
– चलन त राम्रो रहेछ नि !
– बिरामी नै छैनन् होला ! अनि किन नआउनु ?
– अस्पतालहरू एम्बुलेन्सलाई पैसा खुवाएर बिरामी संकलन गर्छन्, अनि घरखेत बेच्नपर्ने बनाएर बिल बनाउँछन् । बिरामी नपाएपछि के गर्नु ? चिया पसलसम्म पनि मान्छे लगाएर पठाए, नाईं ।
– चिया पसलमा भन्न आउने चैं को हो ? एजेन्ट हो कि अस्पतालकै कर्मचारी ?
– कर्मचारी होला नि !
– होइन, कमिसन एजेन्ट होला ! हिजोआजका कर्मचारी किन अस्पतालको परिसर नाघेर बिरामी बोलाउन आउँथे । उसलाई त बिरामी आए पनि नआए पनि तलब पाकिहाल्छ क्यारे !
– तलब पनि कमिशन पनि त हुनसक्छ । बिरामी ल्याएबापत छुट्टै पैसा पाइन्छ होला नि !
अस्पताल र डाक्टरबारे जानकारी नभएका र चिया मात्र पिउन आएका ग्राहकहरूको कुरा सुनेर फलानो बिरामीलाई उकुसमुकुस भइसकेको थियो । चियाको अन्तिम घुट्को सिध्याएर पैसा निकाल्दै ती फलानोले भने– “हेर्नोस सरहरू ! अरु अस्पतालको हकमा तपाईंको भनाइ ठीकै होला, तर यो अस्पताल र यी डाक्टरका बारेमा तपाईंका अन्दाज र भनाइ पटक्कै मिलेन । सर्वप्रथम यो कुनै निजी अस्पताल होइन । यहाँ नाफा मात्र प्राथमिकतामा पर्दैन । गैर–नाफामूलक संस्था हो, यो अस्पताल । वीर अस्पतालपछि गरिब बिरामीको भीड हुने अस्पतालमध्ये एक हो यो । देख्नु भएन, खुट्टा राख्ने ठाउँ छैन । म त भित्र नाम लेखाएर बाहिर बस्न आएको । यी डाक्टरकोमा आउँदा नाम लेखाइसकेपछि यो चिया पसलसम्म खोज्न आउने चलन नै हो । म त उहाँको नियमित बिरामी । पैसा धेरै कमाउन एजेन्ट पाल्ने र एम्बुलेन्सलाई पैसा खुवाएर बिरामी तान्नुपर्ने बाध्यता यो अस्पताललाई छैन । अनि जो मान्छे यहाँ बोलाउन आउनुु भयो, उहाँ कुनै कर्मचारी वा एजेन्ट होइन, उहाँ नै हो मलाई जाँच्ने प्रमुख डाक्टर ।”
यति कुरा सुनिसकेपछि ती चिया पिउन आएका ग्राहकहरू चुप त भए । तर पनि पत्याएनन् । सोधे, “ती डाक्टरसँग तपाईंको के नाता पर्छ या तपाईंको साथी हो कि ?”
ती फलाना बिरामी अब भने निकै रिसाए । लौ अब मैले सरहरू जस्तो बुद्धिजीवीलाई बुझाउन सक्दिनँ ।
अनि चिया पसलकी साहुनीले भनिन्, “यो अस्पतालको बारेमा तपाईंहरूको अनुमान सर्वथा गलत छ । झन् ती डाक्टरको बारेमा तपाईंहरूको कमेन्ट त अति अमिल्दो । उहाँ त साधारण स्वभावको हुनुहुन्छ । बोलीचाली, व्यवहार , लवाइखवाई सबै कुनै शानसौकतवाला डाक्टरको जस्तो छैन । बिरामीलाई चिया पसलसम्म खोज्न आउनु हुन्छ , पैसाको लागि होइन । उपचारकै लागि । उहाँको बारेमा यति नराम्रो कुरा नगरेकै वेश । उहाँहरूले त कतिपय बिरामीहरूको खाना र बस्ने खर्चसमेत दिएर उपचार गराउनु हुन्छ । बिरामीसँग असुल्ने त कुरै छोडौं । कुनै त्यस्तो अस्पताल र डाक्टरसँग उहाँहरूको तुलना नगर्नु होला सरहरू ।”
– यो कुन अस्पताल हो त ?
– यो काठमाडौं मोडेल अस्पताल हो, र उहाँ डाक्टर चैं शंकरमान राई ।
पहिलो भेटमा परिचयमा नाम आदानप्रदान भयो । मैले मेरो नाम बताएँ । उहाँले पनि आफ्नो नाम बताउनु भयो र भन्नुभयो, “म शंकरमान राई हजुर ! यो अस्पतालमा काम गर्छु ।”
उनको बोलीको परिचय मात्र सुन्नु भयो भने तपाईंलाई लाग्नेछ उनी यो अस्पतालका साधारण कर्मचारी मात्र हुन् । कुनै परिचयविहीन पात्र जस्तो । उनले परिचय दिँदा कहिल्यै पनि नाम अगाडि डाक्टर भन्दैनन् । कहिल्यै पद र पुरस्कार उल्लेख गर्दैनन् । उनी चर्चामा आउँदैनन् । तर आफ्ना सम्पूर्ण समय अध्ययन, विज्ञता वृद्धि र बिरामीको सही उपचारमा अधिकतम समय दिन चाहन्छन् । यसो गफ गर्ने फुर्सद उनलाई छैन ।
कुनै मान्छे भेट्यो भने उनको दिमागले उनलाई सोध्छ, “के यो मान्छेले तिम्रो अस्पताललाई, तिम्रो विशेषज्ञतालाई, उपचार गर्ने तिम्रो टीमको क्षमता अभिवृद्धिलाई केही सहयोग गर्न सक्छ कि ? अनि मुुखै खोलेर सहयोग माग्न लाज मान्दैनन् । तर तिनी कहिले पनि आफ्ना नीजि कामका लागि कुनै सहयोग माग्दैनन् । परिवारमा पनि त्यति समय दिन सकेका छैनन । जुरुक्क उठ्यो तयार भयो ,अस्पताल पुग्यो । दिनभर अस्पताल र बिरामीको सेवामा बितायो । रात पर्न थालेपछि पुनः घर फक्र्यो । उनको बारेमा धेरै लेख्नुछ । उनी हुन्, शंकरमान राई ।
शंकरमान राई, मेडिकल डाक्टर हुनुहुन्छ । प्राध्यापक हुनुहुन्छ । विश्वप्रसिद्ध प्लास्टिक र कस्मेटीक सर्जन । अमेरिकामा भए सबैभन्दा महंगो डाक्टर । जन्मजात वा कुनै दुर्घटनावश ओठ काटिएका हजारौं हजार बिरामीहरू निःशुल्क उपचार गर्नुभएको छ । बोल्न नजानेकालाई बोली फुटाउने गर्नुभएको छ ।
उहाँ गरिब ग्रामीण नेपाली समाजमा काम गर्नुहुन्छ र त्यसै कारण विश्वप्रशिद्ध हुनुहुन्छ । पाठकवृन्द उहाँ र उहाँको टीमसँग परिचय गर्नु राम्रै हुन्छ । आफ्नै लागि मात्र बाँच्ने समाजमा उहाँको व्यवहारबाट केही सिकेको छु । अझै सिक्नु छ । कमसेकम मैले त्यस्तो अनुभव गरेको छुँ । मन लागेछ भने किर्तिपुरस्थित नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टरमा भेटिनु हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।