जग्गुले लकडाउनमा काम पाएन । काम नपाउँदा गर्ने एउटा काम हो, पुरानो सम्झना । यसपटक उसले सम्झ्यो आम हड्ताल । आम हड्ताल नभएको धेरै भयो । महिनौं आम हड्ताल हुने काठमाडौं अहिले व्यस्त छ । हड्ताल भएको भए कति आम मानिसहरू ट्रक चढेर काठमाडौं जान पाउँथे । काठमाडौं कहिल्यै नपुगेका, सिंहदरबार कहिल्यै नदेखेका, पशुपति दर्शन गर्ने रहर बोकेका कति आम मानिसहरूले अवसर पाउँथे । तर काठमाडौंमा आम हड्ताल नभएपछि आम मानिसहरू अरूको लगानीमा काठमाडौं आउनेजाने नै बन्द भयो । गाउँका हर्ताकर्ता युवा जग्गुले मात्रै कतिपय गाउँका आम मानिसलाई काठमाडौं घुमाइसकेको थियो । कहिले कुन पार्टीको हड्ताल त कहिले कुन पार्टीको आमसभा , कहिले कुन नेताको विरोध त कहिले कुन समुदायको पदयात्रा । कहिले त लुगा पनि बाँडिन्थ्यो । कहिले खाना पाइन्थ्यो त कहिले भोकै पनि हुन्थ्यो । जग्गु पनि चकित छ , हिजोआज काठमाडौंमा मान्छे किन चाहिँदैन ? कोरोना आएको त कति न भयो र ? केही वर्षदेखि हड्तालको माग नै घटेको पो हो कि ? प्रजातन्त्रमा हड्ताल र आम मान्छेको कति धेरै महत्वको थियो । प्रजातन्त्रबाट गणतन्त्र जन्मिन त झनै कति लामो यात्रा पार गरेको थियो । ओहो ! काठमाडौंको पार्टी पालेसहरूमा तीन छाकै खाएर आन्दोलन गरेको , जुलुशमा हिँडेको , पुलिसले लखेटेको , कतिका चप्पल बाटोमै छुटेको । त्यो त सपना जस्तै पो भयो । अहिलेको पुस्ताले त हड्ताल भनेको शब्दै सुन्न छाडिसके ।

जग्गुले टेलिभिजन खोल्यो । एक जना मान्छे बोलिरहेको थियो । आम हड्तालमा सडकभरी चप्पलेहरू देखा पर्थे । पुलिसले लखेटेको दिन सडकभरी चप्पलहरू छाडिन्थे । काठमाडौंमा बसेका सम्भ्रान्तहरू पनि जुलुसमा हुन्थे । उनीहरू चप्पल लगाएर कहाँ जुलुशमा जान्थे र ? हिँड्नका लागि आरामदायी स्पोर्ट जुत्ताहरू पालो कुरेर बसिरहेका हुन्थे, र्याकभरी । हरेक दिन जिमखाना जानु वा योगा गर्नु वा तास खेल्नुको सट्टा आम हड्तालको बेला स्पोर्ट सूटमा सडकमा हिँड्ने एउटा राम्रो अवसर थियो ।

स्नेह सायमि

बन्द त कति भयो कति । नेपाल बन्द पनि धेरै भोगियो आन्दोलनका लागि । बन्दले जसलाई सबैभन्दा धेरै प्रभावित पाथ्र्यो उनैले बन्दको पहल गरेका हुन्थे । जसलाई बन्दले कम असर गथ्र्यो उनीहरू बन्दको पक्ष र विपक्षमा बाँडिएका थिए र बन्दको समर्थन र विरोधमा लेख लेखिरहेका, टेलिभिजनको पर्दामा बहस गरिरहेका हुन्थे । जसलाई एक महिनानै बन्द भए पनि केही समस्या थिएन । उनीहरू बन्दको कसरी फाइदा लिने भनेर सोचिरहेको हुन्थे । जसको ६ महिनाका लागि पुग्ने खाना, ग्यास सबै स्टकमै थिए , उनीहरू बन्दबाट हुने घाटा र नाफाको अभिव्यक्ति प्रकट गरिरहेका हुन्थे । हड्ताल भयो भने आम मानिसलाई घुम्ने अवसर , काठमाडौंमा सित्तै खाने र घुम्ने अवसर । तर घर पुगेपछि नुनतेलको हाहाकार तिनैलाई हो । घरछेउको खुद्रा पसलले महँगो गराउने तिनीहरूलाई नै हो । हड्ताल लामो भयो भने पहुँचवालाहरूको लडाइँ हुने हो । पहुँचका कारण आम मान्छेको भन्दा पहुँचको स्तर अनुसार तुलनात्मक रूपमा कमै समस्या हुन्थ्यो । हड्तालका योजनाकार र हड्तालको विरोधीबीच वार्ता भइरहन्थ्यो । कहिले मिल्यो मिल्यो भन्थे, कहिले मिलेन मिलेन भन्थे । के हुँदा मिल्ने के हुँदा नमिल्ने त्यो आम मान्छेलाई थाहा थिएन ।

जग्गुले टेलिभिजनको च्यानल परिवर्तन गर्यो । त्यहाँ अर्को मान्छे बोलिरहेको थियो । राज्यका आधिकारिक निकायहरूमा हड्तालका आयोजकको राम्रै पहुँच हुन्थ्यो । एकपटक पहुँच पुगिसकेपछि त्यो हट्ने होइन, बरु बढ्ने गर्दछ । कतै जानु पर्यो भने, या त कुनै नाम चलेको मिडिया, या सरकारी गाडी नै पनि तयार हुन्थे ।

आम हड्तालकै बेला विदेशबाट आइपुगेछन् मिस्टर ए, एउटा पुलिस भ्यानले पुर्याइदियो । अर्का साथीको श्रीमतीलाई रुघा लाग्यो, एम्बुलेन्समा अस्पताल पुगेर आइन् । एम्बुलेन्स संचालक संस्था पनि गुन लाउन पाएकोमा खुसी थिए । त्यसमा पनि आम हड्ताल शान्तिपूर्ण भएपछि त छुट्टी मनाएर तमासा हेर्ने राम्रो मौका थियो ।

जग्गुले फेरि च्यानल परिवर्तन गर्यो । त्यस च्यानलमा एक जना आफ्नो अनुभव यसरी सुनाइरहेका थिए ।

आन्देलनको पूर्वसन्ध्यामा र आन्दोलनमै पनि हाम्रो व्यापार सप्रेकै थियो । सामानको भाउ बढेको थियो र नगदमै बिकेको थियो ।

व्यवसायीहरूलाई समस्या एउटै मात्र थियो, त्यो हो फोनबाटै चन्दा माग्ने । यो कुरा बुझेर जानेबुझेकाहरू विदेश यात्रामा गइसकेका थिए । उनीहरूलाई राम्रै फाइदा भयो होला । एउटा चन्दा दिन परेन अर्को विदेशमा व्यवसाय गर्न वा परिवारसँग घुम्न पाइयो । उहाँका कारखाना नचले के भो र चले चल्छ, नचले हामी नै चलिहाल्छाैँ । अधिकांश पहुचवालाहरूको भारतदेखि अमेरिकामा निवासस्थान मात्र होइन व्यवसायस्थान समेत बनाइसकेका छन । त्यतिन्जेलसम्म यो मुलुकमा उद्योग हुन्छ जतिन्जेलसम्म उहाँहरूलाई नाफा भइरहन्छ । एकाथरी छन्, तिनीहरू भन्छन, “हामी हिँड्यौं भने ऋण सकार्ने कस्ले ? हामीले ऋण नलिए बैंकले कसरी ब्याज खाने ? सरकारले कसरी राजस्व खाने ? पार्टीले कसरी चन्दा पाउने ? हामी यो मुलुकका नाम चलेका पहुँचवालाहरू ? तपाईँहरूलाई भन्दा पनि हामीलाई यो मुलुक चाहिन्छ ।”

अर्कोथरी भन्छन, “हामी आन्दोलनकारीलाई पनि चन्दा पुर्याउँछौ । किनभने हामीलाई थाहा छ, आन्दोलन गर्न पनि पैसा चाहिन्छ । आन्दोलन गरेर कुनै पनि बेला सरकारमा आउन सक्छ । नआए पनि हाम्रो गोप्य व्यवसाय थाहा पाउन सक्छ । अपारदर्शी भइरहेसम्म परिवर्तनकारीहरूले हामीलाई पनि अपारदर्शी बन्न प्रोत्साहन दिइरहनेछन् । चन्दाका कारण हामीलाई साथ दिन बाध्य हुनेछन् ।”

तेस्रोथरी भन्छन्, “सडकमा चप्पल र चप्पलहरू भइरहन्छन् । दुबैका उत्पादनकर्ता हामी नै हौ । हामीहरू भएसम्म नेपाली र नेपालका बहुमूल्य वस्तुहरू निर्यात भइरहन्छन्, निर्यातकर्ता हामी नै हौ । नेपालका खाइलाग्दा युवाहरू, नेपालका लोभलाग्दा मुर्तिहरू, नेपालका राष्टियता, स्वाधिनता, नगद, जेजति छन् सबै निकासी गर्ने प्रयत्न जारी छ । त्यसैले यो राष्ट्र हामीलाई नभई हुँदैन ।”

आन्देलनको पूर्वसन्ध्यामा र आन्दोलनमै पनि हाम्रो व्यापार सप्रेकै थियो । सामानको भाउ बढेको थियो र नगदमै बिकेको थियो ।
आन्दोलन गरेर सहयोग पुर्याउनु भएकोमा धन्यवाद ।

जग्गुले फेरि पनि केही बुझेन आन्दोलन र बन्द किन हुँदैन ? सबैलाई फाइदा भएकै रहेछ ।