स्नेह सायमि

सबैलाई खानपर्छ, पिउन पनि पर्छ । खान पिउनको लागि पाक्नपर्छ । पाक्नका लागि कमसेकम एउटा चुल्हो र केही भाँडाकुँडा र चुल्हो बाल्ने इन्धनको आवश्यक पर्छ । तर हिजोआज आधुनिक घरको सबैभन्दा अपहेलित कोठा म भान्सा कोठा । आधुनिक महिलाहरुको त अति उपेक्षित ठाउँ । “म भान्सामा बस्न जन्मेको र बिहे गरेको होइन । तिम्रा बूढाबूढी आमा बा र परिवारलाई स्याहार्न आएको होइन,” भन्ने अधिकारपूर्ण आवाज र व्यवहारले म उपेक्षित हुँदै गएको छु । पुरुष त पुरुष भइहाले, भान्साको काम त हाम्रो हुँदै होइन भन्छन् । यसरी म एउटा प्रोसेसिङ सेन्टर हुँदै गइरहेको छु ।

चराचुरुंगी वा जनावर भए, भएको बेला खान्छन्, नभएको बेला खाँदैनन् । खानेकुरा खोज्नका लागि नै लामो यात्रा गर्छन्, बसाईं सर्छन् । प्रकृतिले उनीहरुलाई त्यस्तै शक्ति र जीवन दिएको छ । मानिसहरु पनि कुनै बेला फिरन्ते थियो खाने र बस्ने कुरा खोज्दै गुजारा गर्थे । मानव सभ्यताका लामो इतिहास छ । विभिन्न भूगोलमा नदी, पहाड, मैदान, जंगल, हावापानीसँगै खेताीपाती गर्न, सिकार खेल्न र त्यसरी आफ्नो दैनिक रुपमा खानका लागि आवश्यक खानेकुरा सञ्चय गर्न सिकेका कुरा पनि छन् । भनिन्छ, पहिले मानिसको आयु त्यति लामो थिएन । पाएको खानेकुरा सजिलै पचाउन नसकेको कारण मानिसहरुको आयु छोटो थियो । जब मानिसहरुले पकाएर खान जाने, मानव सभ्यतामा क्रान्तिकारी परिवर्तन भयो । पकाएर खानका लागि मानिसहरुले आगोको, पकाएर खाने भाँडोको जोहो गर्नुपर्ने भयो । आज पकाउनु र पकाएर खानु विभिन्न भूगोलमा रहेका मानिसहरुको अभिन्न संस्कृति र पहिचान बनेको छ । खाएको र पकाएको कुरो हेरेर यो देशको, यो शहरको, यो समुदायको भन्न सकिने गरी मान्छेहरुले खानेकुरासँग आफ्नो पहिचान जोडेर ल्याएका छन् । काठमाडौंकै कुरा गर्ने हो भने यहाँको संस्कृतिको विविध पहिचान खानेकुराबाटै थाहा पाइन्छ । सेल, माल्पा, लोंचा मरी, वः, ग्वारामरी, ढिंडो भन्नासाथ यी विविध संस्कार संस्कृतिको झल्को दिन्छ ।

अहिले खानेकुराको त्यो पुरानो परम्परागत संस्कृतिलाई बजारले छोपेको छ । बजार कब्जा गर्न सक्ने कम्पनी र मुलुकहरुले तेस्रो देशका मुलुकहरुलाई आफ्नो खानेकुराको अति प्रचार र वितरण गरेर आफ्नो सामान र संस्कृति बेचेर धनी बनिरहेका छन । प्रचार र वितरण शक्तिका सामु तेस्रो देशका जनता र सरकार प्रभावित भएर उनीहरुको प्रचारको पछि लागिरहेको छन् । जति ठूलो प्रचार त्यति ठूलो कम्पनी, अनि त्यति नै राम्रो खाना भन्ने भ्रम बाँडिएको छ र हामी त्यसैको पछि लागेका छौँ ।

त्यस्तै समय बाहिरी आवरणको छ । कति आकर्षक प्याकेट भन्ने महत्त्वपूर्ण हुन गएको छ । बाहिरबाट हेर्दा राम्रो भए पुग्यो, भित्र राखिएको खानेकुरा कति खाद्य कति अखाद्य भन्ने कुरा नै गौण हुन गयो । राम्रो प्याकेटमा राखिएको खानेकुरा पक्कै पनि राम्रै हुनुपर्छ भन्ने भ्रमले काम गरिरहेको छ । पूर्ण र अर्ध पाकेको खानेकुराका प्याकेट गौरवसाथ किन्यो, घरमा त्यही प्याकेट खोलेर प्लास्टिक फुत्त फाल्यो अनि तताएर वा मिसाएर खायो । यसले संसारका धेरैभन्दा धेरै मानव समाजको हजारौँ वर्षदेखि परम्परागत रुपमै अनुसन्धान र प्रयोग हुँदै परिष्कृत हुँदै आएका खानेकुराहरुलाई ओझेलमा पारेको छ । विज्ञापनले भ्रमलाई सत्य बनाइदिएको छ । यसरी पुराना राम्रा खानेकुराको परम्पराका कुरा गर्ने, त्यसको समर्थनमा कुरा गर्नेलाई न मिडियाले स्थान दिन्छ न उपभोक्ताले पत्याइदिन्छ । त्यसरी अहिले भान्साकोठा भनेको आफूले खेतबारीमा उम्रेको खाद्यान्न पकाएर होइन, विज्ञापित खाद्यवस्तु बचाउन चिस्याएर राख्ने र तताएर खाने प्रोसेसिङ कुना बनेको छ । सामान किन, फ्रिजमा हाल, प्याकेट फाल, तताएर खाऊ । किनभने विज्ञापनमा यही भनिएको छ, “तपाईं व्यस्त हुनुहुन्छ । तपाईं जस्तो व्यस्त मान्छेले कहाँ पकाउन भ्याउनु ? तपाईंले प्रत्येक समय पैसा कमाउन, अर्थात् करियर बनाउन (करियर बनाउन भनेको पनि पैसा कमाउनकै लागि हो ) समय दिनुपर्छ । तपाईंले अब काममा अठार घण्टा खट्नु पर्छ र घरमा पुगेपछि प्याकेटका खाना खाएर भुक्लुक्क सुत्नुपर्छ । परिवारका अरु सदस्यहरुको सोधखोज गर्ने त कुरै छैन, सबैभन्दा नजिकको सम्बन्ध भनिएको लोग्नेले स्वास्नीलाई, स्वास्नीले लोग्नेलाई पनि मनस्थिति र स्वास्थ्यबारे सोध्ने समय निकाल्नु हुँदैन । करियर भन्ने एउटा ट्रेन तीव्र गतिमा कुदिरहेको छ, त्यसमा चौबीसै घण्टा चढिरहन पर्छ, प्रतिस्पर्धामा दौडिरहनु पर्छ । बरु अरुको समय चोर्नुपर्छ, झुक्याएर, फकाएर, रोई कराई गरेर, नक्कली मुस्कान फालेर अरुलाई जोतिरहनु पर्छ, आफू फुत्किरहनु पर्छ ।” यो विज्ञापन अति खर्चिलो हुन्छ, विश्वव्यापी हुन्छ, सबैभन्दा बढी प्रभाव विश्वविद्यालयमा अध्ययन गरेका र राम्रा पैसा कमाएकालाई प्रभाव पार्छ । अरु कम पढेलेखेका अनपढ त पढेलेखेका ठूला मान्छे लागेपछि त त्यसै लागिपर्छन् नै ।

त्यसैले आधुनिक घरमा आधुनिक भान्साघर हुन्छ । सानोभन्दा सानो हुन्छ । त्यो एउटा अखाद्य वस्तु, आफ्नै शरीर, आफ्नो मानवीय सम्बन्ध बिगार्ने प्रोसेसिङ सेन्टर मात्र हुन्छ । यो कुरा बुझुञ्जेल कमाउनेले अर्को जालो हालिसकेको हुन्छ । बुझुञ्जेल तपाईं-हामी भित्रभित्रै मरिसकेको हुनेछौँ । कुरा बुझ्नेको विज्ञापन शक्ति हुँदैन । तपाईंले बुझेर पनि केही गर्न सक्नुहुन्न । संसारमा विज्ञापनको पछि लाग्ने अर्को पुस्ता तयार भइसकेको हुन्छ ।

खोरमा पालिएका ब्रोइलर कुखुरा थुनिएको हुन्छ । मालिक वा मेसिनले जे हाल्यो त्यही खान, त्यसरी नै हुर्कन, शरीरभरि मासु थुपार्न र उसको लक्ष्यअनुसार स्लदरिङ हाउसमा पुगेर काटिन तयार हुनुपर्छ । एक-दुई वटा ब्रोइलरले विद्रोह गरेछ भने समयभन्दा अघि नै सिस्टमले नै मारिदिन्छ । यसरी विश्वमा फैलिएका कम्पनी र मुलुकहरुले करियर, आधुनिक जीवन शैली, खाद्य पदार्थका नाममा तपाईंको दिमागलाई खोरमा हालेर नाफा गरिरेहेको छ । तपाईं हल्ला नगरी चुपचाप निस्कन सके निस्कनुस्, होइन भने उसको स्लदरिङ हाउसमा पुगेर सबै मानवीय गुणसँगै आफैँ काटिनुपर्ने हुन्छ । जिन्दगी तपाईंको रोजाइ पनि तपाईंको ।