जीवनका रंग शृंखला ७

जीवनका रंग शृंखला ७

लुं हीटी । लुं भनेको सुन, हीटी भनेको धारा । सुन्दै अपत्यारिलो । कान र घाँटीको सुन त कानै चुँडिने गरी र घाँटी नै छिन्ने गरी लुटेर लैजाने, सुन प्राप्तिका लागि आफ्नै नजिककाहरुबाटै भयानक अपराध भइरहने शहर हो, अहिलेको काठमाडौं । यस्तो शहरमा पनि बीच चोकमा खुल्ला ठाउँ थियो र त्यहाँ सुनको धारा थियो भन्दा कसरी पत्याउनु ? म सगौरव उल्लेख गर्न चाहन्छु, मैले पनि लुं हीटी अर्थात् त्यो सुनको धारामा आजभन्दा चालीस वर्षअघि नुहाउने अवसर प्राप्त गरेको छु ।

काठमाडौंको भित्री शहरमा कति हीटीहरु थिए, म त्यो तथ्यांक लेख्न बसेको होइन तर काठमाडौंको पुरानो टोलका कतिपय नामहरु नै हीटी अर्थात् धारासँग जोडेर नामकरण गरिएको छ । पहिलो त यही नै भयो लुं हीटी, पछि यसलाई सुन्धारा भनियो । अर्को हीटी हो, नारायणहीटी । राजदरबारको नाम नै नारायणहीटी दरबार हुन गयो । त्यस्तै अरु केही नामहरु छन्, मरुहीटी, क्वहीटी, थंहीटी आदि । हरेक हीटीको आआफ्नै कथा र अर्थ छ । काठमाडौंको घना बस्तीमा झण्डै तीन इन्चको पाइपबाट आउने जत्तिको पानी, एउटै ठाउँमा तीनदेखि नौ वटा धारा भएको चौबीसै घण्टा निरन्तर बहिरहने, मुख जोतेरै पिउन मिल्ने स्वस्थकर पानीको स्रोत र व्यवस्थापन कसरी गरे होलान् ? अहिले परनिर्भर सोच, कार्यक्रम र बजेट सम्झने हो भने त कुनै विदेशी प्रविधि र ऋण नलिइकन कसरी सम्भव भयो होला त्यो पानीको आन्तरिक व्यवस्थापन ? त्यो कलात्मक धारा ? त्यो स्तरको सरसफाई ? त्यसको इन्जिनियरिङ के थियो होला भन्ने लाग्न सक्छ । म सोध्छु आफूलाई, हामीले कहिल्यै गहिरोसँग हीटीको बारेमा चिन्तन गरेका छौं ? अहँ छैनौँ ।

हीटी चिन्तन काठमाडौं शहरको नशा थियो । सभ्यताको सूचक थियो तर सबै हीटीहरु नशाविहीन बनाइए र कतिपय त पुरिए । हुन त पुराना सभ्यताको चिन्तन र सोच नपुरिकन विदेशीकरण हुन सक्दैनथ्यो । हाम्रो शिल्प नढालिकन विदेशी शिक्षाको हालिमुहाली हुन सक्दैनथ्यो । तर विदेशका राम्रा कुरा ग्रहण गर्न पनि त्यतिखेरदेखि सत्तासीनहरुले आफ्नो राम्रो कुरा त बाँकी राखे हुने नि ! हामी खत्तमै हौं, हाम्रा पुराना सीप र शिक्षा खत्तमै हो भनेर आत्मसमर्पण नगरेको भए यी हीटीहरु अहिले पनि संसारको सुन्दरतम र हेर्नै पर्ने वस्तुको रुपमा टिकिरहन्थ्यो । हामीहरुले आधुनिकीकरणको निहुँमा हाम्रा पुर्खाले बनाएर छोडी गएको हीटीको पानी, परम्परा र चिन्तनमा डोजर लगायौं ।

लुं हीटी थियो । लुं हीटीसँगै रैथाने किसानहरुको उब्जाउ भूमि थियो । विभिन्न कालमा सत्ताले किसानको हातबाट ती जमीनको सरकारीकरण भयो । जुन उद्देश्यका लागि सो जमीन कब्जा गरिएका थिए, त्यो उद्देश्य एकातिर, त्यही जमीन कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने उद्देश्य हावि भयो । आजको काठमाडौं मलको भवन बनाउन, सुन्धारामा आउने पानीको स्रोत बिगारियो । त्यसबेला स्थानीय जनताले विरोध पनि गरेका थिए तर ती आवाज दबाइए । अहिले त्यत्रो ऐतिहासिक लुं हीटीको पानीको स्रोत र निकासको बाटो बिगारेर बनाएको काठमाडौं मलको अव्यवस्था र लुछाचुँडी हेरेर भन्न सकिन्छ, काठमाडौंको बारेमा निर्णायक भूमिका खेल्नेहरु कस्ता थिए होलान् ? यो विषयमा कुनै वास्तुविद, कुनै समाजशासास्त्रीले अध्ययन, अनुसन्धान गरेर विद्यावारिधि गरे हुन्छ ।

म जब स्कूल पढ्थेँ, पानीसँग खेल्ने दुई वटा विकल्प थिए मसँग । एक खोलामा पौडिनु, अर्को हीटीमा नुहाउनु । न थियो स्विमिङ पुल, न थियो बाथरुम । पुरुष हुन या महिला, कि खोलामा कि धारामा नुहाउने हो । त्यहीँ नुहाउने, त्यहीँ लुगा धुने, त्यहीँ सुकाउने र घर आउने ।

सबै हीटीहरु सार्वजनिक थिए । यात्रु हुन् या रैथाने, घरधनी हुन् या डेरावाल, सबैका लागि हीटीहरु खुल्ला थियो । त्यो नै काठमाडौं शहरको पुरानो सभ्यता, सम्पन्नताको प्रतीक, सामाजिकीकरणको अभ्यास, प्रेमको परम्परा, मिहिनेतको प्रतिफल, सार्वभौमिकताको समय, थियो । जसरी हावा निःशुल्क छ आज, पहिले पानी पनि निःशुल्क थियो । पहिला हुनसम्मको फोहोर गर्ने, अनि शुध्दीकरण गर्ने । त्यसैलाई विकास मान्ने । अहिले पानीको प्लास्टीकीकरण र निजीकरणले कहाँ छौं त्यो त भोगिरहेकै छौं ।