मेरो प्रिय बहिनी
तिमीसँग आज फेरि भेट भयो । म एउटा कारणले रिसले चूर थिएँ । एक जना नजिकका मित्रले मलाई धोका दिएको थियो । तिमीले मसँग भेट्ने समय मिलायौ । तिम्रो मेस्सेज आयो । आज दाजु बहिनीको डेटिङ, फलानो ठाउँ, फलानो समय । मलाई तिमीसँग भेट्ने फुर्सद थिएन । मेरो त त्यो धोका दिने साथीलाई कज्याउनु थियो, उसले मसँग लिएको पैसा उठाउनु थियो । त्यो सब छोडेर तिमीसँग भेट्ने रहर थिएन । तर तिम्रो मेस्सेजले तान्यो । तिमीले भेट्नासाथ मेरो रिसाहा र अँध्यारो अनुहार देखेर, मेरो मूडको अन्दाज गर्यौ नै होला । तिमीले उज्यालो अनुहार र मुस्कानले स्वागत गर्यौ । मैले रिसाइ-रिसाइ, आफूले पाएको धोकाको बारेमा तिमीलाई भनेँ।

मेरै अभिन्न साथीले मलाई फन्फन्ती घुमाएर, ढाँटेर मसँग लिएको पैसा दिएन, उल्टो मैसँग निहुँ खोजिरहेछ । भन्छ, भएको बेलामा दिन्छु, भयो भने पनि मन लागेको बेलामा दिन्छु । लौ हेर्नुस् त मसँग पैसा त लियो लियो अझ नदिने कुरा घुमाएर मेरै अगाडि घोषणा गर्यो । म कति निरीह ? तै पनि मैले केही पनि गर्न सकेको छैन । अब मैले गर्ने भनेको कि पुलिसकहाँ जाने कि मुद्दा हाल्ने !
यतिखेर मलाई नेपालको कानून सारो कमजोर भएको महसुस भयो । पैसा उठाउन पैसा खर्च गर्नुपर्ने भयो । पुलिस लगाएर थुन्यो भने पनि थुन्दाखेरिको उसको खाना खर्च मैले ब्यहोर्नु पर्छ रे ! कि गुण्डा, डन लगाएर पैसा उठाउनु पर्ने भयो । अदालत र वकिलको खर्च, त्यसमा जाने समय त कति कति ? म यो सब सोचेर तनावमा थिएँ, एउटा अपराधबाट मुक्त हुन अर्को त्यस्तै बाटो पो लिनु पर्ने भो ! लिन सके त हुन्थ्यो तर त्यो बाटो लिनुअघि नै आफैँलाई चिन्ता लाग्यो । ब्लडप्रेसर बढ्यो । यो तनावबाट मुक्त हुन म कुनै रेष्टुराँमा गएर एक क्वाटर पिउने विचारमा थिएँ, केही नभए केही पेग वाइन । तर तिमीले भेटौँ भनेपछि तिमीकहाँ आएँ ।

तिमीले मेरा सबै समस्या सुनिसकेपछि भन्यौ– दाजु, यो सबै बिर्स, कमसेकम एक घण्टालाई बिर्स । तिम्रो कुरा सुनेरै रिस उठ्यो, मान्छेलाई कस्तो भाको छ, बिर्स बिर्स ? कस्तो अव्यवहारिक कुरा । म एक मिनेट पनि बिर्सन सक्दिनँ । अझ भनौँ, म बिर्सनै चाहन्नँ । तर तिमीले सम्झाइबुझाइ गरेर त्यो दिन तिमीसँग रहुन्जेल बिर्साएरै छाड्यौ । ओहो, त्यस्तो तनावको बीचमा पनि तिमीसँग हुँदा बिस्तारै मुस्कुराएछुँ, थाहै नपाई । त्यसपछि तिम्रो सुझाव थियो, त्यो धोखेबाजलाई माफ गरिदेऊ । के भनेको त्यस्तो ? म कसरी माफ गर्न सक्छु ? मैले माफ गरेँ भने त झन् मेरो पूरै घर कब्जा गर्छ । त्यस्तो जाली त्यो !

लौ भन त बहिनी तिमीले किन माफ गरिदेऊ भन्यौ त्यो अपराधीलाई ? यसरी सहँदै जाने हो भने त कतै पनि टिकिन्न । कि तिम्रै मिलोमतो पो छ कि ? उसैले माफ गर भन्देऊ न भनेर पो लगायो कि ? तिमी त सोझी मान्छे, पक्कै ऊ तिमीकहाँ आयो होला । तिम्रो ब्रेन वास गर्यो होला अनि तिमी पनि उहीसँग मिलेर माफ गरिदेऊ दाजु भन्यौ । हेर बहिनी म किंचित माफ गर्दिनँ । मलाई यस्तो कुरा नसिकाऊ । तर तिम्रो कुरा एक हिसाबले ठीकै थियो । पैसा दिनै हुँदैनथ्यो, दिइसकेपछि फिर्ता त दिन पर्थ्यो । पैसा दिएर उसले दिन्नँ भनेर निहुँ खोजे पनि मैले तनाब लिन हुँदैनथ्यो । बजारमा यस्ता घटना धेरै घटेका छन् । मेरै जीवनकालमा पनि मेरा पैसा धेरैले खाइदिए । धनी गरिब, नेता, कार्यकर्ता, कतिले खाए खाए । अहिले सम्झेँ भने पनि रिंगटा लाग्छ । ती नेताहरु अहिले पनि नैतिकताका भाषण गर्छन् । तापनि म चुपचाप ने छु । मलाई कहिलेकाहीँ कच्याकुचुक गर्न त मनलाग्छ तर त्यो सोच आयो कि मलाई तनाव बढ्छ, तनाव बढेपछि बढ्न नहुने अस्वस्थ्यकर कुरा बढ्छ । स्वास्थ्य मेरै नराम्रो हुन्छ । यो तिम्रो कुरा त ठीकै लाग्यो । म अब समाजमा ती अपराधी लगायत बदमासहरु भेट्दै भेट्दिनँ भनौँ भने जताततै छन् । तिमीले भनेको ठीकै हो । आफ्नो कर्मले गरियो । अनि तनाव भयो भनेर मादक पदार्थ पिउनु, खानु त झनै भएन । तर बजारले त्यही सिकाएको छ । म बजारको विपरीत त जान सक्दिनँ तर बजारसँग बग्दिनँ पनि ।