अभिजितको एउटा मोटरसाइकल थियो । त्यो समयमा थोरै मानिसहरुले मोटरसाइकल चढ्थे । अभिजित थिए पार्टीका बफादार कार्यकर्ता । कस्तो बफादार भने न पार्टीको कागज पढ्ने, न कुनै बौद्धिक भूमिका खोज्ने, न कुनै कमिटीमा सहभागिता खोज्ने, न कुनै बहस गर्ने, न विरोध गर्ने । मात्र नेतालाई द्यौता मान्ने, भेट्नासाथ के दिऊँ के दिऊँ गर्ने । आफ्नो लुगा, जुत्ता, रेडियो, खल्तीमा भएको पैसा दिइहाल्ने । घरमा नेताहरु आउँदा आफ्नो गच्छेले सकेको सबैभन्दा मीठो खुवाउने । दिईमात्र रहने, नलिने । कुनै धार्मिक समुदायको सेवक जस्तो, कुनै जमिन्दार वा दरबारको तलब दिन नपर्ने कुनै नोकर जस्तो ।

यताको सामान उता लैजाउ, अभिजित । यताको नेता उता ओसार, अभिजित । पत्र बाँड, अभिजित । अभिजितका आफ्नो कुनै गुनासा देखिँदैनथ्यो । जवान, पढेलेखेको, रोजगार भएको अभिजितले मोटरसाइकल किनेपछि त अहिलेको कुरियर जस्तै भयो । मोटरसाइकलमा आफ्नै पैसाले तेल हालेर, बिग्रँदा मर्मत गरेर नेताहरुको सेवा गर्ने अभिजित । वास्तवमा अभिजित अहिलेको रोबोट जस्तै थिए ,आदेश झर्न नपाउँदै केही नसोचि फत्ते गरेर आउने ।

अभिजितलाई लाग्थ्यो, वैचारिक बहसको काम त नेताहरुको हो, जसलाई उसले ओसारेको छ । सिद्धान्तका कुरा त उसले थाहा पाउनै पर्दैन । ऊ आफु त सबैभन्दा कनिष्ठ पुच्छारको मानिस हो । कुनै पनि कुरामा ऊ अगाडि पर्नै हँुदैन । भूमिगत पत्रिकामा हुने नेताहरुको बहस, गालीगलौज, छेडखान सबै उसले जानिराख्नु नै पर्दैन । जुन नेता ऊसँग नजिक छ उही सर्वश्रेष्ठ भगवान् हो । नेताहरुले पनि अभिजितलाई कुनै अध्ययन गर्न, सिद्धान्तका कुरा सिकाउन, वा कुनै बौद्धिक काममा लगाउन जाँगर देखाएनन् । किन अभिजितले चाख राखेन र किन अभिजितका नेताहरुले उनलाई प्राज्ञिकतर्फ डोर्याएनन् ? उनीहरुलाई नै थाहा होला ।

स्नेह सायमि

अभिजित मध्यम वर्गको परिवारमा जन्मेको, हुर्केको । एकैपटक दश जना विनाखबर आए पनि परिवार नै लागेर खाना खुवाउन र गाह्रोसाह्रो गरेर सुत्न समेत ठाउँ दिन सक्ने कार्यकर्ता थियो, एउटा असल कामदार थियो । अभिजितलाई भेट्न आउने सबै नेताहरु नयाँ लुगाका, नयाँ जुत्ताका, गहनाका, भोजभतेरका विरोध गर्थे । अभिजितको घर र संस्कारमा भने नयाँ लुगा हुनु, नयाँ जुत्ता लगाउनु, महिलाहरुको शरीरमा एकसरो गहना हुनु, भोजभतेर गरेर आफन्त र साथीहरुलाई खुवाउनु इज्जतका कुरा हुन्थ्यो । त्यो कुरा उसले नेताहरुलाई भन्थ्यो । जवाफमा नेताहरुले भन्थे– अभिजित, तपाईँ वास्तवमा पेट्टी बुर्जुवा समूहमा पर्नु हुन्छ । अलि कति खानेकुरा पनि छ, सम्पत्ति पनि छ । अलि कमाउने चाहना पनि छ, उद्योग व्यवसाय बढाउने अर्थात् पैसा कमाउने भित्री इच्छा पनि छ । त्यस्तो भौतिक अवस्थाका मानिसलाई पेट्टी बुर्जुवा भनिन्छ । यो बुर्जुुवा शब्द अभिजितलाई मन पर्दै पर्दैनथ्यो । तर कुनै प्रतिक्रिया नगरी चुप लाग्थ्यो ।

उसलाई लाग्थ्यो बुर्जुवा हुनु अपराध हो । हुनु त सर्वहारा पो ! त्यसो हो भने सर्वहारा कहिले हुने होला । उसको परिवार नभएको भए, उसको बाले ऋण गरी गरी मुस्किलले कमाएर चलेको गुजारा नभए, बैँककै भए पनि चर्को ब्याज तिरेर किनेको मोटर साइकल र औद्योगिक मेसिनरी नभए त म पनि त आदर्शवान् सर्वहारा हुन्थेँ । म किन यस्तो न धनी न गरीब कुलमा जन्मेछुु ? भनेर अल्मिलिन्थ्यो अभिजित ।

म सर्वहारा भए के गर्थेँ होला ? म पनि अरु नेतासरह झोला बोकेर हिँड्थेँ ? प्रवचन दिन्थेँ, चन्दा माग्थेँ ? सबैलाई असल बनाएर हिँड्थेँ । म त्यसो त गर्न सक्दिनँ । त्यसैले मैले कमसेकम त्यसो गर्नेहरुको सेवा गर्नुपर्छ । अभिजितलाई यस्तो लाग्थ्यो ।

एकदिन अभिजितलाई एक नेताले भेट्न आए, उनको नाम थियो अविरल । असली नाम भन्ने चलन त थिएन नै सबै टेक नाम अर्थात् भूमिगत नामबाट नै परिचय दिने चलन थियो । उनले भने अब हाम्रो पार्टीले एउटा भूमिगत प्रेस चलाउने निर्णय गरेको छ । माथिको निर्णय अनुसार त्यो प्रेसको जिम्मा तपाईँले लिनु पर्यो । माथिबाट यसरी नै निर्णय भएर आएको छ । अभिजित खुसी भयो । उसको कामको प्रचार त माथिसम्म पुगेको रहेछ । तर अभिजितलाई थाहा थिएन कि त्यो कति माथिबाट आएको थियो ? त्योमाथि को को थिए ? तिनीहरु भित्रभित्रै कुन पदमा थिए । अभिजितलाई लाग्थ्यो भूमिगत पार्टीमा यस्तो सबैकुरा सोध्न हुँदैन ।

माथिबाट भनेपछि सकिहाल्यो नि दायँंबायाँ कोट्याउनु त अनुशासन वा सुरक्षाको दृष्टिले पनि भएन । चुपचाप आदेश पालना गथ्र्यो । अभिजितले प्रेस चलाउने जिम्मेवारी स्वीकार्यो ।