मलाई लाग्छ काठमाडौं एक बलात्कृत सहर हो । यहाँ सत्ता होस् या जनता, सहरलाई बलात्कार गर्न उद्दत् छन् । सत्ताको त स्वभाव नै बलात्कारी हो, जनता पनि कम छैनन् । मौका नपाएर मात्र बलात्कार नगरेका, बलात्कार गरेको थाहा नपाएर मात्र बलात्कारीको लिस्टमा नाम नपरेका, बलात्कारको स्वरुपलाई अन्य नाम दिएर बाँचिरहेका, बलात्कारलाई कानूनी मान्यता दिएर जोगिइरहेका, बलात्कारीहरुको जगजगी भएको सहर हो काठमाडौं । अनि कसरी हुने स्वच्छ, सुन्दर सफा काठमाडौं । सम्भवत् म तपाईं हामीहरु कुनै कुनै हर्कतले काठमाडौंमै बसेर काठमाडौंलाइ बलात्कार गरिरहेको छ ।

जन्मभूमिलाई आमासँग तुलना गर्ने गरिन्छ । जन्मेको देश, जन्मेको सहर वा गाउँ, जन्मेको घर भन्नासाथ मानिसहरु भावुक हुन्छन्, बाल्यकालमा खेलेको चौर, पढेको स्कूल, हिँडेको गोरेटो, अहिले सम्झदा मात्र पनि कति रोमान्चित हुन्छ ? तर समय कस्तो भयो भने अब त्यसरी सम्झनामा डुब्ने समय गयो । किनभने अब जन्मघरमा “विकास” आयो । चाहेर आयो वा नचाहेर आयो । कसको इच्छामा कसको योजनामा आयो । देशमा पाँच दशकदेखि विकास आयो । काठमाडौं सहरमा पनि त्यस्तै विकास पस्यो ।

तपाईं युरोप जानु भयो भने राइन नदी देख्नु हुनेछ । स्विट्जरलैण्ड उद्गम स्थल भएको राइनले युरोपलाई व्यपहारिक र भावनात्मक रुपमा अहिले पनि जोडिरहेको छ । जर्मनी, फ्रान्स, नेदरलैण्ड, अष्ट्रिया लगायतका महत्वपूर्ण सहरहरुमा शान्त सुन्दर बगिरहेको छ । त्यही नदी भएर आवतजावत् भइरहेको छ । जुन सहरमा देख्योे सुन्दर देखिन्छ । मैल पहिलोपटक जर्मनीको कोलोन सहरमा भेटेको थिएं राइन नदी, त्यसपछि अन्य सहरहरुमा पनि जम्का भेट भयो । राइन नदी एउटा सपना र संस्कृति भएर, सुविधा र सुखको श्रोत छिन् अहिले पनि ।
काठमाडौंमा जन्मे हुर्केकोले यो मेरो आमा सहर हो । मलाई अति माया लाग्छ यो सहरको । तर के गर्नु राइन नदीलाई युरोपेली देशका जनताले बचाए जस्तै मैले मेरो सहरको बागमती र बिष्णुमती बचाउन सकिंनँ । यी आमा सहर पटक पटक बलात्कृत भएकी छिन् । आज एउटा मात्र बलात्कृत भएको चर्चा गरौं ।

स्नेह सायमि

मलाई याद छ , बागमतीको चौडा बहाव, सेता बालुवा, असला माछा, पौडी खेलाइ । त्यहाँकै पानी पिएर, नुहाएर हुर्केका मेरा पुर्खा । कस्तो “विकास” गर्ने बुद्धि पसेछ कुन्नि ! बागमती र बिष्णुमतीमा घरको ढल खुल्ला गरेर खसाली दिए । त्यो कुन विशेषज्ञ, कुन योजनाकार, कुन इन्जिनियर, कुन उच्च पदाधिकारी होला जसले काठमाडौंको सुन्दर नदीहरुमा ढल मिसाउने योजना बनायो । नक्सा कोर्यो र नदीहरु निरन्तर प्रदुषित भइरह्यो त्यो योजनाकार, त्यो मन्त्री, त्यो इन्जिनियरे थियो होला ? जसले पिउन हुने पानीमा ढल मिसाउने काम गरे । अहिले हाम्रा हरेक घरका फोहर नदीमा जान्छ । बागमती बिष्ण्ुामती मात्र होइन, उपत्यकाका सबै नदी प्रदुषित छन् । सहरको बीच बीचमा बगिरहेको नदी, पानीको अमूल्य श्रोत, सुन्दरताको प्रतीकलाई खुल्ला ढल बनाउने योजनाकारको र त्यो योजनालाई कार्यान्ययन गर्ने निकाय, व्यक्तिको खोजी हुनुपर्छ र तिनीहरुलाई दण्डित गर्नुपर्छ । ती सहरका नम्बरी बलात्कारी हुन् ।

देशको राजधानी, हजारौं वर्ष पुरानो कुनै बेलाको युरोपको सहरभन्दा समृद्ध पुरातात्विक सहरमा बगेको कन्चन बागमतीमा एक थोपा धुलो पर्दा थाहा पाउने हामी निरन्तर ढल बगिरहँदाको प्रतिफल भोगिरहेछौं अहिले । यो हो बलात्कार । आमाभूमि, आमा नदी माथिको बलात्कार । मानव बस्ती, सभ्यता, सुन्दरता, पर्यावरण, संस्कृति, सम्पत्ति, वर्तमान्, भविष्यमाथिको बलात्कार ।

काठमाडौँको घरघरमा धारा बाँडिसकेको थिएन, तर पानीको अभाव पनि थिएन । काठमाडौंको भित्री सहरमा टोलटोलमा ढुंगेधाराहरु थिए । ती ढुंगेधाराहरु जमीनभन्दा बीस तीस फिट गहिरो गरी बनाइएका थिए र त्यहाँबाट आउने पानीको पनि निकास हुन्थ्यो । ती ढुंगेधाराहरुलाई पानी आउने श्रोत नै बिगारेर पानी नआउने बनाए । यसमा कसको हात थियो छ ? उनीहरुलाई बलात्कारीकै जत्तिकै सजाय दिइनु पर्छ ।

बलात्कारीले न बालिका भन्छ न बूढी हजुरआमा । उसले जताततै यौन मात्र देख्ने हो । त्यसैले बलात्कारीको संख्या होस् या बलात्कारको समाचार आखिर बढेकै छ । यसको मनोवैज्ञानिक विश्लेषण गर्ने हो भने हामी मान्छे कम बलात्कारी ज्यादा हौ । यो बलात्कारको क्रम बढ्दो छ । जीवन र सम्बन्धको मूल्य र मान्यतामा ह्रास आएपछि ऊ हुने बलात्कारी नै हो ।