‘छंगु छेँ गनं ?’ अर्थात तिम्रो घर कहाँ छ ? भनेर सोध्यो भने काठमाडौँ सहरमा योभन्दा पचास वर्षअघि गौरवसाथ दिइने जवाफ हुन्थ्यो मासंगल्ली , मखंगल्ली, ग्वाछेँमुगःगल्ली, नछेंगल्ली, चोखाछेँगल्ली आदि । काठमाडौँको भित्री सहरको संरचनामा महत्वपूर्ण बाटो नै गल्ली हो । सहरको निर्माण नै यसरी गरिएको थियो । गल्ली बाटो अति वैज्ञानिक र व्यवहारिक छ । पैदलयात्रुको यात्रा अति छोटो बनाइदिन्छ । थोरै समयमा एउटा कुनाबाट अर्को कुनामा जान सजिलो बनाउँछ । गल्ली एउटा ऐतिहासिक नेटवर्क थियो र छ पनि । अधिकांश गल्लीमा ढुङ्गा छापिएका हुन्थे । हरेक दिन, जसको दैलोअगाडि गल्ली जोडिन्छ, आफ्नो घरले छोएको भाग त्यही घरधनीले बढाथ्र्यो । गल्ली सफा र सुन्दर हुन्थ्यो । त्यो गल्लीभित्र सानो गल्ली, अनि ननि अर्थात् सानो चोक हुन्थ्यो ।

काठमाडौको भित्री सहरमा घर हुनु नै गौरवको कुरा थियो । पन्ध्र मिनेटको हिँडाइमा भित्री सहरको जुनसुकै ठाउँबाट पनि बसन्तपुर अर्थात् लायकु अर्थात् उ बेलाको राजदरबार आइपुगिन्थ्यो । घर घरमा जाने गल्लीको बाटो घरको लागि खुल्ला ठाउँ ननि अर्थात् चोक, ठूलो भेला गर्न मिल्ने, चाडबाडमा नाटक देखाउन, जात्रा गर्न मिल्ने, अरू बेला धान, गहुँ सुकाउन मिल्ने थियो । बजार, देवल, मन्दिर सबै आजको भाषामा वाकिंग डिस्टान्समा थियो । सहरलाई पैदलमै पहुँच बनाउने एकमात्र उपाय गल्ली नै थियो । यदि ठूलो सडक बनाउँ भनेको भए धेरै जमिन चाहिन्थ्यो र बस्ती कोजी हुँदैनथ्यो । गल्लीको कारणले काठमाडौँ एउटा यस्तो सुन्दर सहर बन्यो । जहाँ एकअर्कालाई चिन्न सजिलो भयो । बाजेको नाम र टोल पत्ता लागेपछि सबै थाहा हुन्थ्यो । त्यो बेलाका साहु, राजनीतिज्ञ, नाटककार, लेखक, टोले दादा, समाजसेवी सबै काठमाडौँमा चर्चित भइहाल्थे । काठमाडौँ पूरै सहर एक समुदाय थियो । एक बृहत्तर परिवार । सबैले सबैलाई चिन्ने सम्भावना भएको हुनाले लाज, सरम, इज्जत, धर्मको डर हुन्थ्यो । कुनै खराब काम जस्तो लाग्यो भने समाजले के भन्ला भन्ने सोच व्यापक थियो । गल्लीले काठमाडौँलाई यसरी जोडेको थियो ।

तर आज गल्लीलाई हेयको दृष्टिले हेरिन्छ । गल्लीमा पो घर ? के तिम्रो घरमा मोटर जाँदैन ? त्यो अँध्यारो कुनामा ? भन्न थालेका छौँ । भित्री सहरका घरधनीहरूले कि आफ्नो घर बेचे कि भाडामा लगाए । घर पुरानो भयो, त्यसको योजनाबध्द पुर्ननिमाण भएन । भुइँचालोले पुराना बस्तीका घरहरू जोखिमपूर्ण बनायो । सहरको व्यवस्थित पुर्ननिमाणमा चासो भएन । त्यसैले काठमाडौँको भित्री सहरको संरचना र संस्कृतिको क्षय भइरहेको छ ।

स्नेह सायमि

भित्री सहरमा आदिवासी नटिक्ने भएपछि, सहरको चाडबाड, संस्कृति, परम्पराको पनि क्षय भयो । बाहिरबाट काठमाडौँ बस्न चाहनेमध्ये सस्तो डेरावालाको ठाउँ बनेको छ भित्री सहर । गल्लीलाई गल्लीकै रूपमा सुन्दर पुर्ननिमाण भएको भए काठमाडौँको परिचय रहिरहन्थ्यो । एकातिर नयाँ पुस्ताले काठमाडौँको पुरानो आर्किटेक्टमा नयाँ सुविधाका घर देख्न/भोग्न पाउँथे । भूकम्पपछि गल्लीका घरहरूमा लहरै काठ र फलामको टेको लगाएर राखेको भेटिन्छ । गल्लीले बाध्यतावश आफ्नो निरिहताको कथा भनिरहेको दृश्य देखाइरहेको छ ।

मलाइ सम्झना छ, मोहनगोपाल खेतानको कर्पोरेट अफिस थियो मखंगल्लीमा । लुनकरण चौधरी बस्थे नछें गल्लीमा । काठमाडौँ एउटा मेल्टिङ्ग सिटी थियो । जहाँबाट जोसुकै आए पनि काठमाडौँको संस्कार, परम्परा, भाषा, भेषभूषा, संस्कृतिमा आफूलाई ढाल्न पथ्र्यो ।

तर आज गल्लीहरू साँघुरिदै गए, गल्लीमा बनाउने घरको मापदण्ड भएन । मनपरी घर बन्यो । गल्लीलाई हेला गर्दै जाँदा काठमाडौँको परिचयमा पनि खिया लाग्दै गयो ।

अहिले हामीमध्ये धेरैले युरोप घुमिसकेको छौँ । युरोपका अधिकांश सहरमा गल्लीहरू छन् । उनीहरूले गल्लीलाई पुरानै स्वरूपमा सफा र सुग्घर राखेका छन् । काठमाडौँ उपत्यकाको जस्तो ननि र बहा युरोपका सहरहरूमा पनि देखिदैन । तर जे जति पुराना संरचना छन् उनीहरूले कडाइका साथ संरक्षण गरेका छन् ।

हामीहरू मान्छे हिँड्ने गल्ली र देगः जात्रा गर्ने पुरानो बाटोलाई पुरातात्विक महत्वको साथ संरक्षण गर्नुको साटो मोटर, साइकल कुदाउन सजिलो होस् भन्ना खातिर सडक बिस्तार गर्दैछौँ ।