अभागी बालक
मूलः जलाल आले अहमद
अनुवादः गोविन्द गिरी प्रेरणा
लौ, तपाईं नै भन्नुहोस्, म अरु के गर्न सक्थें ? मेरो लोग्ने बच्चाको हेरचाह सँगसँगै मेरो रेखदेखका लागि तयार थिएन । यो उसको बच्चा थिएन । मेरो पहिलो लोग्नेको थियो । उसले मलाई पारपाचुके दिइसकेको थियो र बच्चालाई सम्हाल्ने कुरामा समेत मञ्जूर थिएन । मेरो ठाउँमा अरू कोही भए उसले के गर्थी, मलाई थाहा छैन । मलाई जिन्दगी बिताउनु थियो । यो लोग्नेले पनि पारपाचुके गरिदियो भने म कहाँ जाउँ ? म बाध्य भएँ । यो अभागी बालकलाई कतै फ्याँकिदिएर आउँ कि ! विचार गर्नुस्, म जस्तो बाध्य, असहाय आइमाईले अरू के सोच्न सक्छे ? न मलाई कुनै ठौरठेगाना थाहा थियो, न कुनै अक्कल नै आउँथ्यो !
म चाहन्थें, बच्चालाई कुनै बाल कल्याणकारी संस्थामा प्रवेश गराइदिउँ । तर त्यसलाई तुरुन्तै कसैले गोद लिइदेला भन्ने विश्वास थिएन । मैले त्यसै दिन दिउँसो पार्कमा छाडेर घर आएकी थिएँ र जे गरेकी थिएँ, त्यो कुरा आमा र छरछिमेकीको अगाडि खुलस्त बताइसकेकी थिएँ । अब समय मेरो हातबाट फुत्किसकेको थियो । सहसा आफ्नो बच्चाको मीठामीठा सम्झना आउन थाले । संयम गर्न सक्ने शक्ति नै रहेन । त्यहीं आमा र छिमेकीहरूको सामुन्ने छाती पिटीपिटी रून थालें। तर यो पाप स्वीकृति, पापभन्दा खराब थियो। मैले स्वयं एउटी छिमेकीले भनेको सुनें, “कुकुरको मूत चुहाउँछे राँड, शरम नभएकी !”
त्यसबेला पनि मेरी आमाले मेरो दिल सम्हाल्नु भयो । वास्तवमा उहाँले भन्नु हुन्थ्यो- जवानीमै एउटा बच्चाको दुःख सहनु ठीक छैन । खासगरी लोग्ने नै बच्चा जन्मियोस् भन्ने चाहँदैन भने किन दुःख बेसाउनु ? त्यो मेरो जेठो छोरो थियो । सडकमा त्यसै छाडेर आउन उचित थिएन । तर अब के गर्ने ? जे हुनु, भई नै सकेको थियो । म पागल त थिइनँ तर लोग्नेको आग्रहमा यो गरेँ । ऊ सधैँ भन्ने गर्थ्यो, म कुनै नालायकको बच्चा पाल्न तयार छैन ।
मेरो दिमागले यो मुद्दाको फैसला गर्थ्यो भने पनि त्यो लोग्नेकै पक्षमा हुने थियो । विचार गर्नोस्, के म त्यो लोग्नेको पहिलो बच्चालाई आफ्नै बच्चालाई झैं प्रेम गर्न सक्थें ? के त्यसलाई फोकटको दुःख सम्झन्नथें र !
मेरो लोग्ने खाली त्यही बच्चाकै जिकीर गर्थ्यो । आखिर मैले सोधिहालें, “तिमी मसँग के चाहन्छौ ?”
उ चूप लाग्यो । केही बेर सोचमग्न भयो र भन्न लाग्यो, “म अहिले बाहिर जाँदैछु। याद गर, म दिउँसो घर आइपुग्दा यो बच्चालाई तिमीसँग देख्न नपरोस् !”
मैले त्यही बेला फैसला गरिसकेको थिएँ। अब म सोच्न लागेकी छु – मेरो हृदय यो काम गर्न कसरी तयार भयो ? तर मेरालागि अरु कुनै बाटो पनि त बाँकी थिएन ! मैले पछ्यौरा टाउकोमा हालें । बच्चाको हात समातें र लोग्नेको खुशीका लागि घरबाट निस्किएँ ।
त्यो विचरा लगभग तीन वर्षको थियो । उसको दोष यत्ति थियो – मैले उसलाई तीन वर्ष पालेकी थिएँ । बस्, दोष यही थियो। दुःखले पाल्ने र रातदिन ब्युँझने समय समाप्त भै सकेको थियो। अब ऊ राती गहिरो निद्रा सुत्दथ्यो तर अपशोच ! उसलाई कतै छाडेर आउन म बाध्य थिएँ ।
त्यो विचरा ट्याक्सी बिसौनीसम्म मसँगै हिंडेर गयो। मैले उसलाई जुत्ता लगाइदिएकी थिएँ । राम्रो लुगा अर्थात् एउटा ओभरकोट र नीलो रङको सानो सुरुवाल लगाइदिएकी थिएँ। खूब राम्रो देखिइरहेको थियो । मैले उसको हात समातिराखेँ । अन्तिम गल्लीतिर म लगिरहेकी थिएँ । दुई तीन ठाउँमा उसले केही चिज किन्न गिडगिडायो । मैले भनें, “पहिला ट्याक्सीमा बस्ने अनिखेरि किनौंला ।”
ट्याक्सी बिसौनीसम्म म बिस्तार बिस्तार हिँडें । बच्चा व्याकुल भैरहेथ्यो। म पनि थाकेकी थिएँ । ऊ निरन्तर मलाई प्रश्न गरिरहेथ्यो । आखिर मलाई संयम तोड्न करै लाग्यो। दुई तीनपल्ट उसले सोध्यो, “आमा, के भयो ? कार आएन त, भैगो चिज नै किनौ न !”
मैले जवाफ दिएँ, “अहिल्यै आउँछ मेरो राजा । जब कारमा बस्छौं अनि किनौला !”
अन्तमा रुट नं. ७ को बस आयो। हामी त्यसैमा चढेर शाही पार्कसम्म गयौं । मलाई सम्झना छ, एकपल्ट उसले फेरि भन्यो, “आमा, हामी कहाँ जाँदैछौ ?”
मलाई थाहा छैन, किन कुनै सोच विचार नगरी मेरो मुखबाट निस्कियो, “बाबु भए ठाउँमा !”
उसले केही क्षण मेरो मुखमा हेर्यो र भन्यो, “आमा ! कुन बाबा !”
मेरो धैर्य सकियो । मैले भनें, “खबरदार ! अब फेरि बोलिस् भने तँलाई म चिज नै किनिदिन्न !”
ओह ! मैले आखिरमा उसको त्यो कलिलो हृदय किन तोडें हुँला ! घरबाट निस्कने बेलामा मैले यो प्रतीज्ञा गरेको थिएँ कि आखिरसम्म कठोरता गर्ने छैन । न उसलाई पिट्ने नै छु । न यता उता केही भन्ने नै छु । तर अब मन कस्तो पोल्छ ! मैले कठोरता देखाएर उसलाई किन चूप लगाएँ ?
त्यो विचरा मेरो डरलाग्दो कुराले चूप लाग्यो । शाही मैदानमा पुगेर मैले बस रोक्न लगाएँ। जब हामी उत्रियौं, ऊ हाँसिरहेको थियो। त्यतिबेला चउरमा रौनकता व्याप्त थियो । अनेक बसहरू थिए र म आफ्नो काम गर्न हडबडाइरहेकी थिएँ । उसले भर्खरै कुराकानी गर्न सिकेको थियो । ऊ बारम्बार मलाई हेर्थ्यो । कस्तो विस्मयपूर्ण दृष्टि थियो !
एकपल्ट त मेरो हृदय रोकिएझैं भयो । हालतै खराब भयो । म त्यहाँबाट फर्कन लागिसकेकी थिएँ । मेरो धैर्य र संयम तोडिएझैं भयो । उसको विष्मयपूर्ण दृष्टिले मलाई व्याकुल बनाइदियो । विचरा यति दुःखी थियो कि ऊ मसँग केही सोध्न चाहन्थ्यो। भगवान् जानून्, मैले कसरी आफूले आफैंलाई सम्हालें र उसलाई मिठाइको दोकानतिर देखाएर भनें, “यो पैसा त्यो मानिसलाई देऊ र भन, मलाई मिठाई दिनुस् । सिधै जाऊ !”
ऊ हैरान थियो। सानो बालक ! अहिल्यै चिज किन्न के जानोस् ? भन्यो, “आमा ! तपाईं पनि आउनोस् न ! दुवैजना जाउँ न !”
मैले भनें, “म यहीं उभिन्छु, तिमी जाऊ !”
मेरो धैर्य र संयम सकिँदैथियो । यदि ऊ अलिकति रुन्थ्यो भने निश्चय नै म उसलाई त्याग्ने विचार छोडिदिन्थें । तर विचरा न रोयो, न चटपटायो । मैले जोडसँग भनें, “अब लिएर आऊ ! जाऊ न !”
उसलाई नहरको पेटीमा चढाएँ र सडक बीचमा लगेर छाडिदिएँ। सडक खाली थियो । यहाँदेखि अलि परसम्म न कुनै बस थियो, न ट्याक्सी । उसलाई कुल्चिने कुनै डर थिएन । आधा सडक के पार गरेथ्यो, एउटा कारको हर्न बज्यो । म डरले कामें । बिना सोचविचार सिधै सडकमा पुगें र उसलाई आफ्नो काखमा लिएर छिटो छिटो पेटीमा हिँड्न थालें । यसपछि म मानिसहरूको भीडमा उभिएँ। मेरो निधार र अनुहारभरि पसीना सरोवर थियो । ऊ मेरो काखमा तोते बोलीमा लाडिएर बोल्यो, “अब आमा ! मलाई पल तालि दिनुथ । अब थितो, थितो हिंड्नु !”
यदि उसले यी शब्द नभनेको भए त म आफ्नो रद्दी विचार बिर्सनै लागेकी थिएँ, तर उसको कुराले फेरि याद आयो ।
फेरि सोच्न थालें – लोग्नेले अत्याचार गर्नेछ । बच्चालाई मैले म्वाई खाएँ र उसलाई भनें, “मेरो राजा ! छिटो जाऊ ! कार आउँदैछ !”
सडक फेरि खाली थियो । यसपटक छिटो हिंड्यो । छिटो छिटो छोटा छोटा खुट्टाले पाइला चाल्दै थियो। जब सडक पारि पुग्यो, उसले फर्केर मलाई हे-यो। जसै उसले फर्केर हे-यो, म त मूढोझैं भएँ। उसलाई यो प्रकट गर्न चाहन्नथें- म उसलाई छाडेर जाँदैछु । मभित्र सन्नाटा व्याप्त भयो । फेरि जब गाह्रोसँग टाउको उठाउँछु त बच्चा फेरि जाँदैछ र मिठाई पसले छेउ पुग्दैछ । मेरो काम पूरा भैसकेको थियो । अर्थात्, ऊ जस्ताको तस्तै पारि पुगिसकेको थियो ! त्यतिबेला मैले बच्चाको ममत्वलाई खरानी तुल्याइदिएँ । उसलाई परिस्थिति र समस्याको हातमा सुम्पिदिएँ ।
अन्तिम पटक मैले हेरें, यस्तो दृष्टिले, मानौं म कसैको बच्चा देख्दैछु र कसैको बच्चा देख्दा हुने जति साधारण खुसी भएँ । बस त्यत्ति भयो । फेरि म पेटीमा हिंड्नेहरूको भीडमा सामेल भएँ। ममत्वको कारण एकपल्ट फेरि नियास्रो लाग्यो ।
“मेरो कलेजोको टुक्रालाई कसैले दुःख नदेओस् !” मेरो मुटुले पुकारा गर्यो ।
निकै अप्ठ्यारोसँग एउटा गल्लीको टुप्पामा के पुगेकी थिएँ, सडकको बीचमा आएर एउटा कार रोकियो र ब्रेकको आवाज आयो। सोचें, शायद कुनै पुलिसले मेरो यो करतूत देखेको छ र टैक्सी लिएर मलाई समात्न आएको छ। अब उसले मेरो हात समाउनेछ…।
यो विचार मात्रले पनि मेरो आत्मासम्म काँप्यो । एक जनाले ट्याक्सीको यात्री भाडा दिएर गयो। मलाई केही निश्चिन्तता भयो। तुरुन्त एउटा अर्को विचार आयो । कुनै सोच विचार नगरी म त्यो ट्याक्सीमा घ्याच्च बसें र तुरुन्त ढोका लगाएँ । चालकले केही बड्बडायो र ट्याक्सी गुडायो । त्यसपछि मलाई क्यै पनि थाहा छैन। घर पुगेर म सिधै आफ्नो कोठामा गएँ र हृदयमा ढाढस बाँध्न थाले।
राति लोग्नेसँग मैले एक शब्द बोल्न सकिनँ ।
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










