सीता पाण्डेका पाठकहरूले आफ्ना पाठकलाई जुन स्वाद दिएर पल्काएकी थिइन्, पाठकहरू तिनकै प्रतीक्षामा छन् । पाठकहरू सीताको “यौन र अनुभूति” को प्रतीक्षामा छन् ।
सीता पाण्डेलाई मैले पहिलोपल्ट देखेको चिनजान गरेको बोलेको दिन र समय मलाई कण्ठै छ । त्यसको कारण छ ।
साहित्य लेखनमा बामे सर्दै गरेको बेला विसं २०३६ सालको विद्यार्थी आन्दोलन भइदिनाले र त्यसले लिएको उग्र रूपले निम्त्याएको जनमत सङ्ग्रहको घोषणापश्चात् भानुका सम्पादक भवानी घिमिरेको नेतृत्वमा सञ्चालित सडक कविता क्रान्तिमा पहिलो दिनदेखि नै भाग लिने कविमा म पनि थिएँ । नयाँ सडक पीपलबाेटबाट सुरु भएको सडक कविता क्रान्ति विभिन्न टोलहरूमा हुँदै थियो । त्यसै क्रममा सिंह दरबार गेटअगाडि अहिलेको राष्ट्रिय वाणिज्य बैङ्कको भवनअगाडि यौटा ढिस्को जस्तो कुनो थियो । त्यहाँ पाँच बजेको समयमा हामी कविता पढ्न पुग्यौँ, सडक कविता । हाम्रो लक्ष थियो, सिंह दरबारबाट अफिस छुटेर फर्किएका पैदल कर्मचारीहरूले हाम्रा कविता सुनुन् ।
हामी कवि समूह एकत्रित भयौँ । अनि हाते माइकबाट कविता वाचन सुरु भयो ।
माइकबाट हामीले कविता वाचन गर्न थालेपछि त्यो आवाज सुनेर मानिसहरूको हुल बढ्न थाल्यो । मैले हाते माइक बोकेको थिएँ, कविहरू भवानी घिमिरेको उद्घोषणअनुसार पालैपालो कविता पढ्दै थिए । यस्तैमा म देख्दछु, यौटी तरुनी युवती राससतिरबाट आइरहेकी छिन् । नजिक आएपछि टड्कारो देखें, गोरो अनुहार । खिरिला ओठ । झुप्प कालो कपाल । आकासे रङको बुट्टे सारीमा सजिएकी ।
ती युवती भीडको नजिक तर बेग्लै, एक्लै टक्क उभिइन् । अनि एकाग्र भएर तिनले कविता सुनिरहिन् । मेरो आँखा निरन्तर तिनीतिर गइरहन्थ्यो । एकपल्ट त आँखा जुध्यो पनि कि ! तिनी मुसुक्क हाँसिन् पनि कि !
कविता वाचन सकियो । दर्शक श्रोताहरू छिन्न भिन्न भए । लाखा पाखा लागे । तर ती सुन्दर युवती चाहिँ ठिङ्ग उभिइरहिन् । अनि कविहरूसँग कुराकानी गर्न उत्सुक भइन् । मेरो पनि कुरा भयो । उनले पहिलो छोटो भेटमै राससमा जागिरे भएको । साहित्यमा रुचि भएको । सुनेका कविताहरू मन परेको । यी सब बताउन भ्याइन् । उनले आफू पद्मकन्या क्याम्पसको होस्टेलमा बसेको पनि बताइन् र फोन नं पनि दिइन् ।
दन्त्यकथाको पुस्तकको लाटो बुङ्गोको कथामा कहिले घटना भएको भन्दा फुलौरा वर्षेको दिन भने थ्यो, लाटो बुङ्गोले । त्यस्तै सीता पाण्डेसँग मेरो पहिलो भेट सडक कविता क्रान्तिको बेला सिंह दरबार गेटअगाडि कविता क्रान्ति भएको दिन भएको थियो । त्यसको तिथि मिति भानु पत्रिकाको सडक कविता क्रान्ति विशेषाङ्कमा छ ।
यसरी सुरु भएको परिचय काठमाडौँका साहित्यिक गतिविधिमा संलग्न हुने क्रममा झाँगिँदै गयो । कवि गोष्ठीहरूमा बरोबर भेट हुन थाल्यो । उनका रचनाहरू पनि विभिन्न पत्र पत्रिकामा देखा पर्न थाले । छोटो समयमै उनी राजधानीमा चर्चित कवयित्रीको स्वरूपमा देखा परिन् ।
गोरखापत्र पत्रिकाले विसं २०३६ साल ताक क्याम्पसका विद्यार्थीहरूका रचना प्रकाशित गर्ने एउटा स्तम्भ सुरु गरेको थियो । त्यो स्तम्भमा नेपाल कमर्स क्याम्पस मीन भवनमा मसँगै पढ्ने दौँतरी लव गाउँलेको रचना प्रकाशित भयो । सीता पाण्डेको पनि प्रकाशित भयो । यो बेग्लै कुरा हो, मैले पनि रचना प्रकाशनार्थ पठाएको थिएँ । मेरो चाहिँ छापिएन । पछि त्यो स्तम्भ नै बन्द भयो ।
सीताको पहिलो कृति थियो “असजिला खुसीहरू” । कथा र कविता दुवै विधाको संयुक्त सङ्कलन । यो सङ्ग्रह प्रकाशन हुने बेलासम्म “ज्वरो” जस्ता यौनिक कथाहरू र “पोखरी” जस्ता यौनिक कविताहरू प्रकाशित भएर बहुचर्चित भइसकेकी थिइनन् । उनलाई प्रेमा शाहको नयाँ अवतार भन्नेहरू पनि थिए । रोचक, सुपाठ्य र यौन भावनाका उनका कथाहरूले मनग्य पाठकहरूलाई लगातार आकर्षण दिइरहेका थिए ।
यतिन्जेल उनी राससको जागिरबाट खेलकुद परिषद् त्रिपुरेश्वरको जागिरमा आइसकेकी थिइन् । शरदचन्द्र शाहले खेलकुद परिषद्लाई जगजगी पार्दै हाँकेको बेला थियो । दशरथ रङ्गशालाको अफिस बाहिर पर्यटन मन्त्रालयको अफिस थियो जहाँ कलाकार मदन चित्रकार काम गर्दथे । मिलनसार, मित्रताप्रेमी मदनले सीताको त्यो पहिलो पुस्तकको आवरण चित्र निकै मिहिनेतपूर्वक बनाएका थिए र त्यति बेला प्रकाशित हुने परम्परागत भन्दा पृथक् र आकर्षक थियो किताबको आवरण । र त्यो किताब विमोचनको चाँजोपाँजो मैले मिलाएको थिएँ ।
कीर्तिपुरमा निम्तो बाँडेर आउँदा बल्खुमा यौटा जिपले ठक्कर दिएर झन्डै म ठुलो दुर्घटनामा परेको थिएँ । तर सानो चोट मात्रै लागेको थियो । किताब विमोचन सिंहदरबार प्लाजामा अवस्थित कृषि आयोजना सेवा केन्द्रमा गरिएको थियो । अनि त्यो पुस्तक प्रकाशनको खुसीयाली स्वरूप केही दिनपछि एक साँझ सीताले ब्लु स्टार होटेलमा हामी केही निकट मित्र शुभ चिन्तकहरूलाई भव्य डिनर र रेड लेबलले आतिथ्यता प्रदान गरेकी थिइन् । पछि सीताले त्यो रात्रि भोजको सौजन्यता डोरबहादुर विष्टका सुपुत्र पूर्व मन्त्री केशरबहादुर विष्टले गरेको भनेकी थिइन् ।
संयोग पनि राम्रै मान्नुपर्छ, सीताको निकटतम सम्बन्ध पिता डोरबहादुर विष्ट र पुत्र केशरबहादुर विष्ट दुबैसँग उत्तिकै थियो ।
सीता पाण्डेलाई ध्रुवचन्द्र गौतमको लेखन शैली खूब मन पर्थ्यो । उनी ध्रुवचन्द्रको लेखाइको फ्यान थिइन् । उनका रचनाहरू पाएसम्म पढ्थिन् । तर उनको परिचय थिएन । ध्रुवचन्द्रलाई भेट्न पाए हुने भने पछि मेरो कालीमाटीको डेरामा पहिलोपल्ट भेट गराइदिएँ । फिक्का चियाले स्वागत गर्दै परिचय गराएँ । अनि उनीहरू मेरो डेराबाट सँगै बिदा भएर गएका थिए ।
त्यस्तै अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मासँग पनि उनले परिचय गर्न रुचि राखिन् । अनि एक शनिवार बिहान मैले मित्र पार्कस्थित नगेन्द्र दाइको घरमा सीतालाई लिएर गएँ । परिचय गराएँ । संयोगवश त्यति बेला नगेन्द्र दाइकी श्रीमती बिरामी भएर अस्पतालमा हुनुहुँदो रहेछ र आफैँ खाना बनाउनु हुँदै रहेछ । उहाँले हामी दुवैलाई कस्तो भयो मैले पकाएको भनेर आलु काउलीको तरकारी चखाउनु भएको थियो ।
पछि नगेन्द्र दाइसँग सीताको लामै साहित्यिक अन्तरङ्गता भयो । सीताले सम्पादन प्रकाशन गरेको “प्रवेश” साहित्यिक पत्रिकालाई नगेन्द्र दाइले सहयोग पुर्याउनु भएको थियो । यद्यपि “प्रवेश” नामकरणदेखि प्रकाशन गर्ने कुरामा म पनि निकट थिएँ, तर मैले समय दिन सकिनँ । प्रवेश शायद तीन अङ्क निस्केर बन्द भयो ।
सीता हिन्दी साहित्यकारका रचनाहरूमा निर्मल बर्माको रचना खुब मन पराउँथिन् । पाएसम्म पढ्थिन् । कैयन् पटक निर्मल बर्माको लेखनको विषयमा चर्चा पनि गर्थिन् । उनका कतिपय कथामा कताकता निर्मल बर्माको गन्ध पनि पाउँथेँ म । तर त्यो उनले मन पराएको रचनाकारको रचनाको प्रभाव थियो । स्वाभाविक थियो । सीताले समकालीन साहित्यकारहरूसँग छलफल र बहस गर्न सक्ने दरिलो आँट, शैली र क्षमता विकास गरेकी थिइन् ।
कविताबाट साहित्यमा नाम बनाएकी सीता कथा हुँदै स्वच्छन्द संस्मरणात्मक गद्य लेखनमा पुगिन् । उनको यो लेखनले अझ बढी चर्चाको केन्द्रमा पुगिन् । यो थियो उनको “यौन र अनुभूति” । सुरुमा विभिन्न अखबारहरूमा उनले धारावाहिक रूपमा लेखिन् । पछि किताबको रूप दिइन् । यो किताब हातहातै बिक्यो । यौटी लेखिकाले लेखेको यौनको विषय साराका लागि चासोको विषय भयो । देश विदेशका नेपालीहरू सीता पाण्डेको “यौन र अनुभूति” पढ्न लालायित भए ।
म २०४५ सालमा आफ्नो अफिसको कामको सिलसिलामा तेह्रथुमको चुहान डाँडा गएर फर्कने क्रममा फिदिममा वास बसेको थिएँ मेरो अफिसको एक अधिकृतको साथमा । साँझ वास बसेकै होटेल छेउको रेस्टुराँमा रसपान गर्दै खाना खाँदै थियौँ । रेस्टुराँको भित्री कोठामा एक हूल रसप्रियहरू रसपान गर्दै हल्ला मच्चाइरहेका थिए । अचानक त्यहाँ कसैले चिच्यायो, “सीता पाण्डेको यौन र अनुभूति हा हा हा !”
म छक्क परेँ । सीता फिदिमसम्म पनि कति लोकप्रिय भएकी रहिछन् ।
भोलिपल्ट थाहा भयो, त्यो हल्ला गर्नेहरूको हूलमा कुमार यात्रु पनि रहेछन् । त्यति बेला उनी फिदिममै स्थानीय तहमै कर्मक्षेत्र बनाएर बसेका थिए ।
त्यतिखेर बङ्गलादेशकी लेखिका तस्लिमा नसरिनको लेखनले उधुम मच्चाएको बेला थियो । यता नेपालमा कतिले उनलाई तस्लिमा नसरिनको नेपाली संस्करण पनि भन्थे । उनका ती स्वच्छन्द रचनाहरूमा तस्लिमा नसरिनका झिल्का झिल्की अवश्य थिए । जे होस् उनको “यौन र अनुभूति” पुस्तक केही समय नेपाली पाठकका लागि हट केक नै भयो । पाठकहरूले तातो तातो केक स्वाद मानी मानी खाए । छोटो समयमै “यौन र अनुभूति”का कैयन् संस्करण प्रकाशन भए । यद्यपि केही नकारात्मक गफाडीहरूले एकै पल्ट छापेर फरक फरक संस्करणको पाना मात्र बदलेकी हुन् भन्ने जस्ता खासखुस पनि नगरेका होइनन् । तर उनको “यौन र अनुभूति” राम्रो बिकेकै हो । चर्चा भएकै हो । बजार लिएकै हो ।
खेलकुद परिषद्को जागिरले सीतालाई विभिन्न मुलुकहरूमा घुमायो । तर त्यो घुमाइले उनको साहित्य लेखनलाई उँचो बनाउने, गहिराइमा पुर्याउने काममा भने उति सारो काम दिएन । बरु उनी महिला खेलाडीहरूको संस्था बनाएर खेलकुद गतिविधिमा बढी सक्रिय भइन् । त्यसैमा रमाउन थालिन् ।
बिहा भएपछि सीताको लेखन केही समय ठप्प नै भयो । केही पछि यौटा सुस्वादु कथा लिएर साहित्य लेखनमा उनको पुनरागमन भयो ।
जब जगदम्बा प्रकाशनबाट साहित्यकार तथा पूर्व प्रधानमन्त्री विपी कोइरालाको आत्मकथा प्रकाशित भयो । यसले नेपाली पाठक जगतमा निकै ठुलो हल्ला खल्ला मच्चायो । थोरै दिनमा सर्वाधिक बिक्ने किताबको कीर्तिमान राख्यो । विपीले सो किताबमा नाम लिएका व्यक्तिहरू प्रशस्त थिए । पाठकहरूले तिनीहरूप्रति पनि चासो राखे । अनि सीताले त्यो बुझेर ती जीवित पात्रहरूसँग कुराकानी गरेर अखबारमा स्तम्भ नै चलाइन् । यो निकै चाखलाग्दो विषय भएको थियो । उनले ती संवादहरूलाई पुस्तकको रूप दिने मनसुवा राखेकी थिइन् ।
कान्तिपुर अखबारको इतिहासमै धारावाहिक उपन्यास पहिलोपल्ट मेरो “मात्र एक रात” प्रकाशित भएको हो । मेरो उपन्यास प्रकाशित भएर चर्चित भएपछि इन्दिरा प्रसाईंको पनि धारावाहिक उपन्यास प्रकाशन भयो । अनि सीता पाण्डेको “अन्तर्द्वन्द्व” पनि । पछि उनले यो उपन्यासलाई किताबको रूपमा प्रकाशित गरिन् । त्यसको विमोचन पनि भएको थियो र म पनि त्यस कार्यक्रममा थिएँ ।
म सन् २००२ मा दोस्रो पटक अमेरिका आउँदा सीता आइभिपी कार्यक्रममा अमेरिका आएकी थिइन् । भ्रमण तालिकामा वाशिङ्टन डिसी पनि थियो नै । अनि मैले उनलाई डुपोण्ट सर्कलमा उनी बसेको होटेलमा भेट्न गएको थिएँ र काठमाडौँका पुराना साहित्यिक दिनहरूको सम्झना गरेका थियौँ ।
पछि त उनले अमेरिका बस्ने मन बनाइन् । उनकी बहिनी मेरिल्याण्डमा बस्ने हुनाले उनको स्थायी बसोबास मेरिल्याण्ड नै भयो ।
अमेरिका बसाइमा उनले केही अङ्क मेरो छापा अखबार “विश्वपरिक्रमा”मा स्तम्भ लेखिन् । केही चोटिला अमेरिकी पृष्ठभूमिका कविता पनि लेखिन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अन्तर्राष्ट्रिय सम्मेलन वाशिङ्टन डिसीको नेतृत्व पनि गरिन् । अनेसासको बोर्ड अफ ट्रस्टीको कार्यसमितिमा पनि रहिन् । अनेसासको धेरै कार्यक्रमहरूमा उनको सहभागिता रह्यो । अमेरिकाका विभिन्न राज्यहरूमा हुने नेपाली सङ्घसंस्थाको सम्मेलनमा हुने साहित्यिक गोष्ठीहरूमा उनको सक्रियता लोभलाग्दो देखिन्छ । उनको बोलीमा पाइने प्रखरतामा कुनै कमी देखिन्न, नेपालमै सक्रिय हुँदाको बेलाको झल्को पाउँछु ।
उनको कथाहरूको अङ्ग्रेजी अनुवाद “फिवर” उनी नेपाल छँदै निराला प्रकाशन नयाँ दिल्लीबाट भएको थियो । उनको अमेरिका आइसकेपछि यौटा अर्को कृति पनि अङ्ग्रेजी भाषामा आउने तरखरमा थियो । शायद डा. तारानाथ शर्माले अनुवाद गरेका थिए । प्रेस पनि गएको बताउँथिन् । तर प्रेसबाट बजारमा चाहिँ आएको छैन ।
सीता पाण्डेका पाठकहरूले आफ्ना पाठकलाई जुन स्वाद दिएर पल्काएकी थिइन्, पाठकहरू तिनकै प्रतीक्षामा छन् । पाठकहरू सीताको “यौन र अनुभूति” को प्रतीक्षामा छन् ।
फल्स चर्च,भर्जिनिया
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।