नेपाली साहित्य आकाशमा मनको दैलो पुरै उघारेर अर्थात आँत खोलेर गफ गर्ने मेरा साथी हुन् गोविन्द । २०३५/३६ देखि मेरो रक्तकोषभरि उनीसँगको मित्रता निरन्तर प्रवाहित छ। पहिले त्रि.वि.मा सहकर्मी हुँदाको मित्रतामाथि अहिले अमेरिकामा नेपाली साहित्य आकाशमा यात्रारत रहँदाको मित्रता मिसाएका छौँ हामीले।

म गोविन्दसँगको विगत र वर्तमानको नशामा डुब्न गैरहेको छु । गिरीले जब एसएलसी उतीर्ण गरे तब उच्चअध्ययनको लागि हेटौंडाबाट उनी काठमाडौँ आए । उनी काठमाडौँ आउँदा आफूमात्र आएका थिएनन्, आर्थिक अभाव समेतलाई दुष्ट साथीको रूपमा साथै ल्याएका थिए।

राजेन्द्रप्रसाद अर्याल (अमेरिका)

गोविन्दले काठमाडौँमा पढाइलाई सुचारू राख्न, साहित्यलाई निरन्तरता दिन र परिवार पाल्न धेरै मिहेनत गरे । म उनको सुखदु;खको साथी भएको नाताले अहिले मेरो आँखाको नानीमा ती दृष्यहरू सल्बलाइरहेका छन्। उनले चकलेट पोको पारे, कागजको थुँगा बनाए, चर्खा चलाए र पछि केही श्रोत जुटाएर किराना पसल थापे । अटुट रूपले ५/७ वर्षसम्म साइकल पेलेर नै त्यो पसललाई निरन्तरता दिँदै गए । त्रिविको जागिर र यी यस्तै आम्दानी नै उनको परिवार धान्ने आधार बन्यो । समग्रमा भन्नु पर्दा गोविन्द गिरी प्रेरणा श्रम‌ र पसिनाका पूजक हुन्। उनले पसिनाको महत्त्व बुझेका छन् र त त्यसको गन्धलाई अत्तरभन्दा बढी वास्नादार ठान्दछन् ।

परिवारलाई पाल्न र साहित्यलाई अझ अगाडि बढाउन, यथास्थितिको आयबाट उनलाई अप्ठेरो महसुस भैरहेथ्यो । आम नेपालीको सोचाइजस्तै आर्थिक समृद्धि हेतु विदेशी आम्दानीप्रति गिरीजीले पनि सपना देख्न थाले । अवसरको अग्लो सगरमाथा चढ्ने चाहले गोविन्द जर्मन, वेलायत, फ्रान्सतिर नपुगेका हैनन् ।अन्तिममा अमेरिका नै उपयुक्त गन्तव्य ठाने। तृष्णाको पखेटा फिँजाएर बसिरहेका थिए। मौका पाए । उडेर अमेरिका आए।

गोविन्द गिरी प्रेरणा

गिरीजीले मात्र रुचाएनन्, अमेरिकी आकाशले पनि रुचायो । मन परायो। संरक्षण गर्यो । क्रमशः परिवार ल्याए । स्थायी रूपमा १८ वर्षदेखि निरन्तर अमेरिकामा रहेर आर्थिक अभाव नामक हाडे ओखर फुटाले। मनग्य आम्दानी गर्दै एकातिर सुख सयलको जिन्दगी बाँचेका छन् अर्कोतिर गोविन्दले नेपाली साहित्यको रथ अत्यन्तै सवल किसिमले निरन्तर हाँकिरहेका छन् । सारांशमा भन्नुपर्दा गोविन्द गिरीको पारिवारिक र साहित्यिक स्थिति तिहारको झिलिमिलि बत्ति समान उज्यालो देख्छु म ।

यसरी कोही कसैको टेकोबिना, ठूला पार्टी र नेताहरूको आशीर्वाद, संरक्षण, सहयोगबेगर मात्र आफ्नाे बुतामा अनि एक्लैको श्रम, मिहेनत र अक्कलको भरमा सफलता चुम्दै आएका व्यक्ति हुन् गोविन्द । मलाई लाग्छ – सफलताको बोटमा मिहेनत‌को मल र धैर्यताको जल हाल्न सिपालु छन् गोविन्द । अवसरको जरा पत्ता लगाउने खुबी देखिन्छ उनमा । आफ्नो सफल भविष्यको रचयिता आफैँ हो भन्ने भनाइलाई गिरीजीले पुष्टि गरेका छन् ।

गोविन्द गिरी प्रेरणा (अमेरिका)

आफ्नो स्कूले जीवनदेखि नै फाट्टफुट्ट कविताहरू कोर्दै आएका साहित्यकार गोविन्दले जब एस एल सि दिए तब गहिरिएर नेपाली साहित्यप्रति उनको लगाव र चासो बढ्दै गयो । साहित्यका पुस्तकहरू पढ्न थाले । पहिला स्वाध्यायनलाई धेरै अगाडि बढाए । कविता विधामा पहिलो प्रेम गर्दै आएका गोविन्दको प्रथम प्रकाशित रचना भने कथा हुन पुग्यो । जो वि.सं २०३४ सालमा आस्था नामक पत्रिकामा निस्केको थियो । त्यस्तै कविको रूपमा स्थापित हुँदै आएका गिरीजीको पहिलो पुस्तकको रूपमा २०४० सालमा “सुतेको समुद्र” नामक कथासङ्ग्रह प्रकाशित भयो। यसरी प्रकाशनको हिसाबले वि.सं २०३४ देखि आरम्भ भएको उनको साहित्यिक यात्रा अत्यन्त सबल बन्दै गएको छ। कवि गोविन्दलाई उनका कथा, निबन्ध र उपन्यासहरूका कारण हाल आएर आख्यानकारको रुपमा बढी हेरिन्छ।

नेपाली साहित्यको बहुविधामा सृजना क्षमता भएका साहित्यकारमा पर्छन् गोविन्द। साढे चार दशक लामो साहित्य साधनाको प्रतिफलको रूपमा उनका कथा सङ्ग्रह – ६, कविता सङ्ग्रह – ५, उपन्यास – ६, नियात्रा – ४, निबन्ध -३ समालोचना – १, हास्यव्यङ्ग्य – १, अनुवाद- २ गरी जम्मा २८ पुस्तकहरू प्रकाशित छन् । कमल दीक्षितसँग इमेलवार्ता नामक अन्तरवार्ता पुस्तक गोविन्दकै सक्रियता र सम्पादनमा प्रकाशित छ।

विभिन्न विधाका ८ थान पुस्तकहरू गोविन्दको सम्पादनमा छापिएका छन्। दीपज्योति, दीपिका, अन्यथा, लघुकथा, भाषान्तर नामक साहित्यिक पत्रिकाहरू विभिन्न कालखण्डमा प्रकाशक र सम्पादक आदि भएर प्रकाशित गरे । अमेरिकामा १० वर्षसम्म ‘’विश्व परिक्रमा” पाक्षिक पत्रिकाको प्रकाशन र सम्पादनको अनुभव पनि सँगालेका छन् । गोविन्दले सिर्जना गरेका गीतहरूका दुइ एल्बमहरू नेपाली सङ्‌गीत जगतको सम्पत्तिको रूपमा सुरक्षित छ। ती मध्येमा केही गीत त छायाँङ्‌कन भएर प्रसारित छ।

गोविन्दका “स्वप्नकथा जारी छ” -कवितासङ्ग्रह मैथिली भाषामा धीरेन्द्र प्रेमर्षिले र “मात्र एक रात” – उपन्यास नेपाल भाषामा शशिकला मानन्धरबाट अनुवाद भएको छ । अर्कोतिर उनका फुटकर रचनाहरू हिन्दी, अङ्ग्रेजी, मलाय, टर्किस र बङ्‌गाली भाषामा अनुवाद भई प्रकाशित छन् । साथै केही पुस्तकहरू, अंग्रेजी लगायत विविध भाषामा अनुवाद भैरहेको जानकारी मिलेको छ । गोविन्द गिरी प्रेरणा सम्बन्धी दुई कृतिहरू पनि नेपाली साहित्यको बजारमा आएको पाइन्छ ।

गोविन्द गिरी प्रेरणाले दिवङ्‌गत र जीवित साहित्यकारहरूसँगको सहचर्यमा आधारित जीवनीपरक एक सय जति संस्मरणात्मक लेख प्रख्यात पत्रपत्रिकाहरूमा प्रकाशित गरिसकेका छन् र यो क्रम निरन्तर जारी छ । नेपाली श्रष्टाहरूकोचाल-चलन, चिन्तन, स्वभाव, शैली, क्षमता र दुर्बलतालगायत‌का विविध पाटोहरू केलाएर लेखिएका ती लेखहरू सरल र मीठो भाषासहितको स्वादिलो प्रस्तुतिले गर्दा पाठकको रोजाइमा पर्न सफल भएका छन् । साहित्यको खेल भाषाको आँगनमा खेल्न गोविन्द पोख्त देखिन्छन्।

गोविन्दका यी संस्मरणात्मक लेखहरूको आधारमा भन्न सकिन्छ – उनी कोठाभित्र बसेर साहित्य सिर्जना मात्र गर्दैनन् । साहित्यकारहरुसँग निरन्तरको सम्पर्क र घुलमिलमा रमाउँछन्। केही प्रतिनिधिमूलक भेटघाट प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक हुन जाने देख्छु म। काठमाडौँका विभिन्न डबलीहरूमध्ये प्रायः साँझको समयमा न्यूरोड पीपलबाेटमा हुने साहित्यिक जमघटमा हित्तचित्त मिल्ने साहित्यकारहरू आपस‌मा गफिन्थे । साहित्यकार किशोर पहाडीको साइकलको कहिले अगाडि डण्डीमा त प्रायः पछाडिको क्यारियरमा बसेर भए पनि गोविन्द न्यूरोड पुग्थे। स्व. नकुल सिलवाल, सन्तोष भट्टराईहरू त्यहाँ पुगिसकेका हुन्थे । नकुल र गोविन्द एक रथका दुई पाङ्ग्रा सरह लाग्थे मलाई ।

छास्सछुस्स विभिन्न ठाउँमा पस्ने क्रममा गोविन्द पद्मकन्या क्याम्पसमा पनि पुगिरहन्थे । अशेष मल्ल, दीपक गङ्गमहरू समेतसँग हाईहलो गर्थे र अच्युतरमण अधिकारीलाई ‘उन्नयन’ पत्रिकाको लागि एउटा लेख दिन भ्याइहाल्थे ।

साथीहरुसँग भेटघाट गरिरहनु अनौठो र ठूलो कुरा अवस्य होइन । तर ती भेटघाटका विविध घटनाहरूलाई नोटबुकमा टिप्नु वा भविष्यसम्म मनको खुत्रुकेमा जतनसाथ राख्नु अनि त्यसलाई साहित्यको जामा लगाई भाषामा ढाल्नु अत्यन्त सह्राहनीय कार्य हो । गोविन्द गिरीले ती लेखहरूमा प्रशंसा मात्र गरेका छैनन्। सत्य तर अप्रिय कुराहरूलाई पनि लेख्ने साहस गरेका छन्। आफूसँग घटेका यस्तै विविध घटनाहरुलाई मीठो र रसात्मक अभिव्यक्ति दिई साहित्यको फलको रुपमा पाठकहरुलाई चखाउने गरेका छन् । त्यसको लागि धन्यवादका पात्र छन् उनी ।

पैसा कमाई जीवन धान्न गोविन्दले धेरै कुराहरू गरे। चामल, तरकारी, चुरोट र रक्सी बेचे। बेचे किताब र कापी पनि। तर जतिसुकै दुख पर्दा पनि साहित्यिक लगाव, आस्था, समर्पण र चाहना बेचेनन्। बेचेनन् त्यसको मूल्य र मान्यताहरू। साहित्यप्रतिको अधिकार, स्वामित्व र निरन्तरतालाई स्वफाईदाको निंति लिलाम बढावढमा राखेनन् ।

गोविन्द गिरी प्रेरणा नेपाली साहित्यरुपि बगैंचाको निरन्तर क्रियाशील एउटा निष्ठावान् माली हुन्। गोविन्दका अनेकन ग्रन्थहरूका कारण नेपाली साहित्य आभारी छ। कृतज्ञ छ भन्ने मलाई लाग्छ ।आफ्नो कर्मको प्रकाशले नेपाली साहित्यको सिंहासन‌मा वरिष्ठ साहित्यकाररूपी श्रीपेच पहिरिएर ईज्जतपूर्वक बस्न सकेका छन्।

गोविन्द गिरीका सम्पूर्ण पुस्तकहरु विमोचन भयो भएन मलाई एकिन छैन । तर उनले अनुवाद गरेको पुस्तक “ईकेदाका कविता र निबन्ध” को विमोचन भने अत्यन्तै भव्य र सभ्य थियो । श्रुतिराज्यलक्ष्मी प्रमुख अतिथि रहेकी सो कार्यक्रममा जापानी संस्था सोका गाक्काई ईण्टरनेशनलका उपाध्यक्ष तथा फराकिलो हलभरि अतिथिहरु भरिभराउ थिए । सोल्टी होटलमा आयोजित सो कार्यक्रमको तामझाम मेरो आँखाको नानीमा नाचिरहेको मात्र छैन रात्री भोजको स्वाद समेत जिब्रोमा अझै गढिरहेछ ।

गोविन्द गिरीका पुस्तकहरू प्रायः पढेको छु मैले। कार्यालयको कामको सिलसिलामा म र गोविन्द काठमाडौँ बाहिरको टुरमा धेरै पटक गएका छौं। एउटा व्यागभरी उनको विविध पुस्तकहरू हुन्थे । केही बेच्थे र केही उपहार स्वरूप बाँढ्थे पनि । विहान बेलुकाको फुर्सदमा गोविन्दजीका पुस्तकहरू मेरा समय बिताउने साथी हुन्थे । उनका पछिल्लो कालमा प्रकाशित पुस्तकहरू पनि मेरो सङ्ग्रहमा छ यहाँ अमेरिकामा ।

जुन जिल्लामा पुगेको छ त्यहाँका लेखक साहित्यकारहरुको खै खबर, खोजी गर्थे गोविन्द । पोखरामा तीर्थ श्रेष्ठसँगको भेट हिमाल झैं हाँसिरहेछ मनमा । जनकपुरमा लिलासिंह कर्मासँग साहित्यिक गफमा रौसिँदै मीठो भोजन गरेको घटना र अन्य भेटघाटहरू सम्झनाको पर्दामा किर्नो भएर टाँसिएको छ अझै ।

मलाई पुन: विगतको ऐना हेर्न मन लाग्यो । कार्यालयगत हिसाबले गोविन्द गिरीभन्दा म माथिल्लो पदमा थिएँ । तर लेखक साहित्यकार हुनुको नाताले उनले सामाजिक रुपमा पाएका मान, मर्यादा, इज्जत र प्रशंसाहरू विशेष निगरानीमा राख्थेँ। साहित्यको महत्त्व, पुस्तकले दिने मर्यादा र सामाजिक सकारात्मकतालाई अझ छर्लङ्ग वुझ्न पाएँ ।

यी र यस्तै विविध घटनाहरूले गर्दा नजानिँदो हिसाबले ममा साहित्यप्रतिको आशक्ति अझै पलायो। हुन त वि. सं. २०२७ सालमा नै म जिल्ला स्तरीय कविता प्रतियोगितामा पुरस्कृत भइसकेको थिएँ। दिलको फराकिलो भागमा चासो बढ्यो र साहित्यको फसल हुर्किन थाल्यो। यसरी मेरो हृदयमा हुर्कँदै गरेको साहित्यिक विजमा कम्पोस्ट मल थप्ने काम गोविन्दको सङ्‌गतले पनि केही गर्यो। गोविन्द गिरी मेरा साथी मात्र रहेनन् साहित्य श्रोतमध्येका एक परोक्ष अंश पनि हुन पुगे ।अर्थात उनीसँगको साहचर्यले साहित्यको स्वाद जिब्राेमा गहिरोसँग गढेको अनुभव भयो।

गिरीजीसँगका उठबस‌का अनेक सम्झनाहरू मेरो स्मृतिकोशिरी चुल्ठिएर रहेका छन् । ती सबैको पुस्तक फुकाउन अहिले समय पुग्दैन अपितु केही थप कुरा छुट्‌यो भने यो लेख अपूर्ण हुन जान्छ ।

भोकोलाई भोजन प्रिय जस्तै गोविन्दमा पुस्तक मोह पाउँछु म । फुटपाथको नै पुस्तक पसल किन नहोस् उभिएर धुलो पचाउँदै घण्टौघण्टा बिताउन सक्छन् उनी । गोविन्दको पुस्तक दृष्टि पनि नौलो लाग्छ मलाई। फरर पल्टाएर सूक्ष्म रूपमा नियाल्छन् र हाँसले दूध पानी छुट्‌याए झैँ त्यसको गहनता तुरुन्त पर्गल्छन् । आर्थिक अभावको त्यो समयमा अन्य रहरहरूलाई टायरले कुल्चेरै भए पनि उनी पत्रिका, पुस्तकहरू भने खुसी साथ किन्थे । नेपाली पुस्तकहरू मात्र हैन विशेषतः भारतवाट प्रकाशित हंश, सारिका, धर्मयुग, कादम्बिनी, साप्ताहिक हिन्दुस्तान जस्ता पत्रपत्रिका र पुस्तकहरूमा खर्च गर्न भने डराउँदैनथे। विशेषतः पुराना पुस्तकहरुका चाङ‌बाट कुनै अति दुर्लभ महत्त्वपूर्ण: पुस्तक पाए भने बडो खुसी हुँदै किन्थे र पृथ्वी नै जितेसरी विजयी मुद्रामा देखिन्थे ।

गोविन्द अङ्ग्रेजी पुस्तकहरू पनि किन्थे ।उनको अङ्ग्रेजी पनि राम्रै छ। पढ्न, बुझ्न, अनुवाद गर्न सक्छन् । सामान्यतया उपन्यास, कथा, निबन्धजस्ता लामा सिर्जना अङ्ग्रेजीमा गर्न सक्ने भाषागत ज्ञान पुरै नहुन सक्ला तर छोटा किसिमका कविताहरू अङ्ग्रेजीमा सिर्जना गरेर अमेरिकी पत्रपत्रिकाहरूमा प्रकाशित गरी आएका छन् । साथै अमेरिकाको स्थानीय साहित्यिक समारोहहरूमा भाग लिई आएका पनि छन् ।

विगतको अवस्था र पुस्तक खरिद प्रसङ्गमा कुरा चल्दा गोविन्द भन्छन्- मूल कुरा चाहना हो रहेछ । हिजोको त्यो अभावमा त म पुस्तक किन्न डराउँदैनथेँ। आज स्थिति थोरै भए पनि सुद्रिएकाे छ। दर्जनभन्दा बढी पुस्तकहरू लेख्ने नामी लेखकहरू ध्रुवचन्द्र गौतम, कमलमणि दिक्षित आदिका पुरै सेट पुस्तकहरू किनेर पुस्तकालयमा राखेको छु।

पुस्तक मोहको प्रसङ्गमा छुटाउनै नहुने कुरा गोविन्दको पुस्तकालय हो । उनी पुस्तकलाई माया गर्ने, किन्ने मात्र गर्दैनन् पत्रपत्रिकालगायत पुस्तकहरू जतनसाथ सञ्चय गरेर राख्छन् । धेरै पहिले उनी कुलेश्वर काठमाडौँमा डेरा गरी बस्दा पसलमाथिको भान्छासहितको दुई कोठे डेरामा पनि दराजहरूमा पुस्तकहरु जतनसाथ राखेका पाउँथ्यौँ हामी।

उनले सुरुआती अवस्थाबाट यसरी सञ्चय गर्दै आएका पुस्तक तथा पत्रिकाहरूसमेतलाई हाल काठमाडौँ गैह्री गाउँको उनको घरमा पुस्तकालय‌को रूपमा व्यवस्थित किसिमले राखेका छन् । यता १८ वर्षदेखि बस्दै आएको अमेरिकामा पनि प्रशस्त पत्रपत्रिका र पुस्तकहरूलाई ठूलो कोठाभरी पुस्तकालयको रुपमा सजाएको कुरा सुनाउँछन् ।

गोविन्द गिरीका सिर्जनाहरू छुट्टै र वेग्लै वान्कीमा सजिएका हुन्छन् । थोरै शब्दहरू प्रयोग गरी फराकिलो परिवेश प्रस्ट्‌याउन सिपालु छन् । छोटाछोटा वाक्यमा लेख्छन्। खै कुन शैली र तत्त्वले आकर्षण गरेर हो कुन्नी, उनका रचनाहरूको विशेषता भनेको “पठन योग्य” हुनु हो । एउटा सर्जकको लागि यो ठुलो उपलब्धि हो भन्ने ठान्छु म । सरल भाषामा मिठासपूर्वक शब्दहरूको सुन्दर माला उन्न खप्पिस छन् गोविन्द ।

निरङ्‌कुश पञ्चायति व्यवस्थाको जरा उखाल्ने प्रयोजनार्थ २०३६ सालमा आयोजित सडक कविता क्रान्तिमा सक्रियतापूर्वक सहभागी बने गोविन्द। त्यसको लागि उनले आफ्नो स्नातक तहको परीक्षासमेत छोडे । आतसबाजीको रङ फेरिएझैं स्वार्थवस पार्टी फेरिरहने संस्कृति साहित्य जगतमा पनि नभएको होइन तर गोविन्द गिरी प्रेरणा कुनै शासकको जुठेल्नामा रमाएनन्। कुनै पार्टीमा पनि लागेको देखिएनन् । उनी आफूलाई मात्र “प्रजातन्त्रवादी” भन्न रुचाउँदछ‌न्।

पछिल्लो फालका उत्कृष्ठ लागेका वा चित्त बुझेका पुस्तकहरूको प्रसङ्ग कोट्याएँ मैले गिरीजीसँग । पाउली बुलु (२०६० राइटर्स क्लब) निबन्ध सङ्ग्रह र गन्तव्य गणबहाल (२०७२ शाझा प्रकाशन) कथा सङ्ग्रह उनलाई धेरै मन पर्दा रहेछन् । साथै पुरस्कारको सम्भावना पनि देखेका रहेछन् ।

पुरस्कार भनेको संयोगको खेल हो, यसमा मेरो कुनै गुनासो छैन साथै कोर्षमा पुस्तक समावेस गर्न, पुरस्कार पाउन, प्रज्ञालगायतका सरकारी निकायहरूमा नियुक्त हुन नेपालमा के कति पापड पेल्नु पर्छ ? त्यो सबैमा जग जाहेर छँदै छ नि ! त्यसमाथि “म सत्ताको तवेलाको घोडा हुन नरुचाउने मान्छे” भन्ने धारणा राख्छन् उनी ।

मेरो मनको मझेरीमा अनेकन प्रश्नहरू बल्झिरहेका थिए। विदेशमा बस्नुहुन्छ नि ! भन्ने प्रश्नमा गोविन्दजी भन्छन् -“यो शरीरको थुप्रो कहाँ छ ? यसले खासै अर्थ राख्दैन “ । मूल कुरा त मन, भावना हो । चिन्तन, समर्पण र सोचाइ हो । म नेपाललाई शिरमा राखेर नियमित रूपमा नेपाली साहित्यको श्रीवृद्धिमा क्रियाशील छु । यसैको निमित्त संसारका विभिन्न भागमा पुगिरहेको छु। कोठामा बसेर संसार देख्न र पढ्न पाइने यो युगमा साहित्य लेख्नका लागि नेपालमै वस्नु पर्छ र ? विदेशमा बसेर लेखिएको साहित्य अधुरो भन्ने हुन्छ र ? त्यसमाथि यो पछिल्लो कालमा वर्षको १,२ पटक नेपाल पुगिरहेको छु पनि। अहिले मैले अमेरिकामा खासै अन्य काम गरेको छैन । आफ्नो असी प्रतिशत समय साहित्यमा नै लगाएको छु । यदि म नेपालमा नै रहेको भए हातमुखको युद्धमा समय खर्चनु पर्ने कारणले साहित्य लेखनमा सायद समय नपुग हुन पनि सक्थ्यो । त्यसैले विदेशमा रहनु परेकोमा मलाई खासै गुनासो छैन ।

घामजस्तै संसार डुल्न पाउने साहित्यकार हुन् गोविन्द त म भन्दिनँ तर पनि महत्त्वपूर्ण देशहरू डुलेका छन् उनी । ती देशहरूको भौगोलिक स्थितिको मात्र अवलोकन नगरी साहित्यिक र साँस्कृतिक परिस्थितिको पनि सामान्य ज्ञान लिन्छन्‌।

गोविन्द गिरी प्रेरणाको कान्छोभाइ हरिशरण गिरी २०६४ सालमा सडक दुर्घटनामा परी अल्पायुमा नै स्वर्गको बगैँचाको फूल बन्न पुगे । यो घटना जीवनको सबैभन्दा दु;खद् क्षण‌को रूपमा लिन्छन् गोविन्द । उनको मुटुमा नै बास बसेका रहेछन् भाइ । गोविन्दले फेर्ने प्रत्येक शासमा हरिशरण लटपटिएका हुँदा रहेछन् । बाआमा परलोक हुँदा यति धेरै चिन्तित भइनँ  म किनकि उहाँहरू डाँडामाथिको घाम बनी अस्ताउनु भएथ्यो। तर भाइको सर्तमा म लामो समय भाव बिह्वल बनेँ। भाइ शब्द सुन्दा सोझै त्यो शब्द हृदयमा घुस्छ र तातो पानीमा परेको बरफझैँ मन पग्लिन पुग्छ भन्छन् उनी ।

त्यस्तै, सुखद क्षणको रूपमा अमेरिकाको लागि भिषा प्राप्त घटनालाई मान्दा रहेछन् गोविन्द।

जिन्दगीको यात्रामा मन मिल्ने थपिँदै र नमिल्ने हराउँदै जान्छन् । कमीकमजोरीकाे बिचबाट नै मान्छे अघि बढ्दै जाने हो।आखिर हिलोमा फुलेको कमलजस्तै नै त हो मान्छे पनि। यसै क्रममा सबैको आँखाको नानी बनेर बसेका छन् गोविन्द भन्न मिल्दैन । उनमा पनि कमीकमजोरीहरू अवश्य होलान् । थाहा पाएसम्म त्यस‌लाई सुधार्न चाहन्छन् होला पनि । त्यो औंल्याउनेलाई भने सजग गराउने साथीको रूपमा लिनुपर्छ। गोविन्दको अवनतिको जरामा यूरिया मल हाल्न चाहनेहरू पनि होलान् तर प्रतिशोध र बदलाको नाममा सिस्नाको मुठोले कसैलाइ पनि हान्न चाहँदैनन् जस्तो लाग्छ मलाई ।

परदेशमा रहेर पनि नेपाली साहित्यको सुन्दर बागवानी निर्माण गर्ने कर्ममा अनवरत क्रियाशील गोविन्दलाई पूर्ण सफलता मिलोस् । सहश्र पुष्पहरू सुगन्ध फैलाउँदै बागवानीमा अझै फुल्न, र रम्न सकुन् । उनको प्राप्ति र उन्नति‌मा हर्षबढाइ गरिरहने अवसर हामीलाई निरन्तर मिलिरहोस् | शुभकामना छ गोविन्द गिरीलाई।