कुनै बेला मैले पनि नाट्य रङ्गमञ्चमा पाइला राखेको थिएँ, अभिनय गरेको थिएँ, नाटक निर्देशनसमेत गरेको थिएँ भनेर सम्झँदा अमला चपाएर पानी पिएकोझैं आनन्द लाग्छ । ती दिनका सम्झनाले नाट्य रङ्गमञ्चमा सकृय हुन कति गाहारो, कष्टदायी र समस्याको भूमरी रोज्नु जस्तो हुन्छ भन्ने महसुस हुन्छ ।

२०३६ सालको विद्यार्थी आन्दोलन र त्यसकै कारणले राजा वीरेन्द्रवाट घोषणा भएको जनमत सङ्ग्रहले नेपाली साहित्यमा पनि ठूलो प्रभाव पारेको थियो । पञ्चायतको बन्द ढोकाबाट बाहिर आएर गैर पञ्चायती कृयाकलाप गर्न तथा अभिव्यक्ति दिन पाइने भएको थियो । त्यसैले जन्माएको थियो सडक कविता क्रान्ति । त्यसमा म सकृय रुपमा सहभागी भएको थिएँ । साहित्यमा पाइला हालेकै बेला भएकाले साहित्यिक पुस्तकहरु सक्दो अध्ययन गर्नु, साहित्यिक कृयाकलापमा सक्दो सहभागी हुनु, सक्दो धेरै साहित्यकारहरुको साहचार्यमा जान चाहनु मेरा त्यस बेलाका गतिविधि थिए । म नेपाल भारत साँस्कृतिक केन्द्रको पुस्तकालयको सदस्य भएर त्यहाँबाट हिन्दी पुस्तकहरु पढ्ने भैसकेको थिएँ । पुराना पुस्तक पसलहरु चहारेर पुराना र सस्ता पुस्तकहरु किनेर पढ्दै सङ्कलन गर्न थालिसकेको थिएँ । साहित्य पढ्नु मेरो रुचिको कुरा थियो, त्यसमा विधाको मतलब थिएन । कविता, कथा, निवन्ध, नाटक, समालोचना सबै म पढ्थेँ । ती सबै विधाहरु अध्ययन गरेको हुनाले कुन विधामा कसरी रचना गर्न सकिन्छ भन्ने भेउ पाउन थालिसकेको थिएँ ।

यसै क्रममा सडक कविता क्रान्तिमा सहभागी भएर घनिष्ठता भएका धनकुटाका अशेष मल्लले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वर्षेनी आयोजना गर्ने नाटक महोत्सवमा भाग लिने भए । त्यसका लागि उनले “सडकदेखि सडकसम्म” नामक प्रयोगात्मक नाटक लेखेका थिए । सो नाटक साहित्यिक पत्रकार संघको तर्फबाट प्रस्तुत गरिने भयो । अनि त्यसमा अभिनय गर्ने कलाकारहरु हामी परिचित कवि लेखकहरु नै भयौं । मैले पनि यौटा रोल पाउने भएँ । दिनेश अधिकारी र मैले सडकमा उभिएर सम्बाद गर्ने भूमिका थियो । त्यो भूमिका गरियो ।

त्यसै वर्ष अशेष मल्लको अर्को नाटक पनि नाटक महोत्सवमा प्रदर्शनका लागि छानिएको थियो-“रातका बन्द आँखाहरू” । त्यस नाटकमा विष्णु विभू घिमिरे र म प्रहरीको भूमिकामा थियौं । त्यस नाटकका लागि प्रहरीको पोशाक मैले मेरा जेठा दाजु शम्भुराज गिरी, जो प्रहरी प्रधान कार्यालय नक्सालमा असईको रुपमा काम गर्नुहुन्थ्यो, उहाँसँग मागेर ल्याएको थिएँ । अनि हजाम कहाँ गएर पुलिस कटमा कपाल काट्न लगाएको थिएँ ।

रातका बन्द आँखाहरु त त्यसपछि सम्भवतः कहिल्यै मञ्चन भएन, तर सडकदेखि सडकसम्म भने निकै पटक व्यावसायिक मञ्चन पनि भयो । राष्ट्रिय नाचघरमा केही दिन आदर्श विद्या मन्दिरको तर्फबाट भएको व्यावसायिक प्रदर्शनमा पनि मैले अभिनय गरेको थिएँ ।

त्यसपछि मैले अशेष मल्लको तेस्रो नाटकमा पनि अभिनय गरेँ, त्यो थियो अशेष मल्ललाई नेपालमा “सडक नाटक” को शुरुवातकर्ताको परिचय दिलाउने नाटक “हामी वसन्त खोजिरहेका छौँ” । त्यो नाटक कीर्तिपुरमा खुल्ला रुपमा शुरु गरेर सात दिनसम्म प्रदर्शन भएपछि नेपालमा सडक नाटकको औपचारिक थालनी भएको हो । तर त्यस नाटकको प्रथम प्रदर्शन भने सडक नाटकको रुपमा भएको थिएन । त्यसको प्रथम प्रदर्शन वाल्मीकि क्याम्पसको बन्द हलमा भएको थियो र प्रथम पटक अभिनय गर्नेमा म पनि थिएँ र मसँगै गोविन्द सिं रावत पनि थिए ।

यसरी मैले जम्मा जम्मी तीन वटा नाटकमा अभिनय गरेको इतिहास सम्झन्छु । तर मलाई लाग्छ, म शायद रङ्गमञ्चमा अभिनय गर्नका लागि उपयुक्त पात्र थिइनँ । त्यसलाई अशेष मल्लले बेलैमा बुझे । मैले नाटकमा अभिनय गर्ने इच्छालाई बिसौनी दिएँ । यो सर्वनाम नाट्य समूहको औपचारिक स्थापना अघिको कुरा थियो । त्यसैले म सर्वनामको औपचारिक थालनी भएपछि सक्रिय भइनँ र त्यस समूहमा परिनँ पनि ।

तर अशेष मल्लसँग मित्रता त उस्तै थियो, भेटघाट उस्तै थियो । मैले नाटक पनि लेखेँ र अशेषको निर्देशनमा प्रदर्शन होओस् भन्ने इच्छा पनि पालेँ तर अशेष आफ्नै नयाँ र प्रयोगात्मक नाटक मञ्चनमै बढी केन्द्रित भएकाले मैले मेरो नाटकतिर आकर्षित गर्न सकिनँ ।

मैले हिन्दी साहित्य पढ्दा मन पराएका लेखक हुन् मोहन राकेश । उनका उपन्यास, कथा मलाई मन पर्थे । अहिले पनि मन पर्छन । उनका नाटक पनि मलाई मन परे । उनको “आधे अधूरे” नाटकले मलाई अत्यन्तै प्रभाव पार्यो । मैले नाटक लेख्ने शिल्प त्यो नाटक खारेर सिकें । उनकै प्रभावले मैले लेखें नाटक “ब्रम्हलूट” ।

नाटक लेख्ने प्रेरणा मोहन राकेशबाट प्राप्त गरे पनि तथा नाटकको शिल्प उनकै नाटकबाट सिके पनि कथा भने पूर्ण मौलिक थियो । यो नाटक मञ्चन होस् भन्ने मेरो चाहना थियो । तर त्यो चाहना पूरा हुन सकिरहेको थिएन । यसैबीच मेरो विवाह भयो । बच्चा पनि भयो । जेठो छोरा अनुभव जन्मिसकेको थियो र श्रीमतीको इच्छाले मैले आफैँले पहिला आईकम, बिकम पढेको नेपाल कमर्स क्याम्पस मीनभवनमा एमकम ज्वाइन गरेको थिएँ ।

त्यसैबीच नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट नाटक महोत्सवका लागि नाटकको पाण्डुलिपि आह्वान भयो । आफ्नो नाटक मञ्चन भएको हेर्न चाहने मेरो इच्छाले फेरि फणा उठयो । मैले नेपाल कमर्स क्याम्पस मीन भवनको प्रस्तुतिमा नाटक महोत्सवमा भाग लिनका लागि क्याम्पसमा कुरा चलाएँ । दुई तहको शिक्षा त्यही क्याम्पसबाट अध्ययन गरेको तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा काम गर्ने पनि भएकोले मलाई क्याम्पस प्रशासनले नाटक मञ्चनका लागि प्रस्तोता हुन मञ्जुरी दियो । कलाकारहरु क्याम्पसकै विद्यार्थीहरुबाटै छानिए ।

सो नाटक मैले नै निर्देशन गर्ने भएँ । मलाई मित्र अशेष मल्लबाट नाटक निर्देशनमा सहयोग हुन्छ भन्ने ठूलो आशा थियो तर उनी आफैँ त्यस वर्ष डा. ध्रुवचन्द्र गौतमको नाटक मञ्चन गर्न लागेका रहेछन् । त्यसैले मलाई उनले समय दिन सकेनन् । मेरा परिचित अर्का कलाकार मित्र तथा निर्देशक मित्र रवीन्द्र खड्काले एकाध पल्ट आएर निर्देशन पक्षमा सहयोग गरे ।

अन्तत: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको त्यो भव्य हलमा मेरो नाटक मञ्चन भयो कैयौँ हण्डरहरु झेलेर । क्याम्पस प्रस्तोता भएकाले प्रचारप्रसार धेरै भयो र टिकट बिक्रीमा हामीले पनि सहभागी भइदिनाले हल लगभग भरिएको थियो । मेरो नाटक “ब्रम्हलुट” शीर्षकले नै अस्वीकार हुने भय भएकाले मैले नाटकको नाम “ब्रम्हपुर” राखेको थिएँ । यो पनि सुहाउँदो र कथानक अनुसारकै भयो । तर भैदियो के भने नाटक मञ्चनको दिन नाटकको उद्घोषण साथी सीता पाण्डेले गरेकी थिइन् पार्श्वबाट, उनले मूल रुपमै “ब्रम्हलूट” नाटक पढेको र देखेको हुनाले परिवर्तित शीर्षक “ब्रम्हपुर” नभनेर “ब्रम्हलूट” नै भनिदिइन् ।
र नाटक मञ्चनको हिसाबले रङ्गमञ्चमा उक्लेको यही नै अन्तिम अवसर भैदियो ।

हो, गरिमामा प्रकाशित तथा अशेष मल्लद्वारा सम्पादित साझा एकाङ्कीको दोस्रो भाग “समकालीन एकाङ्की” मा प्रतिनिधित्व गर्ने मेरो एकाङ्की “मूर्दा-मानिस” लाई मैले जीएए अर्थात् गोदावरी एलुम्नाई एशोसिएसनले वर्षेनी गर्ने एकाङ्की प्रतियोगितामा सहभागी गराएको थिएँ । त्यो एकाङ्की स्वीकृत भयो अभ्यास प्रदर्शनका लागि, तर अभ्यास प्रदर्शनमा फेल भयो र प्रतियोगिताका लागि रङ्गमञ्चमा प्रदर्शनका लागि पुग्न सकेन ।

त्यसपछि पनि नाटक एवम् एकाङ्कीहरु फाटफूट लेख्ने क्रम रोकिएन । अमेरिकामा स्थायी रुपले बस्न थालिसकेपछि कलाकार मित्र कृष्ण मुरारी ढुङ्गेलको आग्रहमा सरोज खनाल, राजाराम पौडेल र उनीसमेत अभिनय गर्ने खालको नाटक “हे भगवान्” लेखेको थिएँ तर त्यसको प्रदर्शनको साइत जुरेन । पछि त राजाराम अमेरिकालाई सदाको लागि हात हल्लाउँदै बिदा भए । सरोज खनाल पनि बिदा भए । कृष्णमुरारी ढुङ्गेल पनि परिवार आएपछि भर्जिनियाबाट कोलोराडो लागे । नाटक मञ्चनको कुरा कथा भयो ।

त्यसपछि पनि मैले नाटक अध्ययन र यदाकदा लेखन गर्ने क्रम जारी नै छ । कविता पढ्न ठूला रङ्गमञ्चहरुमा पाइला राख्ने क्रम जारी छ तर नाटक प्रदर्शन हेतु त्यसपछि रङ्गमञ्चमा मेरा पाइला कहिल्यै फर्केनन् ।

२७ नोभेम्बर २०२०
फल्स चर्च, भर्जिनिया, अमेरिका