हलिउडमा अचेल एउटी नयाँ ‘अभिनेत्री’ चर्चामा छिन् । उनको अनुहार मोहक छ, हाउभाउ आत्मविश्वासी देखिन्छ तर उनको शरीरमा रगत होइन, कोड बगिरहेको छ । उनको नाम हो टिली नर्वुड र उनी हलिउडकी पहिलो ‘एआई अभिनेत्री’ हुन् । यो चर्चाले तालीभन्दा बढी गाली बढी पाइरहेको छ । एपी समाचारका अनुसार कलाकार संघदेखि चलचित्र निर्माता र कलाकारसम्म, सबैले एक स्वरमा भनिरहेका छन्, ‘कला मानवीय आत्माबाट जन्मिन्छ, कृत्रिम बुद्धिले होइन ।’
जसले जति आलोचना गरिरहेको भए पनि उनको भविष्य भने सुखद् नै देखिँदैछ । त्यसैले हरकोही सोधिरहेका छन्, कसरी जन्मिइन् ‘एआई अभिनेत्री’ टिली नर्वुड ?
टिली नर्वुडलाई डच निर्माता तथा हास्य कलाकार इलाइन भान डर भेल्डेनले सिर्जना गरेकी हुन् । उनले सञ्चालन गर्ने कम्पनी सिकोइया आफूलाई विश्वकै पहिलो एआई ट्यालेन्ट स्टुडियो भनेर चिनाउँछ ।
भान डर भेल्डेनले टिलीलाई ’फिल्म स्टार बन्ने सपना देख्ने पात्र’का रूपमा अनलाइन प्रस्तुत गरेकी थिइन् । उनले दाबी गरेकी छन्, टिलीको स्वरूप, हाउभाउ र अभिव्यक्ति सबै कृत्रिम बौद्धिकता (एआई)ले तयार गरेको हो । तर टिलीको आगमनसँगै हलिउडको मूड बिग्रिएको छ । हलिउड टिलीबाट कत्ति पनि उत्साहित छैन । बरू डर र आक्रोशले भरिएको छ ।
जब टिलीको चर्चा उल्कै बढ्नथाल्यो, त्यसपछि स्क्रिन एक्टर्स गिल्डले सार्वजनिक रूपमा भन्यो, ‘टिली नर्वुड कुनै वास्तविक कलाकार होइन । उनी अनगिन्ती वास्तविक कलाकारहरूको कामबाट बिना अनुमति सिकाइएकी कम्प्युटर पात्र मात्र हुन् ।’
गिल्डको भनाइ छ, ‘उनीसँग कुनै जीवन–अनुभव छैन, कुनै भावना छैन । दर्शकहरूलाई मानवता बिना बनाइएका पात्रमा चासो छैन ।’
‘इन द हाइट्स’ र ‘स्क्रिम’की अभिनेत्री मेलिसा बरेराले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘जो एजेन्टले एआई पात्रलाई साइन गर्छ, उसका सबै कलाकारहरूले उसलाई छोडिदिनुपर्छ । कति घिनलाग्दो कुरा !’
त्यस्तै रसियन डल फिल्मकी अभिनेत्री नताशा लियोनले सामाजिक सञ्जालमा लेखेकी छन्, ’जो ट्यालेन्ट एजेन्सी यस्तो एआई प्रोजेक्टमा संलग्न हुन्छ, त्यसलाई सबै संघहरूले बहिष्कार गर्नुपर्छ ।’
लियोन अहिले ‘अनकेनी भ्याली’ नामक फिल्म निर्देशन गर्दैछिन्, जसमा उनले ‘नैतिक एआई प्रयोग’ गर्ने वाचा गरेकी छिन् । उनले भनेकी छन्, ‘एआईको यस किसिमको हौवा कुनै सही दिशा होइन । न यो भावना नै हो, न त यो सृजनाको बाटो नै हो ।’
फिल्म क्षेत्रमा एआईको प्रयोग नयाँ कुरा होइन । विशेष प्रभाव, संवाद रूपान्तरण वा आवाज पुनर्निर्माणमा एआइ वर्षौदेखि प्रयोग हुँदै आएको छ । तर जब एआईले मानव कलाकारको स्थान लिन थाल्यो, त्यसपछि भने विवादले उग्र रूप लिन थालेको छ ।
सन् २०२३ को स्क्रिन एक्टर्स गिल्ड हड्तालको मुख्य विषय एआई पनि थियो । एआईले कलाकारको अनुहार र प्रदर्शन चोर्न नपाओस् भनेर केही कानूनी सुरक्षा व्यवस्था गरिएको थियो । तत्काललाई विवाद साम्य भए पनि अझै विवाद थामिएको छैन ।
सन् २०२४ को ओस्कार–विजेता फिल्म द ब्रुटालिस्टमा एआईले उत्पन्न गरेको हंगेरियन संवाद प्रयोग भएपछि पनि ठूलो बहस भएको थियो ।
यता टिलीका बारेमा जब चर्चा उठ्न थाल्यो र भटाभट फिल्मकर्मीहरूले सामाजिक सञ्जालमा टिप्पणी गर्न थाले, टिलीकी सर्जक भान डर भेल्डेनले आलोचकहरूलाई इन्स्टाग्राममार्फत जवाफ दिन थालिन् । उनको भनाइ छ, ’टिली मानवको विकल्प कदापि होइन । ऊ त एउटी कलात्मक सिर्जना हो । उसले एआई र अभिनयका बारेमा बहस जन्माई र त्यो नै सृजनशीलताको प्रमाण हो ।’
‘टिली सिर्जना गर्नु मेरो लागि चित्र बनाउने शोख वा पात्र लेख्ने रहरजस्तै हो । यसमा समय, सीप र कल्पनाशक्ति लाग्छ,’ सर्जक भेल्डेनको भनाइ छ ।
टिली नर्वुडको आफ्नै इन्स्टाग्राम अकाउन्ट पनि छ । उक्त अकाउन्टमा टिलीले कफी पिउँदै, सपिङ गर्दै र नयाँ प्रोजेक्टको तयारी गर्दै गरेको देखिन्छ । इन्स्टामा उनका हाल ३३ हजारभन्दा बढी फलोअर्स छन् ।
उनको एउटा पोस्टमा लेखिएको छ, ‘हालै केही स्क्रीन टेस्ट गर्न पाउँदा निकै रमाइलो लाग्यो । हरेक दिन मलाई ठूलो पर्दाको नजिक पु¥याइरहेको महसूस भइरहेको छ ।’
हलिउडमा अहिले ठूलो प्रश्न उब्जिएको छ, कला के हो ? मानवले सिर्जना गरेको संवेदना कला हो कि कम्प्युटरले गणना गरेको परिपूर्णतालाई कला भन्ने ?
‘एआई अभिनेत्री’ टिली नर्वुडले हलिउडमा जे ल्याइन्, त्यो एउटा पात्र मात्र होइन । सृजनशीलताको आत्मा र प्रविधिको टकराव पनि हो । र, शायद यहीँबाट शुरु हुन्छ एउटा नयाँ अध्याय । त्यस अध्यायमा अभिनय मात्र होइन, अभिनेता को हो भन्ने प्रश्न पनि फेरि लेखिँदैछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
८ कार्तिक २०८२, शनिबार 










