विगत तीन दशकसम्म संसारमा अमेरिकाको एकध्रुवीय प्रभुत्व रहेकोमा विश्व क्रमशः बहुध्रुवीयतातर्फ बढिरहेको बेलामा अहिले संक्रमणकालीन रूपमा द्विबहुध्रुवीयताको स्थिति बनेको छ । विपरीत दुई ध्रुवमा सबभन्दा बढी प्रभाव पार्ने मुलुकहरूमा एकातिर अमेरिका छ भने अर्कोतिर चीन छ । यी दुई महाशक्तिहरूका बीच तीव्र प्रतिस्पर्धा भइरहेको छ भने आर्थिक सम्बन्ध चाहिँ मजबुत अवस्थामै छ ।

त्यसो त अमेरिकाले चीनलाई आफूसरहको प्रतिस्पर्धीका रूपमा अर्थ्याएर चीनको उदयलाई रोक्नका लागि विभिन्न प्रयास गरिरहेको छ । तर अमेरिकाका पूँजीपतिहरू चीन जस्तो ठूलो बजार गुमाउने गरी सम्बन्ध बिग्रन नहुनेमा जोड दिइरहेका छन् । अर्बपति इलोन मस्कले गत जुन महिनामा चीनको भ्रमण गर्दा चिनियाँहरूले न्यानो स्वागत गरेको यहाँ स्मरणीय छ । त्यस्तै वैश्विकताका पक्षधर अमेरिकी व्यापारीहरूले अमेरिकाका प्रखर कूटनीतिकर्मी हेनरी किसिन्जरलाई यसै साता चीन पठाएर दुई देशबीचको सम्बन्ध बिग्रन नदिनका लागि प्रयत्न गरेको देखिन्छ ।

राजनीतिमाथि व्यापार हावी हुन खोजेको यो दृष्टान्त अमेरिकाको सर्वाधिक चर्चित उत्पादन हलिउडमा पनि लागू हुन्छ । चीनको ठूलो बजारमा निर्बाध पहुँच प्राप्त गर्न पाइयोस् भनी हलिउडका विशाल कम्पनीहरू सदैव सचेत रहने गर्छन् । त्यसैले उनीहरू चीन सरकारलाई चिढ्याउन सक्ने कुनै पनि दृश्य वा संवादलाई आफैं सेन्सर गर्न पछि पर्दैनन् ।

यही विषयमा अमेरिकी पत्रकार एरिक स्वार्जलले रेड कार्पेटः हलिउड, चाइना यान्ड द ग्लोबल ब्याटल फर कल्चरल सुप्रिमेसी नामक रोचक पुस्तक लेखेका छन् । पुस्तकको आरम्भमै उनले हलिउडको सर्वाधिक चर्चित फिल्ममध्ये एक टप गन र त्यसको सिक्वललाई चीनको बजारले कसरी प्रभावित पारेको थियो भनी चर्चा गरेका छन् ।

सन् १९८६ मा टम क्रुजको प्रमुख भूमिका रहेको टप गन सार्वजनिक हुँदा त्यसमा क्रुजले लगाएको ज्याकेटमा जापान र ताइवानको झण्डा कुँदिएको देखाइएको थियो । अमेरिकाले पश्चिमी प्रशान्त क्षेत्रमा रहेका आफ्ना साझेदारलाई फौजी सहयोग गर्ने सन्देश त्यसले दिएको थियो । त्यतिखेर चीनको बजार हलिउडका लागि पूरै खुला भइसकेको थिएन । त्यसैले चीनलाई चिढ्याउन सक्ने गरी ताइवानको उल्लेख गर्न हलिउड नहिचकिचाएको हो ।

तर सन् २०१९ मा आएको उक्त फिल्मको सिक्वल टप गनः मेभरिकमा क्रुजको ज्याकेटमा जापान र ताइवानको झण्डा भेटिँदैन । त्यो फिल्म चीनको बजारमा बिकाउनुपर्ने भएकाले हलिउडले आफैं ती दुई देशको झण्डा हटाइदिएको थियो । हलिउडको स्वतन्त्रता (वा स्वच्छन्दता) मा चीनको बजारले लगाम लगाएको यस्ता कैयौं दृष्टान्त पुस्तकभरि उल्लेख गरिएका छन् ।

सन् १९९० को दशकमा आएका दुई हलिउड फिल्म कुन्दुन र सेभेन ईयर्स इन टिबेटले चिनियाँहरूलाई व्यापक रूपमा चिढ्याएको थियो । तिब्बती धर्मगुरु दलाई लामालाई ग्लोरिफाई गरिएको भन्दै चिनियाँ अधिकारीहरूले ती दुवै फिल्ममा प्रतिबन्ध लगाएका थिए । त्यसपछि डिज्नी र सोनी कम्पनीका कार्यकारीहरूलाई चिनियाँ फकाउन निकै पापड बेल्नुपरेको थियो । डिज्नीका प्रमुख कार्यकारी अधिकृत माइकल आइस्नरले चीनको भ्रमण गरी चिनियाँहरूसँग बारम्बार माफी मागेको स्वार्जलले पुस्तकमा विस्तृत रूपमा वर्णन गरेका छन् ।

त्यसपछि अमेरिका र चीनको राजनीति चिसिएको प्रत्येक अवसरमा त्यसको नकारात्मक असर हलिउडलाई परेको स्वार्जल लेख्छन् । सन् १९९९ मा अमेरिकाले युगोस्लाभियामा रहेको चिनियाँ दूतावासमा क्षेप्यास्त्र प्रहार गरी चिनियाँहरूको ज्यान लिएपछि चीनले ६ महिनासम्म हलिउड फिल्महरूमा प्रतिबन्ध लगाएको थियो ।

माओको निधनपछि तङ स्याओपिङको शासनकालमा चीनले क्रमशः हलिउड फिल्महरूलाई आफ्नो बजारमा प्रवेश गर्न दिएको भए पनि सन् १९९० को दशकमा कोटा तोकिदिएको थियो । सन् १९९४ मा गरिएको एक सम्झौताअनुसार, वर्षमा १० वटा हलिउड फिल्म चीनको बजारमा सार्वजनिक गरिन थालेका थिए । अहिले चाहिँ वर्षमा ३४ वटा हलिउड फिल्म चीनमा सार्वजनिक हुन्छन् ।

विदेशी संस्कृतिको प्रभाव चिनियाँ जनतामा नपरोस् भनी चीनले यसरी कोटा प्रणाली अपनाएको हो । त्यसका साथै चीनले हलिउडलाई कस्तो विषयमा बनेका फिल्म चल्न नदिने भनी सूची नै थमाएको थियो । भूतप्रेतको कथा भएको, इतिहास वा भविष्यमा यात्रा गरेको (टाइम ट्राभल), चीनको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने (ताइवान, तिब्बत) लगायतका कथा भएका चलचित्र बनाउन नपाइने भनी चिनियाँ अधिकारीहरूले स्पष्ट निर्देशन दिएका थिए ।

चीनको उक्त निर्देशनको पालना गर्ने क्रममा रेड डन नामक फिल्मको सिक्वलले खेप्नुपरेको हैरानीका विषयमा स्वार्जलले रोचक वर्णन गरेका छन् । उक्त फिल्ममा अमेरिकामाथि चीनले आक्रमण गरेको अनि किशोरहरूको समूहले त्यसको प्रतिकार गरेको कथा छ । त्यस्तो फिल्म बनेपछि हलिउडका कुनै पनि ठूला स्टुडियोले किन्न मानेनन् किनकि उनीहरूलाई चिनियाँ चिढ्याएर बजार बिगार्नु थिएन । त्यसपछि एमजीएम स्टुडियोले चीनको साटो उत्तर कोरियालाई खलनायक बनाउने गरी सबै दृश्य सम्पादन गर्न लगाएको थियो र त्यो निकै झन्झटिलो प्रयास थियो । त्यत्रो दुःख गरेको फिल्म सुपरफ्लप भयो ।

चीनसँग सरोकार नराखी अन्य विषयमा बनाइएका फिल्महरूमध्ये अत्यधिक पैसा कमाउने पहिलो हलिउड फिल्म टाइटानिक थियो । त्यसपछि हलिउडका ठूला स्टुडियोहरूले बनाएका विशाल बजेटका फिल्मले क्रमशः चीनमा नाफा कमाउँदै गए । तर धेरै पैसा कमाइरहेका कतिपय फिल्मलाई चीनले एकदुई साता मात्र चल्न दिएको उदाहरण पनि स्वार्जलले प्रस्तुत गरेका छन् ।

पुस्तकको पछिल्लो भागमा स्वार्जलले चीनको बजारमा क्रमशः हलिउडभन्दा पनि स्वदेशी फिल्महरूले बढी व्यापार गरेको वर्णन गरेका छन् । वुल्फ वारियर २ र द वान्डरिङ अर्थ जस्ता फिल्महरूले भयंकर व्यापार गरेपछि चीनले आफ्नो बजारमा हलिउडलाई विस्थापित गर्दै जान सकिने अनुभव गर्न थालेको छ । तर हलिउडका कार्यकारीहरू अझै पनि चीनको बजारमा मुनाफा कमाउन सकिन्छ कि चिनियाँ अधिकारीहरूको चाकडी गरेर बसिरहेको स्वार्जल संकेत दिन्छन् ।

आफ्नो बजारमा मात्र सीमित नरही चीनले आफ्ना चलचित्र तथा टीभी कार्यक्रम अन्यत्र पनि प्रसारित गर्न थालेको स्वार्जलले वर्णन गर्न थालेका छन् । अफ्रिकी मुलुक केन्यामा डिश एन्टेनाहरू बाँडेर बेइजिङले केन्यालीहरूलाई चिनियाँ सांस्कृतिक उत्पादनको लती बनाउन थालेको स्वार्जल उल्लेख गर्छन् । अफ्रिकीहरूमाझ अमेरिकी र चिनियाँ सांस्कृतिक उत्पादन दुवैको उपभोग बढिरहेको उनी लेख्छन् । अझ, चीनले कन्जर्भेटिभ मूल्यमान्यता सहितका चलचित्र र टीभी कार्यक्रम बनाउने हुँदा अफ्रिकी अधिकारीहरूले त्यसलाई खुला दिलले ग्रहण गरिरहेको स्वार्जलले जानकारी दिएका छन् ।

त्यसो त अहिले पनि संसारमा हलिउडको जत्ति प्रभाव अरू कुनै पनि फिल्म उद्योगको छैन । अमेरिकी राजनीतिशास्त्री जोसेफ नाईले प्रतिपादन गरेको शब्दावलि सफ्ट पावर हलिउडको प्रभावलाई वर्णन गर्न सटीक ठहर्छ । चीनले पनि त्यही सफ्ट पावरलाई संसारभरि फैलाउन कोशिश गरिरहेको छ ।

सन् २००८ को बेइजिङ ओलम्पिकको भव्य आयोजनामार्फत सफ्ट पावर प्रोजेक्शन गरेको चीन आफ्ना फिल्म र टीभी सिरीजमार्फत त्यसको निरन्तरतामा प्रयासरत छ । यसले हलिउडलाई भविष्यमा कडा टक्कर दिने आकलन स्वार्जलले गरेका छन् । यस्तो अवस्थामा हलिउडले चीनका अगाडि नतमस्तक भइरहनु कत्तिको व्यावहारिक होला भनी उनले बहस जन्माएका छन् ।