पछिल्लो समय हलिउडमा सबैभन्दा बढी व्यापार गरेको फिल्म बार्बी बन्न पुगेको छ । बार्बी फिल्मको चर्चा र लोकप्रियतासँगै सो खेलौना जन्माउने रूथ ह्यान्डलरबारे जान्ने चासो सर्वत्र बढेको छ ।
रूथ स्लेटरद्वारा लिखित ‘बार्बी डेभलपरः रूथ ह्यान्डलर’ पुस्तकका अनुसार अमेरिकाको कोलोराडो राज्यको डेनभरमा जन्मिएकी उनी १० जना सन्तानमध्ये सबैभन्दा कान्छी थिइन् । उनैले बार्बी डलको सोच जन्माएकी थिइन् । यही कारणले उनी संसारभर चिनिइन् पनि ।
रूथका पिता ज्याकोब पोल्यान्डबाट अमेरिका बसाइँ सरेर गएका थिए । जब उनले अमेरिकामा बस्ने ठेगाना पाए, १९०९ मा सबै परिवारलाई आफूसँग लिएर गए । धेरै परिवार पाल्नु पर्ने भएकाले बाउआमाको मिहिनेत अलि बढी नै थियो । यस्तोमा जेठी दिदी साराले रूथलाई पाल्न थालिन् ।
जेठी दिदी सारा र भिनाजू लुईलाई अलि पछि रूथले सघाउन थालिन् । १० वर्षको उमेरदेखि भिनाजूको औषधि पसलमा औषधि बेच्न थालिन् । त्यहीँ सिकेको कलाले उनलाई कुनै सामान बनाउन सक्यो भने बेच्न पनि सकिन्छ भन्ने आत्मविश्वास पलाउन थाल्यो ।
उनको गरिबीका कारण उनले जीवनमा खेलौनासँग खेल्न पाइनन् तर संसारभरका बालिकाहरूलाई खेल्ने एउटा बहाना भने बनाइन् ।
उनले जब बार्बी डल बनाइन्, त्यो बेला यस्ता डल बनाउने कम्पनी धेरै थिए । त्यो बेला टेलिभिजन बुमको बेला थियो । हरकोही टेलिभिजनमा झुण्डिरहेका हुन्थे । टेलिभिजनमा विभिन्न विज्ञापनहरू आउँथ्यो । रूथले त्यहाँ मट्टेल कम्पनीका खेलौनाको विज्ञापन देखेपछि आफूले बनाएका खेलौनाको पनि यस्तै विज्ञापन गर्न पाए हुन्थ्यो भन्ने सोचिन् ।
सन् १९५२ मा जर्मनीको ह्यामबर्गबाट निस्कने अखबारका लागि रेनहार्ड बुथेन नामक कार्टुनिस्टले लिली पात्र बनाएका थिए । त्यो लिली क्लासी थिई, फेसनवल थिई र आकर्षक पनि । त्यहाँ निकै लोकप्रिय भएपछि रेनहार्डले त्यसैको डल बनाएर बेच्न थाले ।
सन् १९५६ मा रूथ जर्मनी भ्रमणमा जाँदा उनले लिली डल किनेर आफ्ना किशोरी छोरीहरूलाई उपहारमा दिइन् । त्यो डल रूथलाई खुब रूच्थ्यो । उनी यस्तै केही बनाएर अमेरिकामा बेच्न चाहन्थिन् ।
१९५९ मार्च ९ मा आयोजित अमेरिकन इन्टरनेसनल टोय फेयरको मेलामा बार्बी पहिलो पटक बेच्न राखियो । यो मेलामा बार्बीको चर्चा खासै भएन । रूथ यसबाट हार मानिनन् । उनले टेलिभिजनमा गज्जबको विज्ञापन बनाएर प्रसारण गर्न थालिन् । यो विज्ञापनले काम गर्यो । एक वर्षमै ३ लाख ५० हजार बार्बी बिक्री भए । संयोग पनि कस्तो भने, त्यो बेलाका चर्चित फिल्म स्टारहरू खासगरी एलिजाबेथ टेलर र मार्लिन मुनरोजस्तै बार्बी पनि सुनौला कपालकी आकर्षक युवती देखिन्थी । यति मात्र होइन, त्यो बेला अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीकी पत्नी ज्याकलिन केनेडी पनि यस्तै आकर्षक देखिन्थिन् । अब त बार्बी, बालिकाहरूको मात्र नभएर युवतीहरूको पनि खेलौना बन्न पुगी । उससँग नखेले पनि घरमा सजावटको सामग्री बन्न थाली ।
सन् १९८० को दशकमा एमटिभी भित्रिएपछि रक गायिकाजस्तै बार्बी बनाउन थालियो । पछि त बार्बीको ब्वाईफ्रेन्डको खेलौना पनि निकालियो र उसको नाउँ राखियो, केन । केन पनि युवतीहरूमाझ निकै लोकप्रिय बन्यो ।
१९९४ मा बार्बी ३५ वर्षको पुगेको अवसरमा विशेष कार्यक्रम गरियो, जहाँ अभिनेत्री क्रिस्टी कुकले बार्बीजस्तै पहिरन लगाएर कार्यक्रममा आएकी थिइन् । सन् २००२ मा उनले अमेरिकी संस्कृतिलाई संसारभर लोकप्रिय बनाएको भन्दै हलिउड वक अफ फेममा स्थान दिइयो । यस्तो अवसर व्यवसायीहरूले दुर्लभै पाउँछन् ।
अहिलेसम्म बार्बीका ५०० भन्दा बढी विविध अनुहार र बान्कीका डल बनाइएको छ । धेरैले आफूलाई डक्टर, इन्जिनियर, शिक्षक, पाइलट मात्र होइन, राष्ट्रपतिको उम्मेद्वार बार्बीका रूपमा समेत डल किनेर घरमा सजाएका छन् ।
अमेरिकामा रूथलाई संस्कृति निर्माताका रूपमा चिनिए पनि जर्मनीमा भने उनलाई आफ्नो बार्बीको नक्कली बार्बी बनाउने चोरका रूपमा धेरैले सम्झन्छन् ।
हालसम्म एक अर्बभन्दा बढीको संख्यामा बार्बी खेलौना बिक्री भइसकेको अनुमान गरिन्छ । रूथ ह्यान्डलरको सन् २००२ अप्रिल २७ मा निधन हुन पुग्यो । पछि सोही नाउँमा बार्बी फिल्म बन्दा उनले सिर्जना गरेको खेलौना जत्तिकै लोकप्रियता हासिल गर्न पुगेको छ ।

जर्मनीमा लोकप्रिय ओरिजनल खेलौना लिली, यसैको नक्कलमा बार्बी बनाइएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










