
रिजी विदरस्पुन हलिउडकी अदाकारा हुन् । अस्कर अवार्ड जितेपछि नेपालजस्तो देशमा सर्वसाधारणले उनलाई चिन्न थालेका हुन् । उनले सन् २००६ र २०१५ मा गरी दुई पटक अस्कर अवार्ड हात पारेकी थिइन् ।
अस्कर अवार्डले उनमा पर्याप्त आत्मविश्वास बढायो । त्यसैले उनले सन् २०१६ मा मिडिया कम्पनी ‘हेल्लो सनसाइन’ स्थापना गरेकी थिइन् । यो कम्पनीले टेलिभिजनहरुलाई विभिन्न कार्यक्रम तथा शृंखला बनाइरहेकी थिइन् । अचेल भने स्ट्रिमिङ कम्पनी एचबिओ, एप्पल तथा हुलुलाई कार्यक्रम बनाएर बेच्ने गर्छिन् ।
पछिल्लो समय पारम्परिक टेलिभिजनको म्याद गुज्रिन थालेको र स्ट्रिमिङको जमाना आएपछि बद्लिँदो रणनीतिका कारण कम्पनीले ठूलो निर्णय लिनुपर्ने भयो । जसका कारण उनको कम्पनी लिटल सनसाइन यतिबेला ९०० मिलियन डलरमा बिक्री गर्ने अन्तिम तयारीमा छिन् ।
ब्ल्याक स्टोन कम्पनीले यसलाई किन्ने मात्र होइन, थप ५०० मिलियन डलर लगानी पनि थप्ने भएको छ । उनले कम्पनी बेच्ने भए पनि बोर्ड सदस्यका रुपमा कम्पनीमा रहिरहने छिन् ।
कम्पनी स्थापनाको समयमा टेलिभिजन शृंखला बनाउन उनले नयाँ नयाँ कथा, नयाँ नयाँ उपन्यास र नयाँ नयाँ सम्भावना खोज्नुपर्ने आवश्यकताबोध भयो । त्यसैले उनले त्यो बेला यति धेरै किताब पढिन् कि किताबको उरुङ नै लाग्यो । त्यो देखेपछि साथीहरूले के पढिरहेकी छौ भनेर सोध्न थाले । उनले सुझाएका किताब यति भरपर्दा र यति रमाइला थिए कि साथीभाइ बढीभन्दा बढी उनकै भर पर्न थाले ।
यत्तिकैमा उनलाई आइडिया फुर्यो, किन एउटा बुक क्लब नबनाउने ! यसपछि उनले ‘रिजिज् बुक क्लब’ स्थापना गरिन् । यसको उद्देश्य साथीभाइलाई पुस्तकबारे जानकारी दिनु थियो । साथीभाइमा मात्र किन सीमित गर्ने उसो भए ? यसपछि तयार भयो, एउटा बुक सो अर्थात् किताबमाथि छलफल कार्यक्रम ।
सीमित मानिसहरु भेला भएर लेखकसँग गरिने यो अन्तरक्रिया यति सफल भयो कि त्यसमा पर्न र पार्न लेखक, प्रकाशकहरूले नयाँ नयाँ प्रस्ताव राख्न थाले ।
यसका लागि उनले एउटा सीमा चाहिँ राखेकी थिइन् । यस क्लबमा लेखिका मात्र सहभागी हुनेछन् र ती उपन्यास नारी केन्द्रित हुनु आवश्यक छ ।
उनको यो बुक क्लब हिट भयो । संसारभर उनको क्लबको प्रशंसक बन्न पुगे । यो क्लबको गठनपछि उनले अनिवार्य रुपमा पुस्तक पढ्नुपर्ने, पढ्न नभ्याउँदा पढिदिने मान्छे राख्नुपर्ने, पढिसकेपछि राम्रा पुस्तकका लेखिकालाई उनको हलिउडस्थित कार्यालयमा निम्त्याई छलफल कार्यक्रम गर्नुपर्नेजस्ता अनेकन् कार्यक्रमले उनलाई व्यस्त बनाइराखेको छ ।
एक त उनको आफ्नो फिल्म तथा टेलिभिजन कार्यक्रम उत्पादन गर्ने कम्पनी छ । तिनका लागि सधैँभरि राम्रा कन्सेप्ट, आइडिया तथा कथाहरू चाहिन्छन् । बुक क्लबले ती आवश्यकता सधैँ पूरा गर्ने गरेको छ । अर्को चाहिँ टेलिभिजन वा फिल्मका लागि जुन पुस्तकमा आधारित हुन्छ, त्यो पुस्तकको अधिकार हात पार्न बुक क्लबले ठूलो भूमिका खेलेको छ । यो क्लबले ती लेखक वा उपन्यासमाथि प्रभावशाली तरिकाले छलफल नै चलाउँछ । यति भइसकेपछि त्यो उपन्यासमाथि बनाइने कार्यक्रमप्रति सर्वसाधारणको यति चासो हुन्छ कि ती प्रायः हिट हुने सम्भावना बढी हुन्छन् ।
[embedyt] https://www.youtube.com/watch?v=QYB6Ad3hIX4[/embedyt]
यसरी रिजीले एउटा यस्तो कम्पनीचक्र उभ्याइन्, जसको बजार मूल्य निकै बढ्यो । त्यसै लगानीकर्ताले उनको कम्पनीमाथि करोडौँ डलर लगानी गर्न खोजेको होइन ।
मान्छेले आफूले जानेको व्यापार गर्नुपर्छ । त्यो व्यापारलाई राम्रो तरिकाले व्यवस्थापन गर्न सक्यो भने व्यक्तिगत फाइदा मात्र होइन, समाजका लागि समेत योगदान हुन्छ भन्ने उनको यो उदाहरणबाट बुझ्न सकिन्छ ।
उनको कम्पनी चलाउने शैलीबाट थाहा हुन्छ, भलै उनलाई कम्पनी चलाउन धेरै प्राविधिक जानकारी नहोला, तर उनले आफूलाई चाहिने कच्चा पदार्थको जोहो कसरी गर्ने, त्यसलाई मथेर कसरी नौनी निकाली कार्यक्रम बनाउने र त्यो बनाएको कार्यक्रमबाट कसरी फाइदा लिने भन्ने उदाहरण पेश गरेकी छन् ।
धेरै कलाकारले मेरो काम अभिनय मात्र गर्नु हो भन्ने ठान्छन् । अभिनय त काम पाउञ्जेल गर्ने हो तर अभिनयको व्यापार शृंखला बनाउन सक्यो भने आफूले अभिनय त गरिन्छ नै सँगैमा अरुलाई पनि अभिनय गराउने बाटो बनाइन्छ भन्ने उदाहरण उनले देखाएकी छन् ।
[embedyt] https://www.youtube.com/watch?v=p615Vou8Mm4[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

