माथिको चित्र हेर्नुभयो भने कुनै चित्रकारले सयौँ वर्षअघि बनाएको चित्रजस्तो लाग्ला तर होइन । यो त अहिलेको अहिले नै तपाईंले १९ औँ शताब्दीको शैलीमा एउटा पोट्रेट बनाऊ भनेर आदेश दिनुभएलगत्तै बन्ने चित्र हो । हजुर, यो आर्टिफिसियल इन्टेलिजेन्सले बनाएको चित्र हो । यसलाई टेक्स्ट टु पिक्चर पनि भनिन्छ । यसरी नै अब टेक्स्ट टु भिडियोको जमाना पनि केही वर्षभित्र सामान्य हुने दिन आउँदैछ ।
कसैले नबनाएको फिल्म हेर्न मन छ भने आफैँले बनाउनू भन्ने कथन अब वास्तविकतामा परिणत हुने सम्भावना बढेर गएको छ ।
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बुद्धिमता यति बढेको छ कि तपाईंले उसलाई शब्दमा कुनै आदेश दिनुभयो भने उसले तस्बिर वा भिडियोमा व्याख्या गर्नुभएको दृश्य खिचेर दिनेछ । यस किसिमको प्रविधि अहिले केही महँगो भए पनि भविष्यमा यति सस्तो हुनेछ कि तपाईंले घरैमा आफ्नो कम्प्युटरलाई दिएको आदेशका आधारमा भिडियो क्लिपहरूको शृंखला तयार पारी आफैँले फिल्म बनाउन सक्नुहुन्छ ।
यस कार्यका लागि फेसबुकको मेटा कम्पनीले मेक अ भिडियो भन्ने सफ्टवेयर तयार पारिरहेको छ । यस्तै गुगलले पनि इमाजेन भिडियो बनाइरहेको छ । यसले अबका केही वर्षभित्रै सिर्जनशील कार्य-व्यापारमा ठूलो परिवर्तन आउने देखिएको छ ।
यसको भविष्य देखिरहेको माइक्रोसफ्ट पनि किन पछि परोस् ? उसले पनि डेल इ २ नामक एउटा नमुना सफ्टवेयर निर्माण गरेको छ र यो माइक्रोसफ्ट अफिसमै उपलब्ध हुनेछ । यो त भयो ठूला कम्पनीका कथा, साना कम्पनी पनि यसमा कम देखिएका छैनन् । साना कम्पनीहरूले ओपन सोर्स प्रयोग गर्दै यस्तो कार्यलाई गति दिइरहेका छन् । तीमध्ये पनि बेलायतको लन्डनस्थित स्टाबिलिटी एआई नामक कम्पनीले बनाएको स्टेबल डिफ्युजन सफ्टवेयरले आउँदा दिनमा तहल्का मच्चाउने केहीको दाबी छ ।
प्रायः फेसबुकको मेटा, गुगलको अल्फाबेट र माइक्रोसफ्टजस्ता कम्पनीले एक किसिमको बन्द सफ्टवेयर बनाउने गरेका छन् । पूरापूर सफ्टवेयर तयार भएपछि उनीहरूले बजारमा लैजाने गर्छन् तर स्टेबल डिफ्युजनको सफ्टवेयर भने खुला छ । यसलाई सित्तैमा प्रयोग गर्न सकिन्छ र यस्ता सफ्टवेयर जति बढी मानिसले सित्तैमा प्रयोग गर्न थाल्छन्, यसको स्तरीकरण अझ बढ्दै जान्छ । यसले सफ्टवेयरमा भएका कमीकमजोरी घट्दै जान्छन् ।
अहिलेलाई तपाईंले एआईले बनाउने कुनै पनि भिडियोलाई पाँच सेकेन्डभन्दा बढी बनाउन सक्नुहुन्न । त्यसको स्तर पनि मोबाइलमा हेर्न मिल्ने वा ठीकै गुणस्तरको भिडियो हुनेछ । अनि, यिनलाई दिइएका आदेश (इन्स्ट्रक्सन) एआईले नबुझेर अर्कै तस्बिर वा भिडियो बन्ने सम्भावना पनि हुन्छ वा त्यो भिडियो सोचेजस्तो नहुन पनि सक्छ तर यो शुरूवात मात्र हो भन्ने बुझ्न जरूरी छ ।
त्यसो त यसरी बनेका भिडियो भने इन्टरनेटको सञ्जालमा पहिल्यै तयार पारिएका भिडियोको सूचनाबाट तयार पारिने हुनाले यसमा धेरै अस्पष्टता, दुविधा, कहिलेकाहीँ गलत, नैतिक रूपमा अमिल्दो र अन्य धेरै कुराहरू हुनसक्ने फेसबुकको एआईमा काम गरिरहेका देवी पारिखको धारणा छ । यसमा कार्नेगी काउन्सिल अफ इथिक्स इन् इन्टरनेसनल अफेयर्सका प्रमुख आर्थर हल्यान्ड माइकल पनि समहमत छन् ।
यी समस्या समाधानका लागि पनि काम भइरहेको र भरसक विभेदजन्य कुराहरू नआओस् भन्नेमा विज्ञटोलीहरू सचेत छन् । खासगरी दमाई, कामी, काले वा यस्तै अरूलाई होच्याइने शब्द र त्यसको प्रयोगबाट तयार भएका भिडियो कुनै खास समुदायका लागि निकै नै पीडादायी हुनसक्छन् । त्यस्तो नहोस् भन्नेमा सचेत हुनुपर्ने देखिन्छ ।
यसअघि डिप फेकको निकै ठूलो डर र आशंका गरिँदै थियो । डिप फेक भनेको कुनै प्रख्यात व्यक्तिको एआईले बनाएको भिडियो भन्ने जनाउँछ । सक्कली व्यक्तिका सारा भिडियो विश्लेषण गरेर एआईले बनाउने नयाँ भिडियो र त्यसमा बोलिने कुरालाई साँचो वा झूटो खुट्याउने कुनै पनि आधार नहुने हुनाले त्यसको दुरूपयोग हुने सम्भावना तीव्र रहेकाले धेरैले यस किसिमको एआई निर्मित भिडियोले संसारलाई नै दुःख दिने आशंका गरिएको थियो । हालसम्म भने त्यस्ता भिडियो बजारमा आएका छैनन् तर नआउला भन्न सकिन्न ।
तर अबका केही वर्षहरूमा त्यस्ता भिडियो बन्ने, बनाउने र सस्तो मोडल बजारमा छाउने सम्भावनालाई नकार्न सकिँदैन । यस्तो अवस्थामा केही सेकेन्डमा नै कसैको छवि धुमिल्याउन कुनै आइतबार कुर्नुपर्ने छैन । यस्तोमा सचेत हुनुपर्ने भने देखिँदै गएको छ ।
एआईले बनाउने भिडियोका लागि तपाईं प्रविधिमा पोख्त भइरहनु पर्दैन । मात्र तपाईंले लेखेका आदेश सही हुनुपर्छ । त्यो सही भयो भने तपाईंको भिडियो हेर्दैको आकर्षक र विश्वसनीय हुनेछ ।
मानौँ, भोलिका दिनमा भिडियोको गलत उपयोगविरूद्ध कडा कानुन बन्यो, मानिसले त्यस्ता भिडियो बनाएनन् रे तर मान्छेलाई व्यंग्य कस्न कुनै कसर छाड्दैन । सन् २०१९ ताका अमेरिकी सिनेटर न्यान्सी पेलोसी लर्खराउँदा उनको सो भिडियोलाई रक्सी खाएर लर्खराएकी भनी बहुप्रचारित गरियो । त्यो बेला उनले रक्सी खाएकी थिइनन् । मात्र लडखडाएकी थिइन् तर सो भिडियो भाइरल बन्न पुग्यो । यस्ता भिडियोलाई बिनासित्तीमा भाइरल बनाइन्छ वा बन्न पुग्छ । यसलाई रोक्ने कुनै उपाय नै छैन । यसका लागि बस्, सर्वसाधारण आफैँ सचेत हुनुपर्छ ।
तर एउटै भिडियो कसैका लागि रोचक, हास्यप्रद र सेयरयोग्य लाग्छ भने त्यही भिडियो अरूका लागि अपाच्य हुनसक्छ ।
एआईले बनाएका भिडियोहरू जसलाई टेक्स्ट टु भिडियो पनि भनिन्छ, यिनले सिर्जनशील संसारमा भने आनका तान परिवर्तन ल्याउने सम्भावना छ । सँगैमा यसले कपिराइटको संसारमा धेरै झमेला पनि भित्र्याउने आशंका यसै बारेमा वकालत गरिरहेका गोलिङ डब्लुएलजी नामक संस्थाका प्रमुख म्याट हर्भेको धारणा छ ।
पछिल्लो समय च्याटजेपिटीमा देखिएको चासो, जिज्ञासा र छलफलले भविष्यको संसार भनेको एआईद्वारा निर्मित हुने भिडियो कस्तो होला भन्ने एउटा बाटो पनि देखाएको छ । अबको भिडियोको संसार परिवर्तन हुने पूरापूर सम्भावना देखिएको छ ।
एलेक्स विल्किन्सको रिपोर्ट
न्यु साइन्टिस्टबाट साभार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।