अनुहार

मूलः हाइनरिख ब्योल
अनुवादः गोविन्द गिरी प्रेरणा

बन्दरगाहमा उभिएर म समुद्री चराहरू हेरिरहेको थिएँ । तिनीहरू पानीमा डुबुल्की मार्दै प्रफुल्ल भएर पखेटा फटफटाउँदै थिए ।
एउटा चरा निकैबेरदेखि पानीमा डुबुल्की मारिरहेथ्यो । पहिला ऊ जोडसँग माथि उठ्‌थ्यो र फेरि पानीमा डुबुल्की मारिसकेपछि पखेटा समेट्‌दथ्यो । त्यो हरेकपल्ट आकाशतर्फ यसरी झम्टन्थ्यो, मानौं कुनै चिज खोजिरहेछ । मलाई इच्छा लाग्यो – कतै एउटा रोटी पाउनु पाए टुक्रा पारेर यसलाई खुवाउने थिएँ । यसको साथै अरु चराहरूलाई पनि ताकि सबैलाई उड्‌ने एउटै बाटो मिलोस् । तर म स्वयं भोको थिएँ, एकदम ती चराहरू झैं नै र थकित पनि थिएँ। रित्तो खल्तीमा हात हालेर मैले ती चराहरूलाई हेरें । दुःखले मेरो मन भरियो । मलाई लाग्यो, कसैले मेरो काँध माथि हात राखेको छ । पछाडि फर्कें एउटा प्रहरी थियो ।

मैले काँधबाट हात हटाउने कोशिश गरें।

“कामरेड !” उसले मेरो काँधलाई कसेर समात्यो!

“साहेब!” मेरो मुखबाट निस्क्यो।

“अब कोही पनि साहेव-लाहेव छैनन् । हामी सबै कामरेड हौं !

“तर मेरो गल्ती ?”

“गल्ती ?” ऊ हाँस्यो र भन्न थाल्यो, “तिम्रो अनुहार ! तिम्रो उदास अनुहार !” मैले आफ्नो हाँसो रोक्न सकिनँ ।

“लौ… यो हाँस्ने कुरा हो?” उसको मुख रिसले तमतमायो ।

पहिला त मैले सोचें – शायद ऊ बोर भइरहेछ अथवा आज उसले कुनै पेशेवार रण्डी भेटेन या गल्लीमा धुत्त कुनै जँड्याहा अथवा कुनै चोर पाकेटमार पक्डाउमा परेन । तर मैले राम्ररी हेरें – ऊ साँच्चै क्रोधित छ । मलाई गिरफ्तार गर्न चाहन्छ ।

उसले मेरो बायाँ हातमा हतकडी लगाइदियो । फलामको सिक्रीको आवाजले मलाई यस्तो लाग्यो – अब म बरबाद भएँ। खुल्ला आकाशमा उडिरहेका चराहरूको तर्फबाट आँखा पानीमा गएर रोकियो। पुलिसको चङ्गुलमा पर्नु र फेरि जबरजस्ती मार खाएर काल कोठरीमा सड्नु, डुबेर मर्नुभन्दा ज्यादा भयावह छ । उसले मलाई एक झड्कामै आफूतिर तान्यो ।

“तर मेरो गल्ती नै के छ र ।” म हक्क न बक्क भएँ।

“कानून बमोजिम सबै मानिसले सधैं खुशी भइराख्नु पर्छ।”

“म खुशी नै छु !” मैले आफ्नो सम्पूर्ण शक्ति लगाएर भनें ।

“गलत ।”

“तर मैले यस्तो कानून त कहिल्यै सुनेको थिइनँ ।’

“कसरी सुनेनौ ? यो लागू भएको छत्तीस घण्टा नाघिसक्यो। घोषणा भएको चौबीस घण्टापछि प्रत्येक कानून व्यवहारमा आउँछ ।”

“तर मलाई यसको बारेमा पटक्कै थाहा छैन ।”

“यो घोषणा सबै अखबारमा प्रकाशित गरिएको थियो । लाउड स्पिकरबाट सुनाइएको थियो । मेरो कामरेड ! बितेको चौबीस घण्टा तिमी कहाँ थियौ ?”

अब ऊ मलाई धक्का दिएर लैजाँदै थियो। मलाई असाध्य जाडो लागिरहेथ्यो र भोक पनि । उसले मलाई हे-यो । फाटेका पुराना कपडा । झ्यापुल्ल दारी। जबकि सबै कामरेडलाई राम्रो कपडा लगाउन नियमानुसार जरुरी थियो ।
सडकमा हिंडिरहेका सबै मानिसका अनुहार‌मा उमङ्गको मुकुण्डो लगाइएका थिए। मैले त्यो पनि देखें- पुलिसको अनुहार देख्नेबित्तिकै यी मुकुण्डाहरू अझ बढी चम्कन्थे ।

मैले देखिरहेथें – सबै मानिस अत्यन्त चातुर्यपूर्ण तरिकाले हामी छेउ‌बाट हिंडिरहेका थिए। तिनीहरू यस्तो कोशिशमा थिए कि जति सक्यो उति छिटो कुनै घर, गोदाम अथवा कुनै कारखानामा लुक्न पाइयोस् र पुलिसका वक्रदृष्टि ती माथि नपरुन् !

केवल एकपल्ट – जब हामी एउटा चौबाटोमा पुग्यौं, त्यहाँ हाम्रो जम्काभेट एउटा अधवैसेसँग भयो । उसको अनुहार देख्नेबित्तिकै मैले जानिहालें – ऊ एउटा स्कूलको शिक्षक हो। यस्तो स्थितिमा उसले किनारा काट्‌नै मिल्दैनथ्यो र कानून बमोजिम उसले निकै आदरसँग प्रहरीलाई अभिवादन ग-यो । फेरि आफ्नो कर्तब्य अनुसार मेरो मुखमा तीनपल्ट थुक्यो र भन्यो- “राष्ट्रद्रोही सुँगुर !” नियमानु‌सार उसले सबै काम सम्पन्न गरेको थियो । तै पनि म देख्दै थिएँ, उसको स्वर सुकेको थियो । कानून बमोजिम मैले पनि क‌मिजको बाहुलाले थुक पुछ्‌ने कोशिश गरें । …. एउटा चर्को मुड्‌की मेरो पिठ्यूँमा बज्रियो । र ‘पहिलो कदम’… अर्थात कुरो प्रष्ट थियो कि यो मेरो दण्डको पहिलो नमूना थियो ।

त्यो स्कूलको शिक्षक छिटो छिटो हिंडेर ओझेल भएको थियो । बाँकी बाटोमा सबै मानिसहरू तर्केर गए र त्यो ठाउँ आइपुग्यो जहाँ मलाई लैजानु थियो । एउटा बिगुल बज्यो । मलाई लाग्यो मजदुरहरूको छुट्टी हुँदैछ र तिनीहरू आफ्नो अनुहार खुशी देखाउन हात मुख रगडी रगडी धुनेछन् । कारखानाबाट बाहिर निस्कँदा तिनका अनुहारमा सन्तोषको भाव हुनुपर्नेछ । ज्यादै प्रसन्न पनि हुनुहुने छैन । नत्र तिनीहरुलाई कामबाट छुट्टी भएको भएर खुशी भएको ठानिनेछ । केवल कारखाना जाने बेलामा मात्र ज्यादै खुसी हुने होइन, बाटोमा हिंड्‌दा हिंड्‌दै तिनीहरूले गीत पनि गाउनुपर्छ ताकि यो थाहा होस् – उनीहरुलाई काममा जाने उत्साह छ ।

तर एउटा कुरा के राम्रो भयो भने यो विगुल छुट्टी हुनुभन्दा दस मिनेटअघि बजाइएको रहेछ ताकि मानिस साबुनले हात‌मुख धोएर तयारी गर्ने अवसर पाऊन् । नत्र भने एक समूह भएर आएका ती मजदुरहरूले कानून बमोजिम एक समूह तीन तीनपल्ट थुक्थे ।

एउटा रातो ईंटाको घर जस‌को मूल ढोकामा दुई सिपाही पहरा दिइराखेका थिए- मलाई त्यहाँ लगियो । सबभन्दा पहिले कानून बमोजिम मलाई गोद्नसम्म गोदे । मेरो कन्चटमा बन्दुकका कुन्दाले हिर्काए ।

कोठाभित्र एउटा टेबुल, त्यसमाथि टेलिफोन र दुई कुर्सी सिवाय त्यहाँ अर्थोक केही थिएन । कोठाको बीचमा म उभिएको थिएँ । टेवुल छेउको कुर्सीमा फलाम‌को टोपी लाएको एउटा अर्को मानिस बसेको थियो। त्यसको पछाडिबाट एउटा अर्को मानिस आयो र चुपचाप अर्को कुर्सीमा बस्यो ।

तिनीहरूले मलाई सोधपुछ गर्न थाले-
“व्यवसाय !”

“साधारण !”

” जन्म ?”

“१-१-०१”

“बितेका दिनका विवरण?”

“कैदी।”

दुवैले एक अर्कालाई हेरे।

“कहाँ र कहिले?”

“कारागार नं १२, कोठा नं १३०… हिजै छुटेको थिएँ !”

“रिहा भएको कागज खै?”

मैले रिहा भएको सबै कागजपत्र खल्तीबाट निकालें र तिनीहरूको अघि राखिदिएँ ।

“यो कैदको अपराध के थियो ?”

“मेरो खुशी अनुहार !”

दुवैले फेरि एकपल्ट एक अर्कासँग हेराहेर गरे र भने, “सफासँग भन !”

“त्यतिबेला कुनै ठूला हाकिमको मृत्यु भएको थियो र राज्यमा शोक मनाउने सरकारी आदेश थियो तर एउटा सिपाहीको दाबी थियो- त्यतिबेला मेरो अनुहार दुःखी थिएन।”

“सजायको अवधि ?”

“पाँच वर्ष!”

जबरजस्ती मार ख्वाएपछि फेरि मलाई नयाँ सजाय सुनाइयो- “दस वर्ष !”

खुशी अनुहारको कारण पाँच वर्षको सजाय पाएको थिएँ, अब दुःखी अनुहारले दस वर्ष ! अब म सोचिरहेछु जब म जेलबाट छुट्‌नेछु त्यतिबेला मेरो कुनै अनुहार नै नहोस् – न सुखी, न दुःखी !

०००