उनी प्रभु हुन् । उनी प्रभु होइनन् ।
नजिकबाट चिन्नेहरु र निकटकाहरु सबले उनलाई प्रभु भन्ने गर्छन् । उनी पनि निकटकाहरुलाई प्रभु भन्दछन् । यो सम्बोधनले उनको परिचय दिन्छ । एक प्रकारले प्रभु भन्ने बित्तिकै प्रभुका निकटतम सबले बुझ्दछन् कसलाई प्रभु भनेको हो ।
उनी हुन्, वियोगी बुढाथोकी ।
शिवपुरी सन्देशका सम्पादक ।
६ थान कविता सङग्रहका कवि ।
४ थान गजल सङ्ग्रहका गजलकार ।
३ थान मुक्तक सङ्ग्रहका मुक्तककार ।
पछिल्लो चरणमा लगातारजसो प्रकाशित ३ थान नियात्रा पुस्तकहरुका नियात्राकार ।
तर खासमा उनी वियोगी बुढाथोकी हुन् पनि होइनन् पनि । हुन् यसकारण कि उनी वियोगी बुढाथोकी लेख्छन्, हैनन् यसकारण कि उनी खासमा सीताराम बुढाथोकी हुन् ।
मेरा साहित्यिक मित्रहरुमा दिवङ्गत विनय रावलपछि काङ्ग्रेस पार्टीलाई मूल मझेरी ठान्ने दोश्रा मित्र कवि हुन् उनी । विनय रावल गैर काङ्ग्रेस साहित्यकारप्रति उति सहनशील थिएनन्, वियोगी चाहिँ त्यस्ता होइनन् । मित्रतामा अरुलाई पनि अटाउने फराकिलो मन र हृदय छ उनको । त्यसले उनको मित्रताको आयतन फराकिलो पार्दछ । तर प्रजातन्त्रवादी लेखकको कित्ता छुट्ट्याउने, त्यसको विशेषाङ्क निकाल्ने कामले भने बेलाबखत त्यो आयतनलाई खुम्च्याइदिन्छ ।
साहित्यकै कारणले परिचय भयो हाम्रो । वसउठ भयो हाम्रो । खानपान भयो हाम्रो । घुमफिर भयो हाम्रो । आउजाउ भयो हाम्रो ।
त्यसमा जोडियो जागिरे जीवन पनि ।
म त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालयको आन्तरिक लेखा परीक्षक । उनी चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रशासनका अधिकृत । अफिसको कामको सोझै सम्बन्ध त थिएन । तर महाराजगञ्जमा चिकित्सा शास्त्र अध्ययन संस्थान र अन्तर्गतका शिक्षण अस्पताल र अन्य कार्यालयहरुको लेखा परीक्षण गर्न जाँदा भेट हुने र भेट गरिने सिलसिला चल्दथ्यो । उनले “शिवपुरी सन्देश” पत्रिका प्रकाशन थालिसकेका थिए । भेट्ने बित्तिकै रचना मागिहाल्दथे । म पनि दिइहाल्थें । उनी छापिहाल्थे ।
त्यतिखेर “शिवपुरी सन्देश” गतिलो साहित्यिक पत्रिका लाग्दैनथ्यो । गेटअप विरक्तलाग्दो हुन्थ्यो । कभर पनि यस्तै उस्तै । कारण के रहेछ भने पत्रिकाका सामाग्री टाइप गर्नेदेखि पेज सेटिङ आफ्नै अफिसबाट आफैं गर्दा रहेछन् । अनि त “व्यावसायिक लुक” देखिने कुरै भएन । पछिपछि सुध्रँदै गयो ती पुराना अङ्कहरु सङ्घर्षका शुरुवातका दिनका ऐतिहासिक अङ्कहरु हुन पुगे ।
त्यतिबेला घरघरमा कम्प्यूटर राख्न सकिने बेला थिएन । ल्यापटप त आइसकेकै थिएन ।
वियोगीले मेरो अन्तर्वार्ता लिएका छन् शिवपुरी सन्देशका लागि । पछि त्यो “कृसु क्षेत्रीको सम्पादनमा प्रकाशित “प्रश्नै प्रश्नका वीच प्रेरणा” मा पनि सङ्ग्रहित छ । मैले पनि मिर्मिरेका लागि उनको अन्तर्वार्ता लिएर प्रकाशन गरेको छु ।
एक प्रकारको सुन्दर मित्रता सुरुबाटै निरन्तर भयो । साहित्यिक पनि, व्यक्तिगत पनि ।
एकपल्ट म चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आन्तरिक लेखा परीक्षणका लागि महाराजगञ्जमा कार्यरत थिएँ । उनी त चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको रैथाने भैहाले । त्यसैबीच संस्थानको वार्षिकोत्सव वा कुनै उपलक्षमा संस्थानभित्रका विद्यार्थीहरुको आन्तरिक कविता प्रतियोगिता हुँदै रहेछ । उनले मलाई सो प्रतियोगितामा जजको रुपमा रहिदिन आग्रह गरे । अन्य जजहरुमा उनी बाहेक नविनप्रकाश जङ्ग शाह पनि थिए, जो पछि त्रिविका उपकुलपति पनि भए ।
त्यति मात्र होइन उनले त्रिवि छाडेपछि सुन्दरीजल छेउछाउको नीजि चिकित्सा कलेजमा पनि एकपल्ट जजको रुपमा नकुल सिलवाल र मलाई निम्त्याएका थिए । प्रतियोगिता सकेपछि उनी जरुरी कामले छिटै कतै जानु पर्नेभो । तर उनले हामीलाई यौटा रेष्टुँरामा लगेर यसो आफूले पनि एकाध गिलास वियर पिए अनि हामीलाई ईच्छा लागुन्जेल पिएर जाने व्यवस्था मिलाएका थिए । नकुल र मैले प्रभुको जय होस् भन्दै केही बोतल वियर र स्न्याक्स उदरस्त गरेर रमाउँदै आआफ्नो निवास फर्केका थियौं ।
“प्रभु” वियोगीको थेगो । नाम । उपनाम । उनलाई गरिने सम्बोधन । उनले पनि गर्ने सम्बोधन ।
वियर उनको प्रिय पेय । सामाजिक सञ्जालमा हातमा वियर लिएको थरिथरि ठाउँका, थरिथरिका मुद्राका तस्वीर सार्वजनिक गर्नु उनको रुचि । उनले मदिरापानलाई सिर्जनामा पनि स्थान दिए । उनको मुक्तकै छः
कति कष्टकर दैनिक जिन्दगी जिउँदैछ वियोगी कसैले सोध्दैन
के का कारणले हो दिनहुँ पिउँदैछ वियोगी कसैले सोध्दैन
यता विश्वासले धोका खाएकै कारण मृत्युले पत्रकाटे झैँ लाग्छ
शब्दले घोच्छन् उध्रिन्छ मन केले सिउँदैछ वियोगी कसैले सोध्दैन ।
कविता हो । साहित्य हो । रचना हो । उदात्तता हो । हरेक रचना लेखकको वकपत्र हुन सक्दैन । हरेक रचना उसको आत्मकथ्य हुन सक्दैन । वियोगी मन उध्रेर सिलाउन वियर पिउँछन् भन्ने कसैले विश्वास गर्दैनन् । मगनमस्त भने सबैले देखेको यथार्थ हो ।
सुरुमा कविता, गजलमा र मुक्तकमा हात चलाइरहे पनि वियोगीका रचना खास नोटिस गरिएको थिएन, उनको लेखन निरन्तर र सकृय भए पनि । तर जब उनले “गोपाल र गोपालहरु” कविता श्रृङ्खला सुरु गरे । उनको कवितामा धेरैको ध्यान आकृष्ट भयो । त्यसो त उनी तरलवादी आन्दोलनमा पनि सामेल हुन पुगे । हुन त तरलवादीहरु तीनजना मात्र थिए, फणिन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठ । तर उनीहरु केन्द्रमा बसेर “अरु”लाई पनि त्यस आन्दोलनमा सामेल गराएर समर्थकहरु बढाउन खोजिरहेका थिए । तरलवादका “अरु” मा उनी त्यतिन्जेल सामेल रहे, जतिन्जेल तीर्थ र विनयले एकएक गर्दै सो आन्दोलनबाट अलग हुने निर्णय गरेनन् ।
पछि तरलवादीहरुको समूह विघटन भयो र तरलवादका समर्थकहरु पनि स्वतः छरपस्ट भएर तितरवितर भए ।
वियोगी काङ्ग्रेसी भएको कारण मोहन कोइरालाका निकट थिए । त्यसैले मोहन कोइराला एकेडेमीको पदमा रहेका बेला कविता महोत्सवमा निर्णायकको जिम्मेवारी पनि पाए । नयाँ पुस्ताले, दौंतरी पुस्ताले एकेडेमीको कविता महोत्सवको जज हुन पाउनु खुशी र गर्वकै कुरा थियो । यो बेग्लै कुरा हो, पछि उनी प्रज्ञा सभाको सदस्य समेत भए ।
“शिवपुरी सन्देश” पत्रिका निरन्तर चलाइरहँदा उनले यौटा मौलिक काम सुरु गरे, शिवपुरीमा “गुन्द्रुक भटमास कविता” कार्यक्रम । त्यस कार्यक्रममा गुन्द्रुक भटमास खाँदै कविता वाचन गर्ने गरिन्थ्यो । त्यो कार्यक्रमको सुरुवात गर्दा ५।७ जना मुस्किलले भेला भएका थिए । तर म र नकुल सिलवाल साथै गएका थियौं, पहिलो कार्यक्रममा, त्यसको टडकारो सम्झना छ । पछि यो कार्यक्रम व्यवस्थित हुँदै गयो, लोकप्रिय हुँदै गयो र कार्यक्रममा सहभागीहरुको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढ्दै गयो । स्वनामधन्य कविहरु पनि यो कार्यक्रममा सहभागी हुन थाले । पछि उनले यो कार्यक्रमको २५ वर्ष पुगेको उपलक्षमा “शिवपुरी सन्देश” को विशेष अङ्क पनि प्रकाशन गरेका थिए ।
वियोगीको विशेषता लेख्नु, लेखिरहनु र निरन्तर लेखिरहनु हो । उनले कविता, मुक्तक र गजल लेखनबाट नियात्रामा फड्को मारे पनि उनको काव्य प्रेममा कुनै कमी आएको छैन, न त शिवपुरी सन्देशको प्रकाशनको निरन्तरतामा व्यवधान नै आएको छ । हो, नीजि क्षेत्रको र व्यक्तिगत हिसाबले निस्कने शिवपुरी सन्देश नियमित हुन नसकेको होला कुनै बेला तर निरन्तर भने अद्यापि छ । वियोगी बेलायत पुग्दा शिवपुरी सन्देशको अस्थायी मुकाम बेलायत पुग्छ । वियोगी अष्ट्रेलिया पुग्दा शिवपुरी सन्देशको अस्थायी मुकाम अष्ट्रेलिया पुग्छ । शिवपुरी सन्देशसँग उनको मन मुटु अभिवाज्य रुपमा गाँसिएको छ । एक प्रकारले भन्ने हो भने वियोगी बुढाथोकी भन्नु शिवपुरी सन्देश, शिवपुरी सन्देश भन्नु वियोगी बुढाथोकी हुन् । यो रोचक र सुखद पक्ष हो, उनको व्यक्तित्वसँग गाँसिने, टाँसिने, चर्चा हुने र साहित्यिक जगतमा तरङ्गित हुने ।
वियोगीका रचनामा नेपाली माटो, नेपाली हावा, नेपाली वातावरणको सुवास भेटिन्छ । त्यसको कारण उनी नेपाली माटो, हावा र वातावरणमा भिजेर हो । उनी अझै पनि खेत वारीमा रमाएको भेटिन्छन् । बारीमा देखिन्छन् । खेतमा देखिन्छन् । कामै गरेको । रोपाईंमा हिलोमा लटपटिएको । सामाजिक सञ्जालमा राख्न अभिनय गरेका होइनन् । उनले कर्म गरेकै देखिन्छ । आज एक्काइसौं शताब्दीमा पनि काठमाडौं खाल्डोमा यसरी माटोमा रमाएको, माटोमा लडिबुडी गरेको कवि भेट्न दुर्लभ छ । यस मानेमा उनको यो व्यक्तित्व सारा समकालीन मित्र रचनाकारहरुसँग उनको व्यक्तित्व छर्लक्क छुट्टिन्छ ।
यस्ता मित्र, यस्ता कवि, यस्ता रचनाकार सदा स्वस्थ रहुन्, सिर्जनाका बालाहरु झुलाइरहून् भन्ने चाहनु दौंतरी साहित्यकारको सद्भाव हो । तर उनले यो मुक्तक कस्तो मूडमा लेखे होलान् । किन लेखे होलान् ।
फर्केर हेर्छु जीवनले यौवनको मीठोसँग स्वाद चाखेको पत्तै भएन
साथीले धेरै पिलाएछ क्यारे, खल्तीमा बोतल राखेको पत्तै भएन
अब त उमेरले पनि घाम वारि कि पारि भनेर प्रश्न गर्न थाल्यो
स्वस्थ रहेको घमण्ड थियो शरीरमा रोगले ढाकेको पत्तै भएन ।
प्रभु ! भुटेको मकै र गुन्द्रुक चपाउन दाँत त बलियो चाहिन्छ है । नत्र त्यो उत्सवमा कसरी रमाउनु ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।