रेखाचित्र: कृष्ण मर्सानी

नोवेल पुरस्कारको प्रतीक्षा हरेक साल उत्सुकतासाथ गरिन्छ । विश्वकै अत्यन्त समृद्ध र अत्यधिक सम्मानित विविध विषयमा दिइने १९९१ को साहित्यतर्फको पुरस्कार नादिम गोर्डिमरले प्राप्त गरिन् । नोवेल पुरूकारमा राजनीति गरिन्छ, एसियाली लेखकले यो पुरस्कार कम पाएका छन्, अफ्रिकी लेखकहरुलाई कम ध्यान दिन्छ लगायतका आरोपहरु लागे पनि यो पुरस्कारको प्रतिष्ठा र महत्त्व घटेको भने छैन । यो पुरस्कारको उचाइ बरू अझ बढेको छ । पुरस्कृतहरुको सम्मान बढेको छ । यो पनि नोवेल पुरस्कारको यौटा सम्मानित पक्ष हो । उनलाई “आफ्नो काव्यात्मक लेखनको माध्यमले अल्फ्रेड नोवेलको शब्दमा मानवताको लागि ठूलो फाइदा पुर्याएको छ” भन्दै दिइएको हो ।

गोविन्द गिरी प्रेरणा

आफ्नो जीवनको ६८ वसन्त भोगिसकेपछि नोवेल पुरस्कारको सम्मानले अभिषेक गरिएकी अफ्रिकाकी गोरी लेखिका नादिन गोर्डिमरको जन्म २० नोभेम्बर १९२३ मा दक्षिण अफ्रिकाको जोहानेसवर्ग नजिकैको यौटा खानी भएको शहरमा बाल्टिकबाट बसाईं सरेर गएका घडीसाज यहूदी हसिडोर गोर्डिमर र बेलायतमा जन्मेकी नाम मेयर्सकी छोरीको रुपमा भएको थियो ।

आफ्नो बाल्यकालको सम्झना गोर्डिमर यसरी गर्छिन्–“मेरो जन्म दक्षिण अफ्रिकाको यौटा स्यानो शहरमा भएको थियो । मेरा वरिपरि बाटाघाटा थिए । सुन्दर बङ्गला घरहरु थिए । यो त्यस्तो अफ्रिका थिएन जस्तो मैले पुस्तक र तस्बीरहरुमा देखेकी थिएँ । म यौटा उपेक्षित स्थानमा बस्थेँ र त्यसैले सम्भवतः संसारको सबभन्दा रुचिकर स्थानमा पनि … ।”

हुने बिरुवाको चिल्लो पात भनेझैं नादिनले नौ वर्षकै उमेरदेखि लेख्न सुरु गरेकी थिइन् र १५ वर्षको उमेरमै एउटा कथा प्रकाशित भयो ।

सुरुमा स्थानीय कन्भेन्ट स्कूलमा र पछि विटवाटर सराण्ड विश्वविद्यालयमा उनले अध्ययन गरेकी हुन् । उनको अध्ययनले विश्वप्रतिको उनको दृष्टि व्यापक बनाइदियो र दक्षिण अफ्रिकाको सही स्थितिको सूचना दियो ।

सन् १९४९ मा उनको विवाह स्थानीय दन्त चिकित्सकसँग भयो, जसबाट उनकी छोरी जन्मिइन् तर विवाह भने लामो समयसम्म टिकेन । सन् १९५४ मा उनले फेरि अर्को बिहे गरिन् र छोरा जन्मियो । दोस्रो पतिसँग भने उनको वैवाहिक जीवन अत्यन्तै सफल रह्यो । सन् २००१ मा भएको मृत्युले मात्र उनलाई अलग्यायो । यस प्रकारको विसंगतिपूर्ण वैवाहिक स्थितिले पनि उनको लेखनलाई बाधा व्यवधान पुर्याएन । उनले निरन्तर लेखनमा आफ्नो ऊर्जा खर्च गरिन् र लेखनको साथसाथै उनले साठी र सत्तरीको दशकमा अमेरिकाका विभिन्न विश्वविद्यालयहरुमा दक्षिण अफ्रिकी साहित्यको विषयमा व्याख्यान दिने कार्यसमेत गरिन् ।

दुनियाँमा प्रभावमुक्त लेखक लेखिका विरलै होलान् । संभवतः शून्य । थोरै धेरै मात्रै हो– प्रभाव कुनै न कुनै रुपमा प्रत्यक्ष वा परोक्ष परेका हुन्छन् । नादिन गोर्डिमर पनि प्रभावमुक्त लेखिका होइनन् । डी.एच. लरेन्सले उनलाई प्राकृतिक विश्वलाई हेर्ने दृष्टिको प्रभाव दिए, हेनरी जेम्सबाट उनले सचेतताको स्वरुप ग्रहण गरिन् र हेमिङ्ग्वेको रचनाबाट संवादको आवश्यकतासम्बन्धी ज्ञान प्राप्त गरिन् ।

सुरु सुरुका उनका रचनाहरु ‘न्यू योर्कर’ र ‘हार्पर्स’ पत्रिकाहरुमा देखा परे । ती कथाहरु उनको सन् १९४९ मा प्रकाशित पहिलो कथासंग्रह ‘फेस टू फेस’ मा संकलित छन् । त्यसपछि त उनको लेखन झन् लगातार र झन् समृद्ध र व्यापक हुँदै गयो । सन् १९५३ मा उनको प्रथम उपन्यास ‘द लाइक डेज’ प्रकाशित भयो । यसलाई गीतात्मक प्रस्तुतिको रुपमा स्वीकार गरिएको पाइन्छ । यो यौटा तरुणी केटीको प्रेमकी आविष्कार हो, सामाजिक यथार्थ र परिवर्तनकारी वातावरणको परिप्रेक्षमा, यौटा खानी भएको शहरमा घटित कथा । यसमा कथा नायिका हेलेन शवको प्रथम २४ वर्षको कथा उनिएको छ ।

उनको अर्को उपन्यास ‘अ वर्ल्ड अफ स्ट्रेन्जर्स’ले अन्तरजातीय र सांस्कृतिक मूल्य एवं मान्यतालाई विषय बनाएको छ । ‘अकेजन फर लभिङ’ ले दक्षिण अफ्रिकामा सहनशील मानवतावाद असफल हुनुपरेको स्थिति देखाउँछ । ‘द लेट वुर्जुवाज वर्ल्ड’ले उनका पूर्ववर्ती उपन्यासहरुलाई पछाडि पारेको छ । ‘अ गेष्ट अफ अनर’ले दक्षिण अफ्रिकी समाजवादी विडम्बनालाई देखाउन खोजेको छ, नयाँ स्वतन्त्रता प्राप्त कालाहरुको राज्यको परिप्रेक्षमा । यसको नायक कर्णेल इभलिन जेम्स ब्रे भर्खरै स्वतन्त्रताप्राप्त अफ्रिकी देश फिर्ता हुन्छ र त्यहाँको स्वतन्त्रताको स्थिति हेर्दछ । विस्तारै राजनैतिक वातावरण काबुभन्दा बाहिर हुन्छ र ब्रे गलत बुझाइबाट मारिन्छ, जुन युरोपेलीहरुको कारणले दक्षिण अफ्रिकाले भोग्नु परेको नियति नै हो । ‘द कन्जरभेसनिष्ट’ मा जोहानेसबर्गको यौटा व्यापारीको कटाक्ष छ, दैवी टाटपल्टाइका विरुध्द । त्यस्तै ‘जुलीज पीपुल’ले दक्षिण अफ्रिकी राजनीतिलाई कुनै पनि दृष्टिले तत्कालिन राजनैतिक इतिहासमा छुटाउनु हुन्न भन्ने प्रष्ट पारेको छ ।

नादिन गोर्डिमरको लेखनको प्रमुख विषय निर्वासन, ऐकान्तिकता हुन् । यिनै मूल विषयलाई कलात्मकताको खोल ओढाएर यिनले आफ्ना कृतिहरुलाई राजनीतिको सुन्दर गुम्बज तयार गर्दछिन् ।

बेलायतका एक प्रख्यात आलोचकको मत अनुसार ‘उनको अधिकांश लेखन उनकै मातृभूमि दक्षिण अफ्रिकाको राजनैतिक अवस्थासँग सम्बन्धित छ । उनमा पत्रकारिताको सरलता पाइन्छ जुन यौटा राजनैतिक लेखनमा लाग्नेका लागि जरुरी कुरा हो । ‘कन्जरभेसनिष्ट’ मा बोलीको चमत्कार छ, जहाँ यौटा धनी मानिसले आफ्नै स्वेच्छाले च्यालेन्ज गर्छ र गिरफ्तार हुन्छ । ‘वर्गर्स डटर’ यौटी केटीको राजनैतिक र व्यक्तिगत कथा हो जसको कम्युनिष्ट पिता दक्षिण अफ्रिकाको जेलमा मर्छ । यो उपन्यास दक्षिण अफ्रिकामा प्रतिबन्धित भयो । ‘जुलिज पीपुल’ मा एउटा गोरा परिवार गृहयुध्दको समयमा काला नोकरहरुको पूरै भरमा परेर बसेको कथा छ । साँच्चै गोर्डिमरका उपन्यासहरु बेग्लै छुट्टै र अभिव्यक्ति कलाका नमूना हुन् ।’

यस विषयमा गोर्डिमरको मत भने यस्तो छ–“मेरा कृतिमा दक्षिण अफ्रिका र त्यहाँका जनता उपस्थित छन् । मेरो लागि राजनीति त्यस्तो विषय हो, जसलाई म कुनै पनि मूल्यमा अस्वीकार गर्न सक्दिनँ।”

दोस्रो विश्व युद्धपछिको दक्षिण अफ्रिकी साहित्यको महत्त्वपूर्ण स्वर गोर्डिमरका रचनाले अफ्रिकी अस्मिता र सामाजिक न्यायप्रतिको प्रतिबद्धतालाई छर्लङ्ग्याउँछ र यथास्थितिलाई स्वीकार्न अनिच्छा जन्माउँछ । तर त्यतिबेलै परिवर्तन ल्याउन पनि सक्तैन र निर्वासन लिन पनि आँट्दैन ।

साठीको दशकमा गोर्डिमरले प्रशस्त भ्रमण गरिन् । भ्रमण उनको लेखनको अत्यन्त ठूलो ऊर्जा हो । भ्रमण–क्रममा दक्षिण अफ्रिकी साहित्यको विषयमा व्याख्यान दिएर प्रचारप्रसार गर्न उनी चुकेकी छैनन् । सन् १९७१ मा त उनी कोलम्बियामा लेखनको प्राध्यापकको रुपमा स्वीकृत भएकी थिइन् । रोचक संयोग– उनी अमेरिका भ्रमण गरिरहँदा नै नोवेल पुरस्कार उनलाई दिने घोषणा गरियो ।

नादिन गोर्डिमर लेखन र भ्रमणमा मात्र सीमित थिइनन्, उनले कला र सांस्कृतिक गतिविधिमा पनि योगदान दिएकी छन् । दक्षिण अफ्रिकी काला लेखकहरुको बाहुल्य भएको लेखक संगठन स्थापनार्थ उनले सहयोग मात्र गरिनन्, उनी ‘पेन’ अन्तर्राष्ट्रिय संस्थाको उपसभापति समेत भइन् ।

नादिन गोर्डिमर आफूले लेख्दै गरेको रचनाको बारेमा चर्चा गर्न रुचाउँदिनन् । उनी भन्छिन् –“यौटा लेखकको उद्देश्य जीवनको उद्देश्यको चेतना जगाउनु हो ।”

गोर्डिमरका उपन्यासका पुरुष पात्रहरु अलि छुट्टै किसिमका हुन्छन् । तिनीहरु या त बाहिरबाटै ह्वात्त आइदिएका हुछन् । अथवा तिनले दक्षिण अफ्रिकाका असहनशील जीवन दर्शनलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् ।

गोर्डिमरले नोवेल पुरस्कार पाउनुअघि पनि थुप्रै सम्मानित पुरस्कारहरु प्राप्त गरिसकेकी थिइन् । उनले डब्लू.एच. स्मिथ लिटररी एवार्ड (१९६१), थोमस पिङल अवार्ड (इङ्गलिस एकेडेमी अफ साउथ अफ्रिका) १९६९, जेम्स टाइट स्ल्याक मेमोरियल प्राइज (१९७१), बूकर प्राइज १९७४ (संयुक्त रुपमा), ग्राण्ड आइगेल दी ओर प्राइज (फ्रान्स) १९७५, सी.एन.ए. लिटररी अवार्ड (दक्षिण अफ्रिका) १९७४,१९७९,१९८१, स्कटिस आर्टस् काउन्सिल नेल गन फेलोसिप १९८१, मोर्डन लैङ्ग्वैज एसेन एवार्ड (अमेरिका) १९८१, प्रिमियो मालापोर्ट (इटाली) १९८५, नेली साक्स प्राइज (जर्मनी) १९८१, अफिसर झर्डे देस आर्टस् एट देल लेटर्स (१९८६), बेकेट अवार्ड (अमेरिका) १९८७ लगायतका पुरस्कार र सम्मानहरु प्राप्त गरेकी थिइन् ।

सन् २००६ मा लुटेराहरुले उनको घर आक्रमण गरेका थिए र उनका शुभचिन्तकहरुले सुरक्षा अपनाउने सुझाव दिंदा पनि सुरक्षित अर्को निवासमा उनले सर्न मानिनन् । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला उनको नजिकका मित्र थिए । उनले मण्डेलाको रिहाइका लागि अफ्रिकन नेशनल कंग्रेसको तर्फबाट नेतृत्वदायी संघर्ष गरेको थिइन् ।

साउथ अफ्रिकन सरकारले उनका उपन्यासहरु “द लेट वुर्जुओइज वर्ल्ड” र “वर्गरस डटर” लाई प्रतिबन्धसमेत लगाएको थियो । “जुलिज पिपुल” पुस्तकको विषयमा प्रश्न उठाउनु पर्ने देखियो….त्यसमा प्रयोग गरिएका भाषा स्वीकार्य छैनन् । यसले राम्रो व्याकरणगत अभ्यासलाई प्रोत्साहित गर्दैन…..पाठकहरुलाई अर्थभेदहरु यस्तो धुपारिको छ, जसको कुनै उपलब्धि छैन….” जस्ता आरोप लगाएर गौटन प्रान्तका स्कूलहरुमा छोटो समयको लागि प्रतिबन्ध लगाइएको थियो ।
जीवनको पछिल्लो समयमा उनी एचआइभी एड्सको उपचारका लागि आर्थिक संकलन गर्न लागिपरेकी थिइन् ।

उनको मृत्यु १३ जुलाई २०१४ का दिन निदाएकै अवस्थामा भयो ।