साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘लोलिता’ले विश्वविख्यात बनेका नबोकभ

‘लोलिता’ उपन्यासका लागि विश्वविख्यात रुसी मूलका उपन्यासकार हुन् भ्लादिमिर नबोकभ । तर उनलाई विश्वविख्यात बनाउने उपन्यास भने उनले अमेरिकामा लेखेका हुन्, जहाँ उनी बसाईं सरेका थिए । उनले सो उपन्यास पुतलीको शिकार गरेर सङ्कलन गर्ने क्रममा लेख्न थालेका थिए । उनी पुतलीप्रेमी थिए र फुर्सदमा उनी पुतलीको शिकारका लागि हिँड्थे ।

हुन त उनको उपन्यास लोलितालाई नोबेल पुरस्कार विजेता उपन्यास भनेर भारत नेपाल लगायतका अनधिकृत अनुवादक र प्रकाशकले अद्यापि प्रचार गर्ने गर्छन् तर त्यो सत्य होइन । सत्य त के हो भने भ्लादिमिर नबोकभले कहिल्यै नोबेल पुरस्कार नै पाएनन् । यो बेग्लै कुरा हो, उनको विश्वविख्यात उपन्यास लोलिताले दिएको ख्याति र कमाई नोबेल पुरस्कार पाउनुभन्दा कम थिएन ।

bahulako diary small and inside post

भ्लादिमिर नबोकभको जन्म १० अप्रिल १८९९ मा रुसको सेण्ट पिटर्सवर्गको समृध्द परिवारमा भएको थियो । उनी उनका मातापिताका जेठा सन्तान थिए । उनले आफ्नो बाल्यकाल सेण्ट पिटर्सवर्गमा बिताए । उनको परिवारमा रुसी, अङ्ग्रेजी र फ्रेञ्च भाषा बोलिन्थ्यो । उनले आफ्नी आमाको मुखबाट सुनेको पहिलो अङ्ग्रेजी पुस्तक फ्लोरेन्स मोण्टगोमेरीको “मीस अण्डरस्टूड” थियो ।

नाबोकभले सन् १९१६ मा ६८ वटा रुसी कविताहरूको पुस्तक प्रकाशित गरे । यो घटनापछि साहित्यका शिक्षक भ्लादिमिर भसिलिभिचले उनका बुवालाई एउटा जमघटको बेला भनेका थिए, “कृपया तिम्रो छोरा कहिल्यै लेखक नबनोस् !”

तर उनी लेखकै भएर विश्वविख्यात भए । उनको यौटै उपन्यास लोलिता पाँच करोडभन्दा बढी बिक्री भयो । सन् १९१७ को क्रान्तिपछि नबोकभका पिता रुसी प्रान्तीय सरकारको सचिव भएका थिए तर अक्टोबर क्रान्तिपछि उनी भागेर क्रिमिया जानुपर्यो ।

त्यसपछिको मुकाम बेलायत भयो जहाँ उनी शुरुमा ट्रिनिटी कलेजमा भर्ना भए र पछि क्याम्ब्रिज विश्वविद्यालयमा गए । सन् १९२० मा उनको परिवार बर्लिन बसाईं सर्यो, जहाँ उनका पितालाई सन् १९२२ मा रुसी राजतन्त्रवादी प्योत्र शावेलस्की-बोर्कले गोली हान्दिए । यो दुःखद प्रकरणलाई पछि नबोकभले “पेल फायर” उपन्यासमा चित्रण गरेका छन् ।

बुवाको मृत्युपछि आमा र बहिनी प्राग गए तर नबोकभ बर्लिनमै बसे, जहाँ उनी लेखकको रुपमा परिचित हुन थालेका थिए ।

सन् १९२२ मा उनी स्भेटलाना सिउवर्टसँग विवाहका लागि तयार थिए तर सिउवर्टले उनलाई छाडिदिइन् र यो विवाह हुन सकेन । अनि सन् १९२३ को मे महिनामा उनको भेरा ईभ्सेयेभ्ना स्लोनिमसँग भेट भयो । यो भेट प्रेममा बदलियो र सन् १९२५ को अप्रिलमा उनीहरूले बिहा गरे ।

त्यसपछि उनी अमेरिका रवाना भए । उनले सन् १९४५ मा अमेरिकाको नागरिकता लिएका थिए । उनी सगर्व भन्दथे, “म अमेरिकी लेखक हुँ, रुसमा जन्मेँ, बेलायतमा पढेँ । मैले फ्रान्सेली साहित्य पढेँ र १५ वर्ष जर्मनीमा बसेँ ।”

भेरा उनकी श्रीमती मात्र नभएर उनको सेक्रेटरी, टाइपिस्ट, सम्पादक, प्रुफरिडर, अनुवादक र अनुक्रमणिकाकार समेत थिइन् । त्यति मात्र नभएर उनको एजेन्ट, व्यावसायिक म्यानेजर, कानुनी सल्लाहकार, अनुसन्धान सहायिका, सहायक शिक्षक पनि थिइन् ।

नबोकभले १९२६ देखि १९३९ सम्म रुसी भाषामा लेखे तर सन् १९४१ पछि उनले अङ्ग्रेजी भाषामा नै लेख्न थाले । उनका सबैजसो महत्त्वपूर्ण लेखन अङ्ग्रेजी भाषामै भयो ।

भ्लादिमिर नबोकभको जीवनमै परिवर्तन ल्याउने कृति बन्यो, लोलिता । यो उपन्यासको प्रथम संस्करण फ्रान्सको प्रकाशक “द ओलम्पिया प्रेस” ले प्रकाशित गरेको थियो, सन् १९५५ मा । यसको विषयले गर्दा यो उपन्यास विवादास्पद भयो । यसमा अधवैंसे फ्रान्सेली प्रोफेसर र १२ वर्षीया अमेरिकी बालिका बीचको प्रेमकथा यो उपन्यासको मूल कथानक हो ।

यो उपन्यास लेख्न नबाकभले ५ वर्ष लगाएका थिए र ६ डिसेम्बर १९५३ मा पूरा गरेका थिए । विषयवस्तुका कारणले उनले यो उपन्यास सुरुमा छद्मनाममा प्रकाशन गर्न चाहेका थिए । उनको यो उपन्यासलाई अमेरिकाका भाइकिङ, सिमोन एण्ड सुस्टर, न्यु डाइरेक्सन्स, फरार, स्ट्राउस, डवलडे जस्ता प्रकाशकहरूले प्रकाशनका लागि अस्वीकार गरेका थिए । यसलाई यौनगत बकवास पनि भनियो ।

यसको पहिलो संस्करण पाँच हजार प्रति प्रकाशित भएको थियो । यसलाई बेलायतको सन्डे टाइम्समा ग्राहम ग्रिनले सन् १९५५ को तीन उत्तम पुस्तकमध्ये एक भनिदिएपछि धेरैको ध्यान खिंच्यो। तर सन्डे एक्सप्रेसका सम्पादक जोन गोर्डोनले भने यसलाई “मैले पढेकोमध्ये सबभन्दा फोहोरी पुस्तक” भने । उनको भनाइ थियो, “यो कोरा अनर्गल कामोत्तेजक” छ ।

यो पुस्तकलाई बेलायतमा प्रवेश गराउन खोजे जफत गर्नू भनेर बेलायतका भन्सारका अधिकारीहरुलाई निर्देशन दिइयो । सन् १९५६ को डिसेम्बरमा यो पुस्तक फ्रान्समा प्रतिबन्धित भयो । यो प्रतिबन्ध दुई वर्षसम्म कायम रह्यो ।

अमेरिकामा सन् १९५८ को अगस्तमा जी पी पुटनामले यो उपन्यास प्रकाशन गर्यो र तीन हप्तामै एक लाख प्रति बिक्री भयो । न्यूयोर्क टाइम्सका प्रभावकारी पुस्तक समीक्षक ओर्भिल प्रेसकटले यो उपन्यासको खिल्ली उडाए तर यसले पुस्तक बिक्रीमा कुनै नकारात्मक असर परेन ।

सन् १९६२ को बिबिसीसँगको अन्तरवार्तामा नबोकभले भने, “यो मेरो प्रिय किताब हो ।” त्यसको एक वर्षपछि प्लेब्वाय पत्रिकासँग उनले भने, “म लोलितालाई कहिल्यै पनि खेद जनाउन सक्दिनँ ।” त्यसै वर्ष लाइफ पत्रिकामा भने, “लोलिताले मेरा सारा पुस्तकहरूलाई पछाडि पारेको छ ।”

यो उपन्यास नबोकभले आफैँले रुसीमा अनुवाद गरे र रुसी संस्करण सन् १९६७ मा फायेद्रा पब्लिसर्सले प्रकाशन गर्यो ।

त्यसअघि सन् १९६२ मै स्टानले कुब्रिकले तथा सन् १९९७ मा आद्रियन लिनले चलचित्र पनि बनाए । यसको दुई वटा ब्याले समेत बन्यो । दुईवटा ओपेरा बने तर व्यावसायिक रुपमा भने खासै सफल भएनन् ।

यो उपन्यास टाइम्स पत्रिकाले गरेको सर्भे अनुसार १०० उत्तम उपन्यासमा परेको छ । यो उपन्यासलाई प्राय: यौनवादी मान्ने गरिन्छ । यो उपन्यास यति लोकप्रिय भयो कि अजर नफिसीले “रिडिङ लोलिता इन तेहरान” लेखिन् र यो कृति पनि विश्वविख्यात भयो ।

लोलिताबाहेक नबोकभका अरु कृतिहरू पनि महत्त्वपूर्ण र विख्यात छन् । उनका पिन, पेल फायर, द गिफ्ट, अदा, बेण्ड सिनिस्टर पनि चर्चित र रुचिका पुस्तक हुन् । “स्ट्रोङ ओपिनियन्स” उनीसँग लिइएका अन्तरवार्ताहरूको सङ्कलन हो भने “स्पिक मेमोरी” उनको आत्मकथात्मक कृति हो । उनका सङ्कलित कथाहरूको पुस्तक पनि प्रकाशित छ ।

नबोकभको लेखनका अतिरक्त अध्यापन प्रमुख पेशा थियो । उनले अमेरिकामा सहायक प्राध्यापकदेखि पूरा प्रोफेसरसम्म भएर अध्यापन गरेका थिए ।

अमेरिकाका प्रख्यात उपन्यासकार थोमस मिन्चोनले पचासको दशकमा नबोकभको कैयन् लेक्चर सुनेका थिए । उनले सन् १९६६ मा प्रकाशित उपन्यास “द क्राइङ अफ लट” को छैटौँ अध्यायमा लोलिताको संकेत गरेका थिए । जोन वानभिल, डान डेलिलो, सल्मान रुस्दी, एडमण्ड ह्वाइट जस्ता बिसौं शताब्दिका लेखकहरु उनीबाट प्रष्ट प्रभावित रहेका थिए । जोन हकस्ले त आफूलाई नबोकभको अनुयायी नै भएको घोषणा गरेका थिए ।

पुलित्जर पुरस्कारप्राप्त लेखक माइकल चाबोले लोलिता र पेल फायरले त आफ्नो जीवनै परिवर्तन गरेको टिप्पणी गरेका थिए । अर्का पुलित्जर पुरस्कारप्राप्त लेखक जेफ्री युजिनाइडसले नबोकभलाई आफ्नो प्रिय लेखक मानेका छन् । उपन्यासकार डव्लु जी सेवाल्डससले उनलाई द इमिग्रेण्टस् उपन्यासमा पात्र नै बनाएका छन् ।

१ अक्टोवर १९६१ मा नबोकभ परिवार स्वीट्जरल्याण्डको मोण्ट्रेसमा अवस्थित मोण्ट्रेस दरवारमा बस्दै आएका थिए । उनको मृत्यु ७८ वर्षको उमेरमा २ जुलाई १९७७ मा स्वीट्जरल्याण्डमा भयो ।

भ्लादिमिर भन्ने गर्थे, “साहित्य भनेको खोज हो । आख्यान भनेको आख्यान हो । यौटा कथालाई साँचो कथा भन्नु सत्यता र कला दुवैको अपमान हो ।

मृत्यु हुनुअघि उनी “द ओरिजिनल अफ लाउरा” उपन्यास लेख्दै थिए । सन् २००९ मा प्लेव्वाय पत्रिकाले यो उपन्यासको ५००० शब्दको अंश प्रकाशित गरेको थियो भने त्यसै वर्ष १७ नोभेम्बरमा यो पूर्ण किताबको रुपमा पनि प्रकाशित भयो ।

उनको सम्मानमा स्वीट्जरलैण्डको मोण्ट्रेसमा उनी मेचमा बसेको पूर्ण कदको सालिक बनाइएको छ ।

००

२१ अगस्त २०२१, फल्स चर्च, भर्जिनिया, अमेरिका

लेखक परिचय

गोविन्द गिरी प्रेरणा (जन्म २०१५ साल) नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार हुनुहुन्छ । उहाँका ६ कथा संग्रह, ५ उपन्यास, ५ कविता संग्रह, ३ नियात्रा, २ निबन्ध संग्रह, १ हास्य व्यङ्ग्य, १ समालोचना र १ अन्तरवार्ता प्रकाशित छन् । उहाँले परशु प्रधानका साथमा सहयोगी उपन्यास समेत लेख्नु भएको छ । उहाँले सम्पादन तथा अनुवाद गरेका कृतिहरू १० थान रहेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा स्थायी बसोबास गरिरहनु भएका प्रेरणाले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
Loading...