साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता लेखेरै चरम यातना भोग्ने इरिना रातुसिन्स्काया

शब्द: गोविन्द गिरी प्रेरणा
चित्र: कृष्ण मर्सानी

सोभियत रुसको कडा कम्युनिष्ट शासनमा स्वतन्त्रताप्रेमी साहित्यकारले कतिसम्मको यातना भोग्नु पर्थ्यो भन्ने एक उदाहरण हुन्, कवयित्री इरिना रातुसिन्स्काया । ९ अक्टोबर १९८६ को साँझअघि उनले स्वतन्त्र, स्वच्छन्द र उदात्त कवयित्रीको जीवन बाँच्न पाउँला भन्ने सोचेकीसम्म थिइनन् । उनलाई विश्व समुदाय र अमेरिकाको दवावमा मुक्त गरिएको थियो । उनको अपराध थियो– काव्य लेखन ! उनी सोभियत सरकारद्वारा बन्दी बनाइएकी थिइन् र श्रम शिविरमा थिइन्, मोर्दोवियाको वारासेभोमा ।

गोविन्द गिरी प्रेरणा (अमेरिका)

इन्जिनियर पिता र रुसी साहित्यकी शिक्षिका आमाका दुई छोरीमध्ये जेठी इरिनाको जन्म ४ मार्च १९५४ मा युक्रेनको मोडेसामा भएको थियो । उनका हजुरआमापट्टीका पूर्वजहरु पोल्याण्डबाट आएका थिए भने हजुरबापट्टीका पूर्खाहरु युक्रेनका थिए ।

सानै उमेरदेखि इरिना चङ्ख र प्रतिभाशाली बालिकाका रुपमा चर्चित थिइन् । तिनी तीन वर्षकै उमेरमा नै गोगोल, पुश्किन, दोस्तोयस्स्की, चेखव र तोल्सतोयसँग परिचित भैसकेकी थिइन् । तिनले पाँच वर्षको उमेरमा नै कविताहरु रच्न थालेकी थिइन् तर तिनी कसैलाई देखाउँदैन थिइन् । यस सम्बन्धमा उनी भन्छिन् –“वास्तवमा मैले तिनलाई स्मृतिमा राख्ने प्रयत्न गरें ।” तिनी बौद्धिक रुपले विद्रोही थिइन् । तिनलाई पढाउने स्कूलमा ईश्वरको अस्तित्व छैन भनेर सिकाइन्थ्यो । तर तिनी आश्चर्य मान्दथिन्– उसको अस्तित्वलाई लिएर वयस्क मानिसहरु किन यति गम्भीर छन् । त्यो एक्लो ईश्वरविरुद्ध सारा मानिसहरु खनिएको उनलाई मन परेन । तिनको सहानूभूति उसप्रति भयो ।

आफ्नो सम्पूर्ण साकूले जीवनमा इरिनाले कविता, स्वैरकल्पना, व्यङ्ग्य, रमाइला प्रहसन आदि लेखिन् आफ्ना स्कूले साथीहरुको विषयका अनि अन्य कविहरुको प्यारोडीसमेत लेखिन् । तर कहिल्यै पनि जीवनमा मूल रुपमा व्यावसायिक कवयित्री बन्ने मनसाय राखिनन् । किनभने कम्युनिष्ट पार्टीबाट कविता प्रमाणित भएपछि र आवश्यक संशोधन भएपछि मात्र प्रकाशित गर्न पाइन्थ्यो । तिनलाई यी सब अस्वीकार्य थियो ।

आडैसा विश्व विद्यालयमा उनले भौतिक विज्ञानमा उच्च शिक्षा ग्रहण गर्दै गर्दा, साथीहरुले कवितालाई गम्भिरतापूर्वक लिन आग्रह गरे । तिनीहरुले उनका कवितालाई संगीतबध्द गरे, टेपमा रेकर्ड गरे र भूमिगत रुपमा प्रकाशित गरेर गोप्य तरिकाले वितरण गरे– जसलाई ‘समिज्दात’ भनिन्थ्यो । पछि रुसको गुप्तचर विभाग केजीबीले तिनलाई बतायो कि तिनका कविताहरु सोभियत संघका ५० भन्दा बढी शहरमा पाइए । रुसमा ‘समिज्दात’ लेखनको लामो परम्परा थियो । प्रचारप्रसार गर्ने सामग्री जुन जनताले मन पराउँछन्, तिनीहरुलाई कपी गरेर फैलाइन्थ्यो । यस्तो काम इरिनाले मात्र होइन रुसका महान् हस्तीहरु जो इरिनास्वयम्ले आदर गर्थिन् – तिनीहरुले समेत गरेको थिए । अन्ना अख्भातोवा, ओशिप मण्डेल्सटाम, बोरिस वास्तरनाक एवं मरिना चस्भेताया आदिले त्यही गर्थे जो बीसौँ शताब्दीका रुसका महानतम लेखककविहरु थिए । तिनीहरुले ‘समिज्दात्” मार्फत प्रकाशित गरेका थिए र कम्युनिष्ट पार्टीद्वारा खेदिएका थिए ।

कम्युनिष्ट पार्टी राजनीतिको विरुध्दमा भए पनि इरिनाले १४ वर्षको उमेरमा पार्टीको तरुण संस्था कोमसोमोलमा सम्मिलित भइन्, किनभने त्यसको सदस्यता नलिइकन विश्वविद्यालय पढ्नै पाइँदैनथ्यो । १९ वर्षको उमेरमा उनलाई केजीबीको ‘विशेष विभाग’का लागि प्रस्तावित गरियो, जहाँ विशेष गरी युवतीहरु थिए र तिनीहरुको काम विदेशीहरुसँग मित्रता गरेर उनीहरुको विचार र क्रियाकलाप रिपोर्ट गर्नु थियो । तर इरिनाले त्यस प्रस्तावलाई अस्वीकार गरिदिइन् । यद्यपि उनलाई त्यो अस्वीकारे बापत कोमसोमोलबाट मात्र होइन विश्वविद्यालयबाट समेत निष्काशन गर्ने धम्की दिइयो, यद्यपि त्यस्तो चाहिँ गरेनन् ।

सन् १९७६ मा उनी भौतिक शास्त्र र गणित अध्यापनका लागि शिक्षक नियुक्त भएर ओकेसा गइन् । उनले १९७८ मा विद्यालयको प्रवेश नीति सम्बन्धमा मतभेद भएर त्यो जागिरबाट हात नधोउन्जेल त्यहीं अन्य साहित्यिक गतिविधि संचालनका साथ कार्यरत रहिन् । उनले यस अवधिमा स्थानीय रंगमंचका लागि नाटक लेखिन् र केजीबीसँग उल्झनमा परिरहिन् । रुसमा आप्रवासका लागि प्रयत्नरत एक यहूदि जो रुसी सुरक्षा संघसँग सम्बन्धित थियो, ऊ नाटकका निर्देशकलाई मुद्दा लगाउन प्रयत्नरत थियो । केजीबीका एजेण्टहरुले रंगमंच र उनका कविताहरुमाथि प्रश्न गरे तर उनले ती कुनैको पनि उत्तर दिन अस्वीकार गरिन् । उनका साथीहरुले उनका कविताहरु प्रकाशित गर्न चाहे तर केजीबीले त्यो प्रकाशित नगर्न सचेत गर्यो र प्रकाशन योजना त्याग्न बाध्य हुनुपर्यो ।

यसैबीच १९७९ मा इरिनाले आफ्नो बालसखा इगोर गेरासुङकोसँग बिहा गरिन् । अनि किभमा बस्न थालिन् । उनका लोग्ने किभमा ‘थमोफिजिक्स’ मा विशेषज्ञताप्राप्त इन्जिनियर थिए र वैज्ञानिक संस्थानमा काम गर्थे । तर इगोरको आफ्नो अपार्टमेण्ट थिएन, त्यसैले तिनीहरु साथीहरुकहाँ बस्तथे । उनीहरुको बस्ने घरको टुङ्गो नै हुँदैनथ्यो । तिनले आवास अनुमति पाइनन् । त्यसैले काम गर्न पनि सकिनन् । अतः तिनले कविता लेख्ने र विद्यार्थीहरुलाई ट्यूसन पढाउने गर्न थालिन् भौतिक शास्त्र र गणित विषयको ।

सन् १९८१ मा आणविक भौतिक शास्त्री आन्द्रेइ सखारोभ निर्वासित भए वापत सजाय दिइएको थियो । अनि इरिना र इगोर दुवैले सोभियत असहमतहरुको अनुशरण गरे । उनीहरुले ‘समिज्दात’ मार्फत यौटा खुल्ला चिठ्ठीमा सही गरेर सुप्रिम सोभियतलाई पठाए सखारोभको पक्षमा । जब त्यो चिठ्ठी प्रकाशित भयो पश्चिममा, इगोर गेरासेङ्कोले आफ्नो जागिर गुमाए । १० डिसेमबर १९८१ मा सखारोभको पक्षमा मास्कोको प्रदर्शन गरे । यस वापत उनीहरुलाई गिरफ्तार गरियो र १० दिनको कैद सुनाइयो । यसरी इरिनाको जेल यात्रा प्रारम्भ भयो ।

यो छोटो जेलयात्राबाट मुक्त भएपछि इरिना दम्पति ‘समिज्दात’ साहित्यलाई फैलाउने, वितरण गर्ने जस्ता काम र मानव अधिकारसम्बन्धी कामका लागि समर्पित भए । त्यतिबेला सोभियत संघमा व्यक्तिसँग छाप्ने मेशिन हुँदैनथ्यो । फोटोकपी पनि थिएन । उपाय यौटै थियो – त्यसको फोटो खिच्नु – अनि इन्लार्ज गरेर वितरण गर्नु । यो असाध्य महङ्गो र कठिन काम थियो । तर इरिना दम्पतिले सोल्झोनित्सिन, मण्डेल्स्टाम र अरु असहमतहरुका समेत २५,००० भन्दा बढी प्रतिबन्धित साहित्य ‘समिज्दात’ मार्फत ब्यापक रुपमा वितरण गरे ।

१७ सेप्टेम्वर १९८२ मा इरिना पुनः पक्राउ परिन् । अनि उनलाई किभको केजीबी जेल राखियो । त्यहाँ उनलाई लगातार ६ महिनासम्म दमन गरियो । यौटा राम्री तरुनी स्वास्नी जो कविता पनि लेख्छे, यो नै सही शिकार हो भनेर इगोरलाई स्वतन्त्र राखेर उनलाई जेलमा राखिएको थियो । उनलाई लोग्ने र साथीहरु भेट्नसमेत अनुमति दिइएन न त उनलाई आफ्नो वकिल छान्ने अधिकार नै दिइयो । उनमाथि कविता लेखेर राष्ट्रलाई बदनाम गराएको मूल आरोप लगाइएको थियो । तर तिनले आफ्नो कवितालाई यसरी व्याख्या गरिन् – “मैले त कवितामा शाश्वत विषय लिएकी छु जुन सबै कविले लिने गर्छन् – जस्तो स्वतन्त्रता, प्रेम र ईश्वर ।”

इरिनाको २९ औं जन्मदिनको भोलिपल्ट अर्थात् ५ मार्च १९८३ मा सोभियत कानूनले दिएको सबैभन्दा कडा सजाय उनलाई सुनाइयो । उनलाई “सोभियतविरुध्द आन्दोलन गरेको र हल्ला फिँजाएको” दोष लगाइएको थियो । यस समयको जेल यातनालाई उनले आफ्नो कविता संग्रह ‘ग्रे इज द कलर अफ होप’ मा यसरी व्यक्त गरेकी छन् – “शुरुका यी सात महिना त्यति खराबसँग बितेनन् । तिनीहरुले मबाट एक शब्द पनि प्रश्नको रुपमा पाउन सकेनन् । मैले यौटा पनि निवेदन गरिनँ मेरो गिरफ्तारदारलाई । मैले मेरो सुनुवाईको बेलामा दिएको वक्तव्यबाहेक तिनीहरुले क्यै पाउन सकेनन्, मेरो सतही अस्वीकार कुनै पनि कारवाहीमा भागलिने समबन्धमा । यौटा राजनीतिक बन्दीका लागि विशुध्द स्वीकारयोग्य शुरुवात !”

इरिनालाई जेलसजाय तोकिएपछि उनलाई मास्कोबाट ३०० माइल टाढाको मोर्दोवियामा रहेका बन्दी शिविरहरूमध्ये एउटामा राखियो जहाँ झ्यालसम्म थिएन । ४०,००० बन्दीमध्ये ३०० जना पुरुष र ११ मात्र महिला राजबन्दी थिए । तिनले काठको स्यानो कोठामा अन्य महिलाहरुसँग साझा रुपमा बस्नु पर्थ्यो जसको बारेमा उनले पश्चिमी रेडियोमा सुनेकी थिइन् । बिहान सात बजेदेखि दिउँसो ४ बजेसम्म उनीहरुलाई औद्योगिक पञ्जा सिलाउन लगाइन्थ्यो । साँझमा भने राजनीतिक शिक्षा दिइन्थ्यो ।

केजीबीको मातहतमा रहेको शिविरले बेलाबेलामा ‘शिजो’ को धम्की दिन्थ्यो – कडा अनुशासनमा राख्न चिसो नाङ्गो कोठामा सिमेण्टको भित्ता र काठको भूईं भएको कठिन स्थानमा स्थानान्तरणको । इरिनाले करिब एक वर्ष यस्तो कठिन ‘सिजो’ मा बिताइन् । यस प्रकार बन्दीहरुको मनोबल गिराउने काम हुन्थ्यो ।

जेलमा रहँदा उनले ३०० भन्दा बढी कविताहरु लेखिन् । तिनी कागजका मसिना धराहरुमा लेख्थिन् र आफूले कामगर्ने पञ्जामा लुकाउँथिन् । एक पल्ट पूर्ण भएपछि तिनी ती कविताहरुलाई कण्ठस्थ पार्थिन् र त्यस टुक्रालाई नष्ट गर्थिन् । ‘शिजो’ मा छँदा तिनले ३० वटा कविता साबुनको चक्कीमा लेखेकी थिइन् । उनी भन्छिन् – “साबुनमा कविता कोर्नु यसकारण सुविधाजनक हुन्थ्योकि, गलत शब्द मेट्न सजिलो हुन्थ्यो ।” शिजोमा हुन्जेल उनी कविताको पहिलो हरफ र मिति याद गर्थिन् र कविताको समग्र सूची । उनका जेलका सहयात्रीहरु पनि उनका कविताहरु याद गर्थे र सम्भव भयो कि अरुलाई ती कविता सुनाउँथे, विशेष गरी आन्तुकहरुलाई । यसरी मुखैमुखले कविताहरु जेलबाहिर पुर्याएर गेरसेङ्कोसम्म पुगेपछि ती कविता पश्चिमी संसारमा पुग्थ्यो ।

उनी जेलमै भएको बेला असहमत रुसी लेखकहरुको अनुवाद साहित्य प्रकाशनका लागि प्रख्यात हर्मिताल अदेदिकाना नामक सानो प्रकाशनले उनका कविता कृतिहरु रुसी जनजीवनका कथाहरुको संग्रह प्रकाशित गर्यो । बेलायतको ब्रोडेक्स प्रेसले “नो, आइ एम नट एफ्रेड’ कविता संग्रह छाप्यो जुन जेलबाट तस्करी गरेर बाहिर पठाइएको थियो ।

उनका कविताहरुले बौद्धिक जगतमा हलचल पैदा गर्यो । अमेरिकी कवि एड्रिनरिचले इरिनाका कविलाई–“विम्व विधानमुक्त, बौध्दिक, उत्तेजित पार्ने र जीवनको प्रेम” ले भरिएका कविताहरु भनेर टिप्पणी गरे । अमेरिकामा निर्वासित जीवन बिताइरहेका रुसी नोवेल पुरस्कार प्राप्त अर्का कवि जेसेप ब्रोड्स्कीले भने –“यौटी समर्थ र उच्चस्तरकी कवयित्री जो ऐतिहासिकतालाई र समयको गतिलाई समानरुपमा कवितामा उतार्न सक्षम छिन् ।”

‘शिजो’ मा लामो समय बिताएका कारण उनी घाँटी, पाठेघर र मुटुमा समस्याका साथै छालाको इन्फेक्सन समेतले थलिन पुगिन् । एकपल्ट भोक हडताल गर्दा तिनले झण्डै चालिस पाउण्ड तौल गुमाइन् र लोरो नटेकी हिंड्न नसक्ने भइन् । जेलबाट मुक्त हुँदा उनले भनिन् – “एकपल्ट त मलाई यस्तो पनि लाग्यो कि मेरो अन्त्य नजिकै छ र मलाई र मेरा कवितालाई सबले बिर्सिनेछन् ।”

तर सन् १९८६ को अक्टोबर ९ का दिन गोर्वाचोभ र रोनाल्ड रेगनबीच हुने शिखर सम्मेलनको अधिल्लो दिन इरिनालाई जेलबाट मुक्त गरियो र उनीमाथि लगाइएका सबै आरोपहरु फिर्ता लिइए । १९८६ को हिउँदमा इरिनालाई किभको जेलमा स्थानान्तर गरे । उनलाई माफी माग्न लगाइएको थियो, तर उनले त्यसो गरिनन् । बरु तीन महिनासम्म कीभको जेलमा बसिन् ।

जेलबाट रिहा भएपछि इरिना र इगोरको पुनर्मिलन भयो र उनीहरुले अमेरिका जाने निर्णय गरे– स्वास्थ्योपचारका लागि । फरवरी १९८७ मा उनीहरु सिकागोका लागि उडे ।

सन् १९८७ देखि १९८९ सम्म उनी शिकागोमा रहेको नर्दर्न युनिभर्सिटीमा आवासीय कविको रुपमा रहिन् । उता आफ्नो मुलुकमा भने सन् १९८७ मै उनको नागरिकता रद्द गरियो । शिकागोबाट उनीहरु लण्डनका लागि प्रस्थान गरे र १० वर्षसम्म उतै बसे सन् १९९८सम्म ।

त्यसपछि उनीहरु रुस फर्किए, आफ्ना जुम्ल्याहा सात वर्षे सन्तानहरुसहित । उनको तिनलाई रुसी स्कूलमा पढाउने धोको थियो। उनी र श्रीमान ईगोरले पुन: नागरिकता प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्यो । तत्कालिन राष्ट्रपति बोरिस यल्तसिनलाई समेत उनीहरुले गुहार्नु परेको थियो ।

सन् १९८७ मा अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयले उनले जेलमा सन् १९८३–८४ को अवधिमा लेखेकी ४२ कविताहरुको संग्रह ‘वियोण्ड द लिमिट’ रुसी र अंग्रेजी समानान्तर पाठसहित प्रकाशित गर्यो र यसै समयमा सोभियत सरकारले इरिनाको नागरिकता रद्द गरिदियो । यस कविता संग्रगहलाई मारिया कार्लसनले यसरी टिप्पणी गरिन् –“यी कविताहरु इरिना रातुसिन्सकायाको रगतमा रुसी काव्य परम्परा भएको प्रमाण हो । उनका कवितामा स्मृति, इतिहास, विश्वास, प्रेम, काल र स्वतन्त्रता पाइन्छन् । उनका यी जेल कवितामा जीवन र स्वतन्त्रताको प्रशस्ति गाइएको छ ।”

इरिनाले जेल डायरीको बारेमा भनेकी छिन्–“जब म जेलमा थिएँ, मेरा सपनाहरु धेरै सुन्दर थिए, धेरै आनन्ददायी, पर्वतसहित, संगीत, उज्याला रङ्गहरुयुक्त । तिनैले मलाई बाँच्न प्रेरित गरे । तर अहिले हाम्रा सपनाहरु परिवर्तन भएका छन् । मैले यो पुस्तक लेख्ने यौटा कारण यो पनि हो कि म खराब सपनाहरुबाट सदाको लागि मुक्त होउँ, उदास होउँ :
हामी चम्चाभरिको प्रेमका लागि उदास होउँ !

मेरो टाढाको मित्र ! वास्तवमा
हाम्रो जेल अवधिको कुनै अन्त छैन
सबै प्रवक्ताहरु यति सख्त छन्
आह ! यदि कसैले हामीलाई आर्शिवाद दिए !
मेरो मित्र ! यसरी हामी उदास बनौं, कसरी
मार्चदेखि म यहाँ दौड्दै आएँ
तिमी प्रवेश मार्गमा प्रतीक्षारत थियौ
र तिमीले त्यो राम्रो घरमा
मलाई लग्यौ र त्यो ठाउँमा पुग्दा
यति ढिला भयो कि त्यो बन्द भयो
फूल फुल्ने समयका लागि
र साँघुरो कोठामा टेबुल उत्रियो
मोमको रंगमा सलज्जा !
हामी उदास होउँ किनकि हामी
अझै पनि यति धेरै तरुण छौं
तर हामी, जो जन्मेका छौ यो पराईभूमिका
हाम्रो आश्चर्यजनक विश्वास र गर्व सहित
के हामीले मातृभूमि सापटी माग्न खोज्नु पर्यो ?
घण्टी शान्तपूर्वक खसे झैं
हृदयमा ऐंठन भएको छ
कस्तो अथाह शून्यता छ हाम्रा अघि !
तर अझ सारै लामो उदासीमा
केवल एक मुस्कान छ अन्त्यमा !
(‘शिजो’ यातना गृह, ३० डिसेम्बर १९८३)

इरिनाको सन् २०१७ को जुलाई ५ का दिन क्यान्सरको कारण मास्कोमा निधन भयो ।

लेखक परिचय

गोविन्द गिरी प्रेरणा (जन्म २०१५ साल) नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार हुनुहुन्छ । उहाँका ६ कथा संग्रह, ५ उपन्यास, ५ कविता संग्रह, ३ नियात्रा, २ निबन्ध संग्रह, १ हास्य व्यङ्ग्य, १ समालोचना र १ अन्तरवार्ता प्रकाशित छन् । उहाँले परशु प्रधानका साथमा सहयोगी उपन्यास समेत लेख्नु भएको छ । उहाँले सम्पादन तथा अनुवाद गरेका कृतिहरू १० थान रहेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा स्थायी बसोबास गरिरहनु भएका प्रेरणाले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
Loading...