साँघुरो बाटोबाट
बाको पछि पछि लागेका सबैले
बोलाउँदा बोलाउँदै
समाउँदा समाउँदै
बाहरू
अकस्मात् कुन घुम्तीमा हराउँछन् हराउँछन्?

अकस्मात् समयले जादु देखाएर
हिँडिरहेका बाहरूलाई गायब बनाउँछ।
कछाडमा लेखिएका
बाका उकालीका कथा
ओरालीका कथा
टोपीमा कोरिएका
दुःखका आँसु
सुखका खित्का
सोध्दै नसोधेर
आमाका मजेत्रोमा पोको पारिदिएर
किन हराउँछन् बाहरू?

सहर जाँदा
जहिले अन्तिममा गाडी चढ्ने बाहरू
दसैँमा जहिले अन्तिममा टीका थाप्ने बाहरू
लोक छाड्दा किन पहिले छाड्छन्?

बाहरू
सधैँ इमानदार भएर सन्तानप्रति
अडिग भएर
जुधेर
समयसँग कुस्ती खेलेर देखाउँछन् सन्तानलाई
र भ्रममा पारिदिन्छन् कि
बाहरू कहिल्यै जाँदैनन्।
र एकदिन
सुटुक्क आफैँ पहिले हिँडिदिन्छन्।
सधैँ सन्तानलाई
कुलेसो, फड्के, साँघु पहिले तारिदिने बाहरू
एक्लै सुटुक्क तर्छन्
लोकको पुल।

बाहरू
बेइमान हुन्छन्।