के लेखौँ के लेखौँ भएपछि कविजी त्यो रात केही नलेखी सुत्यो ।
“तर यसरी यत्तिको अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर सकेको कविले केही नलेखी बस्नु त लज्जास्पद नै पो हुन्छ त !” रातभर सुत्न सकेन ऊ जसरी स्ट्रक्चरालिजमले डेरिडालाई सुत्न दिएको थिएन ।
के गरौँ के गरौँ भएपछि कविता खोज्न गाउँ हान्नियो । कविता खोज्दै गयो । गाडीमा प्लाष्टिकमा पोको पारेको र झ्यालबाट फाल्दा फुरूरू हावामा उड्दै गरेको भोमिट वा मिक्का सिङको गन्धिबात गीत । पक्कै केही न केहीमा त कविता नलेखी हुँदैन है । यत्तिको अग्रेजी साहित्यमा ….।
उसलाई उसको गाउँ खासै मन पर्दैन । राजधानीबाट पश्चिमतर्फ छ उसको गाउँ । उत्तरतर्फ भएको भए उत्तरआधुनिकवादसँग तादम्यता मिल्थ्यो । कसैले पश्चिमआधुनिकवाद पनि जन्माइदिएको भए कति जाती हुन्थ्यो होला । “कि बालाई फकाइवरी हिमालतिर बसाइँ पो सर्नुपर्छ कि ?” नसोचेको होइन उसले ।
“हिमाल त कमालको हुन्छ तर हिउँ त रक्सीको गिलासमा मात्र राम्रो । हिउँ परेको आँगनमा चिप्लियो भने त डेरिडाको सिग्निफायरमा सिग्निफाईड चिप्लिएको जस्तो चिप्लेको चिप्लेई भइन्छ हो ।” इपिफेनी भो उसलाई ।
जे पायो त्यही कविता लेख्ने ल्याग्रे कवि होइन ऊ । यत्तिको अङ्ग्रेजी साहित्यमा …।
भकारोमा गाईले गोब्राएको गोबर देख्दा उसलाई अचम्म लाग्यो । “यो त फेरि पनि डेरिडाको डिकन्ट्रक्सन भन्दा कम छैन त ।” बडो दार्शनिक तवरको सोच आयो मनमा । यसमा सेन्टर मार्जिनको डाइकोटोमी छ । यो गोवरको स्ट्रक्चर छ जुन कन्सट्रक्टेड हो । यो युगौँदेखि चलि आएको समाज जस्तै छ । सेन्टरले मार्जिनलाई रुल गरेको छ । जसरी वडाध्यक्षले वडावासीलाई । सिग्निफायरका पछि किन कुद्छ हो सिग्निफाईड ? यो त आर्विटरी हो नि । जसरी वडाध्यक्षका पछि कुद्छन् वडावासी । “चेन अफ सिग्निफायर । चेन अफ वडाध्यक्ष ।” “होइन यो त नयाँ थियरी पो हुन्छ कि के हो ? ” एक्साइटेड भो ।
“के टोलाइबस्छ एक दिन घर आउँदा पनि ?” आमाले बाँसको घुमाउरो टोकरीमा गोबर उठाउँदै भनिन् । “टोकरीमा पनि त सेन्टर र मार्जिन छ नि ।” गोठभरी डेरिडा देख्यो । एकै निमेषमा गोबरको सेन्टर मार्जिन डिजल्भ भएर टोकरीको सेन्टर मार्जिनमा थुप्रियो । आमाले गोबरग्यासको ट्याङ्किमा पानीमा घोलेर गोबर आर्कमा भरिदिइन् । एकै छिनमा डेरिडाको डिकन्स्ट्रक्सन ग्यास बनेर चुलोमा जल्यो । आमाले पकाएको चियासँग सेन्टर मार्जिन भएको गहुँको रोटी हटडग जस्तो बेरेर कोन बनाई चोपेर खायो ।
उसलाई आमाले गोबर घोलेर ग्याँस बनाएको डिकन्स्ट्रक्सन र पिठो बेलेर बनाएको गोलाकार रोटीको स्ट्रक्सचरालिजम् भने अंग्रेजीका सबै इजमलाई बिर्साउने गरी स्वादिष्ट लाग्यो ।
चाहिएको त मान्छेलाई माने न हो । चेन अफ सिग्निफायर होस् कि चेन अफ वडाध्यक्ष ।
बाले वडाध्यक्षसँग कुरा गरिसकेका छन् । गाउँको स्कुलमा अंग्रेजी टिचरको खाँचो छ रे ! “भोली सबेरै वडाध्यक्षसँग भेटेर मिनिङ्ग खोज्नु पर्ला !”
“डेरिडाले खोसेको निँद र मिनिङ्ग गाईले ग्रोबाएको थुप्रोमा भेटियो ।” सम्झेर खिस्स हाँस्यो ।
यत्तिको अंग्रेजी साहित्यमा …। भन्छ कि भनेको कविले यसपटक केही नभनी सुत्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










