धागो जस्तो हो र
नदीमा बग्ने पानी ?
अन्याय त सदियौँदेखि भएको छ नि !
सबै पानीहरूको नाउँ कसरी ‘पानी’ मात्र हुन्छ ?
एउटै नाउँले बोलाउँछ मानिसले
हिउँले जन्माएको, मूलले उमारेको
बादलले बर्साएको, जलकुम्भीले अठ्याएको
कमल फूलले सिँगारेको, झरनाले पछारेको
समुद्रमा विलाएको, एक्वेरियममा थुनिएको
कमोडमा साँचिएको।
सबैलाई कसले गरिदियो एउटै न्वारन र भनिदियो
‘पानी’ ?
अन्याय त सदियौँदेखि भएकै हो नि !
पानीहरू पनि त रेसमा हुन्छन् ।
एउटै नदीमा बग्दै-बग्दै जाँदा पनि धकेलेर
केही पानीलाई किनारामा हुत्याइदिन्छन्
केही पानीहरू र बिलाइजान्छन् बालुवाको साम्राज्यमा
धकेलिदिन्छन् केही पानीलाई सतहमा र वाष्पीभवन हुन्छन्
सूर्यका लप्काहरूमा; ठेलिदिन्छन्
केही पानीहरूलाई गोहीका मुखमा र टुक्रिइजान्छन् श्वास-प्रश्वासमा।
मान्छे जस्तै
नदीमा दिनरात नभनी कुद्ने पानीलाई,
मान्छेका मन जस्तै
तलाउमा दिनरात चञ्चल रहने पानीलाई,
मान्छेका नियत जस्तै
दिनरात ठेलमठेल गर्ने पानीहरूलाई
कुनै शत्रु नै नभएको
कुनै आकाङ्क्षा नै नभएको
कुनै गति-दुर्गति नै नभएको
कुनै आफन्त नै नभएको— फिक्का-फिक्का
एकसरो, निम्सरो नाउँ दिएर ‘पानी’ मात्र भनेर
एकनासले किन बोलाउँछ मान्छे युगौँदेखि ?
अन्याय त सदियौँदेखि भएकै छ नि !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










