इमान्दार

मूलः ब्लाओमीर ग्रोब्येक
अनुवादः गोविन्द गिरी प्रेरणा

यो जुन देशको कथा हो, त्यसको एउटा के विशेषता थियो भने देशका सबै भागमा उस्तै मौसम हुन्थ्यो, जस्तो राजधानीमा हुन्थ्यो । राजधानीमा प्रचण्ड घाम लागेको छ भने आफ्नै आँखा सामुन्ने कुनै कुनामा वर्षा भै रहे पनि घाम लागिरहेको छैन भन्ने कसैको के हिम्मत ?

छ न त, देशको एउटा कुनामा एउटा सरकारी हावापानी कार्यालय थियो । त्यहाँ मौसमको स्थिति बताउने यन्त्रहरू राखिएका थिए । त्यस कार्यालयसँगै त्यसका म्यानेजर बस्थे । यन्त्रको हेरविचार गर्नुको साथै रेकर्ड रहोस् र आवश्यक परेको बेलामा काम लागोस् भनी मौसमको दैनिक रिपोर्ट लेख्थे।

नयाँ म्यानेजर एउटा इ‌मान्दार युवक थिए। सधैं इमान्दारीपूर्वक जस्तो मौसम हुन्थ्यो, बिलकूल त्यस्तै रिपोर्ट लेखेर माथिल्ला ओहदावालहरूकहाँ पठाउँथे । पानी प-यो भने रिपोर्टमा पानी किन प-यो, कहिले प-यो र कति प-यो लेख्थे । यस सम्बन्धमा उनी एकदम निष्पक्ष थिए । उनी जान्दथे, उनको तलब दिन सर‌कारले बढी मिहिनेत गर्छ। त्यसैले उनी आफ्नो काम इमान्दारीपूर्वक गर्थे ।

गृष्म ऋतु सकिएपछि आँधीबेहरीसहित पानी पर्न शुरु भयो। म्यानेजरले आफ्नो रिपोर्टमा आँधी बेहरीको पनि उल्लेख गरे, वर्षाको पनि ।

एकदिन एउटा वरिष्ठ एवं अनुभवी सहयोगी उनलाई भेट्न आए। उनले उसको रिपोर्ट पढे । म्यानेजरले भने, “किन ? जस्तो मौसम छ त्यस्तै रिपोर्ट छैन र ?”

“त्यो त ठीक छ तर एउटा मित्रको नाताले म यति अवश्य भन्छु- यस सम्बन्धमा अलिकति बुध्दि पु-याएर काम गर । त्यसो त तिमी जानिफकार छौ, तिम्रो काम नै त्यस्तै छ ।”

म्यानेजरले उसको कुराको छेउटुप्पा केही भेट्टाएनन् । उनी पहिला पहिलाझैं नै रिपोर्ट पठाउँदै रहे।

केही दिनपछि उनका एक माथिल्ला ओहदावालले उनलाई बोलाए । उनी ती ओहदावालकहाँ पुगे । त्यतिबेला उनको घरमा तपतप पानी चुहिरहेथ्यो। ती ओहदावालले उनलाई भने, “तिमीलाई के कारणले बोलाइएको हो भने तिम्रो रिपोर्ट सधैं एकोहोरो हुन्छ । बाली काट्‌ने बेला भएको छ, तिमी भने वर्षाको राग अलापिरहेछौ। यसबाट किसानहरूमा नराम्रो असर पर्छ । तिमी आफ्नो जिम्मेवारी किन बुझ्दैनौ ?”

“बाली काट्ने बेला त हो तर वर्षा भै रहन्छ भने त..!”

“बढ्‌ता कुरा नगर,” ओहदावालले रिसले टेबलमाथि मुड़‌की बजार्दै भने, “तिम्रो सब रिपोर्ट मसँग छ । तिमी राम्रो म्यानेजर हौ तर साह्रै घीउ लाटो । अब सम्झ तिम्रो निराशावाद चल्ने छैन ।”

यो भेट पश्चात् युवक म्यानेजर मुण्टो निहु-याएर आफ्नो कार्यालय फर्के । नखोलिएको छाता उनको छेउमै थियो । वर्षामा भिज्दाभिज्दा रुघा लागेर उनलाई ज्वरो पनि आयो । तर उनले वर्षाकै कारणले ज्वरो आएको सत्य मान्न तयार भएनन्।

अर्को दिन मौसम सुध्रियो । वर्षा रोकियो। यो देखेर उनलाई खुशी लाग्यो र उनले यस्तो रिपोर्ट लेखे, “वर्षा पूर्ण रूपले रोकिएको छ । यो मान्नैपर्दछ, यसअघि धेरै वर्षा भएकै थिएन । जति वर्षा भयो त्यसलाई छिटाछाटी परेको मात्रै भनिन्छ र अब कस्तो मजाले घाम लागेको छ ।”

वास्तविकता के थियो भने घाम प्रचण्ड गर्मीयुक्त थियो र दिउँसो त माटो नै बल्ला जस्तो थियो। म्यानेजर खुशीले पागल भए।

साँझ पर्दा नपर्दै फेरि चिसो हावा चल्न थाल्यो। चिसो बढ्‌न थाल्यो। रातभर म्यानेजर जाडोले कामीरहे तर अर्को दिन जब रिपोर्ट लेख्ने बेला भयो, उनले आफ्नो रिपोर्टमा लेखे, “घाम सधैँ झैं लाग्यो। कोही कोही भन्छन्, सूर्य कहिले पनि अस्ताउँदैन । यो सधैं चम्किरहन्छ । तर…।”

यो भन्दा बढी लेखिएन । उनको मनले उनलाई धिक्कारी रहेथ्यो । उनी निकै दुःखी थिए । त्यति नै बेला आकाशमा बिजुली चम्क्यो । उनको इमान्दारीले चिमोट्न थाल्यो । उनले अर्को रिपोर्ट लेखे । त्यसमा केवल एक वाक्य मात्र थियो, “साँझ पाँच बजे आकाशमा बादल चम्किरहेछ र विजुली चम्किरहेछ ।”

अर्को दिन आँधी आयो । उनले यसको पनि रिपोर्ट पठाए । त्योभन्दा अर्को दिन आँधी त आएन तर हिउँ प-यो । उनले आफ्नो रिपोर्टमा यसको पनि उल्लेख गरे। यी रिपोर्टहरू पठाएर उनले निकै ठूलो आत्मसन्तोष अनुभव गरे । यो आत्मसन्तोष त्यतिन्जेल कायम रह्यो, जतिन्जेल हुलाकीले उनको हातमा एउटा सरकारी चिठी दिएन ।

यसपल्ट चिट्ठी राजधानीबाट आएको थियो । उनलाई राजधानी बोलाइएको थियो । आफ्नो विभागको प्रमुखलाई भेट्न । जब उनी राजधानीबाट फर्के, उनको मनका आशङ्‌काहरू मेटिइसकेका थिए । अब उनको मनमा कुनै दुविधा थिएन।

अरु कयौं दिनसम्म उनले जति रिपोर्टहरू पठाए तिनमा एउटै कुरा लेखिएको हुन्वयो, “दिनभरि घाम लागिरह्यो ।” कहिलेकाहीं त उनको रिपोर्टमा देशभक्तिका भावना पनि उर्लिएका हुन्थे। जस्तो, “कहिले कहिले सानो तिनो वर्षाले बाढी आउँछ तर हाम्रा सैनिकहरू बहादुरीपूर्वक बाढी पीडितह‌रू‌लाई उध्दार गर्छन्।”

अब उनको रिपोर्टमा राम्रो र अनुकूल मौसमको मात्रै उल्लेख हुन्थ्यो । कुनै कुनै रिपोर्ट त उनले कवितामा पनि पठाए । तर दुई महिनापछि उनले जुन रिपोर्ट पठाए त्यो पढेर उनका हाकिम पहिलोपल्ट दङ्ग‌दास परे- “मुसलधारे पानी र डरलाग्दो आँधी” टाइप गरिएको यस पंक्तिमुनि उनले कलम रगडेर लेखे, “तर गाउँको विधवा जसले बच्चा पैदा गरी ऊ सकुशल छे। उसको वास्तवमा बाँच्ने कुनै आशा थिएन।”

विभागीय जाँचपश्चात् पत्ता लाग्यो, त्यो रिपोर्ट उनले रक्सीको सुरमा लेखेका थिए जुन रक्सी उनले आफ्नो कार्यालयको मौसम बताउने यन्त्र बेचेर किनेका थिए।

मान्छे वास्तवमा खुबै इमान्दार थिए ।
०००