कागजको एक टुक्रा

अगस्त स्ट्रिनवर्ग

एपार्टमेण्टको डेरावाल एउटा युवक थियो। आजै उसले एपार्टमेण्ट खाली गरेको थियो र एउटा ट्रक, उसका सर-सामान लिएर गइसकेको थियो । अब युवक अन्तिमपल्ट एपार्टमेन्ट सरसर्ती घुमेर कुनै सामान छुट्यो कि भनेर हेरिरहेको थियो । राम्रोसंग एपार्टमेण्ट घुमेर हेरिसके पछि उसलाई विश्वास भयो, अहँ, केही पनि छुटेको छैन ।
तर ढोकामा ताल्चा लगाउन पाइला के बढाएथ्यो, उसले टेलिफोनसँगै भित्तामा कागजको एक टुक्रा झुण्डिरहेको देख्यो।
उसले कागज‌को टुक्रा हातमा लिएर त्यसमा लेखिएका विभिन्न हरफहरू पढ्‌न थाल्यो जुन उसले एपार्टमेण्टमा विताएका दुई बर्षको अवधिभरमा त्यसमा टिपेको थियो । उसलाई आश्चर्य लागिरहेथ्यो जुन कागजको टुक्रा माथि उसको दृष्टि एकपल्ट पनि पुगेन, त्यसमा एउटा व्यक्तिको आँशिक जीवनकथा अङ्कित थियो ।
कागजको टुक्रा निकै पुरानो र मैलो थियो। उसले उज्यालोमा ल्याएर पढ्न थाल्यो।

०००

सब भन्दा माथिल्लो हरफमा एउटा नाउँ थियो; एलिसको । उसको लागि सबभन्दा प्यारो नाउँ । जुन उसकी प्रेमिकाको नाउँ थियो। त्यसको अगाडि उसको फोन नम्बर थियो, १५१११; जुन उसको मनमा घण्टी झैं गुन्जिरहन्थ्यो ।
त्यसभन्दा मुनि एउटा बैङ्‌कको नाउँ र फोन नम्बर लेखिएको थियो । त्यो बैङ्‌क कुनै बेला उसको लागि रोटी, घर अनि परिवार सबथोक थियो । कारण उ त्यसै बैङ्‌कमा नोकरी गर्थ्यो । तर अहिले उसको नाउँ काटिएको थियो, किनकी अहिले यो बैड्‌क बन्द भइसकेथ्यो र केही दिन बेरोजगार विताए पछि उसले एउटा अर्कै बैङ्‌कमा काम पाएको थियो ।
तेश्रो हरफ‌‌मा एउटा तवेला र एउटा फूल विक्रेताको नाउँ र नम्बर थियो । यहीं उसको र एलिसको परिचय भएको थियो। आह ! ती दिनमा उसको खल्ती पैसाले क्या भरिभराउ हुन्थ्यो ।
चौथो हरफ‌मा एउटा फर्निचर विक्रेता र घर सजाउनेको नाम थियो। विहा पछि उसले त्यहींबाट फर्निचर किनेको थियो र घरको सजावट गरेको थियो ।
पाचौं हरफ‌मा नाचघरको नम्बर थियो । हरेक आइतवारका साँझहरू उ एलिससँग नाचघरमा गएर विताउँथ्यो । यहीं ती दुइले जीवनका अत्यन्त सुखद क्षणहरू विताएका थिए। यहीं उनीहरुले संगै बसेर अनेकौं रङ्गीन सपनाहरू बुनेका थिए।
छैठौं हरफ‌मा एउटा साथीको नाम र फोन नम्बर लेखिएको थियो। तर त्यसलाई एउटा मोटो कालो मसीले काटिदिएको थियो। यसको कारण के थियो भने यो साथी निकै घनिष्ठ र प्रतिष्ठित थियो । पछि नराम्रो संगतमा परेर वरवाद भएथ्यो र देश छाडेर कतै विदेशिएको थियो ।
सातौं हरफ‌मा सिसाकलमले लेखिएका दुइवटा नाउँ र फोन नम्बरहरू थिए । एउटा थियो सिस्टरको । सिस्टर अर्थात नर्स जसको आवश्यकता एलिसको प्रसव वेलामा परेको थियो।
अनि दोस्रो नाउँ एउटा डाक्टरको थियो जसको सल्लाह त्यतिबेला लिइएको थियो ।
अर्को नाउँ थि‌यो एउटा महिलाको । यी महिला उसकी सासु अर्थात एलिसकी आमा थिइन् । विशेष रूपले उनी एलिस‌को स्याहार सुसारको लागि आएकी थिइन् ।
यसभन्दा अघिल्लो हरफ एउटा कर्मचारी एजेन्सीको नाउँ र ठेगाना थियो रातो र नीलो सिसाकलमले लेखिएको । नोकर्नी अचानक भागेकी थिई र उसको साटो नयाँ नोकर्नी राख्नुपर्ने थियो।
त्यसबाहेक डेयरी, मासु विक्रेता आदिका फोन नम्बर थिए । अब उसको गृहस्थी जमेको थियो र सबै आदेश फोनबाट दिइन्थ्यो र सरसामान मगाइन्थ्यो । एलिस अक्सर अस्वस्थ हुन्थी र बाहिर जाँदैनथी।
अर्को नाउँ र ठेगाना पढ्दा पढ्‌दै उसको आँखा रसिलो भएर आयो किनकी त्यो नाउँ र ठेगाना अन्त्येष्टी प्रवन्धकको थियो- त्यसै अन्त्येष्टी प्रवन्धकको जसले एलिसको असामयिक मृत्युमा उसको अन्त्येष्टि गरेको थियो । उसको र नवजात शिशुको पनि !
माटो माटोमै मिलेको थियो ।
त्यही अन्त्य जुन सबै प्राणीको हुन्छ ।
उसले त्यो मैलो कागजलाई म्वाई खायो र राम्ररी पट्याएर आफ्नो खल्तीमा राख्यो ।
केवल दुई मिनेटमा उसले आफ्नो ब्यतित जीवनको दुई बर्ष फेरि बाँचेको थियो ।
जब उ एपार्टमेण्टबाट बाहिर आयो, उसको शिर झुकेको थिएन, गर्व र हर्षले बरु उठेको थियो। यो सोचाइले कि यी दुई बर्षमा उसले जीवनका प्रसस्त घामपानी देख्ने मौका पाए‌को थियो जुन देख्ने सौभाग्य कमै मान्छेलाई प्राप्त हुन्छ।
०००