“कविता हेरेर त्यसको उमेर अन्दाज लगाउन सकिन्छ ।”

यो भनाइ सन् १९९० को साहित्य तर्फको नोबेल पुरस्कार विजेता मेक्सिकन कवि निबन्धकार एवं कथाकार आक्टेवियो पाजको हो । पाजले नोवेल पुरस्कार पाएर मेक्सिको राष्ट्रलाई पहिलोपल्ट यस प्रकारको गौरव दिने महान् प्रतिभा भए ।

स्पेनी मूलकी आमा मेरी जोश ट्रामिनी र मेक्सिकन बाबु आक्टेवियो पाज सिनियरका छोरा आक्टेवियो पाजको जन्म १९१४ मार्च ३१ मा मेक्सिको सहरमा भएको थियो । पाजका पिता वकिल थिए र सामान आपूर्ति गर्ने काम समेत गर्ने गर्थे । तर मेक्सिकोको गृह युध्दले पाज परिवारको आर्थिक स्थिति खस्कँदै गयो र पाजले झण्डै विपन्न अवस्थामा हुर्किनु पर्यो । उनको शिक्षा रोमन क्याथोलिक स्कूलमा भएको थियो र उच्च शिक्षा मेक्सिको विश्वविद्यालयमा भएको थियो । त्यसपछि उनी लेखनमा लागेका हुन् । सन् १९३३ मा उन्नाइस वर्षे किशोर उमेरमा ‘लूना सिल्भेष्टर’ अर्थात् ‘फरेष्ट मून’ लेखेर उनले काव्य लेखनको औपचारिक यात्रा आरम्भ गरेका हुन् । उनको अभिव्यक्तिको माध्यम स्पेनिश भाषा हो ।

पाजले सन् १९३७ मा मावलदेश स्पेनको भ्रमण गरे । त्यहाँ उनलाई स्पेनिश गृहयुद्धको कारण स्पष्टसँग जानकारी भयो । उनले यसको अनुभव र अनुभूतिलाई ‘वियोण्ड योर क्लियर सेडो एण्ड अदर पोइम्स’ मा प्रतिबिम्बित गरेका छन् जुन सन् १९३७ मा स्पेनमा प्रकाशित भएको थियो । त्यसैबाट उनले आफूलाई सही प्रतीक्षाका युवाकविको रुपमा प्रतिष्ठापित गरे । त्यसपछि घर फर्किनुअघि पेरिसको भ्रमण गरे जहाँ उनले रबर्ट केसनोस र अन्य अति यथार्थवादी कविहरुसँग भेट गरे । त्यसले उनको जीवनमा ठूलो प्रभाव पार्यो ।

पाजले थुप्रै साहित्यिक समीक्षाहरुको निर्देशन सम्पादन गरे जसमा ‘वरण्डाल’ (१९३७), ‘एल. हिजो प्रोडिगो’ (१९४३)आदि प्रमुख हुन् । सत्तरीको दशकमा उनले साहित्यिक एवं राजनैतिक समीक्षा ‘प्लुरल’ सम्पादन गरे । उनका प्रमुख कृतिहरुमा ‘द रुटस् अफ म्यान’ (१९३७), ‘द सन स्टोन’ (१९५७), द भ्वाइलेण्ट कण्डिसन, (१९५८) आदि हुन् । त्यसै समयावधिमा उनले दार्शनिक निबन्धका कृतिहरु एवं राजनैतिक तथा साहित्यिक समीक्षाहरु लेखे जसमध्ये ‘द लेवरिन्थ अफ सोलिच्यूड’ (१९५०) र ‘इगल अर सन ?’ (१९५१) प्रमुख मानिन्छन् ।

शुरुमा फ्रान्सका लागि मेक्सिकोको राजदूतावासमा सचिवको रुपमा काम गरिसकेका पाज सन् १९५१ मा जापान गए कुटनैतिक सेवामै । त्यसपछि १९६२ देखि १९६८ सम्म पाजले भारतका लागि मेक्सिकोका राजदूतका रुपमा गरे । १९६८ मा आफ्नो सरकारले विद्यार्थीहरुमाथि गरेको क्रूर व्यवहार र दमनको कारण देखाएर विरोध स्वरुप राजिनामा गरे । भारत बसाइले उनको जीवन तथा रचनामा महत्वपूर्ण प्रभाव पारेका छन् । उनले राजदूत पद त्यागेपछि बेलायत, फ्रान्स, अमेरिका र मेक्सिकोमा संक्षिप्त अध्ययन कार्य गरे र ७० को दशकमा धेरैजसो उनको समय हाभर्ड विश्वविद्यालया बित्यो । सुरुमा कम्युनिष्ट विचारधारा राख्ने पाजले पछि मोहमङ्ग भएर आफूलाई समाजवादीको रुपमा उभ्याए अनि कम्युनिष्टहरुको आलोचना गरे । त्यसको बदलामा तिनीहरुको आलोचना पनि उनले खप्नु पर्यो । यसै सन्दर्भमा १९७४ मा प्रकाशित भएको ल्याटिन अमेरिकी आन्दोलन कविताको सङ्कलनमा उनलाई छुटाइएको घटनाले विशेष महत्व राख्दछ ।
सन् १९६२ पछिका उनका प्रमुख काव्यकृतिहरु यस प्रकार छन्–

१. ब्लान्को १९६७
२. डिस्कोस भिजोलस १९६८
३. इष्ट स्लोप १९७१
४. इयर बोर्न १९८१
५. सिस्टर जुआना १९८२
६. अर्लि पोइमस (१९३३÷५५) १९७३
७. सेलेक्टेड पोइम्स १९७९

पाजको भारत प्रवास पछिका कृतिहरुमा ‘पोष्ट स्कृप्ट’ १९७० र ‘कन्जङसन एण्ड डिस्कन्जङस १९७० प्रमुख छन् । आफूले राजदूत पदबाट राजिनामा गर्नुका कारणहरु उनले ‘द अदर मेक्सिको : क्रिटिक अफ द पिरामिड’ १९७२ मा उल्लेख गरेका छन् ।

उनले १९४४ मा गुगेन्थियम फेलोसिप यू.एस.ए. पाएका थिए ।

अमेरिकी एकेडेमी अफ आर्टस् एण्ड लेटर्सबाट सम्मानित सदस्य भैसकेका पाजले नोवेल पुरस्कार प्राप्त गर्नु अघि अनेकन प्रतिष्ठित पुरस्कारहरु पाइसकेका थिए जसमध्ये ‘इण्टरनेशनल पोइट्री गैण्ड प्रिक्स प्राइज १९६३, गैण्ड गोल्डन इगल अफ इण्टरनेशनल फेष्टिबल पेरिस १९७९, जेरुसेलम प्राइज १९७७, पीस प्राइज (जर्मन बुक ट्रेड) १९८४ र संयुक्त रुपमा प्राप्त इण्टरसोल प्राइज १९८७ ले विशेष महत्व राख्दछन् ।
पाजका नविनतम चर्चित पुस्तकहरुमा ‘वन अर्थ फोर अर फाइव वर्ल्डस” ( १९८५ ) प्रमुख छ । उनी अमेरिकालाई एउटा पृथ्वी र चार अथवा पाँच विश्वको रुपमा घोषणा गर्दछन् ।

पाजलाई भारत प्रवासमा हिन्दु पुराकथाले निकै प्रभाव पार्यो । उनले हिन्दुवाद अध्ययन एवम् मनन गरे । त्यसको असिमित भण्डारबाट उनले सक्दो ज्ञान ग्रहण गरे र तिनलाई आफ्नो लेखनमा आरोपित गरे । भारत प्रवासपछिका रचनामा त्यसको प्रभाव मजाले देख्न सकिन्छ । दृष्टान्तमा पाजले आफ्नो कवितामा हनुमानको प्रतीकलाई अत्यधिक प्रयोगमा ल्याएका छन् । उनले हनुमानको प्रतीकबाट त्यो अनुभव गरे जुन अनुभव उनले कुनै पनि पाश्चात्य प्रतीकबाट प्राप्त गर्न सकेका थिएनन् । पाजले हनुमानलाई सम्बोधन गर्दै भनेका छन् “म तिमीलाई दोहोर्याइ रहेछु, म तिमी नै बाँचिरहेछु, म तिमीमा छु, तिमी म मा छौ, म आफ्नो विभक्त अस्तित्व तिमीलाई समर्पित गर्दछु, जबकि म आफू यसै रुपमा बाँच्न श्रापित छु ।”

पाज आफ्ना कवितामा अचानकै एक सन्दर्भबाट अर्को सन्दर्भमा यस्तरी फड्को मार्छन् कि उनको कविता पढ्दा पाठकलाई मोडिनुपर्छ, रोकिनु पर्छ, दौड्नु पर्छ र उड्न समेत पर्छ । यसै कारण भारतीय साहित्यकार प्रयाग युक्त उनलाई ‘कष्मिक उडानका कवि’ भनेर विशेषण दिन्छन् । भारत बसाइले उनमा भारतीय कला संस्कृतिले ठूलो प्रभाव पारेको थियो र भारतीय साहित्यिकार र कवि कलाकासँग सुमधुर सम्बन्ध थियो ।
पाज कलालाई राजनीतिसँग आबध्द गर्छन् र राजनीतिलाई प्रेमसँग । यी दुवै मानव सम्बन्धका चरम अवस्था हुन् ।

मार्क्स र मार्क्सवादको सम्बन्धमा पाजको धारणा यस्तो छ –‘म मार्क्सलाई पछिल्लो एक शताब्दीको सबैभन्दा ठूला दार्शनिक र द्रष्टा मान्दछु । तर इतिहासको विषयमा मार्क्सका निष्कर्ष अधूरा छन् । मार्क्सले वर्गसत्ताको स्थापनाको बारेमा स्पष्टिकरण दिएका थिए । तर अगाडि गएर वर्गसत्ता निर्मम राज्यसत्ताको रुपमा परिणत हुन पुग्यो । आज मानवको ‘एलिनियसन’ को लागि राज्य सत्ताहरु नै जिम्मेवार छन् ।’

उनी भन्छन्, “छात्र या बुद्धिजीवी या कवि या कलाकार पैगम्बर हैनन् । उनीहरु दुनियाँलाई बाटो देखाउन सक्दैनन् । तर राजनेताहरुले संसारलाई जुन रसातलमा पुर्याइदिएका छन् त्यसको विशेष गर्न अवश्य सक्छन् र पश्चिमका छात्र या बुध्दिजीवी यही गर्दैछन् ।” उनको भनाइ छ- “छात्र या बुध्दिजीवी दुईमध्ये कोही पनि क्रान्तिका बाहक होइनन् । जहाँसम्म मजदूरवर्गको प्रश्न छ, ऊ अब क्रान्तिका इच्छाहरु प्राप्त गर्न सक्तैन । यो कुरा पश्चिमी समाजका अध्येताहरु धेरै राम्रोसँग जान्दछन् । छात्र र बुध्दिजीवी केवल विरोध गर्न सक्छन् र विरोध गरेरै परिवर्तन ल्याउन सक्छन् ।”

पाजको सबैभन्दा ठूलो प्रेम निश्चय नै कविता हो । त्यसैले उनी भन्छन् –“कवितालाई जीवनसँग समाहित गर्नुभन्दा जीवनलाई नै कवितामा ढाल्नु बेश हुँदैन र !” उनी भन्छन्–“कविता मातृभूमिको सम्झना र भाषा हो । बिना कविता मान्छे राम्ररी बोल्न पनि सक्दैन । मेरो मृत्यु जबसम्म हुँदैन तबसम्म म कविताबाट अवकाश लिन चाहन्न ।“

केही समय भेटघाट र संगत गरेका सार्त्र र कामूका बारेमा पाज भन्छन् –“सार्त्र र कामु दुवै नै महान् लेखक होइनन् । तर कामु निसन्देह राम्रा लेखक हुन् । तर यही कुरा म सार्त्रको बारेमा भन्न सक्दिन, केवल उनको ह्रासोन्मुख राम्रा कथाहरु छाडेर । सार्त्रका उपन्यास खराब छन् र उनका बाँकी साहित्यले पनि विशेष महत्व राख्दैनन् । म उनलाई एक महत्वपूर्ण रचनाकार हैन, तर मौलिक चिन्तक अवश्य मान्दछु र मेरो मनमा यदि उनीप्रति आदर भाव छ भने त्यो उनको साहित्यको कारण हैन, उनको आदर्शको कारण हो जुन सही या गलत जे भए पनि त्यो उनको आफ्नो हो ।”

ब्रेख्त र उनको विचारको बारेमा उनी भन्छन् –“ब्रेख्तको कलाको रहस्य माम्यवाद होइन । उनी भित्रको विद्रोही हो । स्वभावमा र रचनामा यही विद्रोहले नै लेखकलाई लेखक बनाउँदछ । यो विद्रोहको कर्मभूमि चाहे जे होस् । विद्रोह आफूभित्रै हुन्छ । बाहिरबाट त्यसलाई जुटाइँदैन । तर यसबाट पनि ठूलो खतरा तब उत्पन्न हुन्छ जब ‘प्रतिबध्दता’ साहित्यको मूल्याङ्कनको लागि एउटा मापदण्ड मान्ने आग्रह गरिन्छ ।”

“व्यक्तिगत रुपमा मलाई सबभन्दा बढी ब्रेंतोंले प्रभावित तुल्याएको छ । पुराना कविहरुमा मेरो सबभन्दा प्रिय कवि मलार्मे हुन् । तर पछिका कविहरुमा एलु आर, नेरुदा, निशाँ र सेण्ट जाँ पर्श मेरा प्रिय कविहरु हुन् र उनीहरुका कवितामा यति क्षमता छ कि तिनीहरुलाई दोहर्याएर पढ्न सकिन्छ । मेरो सोचाइमा पश्चिमका सम्पूर्ण कविताहरुलाई नयाँ जीवन दिन प्रतीकवादी र अतियथार्थवादी आन्दोलनले जति ठूलो योगदान दिएको छ त्यति अरु केही दिएको छैन ।” भन्ने पाज अमेरिकी वीट कविहरुका बारेमा भन्छन् “जहाँसम्म मैले पढेको छु, तिनका कवितामा मानवीय आग्रह त छ तर कला र कविताको दृष्टिले त्यति महत्वपूर्ण छैनन् कि दशवर्ष भन्दा बढी बाँचुन् । कविताको बारेमा पनि यही नै भन्न सकिन्छ ।”

सन् १९९० मा बर्लिनको पर्खाल भत्काइएपछि पाजले विश्वका उनका केही समकालीन कविहरुलाई मेक्सिको शहर आमन्त्रण गरेका थिए । त्यसरी आमन्त्रण गरिएकाहरु थिए-चेस्लाव मिलोश, ह्यूग थोमस, डानियल वेल, आग्नेश हेलर, कार्नेलिस कास्टोरियडिस, ह्यूग ट्रेभोर, जाँ फ्रास्वाँ रेभेल, माइकल ईग्नाटिफ, मारियो भार।गास लोसा, जर्ज एडवार्डस् र कार्लोस फ्रान्कुई ।” यस भेलालाई ” द एक्सप्रेसन अफ फ्रिडम” नाम दिइएको थियो र अगस्त २७ देखि २ सेप्टेम्बरसम्म मेक्सिकन टेलिभिजनमा प्रशारण गरिएको थियो ।

पाजको मृत्यु ८४ वर्षको उमेरमा १९ अप्रिल १९९८ का दिन मेक्सिको शहरमा भयो । उनले एक बर्षअघि आफू अस्वस्थ भएको बताएका थिए तर त्यसवारे विस्तृत विवरण दिएका थिएनन् । उनको मृत्युको घोषणा गर्दै मेक्सिकाली राष्ट्रपति अर्नेष्टो जेडिलोले भनेका थिए, ” यसले सवै मेक्सिकालीहरुलाई दु:खी वनाउनेछ र मलाई थाहा छ सवै मेक्सिकालीहरु एकताबध्द भएर हार्दिक श्रध्दान्जली दिनेछन् उनको जीवन र कर्मका लागि !”

पाजले सन् १९३७ मा प्रख्यात मेक्सिकाली लेखिका एलिना गारोसँग विहा गरे र उनीहरुवाट एक छोरी भयो, हेलेना । सन् १९५९ मा उनीहरुको विवाह अन्त भयो । उनीहरु छुट्टिए । अनि सन्१९६५ मा उनी फ्रान्सेली महिला मारिया होजे ट्रामिनीसँग
वैवाहिक सम्बन्धमा बाँधिए । तर पहिलो पत्नी एलिनाले भने उनीहरुबीच आधिकारिक पारपाचुके नभएको र कुनै त्यस्तो कागजात छ भने त्यो नक्कली हो भनेर सधैँ दाबी गरिरहिन् ।
पाजको एक छोटो कविता:

पुल

अहिले र अहिलेको बीचमा
जहाँ म छु र तिमी छौ
पुल शब्द छ ।

यसमा प्रवेश गर्दा
तिमी आफैं प्रवेश गर्छौ
संसार जोडिन्छ
र बन्द हुन्छ औंठीजस्तै ।

एक किनारादेखि अर्कोसम्म
त्यहाँ सधैँ
यौटा शरीर तन्किन्छ
ईन्द्रधनुषको ।
म सुत्दछु त्यसको वृत्तमुनि ।

कविता पढ्नु र सुन्नुको विषयमा उनको भनाइ हुन्थ्यो-” कविता पढ्नु भनेको आँखाले सुन्नु हो भने कविता सुन्नु कानले हेर्नु हो !”