
मूल: फ्राइड्रिच डुरनिमेट
अनुवाद: गोविन्द गिरी प्रेरणा
ऊ चौबीस वर्षको तन्नेरी थियो । आतङ्ककारी दृश्यको सामना गर्न नपरोस् भनेर ऊ यस्तो स्थानको खोजी गर्थ्यो जहाँ आरामसँग बस्न सकियोस् । खतरनाक वस्तुबाट बच्नको लागि ऊ ब्राजिलमा बनेको कडा सिगार पिउँथ्यो। आँखामा मोटो चस्मा भिर्थ्यो र त्यसमाथि घाम छेक्नका लागि थप अर्को चस्माको सिसा टाँस्थ्यो। ऊ कानमा रुवा पनि ठोस्थ्यो । यो युवक अहिले आफ्नो पितामाथि आश्रित थियो र विश्वविद्यालयमा अध्ययनरत थियो । त्यहाँ ऊ दुई घण्टाको रेल यात्रा पश्चात् पुग्न सक्थ्यो ।
एक आइतबार ऊ सधैँझैँ रेलमा चढ्यो। रेल पाँच बजेर पचास मिनेटमा प्रस्थान गर्थ्यो र सात बजेर पचास मिनेटमा पुग्थ्यो । उसलाई विश्व विद्यालयको एउटा सेमिनार भ्याउन पुग्नु थियो। घाम मज्जाले लागेको थियो । रेल आल्प्स र जुराका अत्यन्त राम्रा पहाडका बीचबाट जान्थ्यो जहाँ एउटा नदीको किनारमा अत्यन्त राम्रो गाउँ देखिन्थ्यो। बीस मिनेटपछि यो रेल यो सुरुङबाट हिँड्थ्यो ।
रेल खचाखच भरिएको थियो । चौबीस वर्षीय तन्नेरी अघिल्लो डिब्बाबाट चढेको थियो । आरामदायी ठाउँ खोज्न ऊ अन्तिम डिब्बासम्म पुग्यो र त्यहाँ आरामसँग बस्ने खुल्ला ठाउँ झ्यालसँगै भेट्यो । डिब्बासम्म पुग्न उसले परिवार, विद्यार्थीहरू र एक अर्कासँग लालायित प्रेमीहरूको भीड पार गर्न परेको थियो । यस कोसिसमा कहिले ऊ कसैको उक्सेको पेटमा ठोकिन पुग्थ्यो त कहिले कुनै तरुनीको पोटिलो छातीमा । उसको ठीक सामुन्ने ऊभन्दा मोटो एउटा मानिस बसेको थियो, जो चेस खेल्दै चियो। उसको सिटको एकापट्टि एउटा जवान युवती उपन्यास पढ्न मग्न थिई ।
झ्यालको छेउमा बसेको उसले सिगार सल्काउन के लागेथ्यो, उसले देख्यो-सुरुङ आइहाल्यो । आज सुरुङ पहिलेभन्दा लामो लागिरहेको थियो । यता ऊ कयौँ पल्ट आइसके पनि उसले यो सुरुङको बारेमा यति गहिरोसँग ध्यान दिएको थिएन । वास्तवमा कुरा के थियो भने एक एक दुईपल्ट जब ऊ यसको बारेमा सोच्न थाल्थ्यो, त्यतिन्जेल रेलले सुरुङ पार गरिसक्थ्यो र सुरुङ छोटो लाग्थ्यो। यस पल्ट जब रेल सुरुङभित्र पस्यो, उसले सुरुङको बारेमा सोचेको थिएन ।
केही समयअघि साँझको सूर्य, पहाड, जङ्गल र बस्तीहरूलाई सुनौलो रङले पोत्दै थियो । सुरुङ शुरू हुनेबित्तिकै एक किसिमको अँध्यारोको झट्का लागेथ्यो । शायद यही कारणले उसलाई यो यात्रा लामो लागिरहेथ्यो ।
कम्पार्टमेण्टमा अँध्यारो थियो, चूक घोप्ट्याएजस्तो । सुरुङ सानो भएको हुँदा डिब्बामा बत्ती पनि बलिरहेको थिएन। दिउँसोको उज्यालो कुनै पनि क्षण पर्दा सुनौलोपनले त्यसलाई रँगाउन सक्थ्यो। उसले आफ्नो घामले तातेको चस्मा फुकाल्यो । केटीले पनि यही मौकामा सिगार सल्काई, सम्भवतः उपन्यास पढ्न कठिन भएको रिस मार्न होला । त्यति नै बेला उसले घडी हेरी । छ बजेर दश मिनेट गएको थियो । ऊ सिटमा निहुरियो र आफ्नो पढाइको बारेमा सोच्न थाल्यो । तर पढाइको बारेमा खास गम्भीर कुरा केही थिएन । जब उसले फेरि आफ्नो घडी हे-यो, छ बजेर पन्ध्र मिनेट गएको थियो । उसलाई छटपटी भयो ।
अब बिजुली बलेको थियो र कम्पार्टमेण्ट उज्यालो भएको थियो। रातो कपाल भएकी युवतीले उपन्यास पढ्न थालिसकेकी थिई । मोटेले चेस खेल्न सुरु गरिसकेथ्यो । सुरुङ बाहिर कम्पार्टमेण्टको पूरा छाँया देखिन्थ्यो ऐनामा । सुरुङ अझै देखिँदै थियो ।
ऊ उठ्यो । अलि पर गयो । फेरि आफ्नै ठाउँमा फर्कियो । सुरुङ कुनै पनि बेला सकिन सक्थ्यो । उसको घडीमा बीस मिनेट अङ्कित हुन लागेको थियो । ऊ आफूलाई आफैँ गाली गर्दै थियो । यसअघि किन यो सुरुङमाथि उसले ध्यान दिएन ?
कतै ऊ गलत रेलमा त बसेन ? चेस खेल्ने मोटेलाई उसले सोध्यो- “के यो जुरिख जाने गाडी हो ?”
मोटेले स्वाँ ग-यो । तन्नेरीले फेरि भन्यो- “उसलाई थाहा छैन सुरुङ कति लामो छ ।” तर मोटेले क्षमा याचना ग-यो किनभने ऊ खेलको यस्तो मोडमा आइपुगेको थियो कि उसले दोस्रो कुरा सोच्ने स्थिति नै थिएन । मोटेले नम्रतापूर्वक तर दृढतासहित आफ्नो कुरा भन्यो । उसलाई त्यति बेला खुशी लाग्यो जब टिकट जाँच्ने मानिस त्यस डिब्बामा देखा प-यो ।
“के म सही गाडीमा छु ?” उसले सोधिहाल्यो !
“एकदम सही गाडीमा हुनुहुन्छ,” उसले जवाफ पायो ।
“अहिले त छ बजेर बीस मिनेट गएको छ ।”
उसले सोच्यो र अचानक चिन्तित भयो । ६ बजेर सैँतीस मिनेटमा हामी ओल्टन पुग्ने छौं। शायद हामी खराब मौसमको चपेटमा परेका छौं। त्यसैले त बाहिर बस्ती अँध्यारो छ- उसले आफूले आफैँलाई भन्यो ।
“हामी सुरुङबाट जाँदै छौं । हेर्नुस् न ढुङ्गा र चट्टानहरू । रेल जुरिखतिर जाँदैछ,” टिकट जाँचकीले फेरि बतायो।
तर त्यस तन्नेरीले भन्यो, “म गार्डसँग भेट्न चाहन्छु ।”
“गार्ड सबभन्दा अघिल्लो डिब्बामा छ,” टिकट जाँचकीले जवाफ दियो ।
तन्नेरी अघिल्लो डिब्बातिर हिँड्यो । अगाडि जान वास्तवमा दुष्कर चियो किनभने रेलको दौडाई निकै वेगवान् थियो। मानिसहरू चुपचाप चुपचाप थिए । एउटा अङ्ग्रेज खाने चीज मगाउन होला, भोजनवाला डिब्बा ढकढकाउँदै थियो ।
उसले गार्डलाई पोशाकको माध्यमले चिन्यो। ऊ सिगार माग्दै थियो तर विक्रेतासँग सिगार छँदै थिएन । तन्नेरीले एउटा सिगार टक्रायो ।
“भन्नोस, के सेवा गरौं ?” गार्डले भन्यो।
“हामी सुरुङमा पसेको पच्चीस मिनेट भयो,” तन्नेरीले भन्यो।
“म पनि यही सिगार पिउँछु। खैर ….. मेरो पछिपछि आउनुहोस्। इन्जिन अगाडि छ । हेरौं, के भएको छ,” गार्डले भन्यो।
सामानको डिब्बाबाट उनीहरू अघि बढे ।
“तपाई के चाहनु हुन्छ?” गार्डले सोध्यो ।
“वर्गडार्गदेखि हामी सुरुङमै छौं । यो इलाकामा त यति लामो सुरुङ छैन,” तन्नेरीले अलि अप्ठ्यारो मानेर भन्यो।
गार्ड केही लेख्न थाल्दै थियो, “महाशय,” ऊ उसको एकदममै नजिक नजिक आएर भन्यो, “त म के गर्न सक्छु?”
“तपाईंले रेल रोकिदिनु प-यो !” तन्नेरीले हताश भएर भन्यो ।
“रेल रोक्नु रे !” गार्ड विस्तारै फुसफुसायो ।
“के तपाई सङ्कटकालीन ब्रेक लगाउन सक्नुहुन्न ?” तन्नेरीले भन्यो । त्यति नै बेला घरका सामानहरू उनीहरूतिर चिप्लिएर खस्यो।
“हामी तलतिर जाँदै छौं,” गार्डले भन्यो । उनीहरूको छेउको ढोका अचानक खुल्यो । गार्डलाई खतराको अनुभव भयो।
उसले ढोका बन्द ग-यो । तर बाहिर हावा जोडसँग बहिरहेको थियो ।
“हामी इन्जिनसम्म पुग्न बाहिरबाट चढ्नुपर्ने हुन्छ,” गार्ड चिच्च्यायो । तिनीहरू कुनै किसिमले बाहिर आए।
हावाको वेग कल्पनाभन्दा बाहिरको चियो । तिनीहरू इन्जिन भए ठाउँमा पुगे, कयौं खतराको सामना गर्दै।
“हामी खतम भइसकेका थियौँ । सिगार पनि खतम भयो । डिब्बाको माथिबाट चढेर आउनु ठीक थिएन,” उसले
निसासिँदै भन्यो । अलिकति सचेत भएपछि तन्नेरीलाई आफ्ना अतीतका नरमाइला दिनको याद आयो । उसले
खल्तीबाट सिगारको कुच्चिएको प्याकेटबाट एउटा सिगार निकाल्यो र गार्डलाई दियो।
“हामी ड्राइभरको सिटमा जान सक्छौं,” गार्डले भन्यो । उनीहरू त्यहाँ पुग्दा सिट खाली थियो । ड्राइभर त्यहाँ
थिएन। घडीमा छ बजेर चालीस मिनेट भएको थियो । रेल भयङ्कर जोडले दौडिरहेको थियो ।
“क्षमा गर्नु होला !” गार्डले सारा हेण्डलहरू हल्लाउन थाल्यो। सङ्कटकालीन ब्रेक पनि लगाएर हेर्न थाल्यो । तर
इन्जिन बन्द भएन । रेल रोक्न हर सम्भव कोसिस ग-यो ।
“यो रेल रोकिँदैन !” तन्नेरीले भन्यो, “सुईले देखाइरहेछ वेग १५० माइल प्रति घण्टाको हिसाबले यो रेल दौडिरहेछ।”
“हे भगवान !”
“वेग एकदम बढिरहेछ । सुईले बताइ रहेछ- एक सय पचासी माइल प्रतिघण्टा ।… हामी झर्दै छौं ।” उसले ढोका
समात्ने प्रयत्न ग-यो । तर लडिहाल्यो ।
“इन्जिन ड्राइभर !” ऊ चिच्च्यायो र बाहिरको चट्टानतिर हे-यो । उसलाई यस्तो लाग्यो मानौं बिजुलीको बल्ब ऊतिर सर्दै आइरहेछ ।
“ड्राइभर शायद ट्रेनबाट हाम्फालिसक्यो ।”
“कहिले?”
“पाँच मिनेटपछि नै ! सामान घरको गार्ड पनि त बेपत्ता भयो !”
“अनि तपाईं ?”
“म यो रेलको इन्चार्ज हुँ । म त सधैँ कुनै उम्मिद बिना नै बाँचिरहेछु ।”
“बिना उम्मिद रे!” तन्नेरीले उसको भनाइ दोहो-यायो, “आफ्नो कम्पार्टमेण्टमा बस्दा हामीलाई थाहै थिएन, के भइरहेछ ।” ऊ सोचिरहेथ्यो । ” केही पनि बदलिएन, बस सुरुङ हामीलाई गहिराइतिर लगिरहेछ ।”
“आफ्नो डिब्बामा जानोस्,” गार्ड चिच्च्यायो, “त्यहाँ हल्ला खल्ला भै रहेको होला ।”
उसले सिगारको पूरा पाकेट गार्डलाई थमायो। “यो लिनुस् ल !” गार्डले भन्यो, “तिमी मसँग नआऊ । वेग दुई सय माइल प्रति घण्टा छ । यस्तो स्थितिमा डिब्बा चढेर पार पाउन सकिँदैन ।”
“मैले कोसिस त गर्नै पर्छ,” गार्ड उठ्यो । तर चीजहरू सब उल्टो थिए । इन्जिनको भित्ता उसलाई उल्टोतिर धकेलिरहेथ्यो। गार्ड ड्राइभरको सिटमा गएर थेच्चरियो । तन्नेरी पनि अब गतिहीन – अविचल बसिरहेथ्यो सिसाको अनन्त गहिराइमा आफ्नो खुलेको आँखाले ऊ त्यो अनन्त गहिराइ पिइरहेथ्यो। “अब- हामीले के गर्नु पर्ला ?” एउटाले सोध्यो ।
“केही पनि नगर्ने । के गर्नु ?” अर्कोले पश्चाताप र मृत्यु भयले पुरिएको दृष्टि नहटाइकन उत्तर दियो। विना कुनै भयानकता, जुन चीजबीजहरूको तोडफोडको रूपमा त्यहाँ विद्यमान थियो – उसको कानमा कोचिएकी रूवा अचानक हावाले उडाइ दियो र ऐना फुटेका आवाज कानमा बारम्बार ठोकिन थाल्यो ।
“केही छैन । ईश्वरले हामीलाई तल लैजाँदैछन् र अब हामी तल तल निरन्तर तल तल जाँदै छौं !”
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

