नेपाली साहित्यमा धेरै सङ्ख्यामा लेख्नेहरुमा भीमनिधि तिवारी, हरिहर शास्त्री, शङ्कर कोइराला आदिका नाम प्रमुख रुपमा लिने गरिन्छ । विशेषगरी जानिएका, मानिएका, चिनिएका समालोचकहरु र विद्वानहरु यी लेखकहरुलाई ‘सङ्ख्यात्मक लेखक’को दर्जामा राख्न मन पराउँछन् । तर ती समालोचक, विद्वानहरुले तिनका सवै कृति पढेर, अध्ययन गरेरै टिप्पणी गरेका हुन् त ? यो प्रश्न चाहीँ सदा टड्कारो रुपमा ठडिइरहन्छ । धेरै किताव लेख्नु भनेको सङ्ख्यात्मक मात्रै हो, त्यसमा गुणको अँश नै हुँदैन त ? कि धेरै पढ्न कष्टसाध्य भएर त्यस्तो टिप्पणी आएको हो ? यस्ता प्रश्नहरु सदा सल्वलाईरहेका हुन्छन् । मैले भीमनिधि तिवारी र हरिहर शास्त्रीसँग प्रत्यक्ष भेट्ने अवसर पाइन । तर शंकर कोइरालासँग भेटघाट र सङ्गत संक्षिप्त रुपमा भने पनि गर्न पाएँ ।

शङ्कर कोइरालालाई मैले साझा प्रकाशनमा पहिलोपल्ट भेटेको हुँ । मैले आफ्नो पहिलो पुस्तक कथा सङ्ग्रह ‘सुतेको समुद्र’ साझा प्रकाशनमा प्रकाशनार्थ पाण्डुलिपि वुझाउन जाँदा पहिलोपल्ट भेटेको हुँ । त्यतिन्जेल मैले उनको ‘खैरिनीघाट’, ‘पिउन अखवारको’ लगायतका उनका केही उपन्यास पढिसकेको थिएँ र तत्कालिन समयमा प्रकाशित हुने साहित्यिक अखवारहरुमा प्रकाशित फूटकर कथाहरु पनि पढिसकेको थिएँ र मेरो मनमा उनीप्रति एक स्थापित लेखक साहित्यकारको छविचित्र मेरो मनमा कोरिइसकेको थियो । अनि उनी र कवि शंकर कोइराला दाजुभाई हुन् भन्ने पनि सुनिसकेको थिएँ ।

गोविन्द गिरी प्रेरणा

पहिलो भेटमै म अत्यन्त प्रभावित भएँ । शान्त, विनम्र, अलिक लजालुजस्तो लाग्ने स्वभावका उनले आफ्नै हातले मेरो पाण्डुलिपि वुझेको भर्पाई लेखेर दिए । उनले लेखेको त्यो भर्पाई अद्यापि मेरो फाइलमा सुरक्षित छ । राम्रा अक्षरमा हरियो मसिले लेखेको उनको सुन्दर हस्ताक्षर मैले जोगाएर राखेको छु ।

त्यसपछि पनि मैले उनलाई साझा प्रकाशनको त्यही कुर्सीमा अनेकपल्ट भेटेँ । थुप्रै फाईलका चाङ्ले घेरिएका, साना काँटका र अभिवादनपछि हल्का मुस्कान अनुहारमा ल्याएर कुरा गर्थे उनी । म पाण्डुलिपि के भयो बुझ्न गइरहन्थेँ । ‘मूल्याङ्कनका लागि गएको छ । आएपछि थाहा हुन्छ’ भन्थे । जीवनको पहिलो किताव प्रकाशनको कुरा थियो, उमेर पच्चीस पुगेको थिएन, धैर्यहीन हुनु त सामान्य कुरा थियो मेरो त्यो अवस्था र उमेरको हिसावले ।

धेरैजसो उनी केही न केही लेखिरहेका हुन्थे । कुनै कथा र उपन्यास लेखिरहेको जस्तो लाग्थ्यो ।

शंकर कोइरालाको पहिलो उपन्यास ‘दुई ड्राइभर’ विसं २०१४ सालमा रत्न पुस्तक भण्डारवाट प्रकाशित भएको थियो । उनलाई ख्याति दिलाउने कालजयी आञ्चलिक उपन्यास ‘खैरिनीघाट’ विसं २०१८ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो । उनको कलम निरन्तर चलिरह्यो, उनले उपन्यास विधामा कृतिहरु जन्माउँदै गए ।

तर उनले पछि लेख्दै गएका कृतिहरुमा अध्येता र समालोचकहरुको उतिसारो ध्यान गएन । तर लेख्नुलाई उनले अम्मल माने, आफ्नो जीवनको गन्तव्य ठाने । जसले जे ठाने पनि, माने पनि उनले लेखनलाई निरन्तरता दिनु लाई नै एक प्रकारले धर्म माने ।

उनले उपन्यासको साथै कथा लेखनलाई निरन्तरता दिए, नाटक लेखे, आत्म कथा लेखे । उनले आफ्नो आत्मकथामा लेखन, पारिवारिक पृष्ठभूमि र आफ्नो निष्ठाको वारेमा निकै खुलेर लेखेका छन, कत्तै पनि नढाँटी बालसुलभ झैँ, विना छक्कापञ्जा । कतिसम्म भने आफू काम काज विनाको ढाक्रे हुन पुगेकाले जेठी श्रीमती पोइल गएको कुरा पनि आत्म कथामा सहज ढङ्गले बयान गरेका छन् ।
उनले आफ्नो जीवनका धेरै वर्षहरु साझा प्रकाशनमा बिताए पनि त्यो भन्दा अघि उनले गोरखापत्र छापाखानामा पण्डितको पदमा, व्युरो अफ एजुकेशन, चेतभवनमा प्रुफ रिडर, रत्न पुस्तक भण्डारमा प्रुफ रिडर र अनुवादकजस्ता काम गरेका थिए ।

साझा प्रकाशनका म्यानेजरको रुपमा रहेका कवि क्षेत्रप्रताप अधिकारीले यौटा संघर्षशील लेखक देखेर आफैँले साझामा बोलाएर जागिर दिएका थिए जसले उनको तत्कालिन आर्थिक जीवन सहज भयो, किनभने उनी १०० रुपैयाँको जागिरमा झुण्डिरहेका थिए । क्षेत्रप्रतापले उनलाई शुरुमै ३०० रुपैयाँ पाउने गरी साझामा जागिर लगाईदिएका थिए ।

उनको सरलताको यौटा रमाइलो घटना म आफैँसँग सम्बन्धित छ । मेरो पहिलो पुस्तक कथा सङ्ग्रह ‘सुतेको समुद्र’ साझा प्रकाशनबाट प्रकाशन भयो विसं २०४० सालमा । त्यसपछि मैले अर्को मेरो पुस्तक उपन्यास ‘उतखनन्’ को पाण्डुलिपि बुझाएँ र त्यो पनि स्वीकृत भयो । यतिन्जेलसम्म शंकर कोइरालासँग मेरो भेटघाट बाक्लो भैसकेको थियो । उपन्यास मुद्रण भएर अन्तिम चरणमा पुगिसकेपछि एकदिन साझा प्रकाशनमा जाँदा शंकर कोइरालाले भने, ‘तपाईंको उपन्यासमा के के कुरा छन, यसो टिपोट गरेर दिनुस् न !’

मैले भनेँ, ‘किन होला ?’

उनले भने, ‘प्रकाशकीय लेख्नका लागि !’

म छक्क परेँ । कमल दीक्षित साझा प्रकाशनमा छउन्जेल सबै पुस्तकको प्रकाशकीय उनी आफैँ लेख्थे र उनको हस्ताक्षरको छाप हुन्थ्यो । कृष्णचन्द्र सिंह प्रधान साझाको महाप्रवन्धक भएपछि उनले लेख्थे । तर धेरै कितावको लेख्न नभ्याउने र यो सिंगो किताव पढेर प्रकाशकीय लेखे बापत अतिरिक्त केही नपाईने हुनाले झिंझो लाग्नु स्वाभाविकै पनि थियो । अतः कृष्णचन्द्रले प्रकाशकीय लेख्न कहिले काहीँ शंकर कोइरालालाई दिँदा रहेछन् । यो झमेलाबाट पार पाउन उनले मेरो सहयोग मागे ।
मैले भनेँ, ‘म प्रकाशकीय कै रुपमा लेखेर ल्याइदिन्छु नि त !’

उनले हाँसेर भने, ‘त्यसो भए त झनै बेश !’

२\४ दिनमा मैले प्रकाशकीय लेखेर दिऐँ । त्यसमा अलिकति काँटछाँट गरेर मैले मेरो कितावमा साझा प्रकाशनको लागि लेखेको प्रकाशकीय प्रकाशित भयो । त्यो मैले लेखेको प्रकाशकीयको खेश्रा पाना मेरो सङ्ग्रहमा अझै छ, त्यसले मलाई शंकर कोइरालाको सम्झना दिलाइरहन्छ ।

शंकर कोइरालाले नियात्राको किताव त लेखेनन् तर साहित्यिक पत्रकार संघले कुनैबेला नियमित रुपले गर्ने साहित्य यात्रामध्ये ईलामको साहित्यिक यात्रामा उनी पनि सामेल थिए र त्यस यात्राको लामो संस्मरण रुपरेखामा प्रकाशित भएको थियो ।
उनले आधावाटे कान्छाको उपनामबाट ‘हकवाला’, ‘भट्टी पसल’, ‘पिसाच डाक्टर’ जस्ता उपन्यासहरु पनि लेखेका थिए । उनले हास्यव्यङ्गयात्मक उपन्यास ‘श्रीमती हिरोइन’ लेखेका थिए ।

शंकर लामिछानेका उपन्यासका प्रकाशकहरु नेपाल एकेडेमी, रत्न पुस्तक भण्डार, साझा प्रकाशन, नेपाली साहित्य प्रकाशन, संग्रह प्रकाशन, श्याम ब्रदर्स, नविन प्रकाशन, प्रकाश प्रकाशन र व्यक्तिगत रुपमा असमका के बी नेपालीले समेत प्रकाशन गरेका थिए । पछिल्लो समयमा उनले आफैँले यौटा यौटा कथाको १०र१२ पेजका पुस्तिका समेत प्रकाशन गरेका थिए ।

आफ्ना दाजु मोहन कोइराला नबुझिने कविका रुपमा आलोचित छन् भने उनी सरल भएकोमा आलोचित छन् । मोहन कोइरालाले पद र पुरस्कारहरु प्रशस्त भोग गरे, तर उनी जीवनभर पद र पुरस्कारवाट विमुख रहे ।

उनका २० पुस्तकहरु वर्ल्ड क्याट लाइव्रेरीका अनुसार ४ देखि ४२ वटा विश्वका विभिन्न पुस्तकालयमा रहेका छन् । ४२ वटा पुस्तकालयमा भएको पुस्तक खैरिनी घाट उपन्यास हो जसलाई ल्यारी हार्टसेलले अङ्ग्रेजीमा अनुवाद समेत गरेका छन् र त्यसका संस्करणहरु निरन्तर प्रकाशित भएका छन् ।

उनी आफैँले भनेका थिए, ‘प्रसिद्ध समालोचकहरुबाट उति साह्रो प्रशंसित नभए पनि बेला–बखत आधुनिक नेपाली उपन्यासका नाउँ लिँदा ‘खैरिनी घाट’को नाम लिन्छन् ।’

उनलाई धेरैले अर्को ‘खैरिनी घाट’ लेख्नु पर्यो भन्थे । तर उनी हाँसेर टारिदिन्थे । खासमा माहाकवि देवकोटा जसरी ‘मुना मदनमा’ बाँचेका छन्, शंकर कोइराला ‘खैरिनी घाट’मा वाँच्नेछन् । तर उनले नेपाली जनजीवनका घटना र पात्रहरुलाई आफ्नो रचनामा गरेको चित्रण पनि व्यर्थ छैन, तिनको पनि चर्चा गरिनुपर्छ, सङ्ख्यात्मक भयो भनेर पन्छाउनु जायज हुँदैन ।