साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

१३औं पुण्य तिथि विशेषः सम्झनामा राजेन्द्र सुवेदी सर !

Chovar Blues Mobile Size

राजेन्द्र सरलाई पनि कोहोना महामारीले शिकार बनायो !

आज उहाँको परलोक गमनको १३ औं पुण्य तिथि ।

म उहाँसँगका सम्झनाहरु सँगाल्न खोज्दैछु ।

विसं २०३६ सालको सडक कविता क्रान्तिको समाप्तिपछि म नयाँ सडकमा निमित जान थालेको थिएँ । त्यहाँ मोहनराज शर्मा र राजेन्द्र सुवेदी पनि पुग्नुहुन्थ्यो । कैयन् पल्ट न्यूरोड पीपलबोटबाट कालिमाटीसम्म हामी साहित्यिक कुराकानी गर्दै पैदल जाने गर्थ्यौं हनुमान ढोका, भीमसेनस्थान, विष्णुमती पुल, टङ्केश्वरी हुँदै कालिमाटीसम्म । म कालिमाटी प्रहरीको अफिस नजिकै श्याम ड्राइभरको छिंडीमा डेरा गरी बस्थें, त्यहाँ पुगेपछि हामी छुट्टिन्थ्यौं । राजेन्द्र सुवेदी घनश्याम कँडेलको घरमा डेरा गरी बस्नुहुन्थ्यो भने मोहनराज शर्मा त्यो भन्दा वल्लो यौटा भुईंतले घर पूरै भाडामा लिएर बस्नुहुन्थ्यो ।

मेरा कथा कविता व्यापक रुपमा प्रकाशित हुन थालेका थिए । यसै बीच साझा प्रकाशनले साझा कथा, साझा कविताको दोश्रो भाग निकाल्ने निधो गरेको थियो । साझा कथाको दोश्रो भागको सम्पादन गर्ने जिम्मेवारी मोहनराज शर्मा र राजेन्द्र सुवेदीले पाउनु भएको  थियो । त्यही सिलसिलामा न्यूरोडबाट कालिमाटी जाने क्रममा एकदिन दुबैले एकसाथ मलाई आफ्नो सबभन्दा मन पर्ने कथा कुन हो सोध्नु भयो । त्यतिखेर प्रकाशित र मलाई मन परेको कथा “प्रवेश” थियो

sagarmani mobile size
राजेन्द्र सुवेदी

। मैले त्यही भनें । दुवैले त्यो कथा पढेर मन पराउनु भयो र मेरो कथा पनि रहने भो सङ्कलनमा ।  नयाँ पिंढीको टुकुटुकु हिंड्दाखेरी नै साझा प्रकाशनको राष्ट्रिय स्तरको आधिकारिक सङ्कलनमा पर्न पाउने भएँ भनेर म फुरुङ्ग भएको थिएँ ।

त्यतिवेला म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखापरीक्षण शाखामा काम गर्थें र नेपालका बिभिन्न ठाउँमा कामको सिलसिलामा घुम्ने अवसर पाएको थिएँ । त्यसैले नेपालका बिभिन्न स्थानका साहित्यकारहरुसँग मेरो नियमित भेटघाट हुने गर्थ्यो र मैले साहित्यकारहरुसँग साहित्यिक सम्बन्थको नाता जोडेको थिएँ । यो कुरा मोहनराज सर र राजेन्द्र सर दुवैलाई थाहा थियो ।

यसै सिलसिलामा नेपालगञ्जका कथाकार नन्दराम लम्सालको “टेकुका टुहुरा” नामक कथा मन परेको र ती कथाकारको परिचय र उनको प्रकाशित कथा संग्रहको पुस्तक मगाउन सकिन्छ कि भन्नुभो दुवै सरहरुले । मैले सहर्ष स्वीकारें र नन्दराम लम्लासलाई चिट्ठी लेखेर सम्पर्क गरें । नन्दराम लम्सालले पनि खुशी भएर कथाका पुस्तक र परिचय पठाए । यसरी समसामयिक साझा कथाको सम्पादनमा उहाँहरुलाई मैले विनम्र सहयोग गर्ने अवसर पाएको थिएँ ।

साझा कथाको दोश्रो भाग भए पनि त्यसको नाम “समसामयिक साझा कथा” राखियो र विसं २०४१ सालमा पहिलो संस्करण प्रकाशित भयो । त्यसमा भूमिका दुई भागमा लेखिएको थियो, समग्र कथाहरुको ऐतिहासिक सन्दर्भ सहितको खण्ड र त्यसमा छानिएका कथा र कथाकारको परिचय । यसमा कथा र कथाकारको परिचय खण्डचाहीं राजेन्द्र सरले लेख्नु भएको थियो, यद्यपि यो कुरा सो पुस्तकमा खुलाइएको छैन ।

मैले विसं २०४० सालमा विहा गरें । अनि विसं २०४१ वैशाखमा मेरो जेठो छोराको जन्म भयो र कालिमाटीको डेरामा वस्न अप्ठ्यारो भयो । उता राजेन्द्र सर पनि कुलेश्वरबाट डेरा सर्ने तरखरमा लाग्नु भएको थियो, कोटेश्वरतिर । मोहनराज शर्मा र राजेन्द्र सुवेदी सरले नै राजेन्द्र सर वस्दै आउनु भएको २ कोठा मेरो लागि उपयुक्त हुने सुझाउनु भयो र म राजेन्द्र सर वस्नु भएको कोठामा सर्न पुगें । त्यसरी कालिमाटीबाट कुलेश्वरमा पुग्नुमा उहाँको पनि सहयोग रह्यो ।

खासमा राजेन्द्र सरले कुलेश्वरमा त्यही डेरा भएको घर नजिक केही आना जग्गा किन्नु भएको थियो । त्यहाँ घर वनाउने चाँजो के कसरी हो नमिल्ने भएपछि उहाँले कुलेश्वर छाड्ने निधो गर्नु भएको थियो ।

हाम्रो आत्मियता राम्रो थियो, त्यसैले मलाई कोटेश्वरमा जहाँ घर वनाउनु भो, त्यहाँ जग्गा किन्न सामुहिक सघाउने प्रस्ताव गर्नु भएको थियो, केही मिल्ने साथीहरुले पालै पालो किन्ने गरेर । शुरुमा मैले नै लिए हुन्छ भन्नु भएको थियो । यो राम्रो प्रस्ताव थियो । उहाँले मेरो काठमाडौंमा घर वनाउने चाहनाको परिपूर्तिका लागि सद्भाव देखाउनु भएको थियो र त्यो सद्भाव कार्यरुपमा परिणत गर्न खोज्नु भएको थियो । तर म त्रिभुवन विश्वविद्यालयको साधारण लेखापाल, आम्दानीको श्रोत राम्रो नभएकोले मैले त्यो प्रस्तावमा अघि बढ्न आँट गरिंन, नत्र म कोटेश्वरमा उहाँको छिमेकीको रुपमा बस्न पाउँथे । तर नियतिको सद्भाव मान्नुपर्छ, अन्तत: विसं २०६० सालमा कोटेश्वरकै नजिक सिनामङ्गलमा घर किन्ने साईत जुर्यो । अलि टाढाको छिमेक भएँ ।

राजेन्द्र सरको जीवन अध्यापनमै समर्पित रह्यो । यो एक पाटो थियो भने, लेखन, विशेषत: समालोचना उहाँको अर्को पाटो थियो । उहाँको समालोचना कृतिको प्रकाशन यात्रा “विषय गहन: सतह चिन्तन” बाट अघि बढेको थियो । नेपाली उपन्यास विषयको पुस्तक “नेपाली उपन्यास परम्परा र प्रवृत्ति” (विसं २०५३)ले उहाँको समालोचनात्मताको ठूलो क्षितिज उघारेको थियो । ईन्द्र वहादुर राईको ” नेपाली उपन्यासका आधारहरु”(विसं २०३१), कृष्णचन्द्र सिंह परधानको “नेपाली उपन्यास र उपन्यासकार”(विसं २०३७) पछि उहाँको यो कृति अलि व्यापक परिवेश समेटर तथा नेपाली साहित्यका विद्यार्थीलाई उपयोगी हुने किसिमले लेखिएकाले अलि बढी लोकप्रिय वन्यो । मेरो दोश्रो उपन्यास “पाखण्ड पर्व” को उहाँले गरिमामा समीक्षा लेख्नु भएको थियो ।

समालोचनामा राजेन्द्र सरले “सृजन परिधिमा पारिजात” र “सृजन विधाका परिधिभित्र ध्रुवचन्द्र गौतम” उल्लेखनीय छन् । पछिल्लो चरणमा नरेन्द्रराज प्रसाईंको जीवनी लेखनका विषयमा समेत ग्रन्थ लेख्नु भएको थियो ।

उहाँ र लक्षमण प्रसाद गौतमले संयुक्त रुपमा सम्पादित “रत्न वृहत् नेपाली समालोचना “(विसं २०६८) को सैध्दान्तिक र प्रायोगिक २ खण्डमा तयार पारिएका बृहत् खण्डहरु निकै महत्वपूर्ण कृतिका रुपमा नेपाली समालोचनाको ईतिहासमा रहनेछ । यो बृहत् २ खण्डका कृति रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

राजेन्द्र सरले आफ्नो कलमलाई  व्यङ्ग्य निवन्धमा पनि विस्तारित गर्नु भएको थियो । उहाँका “खाली शिशी पुराना कागज” (विसं २०४९) तथा “अब मेरो क्यासेट बन्द हुन्छ” (विसं २०५६) विशेष उल्लेखनीय रहेका छन् ।

एकपल्ट म नेपाल आएको वखत मदन भण्डारी साहित्य कला प्रतिष्ठानले हिमवत् साहित्य सम्मिलन गरेको थियो । मलाई पनि अमेरिकाको नेपाली साहित्यकारको रुपमा निम्त्याइएको थियो । कार्यक्रमको तामझाम निकै थियो । प्रधानमन्त्री केपी ओलीले कार्यक्रममा निकै समय दिएका थिए २ दिन । सो कार्यक्रमको आयोजक समितिमा राजेन्द्र सर पनि हुनुहुन्थ्यो । सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको आगामि कार्यकालको नियुक्तिका लागि प्रभावित गर्ने खालको थियो । हुन पनि आयोजकमध्यबाट पनि नव गठित प्रज्ञा प्रतिष्ठानमा स्थान पाए । तर कुलपतिमा गंगाप्रसाद उप्रेती दोहोरिनु भयो । त्यसपछि एकेडेमी र गंगाप्रसाद उप्रेतीसँग उहाँको दूरी बढेको थियो ।

२ वर्षअघि नेपाल स्रष्टा समाजको सुकुटे वीचमा सम्पन्न पिकनिकमा म पनि सामेल भएको थिएँ । सो पिकनिकमा राजेन्द्र सरलाई अतिथिको रुपमा निम्त्याईएको थियो । लामो समयपछि उहाँसँग त्यसदिन सत्सँग गर्ने अवसर पाएको थिएँ । उहाँको गुनासो थियो, भेटघाट भएन, भेटघाट पातलो भयो, किन मकहाँ आउनुहुन्न ! उहाँको गुनासो जायज थियो । तर अमेरिकाबाट छोटो समय नेपाल आउँदा लामो भेटघाटका लागि समयाभाव हुन्थ्यो । उहाँले त्यसदिन पनि एकेडेमी र गंगाप्रसाद उप्रेतीवारे आफ्नो असहमतीका कुरा मलाई सुनाउँदै भन्नु भएको थियो, ” म एकेडेमीको कार्यक्रममा जान छोडेको छु, र कुलपति जाने कार्यक्रममा पनि जान्न ! मलाई एउटै मञ्च स्वीकार्य छैन ।”

मलाई अप्रिय लाग्यो सन्दर्भ, तर मैले कुनै प्रतिकृया दिईंन ।

तर पछि भवानी घिमिरेको स्मृतिमा रत्नराज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा भने गंगाप्रसाद उप्रेती र राजेन्द्र सर एउटै मञ्चमा देखिनु भयो । मलाई वडो खुशी लाग्यो । असमझदारी सकिएछ । अप्रिय कुराको आयु लामो हुनु पनि हुन्नथ्यो नै ।

राजेन्द्र सरलाई पछिल्लोपल्ट २ वर्ष जति अघि उहाँकै निवासमा भेटेको थिएँ । त्यो भेटमा उहाँले  उपन्यास लेखेको कुरा वताउनु भएको थियो, “कोख” भाडामा दिने विषयमा लेखिएको वताउनु भएको थियो । त्यसमा आधारित फिल्म पनि राम्रो हुने कुरा भएको थियो । तर मैले त्यो उपन्यास देख्न पाईंन, म अमेरिका उडिहालें । गत वर्ष कोरोना महामारीले आक्रान्त अवस्थामा नेपाल आउँदा कसैसँग भेटघाट जुरेन । उहाँसँग पनि जुरेन । यसपल्ट पनि म नेपाल आउँदा कोरोना महामारीको दोश्रो लहरले डसिरहेको अवस्था थियो । एकैपल्ट उहाँ अस्वस्थ भएर अस्पताल भर्ना भएको खवर सुनें । सामाजिक सञ्जालमा सुस्वास्थ्यको कामना गर्नु वाहेक अरु कुनै विकल्प थिएन ।

उहाँका शुभचिन्तक, सहयात्री, चेलाहरु साराको सुस्वास्थ्यको अनन्त कामनाले काम गरेन । उहाँ ब्रम्हलीन हुनुभयो । तर आफ्नो जीवन कालमा उहाँले जे जति योगदान गर्नुभयो, त्यो स्तुत्य, अनुकरणीय र उदाहरणीय छ । उहाँ अश्वस्थ हुँदा पनि आफ्नो लेखन कर्ममा निरन्तर लागिरहनु भएको थियो ।

उहाँको जस्तो सार्थक र रचनात्मक जीवनको अवलम्वन अनुसरण नै उहाँप्रतिको सही श्रध्दान्जली हुनेछ ।

 

प्रतिक्रिया
Loading...